विकासन्युज

जलवायु अनुकूलित गाउँ बन्दै इलामको पाटापुर

मंगलबारे । इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो । गाउँपालकिला र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवद्र्धन, अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । यस्तै सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना निर्माण गरिएको छ । चुरे क्षेत्रको पाटापुरमा सिँचाइको लागि नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय सरकारको पहलमा क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । आयोजनाको संयुक्तरूपमा कोषका काउन्सिलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बुधबार उद्घाटन गरे । नामसालिङ सामुदायिक विकास केन्द्रका हीराकाजी घलेका अनुसार गाउँमा रहेको सुक्खा जमिनमा सिँचाइ सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । पाटापुरमा बाँदर हात्ती र बाघजस्ता वन्यजन्तुले हानिनोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यहाँका खेतबारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानीपिसानी मिल र अन्य मेसिन वितरण गरिएको छ । गाउँमा ६ वटा लघुउद्यम सञ्चालन सुरु भएको गाउँपालिका अध्यक्ष सुवास स्याङबाले बताए । प्रांगारिक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय स्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँवासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । कार्यक्रमले हावापानी सुहाउँदो खेतीप्रणाली सुरुवातका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा  जलवायु अनुकूलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ । कार्यक्रमका संयोजक शान्तिराम घिमिरेले नवीकरणीय ऊर्जामा आधारीत संस्थागत सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिए । तीनवटा संस्थागत चुलो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष सञ्चालन भएकोमा यही महिनामा सम्पन्न हुने बताइएको छ । रासस

८ करोडमा कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब आठ करोड रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताए । ‘गजुर छोडेर ५१ फिट उचाइ र चौडाइ १७ देखि १९ फिट भएको यो मन्दिर पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गाले निर्माण गरिदैछ’, उनले भने, ‘मन्दिरको भित्र पुरानो शिव लिङ्ग राखिने छ ।’ पहिले महादेव स्थानका रुपमा रहेको यो स्थलमा आदिवासी थारु समुदायले शिख्रौली कुमारवर्ती (परिक्रमा पूजा) सालका वृक्षमुनि केही माटाका प्राचीन मूर्ति राखी चैत शुक्ल पक्षमा पूजाआजा गर्दै आएका थिए । विसं २०१६ मा पुनर्वास योजनाअन्तर्गत पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति बसाइँसराइ आएपछि भारतको कानपुरबाट खयर सङ्कलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी शिव मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पूजाअर्चना हुँदै आइरहेको छ । विसं २०३५ पछि यहाँको मन्दिरको नाम कैलाश सन्न्यास आश्रम राखिएको अध्यक्ष घिमिरेले बताए । यस स्थानको मन्दिर १३ औँ शताब्दीको भएको पुरातत्व विभागले जनाएको छ । ‘अहिलेसम्म पुरातत्व विभागले आश्रमलाई मन्दिर हस्तान्तरण गरेको छैन’, घिमिरेले भने, ‘विभागले सम्पन्न भइसकेपछि मन्दिर आश्रमलाई हस्तान्तरण गर्ने छ ।’ पूर्व–पश्चिम राजमार्गबाट आठ सय मिटर दक्षिणमा रहेको यस मन्दिरलाई पुरातात्विक, धार्मिक र प्राकृतिकरुपमा पर्यटकीयस्थल बनाउन सकिन्छ । मन्दिरको नजिकै कलकल बगेको नारायणी नदी, नदी पारीको चितवन राष्ट्रिय निकुञ्जमा देखिने गैँडा, बँदेल, मृग, मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाइने यस स्थान रमणीय रहेको छ । गैँडाकोट–१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ । यहाँ ढुङ्गामा कलात्मक हस्तकलाले कुँदिएका करिब एक हजार पाँच सय बढी शिला फेला परेपछि विभागले आफ्नो मातहतमा ल्याएर खोज अनुसन्धान र अन्वेषण गरी मन्दिर बनाउने प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षका लागि रु २० लाख बजेट छुट्टिएको छ । अब दुई वर्षमा सो मन्दिरले पूर्णता पाउने अध्यक्ष घिमिरेले बताए । स्थानीय बुद्धिप्रसाद न्यूरेले धार्मिक आस्थाको केन्द्र र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गरेर अगाडि बढ्नुपर्ने बताए । ‘यो मन्दिर र यहाँको महत्व धेरै छ । विशेषत शिव भगवानको आराधना र पूजा गर्दा आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वासका आधारमा मन्दिर आउछन्’, उनले भने । हाल भग्नावशेषका रुपमा भेटिएका कलात्मक वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम गरिएको हो । गैँडाकोट–१३ का मोहन भण्डारीले पुरातत्व विभागले खोज गरेर अहिले मन्दिर निर्माण सकेको बताउँदै यसको महत्वलाई उजागर गर्नुपर्ने बताए । राष्ट्रिय गौरवको रुपमा रहेको यस आश्रमको दुई वर्ष लगाएर उत्खनन गरी पुरातत्व विभागले पुराना र नयाँ शिलाको प्रयोगबाट शिव मन्दिर बनाएको आश्रमका महासचिव नेत्रप्रसाद रिजालले बताए । यसको ऐतिहासक र पुरातात्विक महत्वलाई उजागर गरेर अगाडि ल्याउन काम गरिरहेको रिजालले बताए । यहाँ अहिले मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताका मठमन्दिर, धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिर सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो । पर्खाल निर्माण सम्पन्न भएको छ । यहाँ रहेको पाँच बिघा भूगोलको अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । सिखर शैलीको मन्दिर निर्माण गरिए तापनि किन र के कारणले भग्नावशेषको अवस्था आयो यसको खोज भइरहेको छ । रासस

म्याग्दीमा २० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलु खेती

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताए । उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलु खेती गरिएको छ । यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ । मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो । गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रूपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए । ‘बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षाैंदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ’, थापाले भने । गाउँपालिकाले चालु आर्थिक वर्षमा आलु पकेट कार्यक्रमको लागि १२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा नम्बर २ को सो समूह र वडा नम्बर ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई छ/छ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ । सो करमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने जनाइएको छ । रासस

‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ । एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ । विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताइन्। कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उनले बताइन् । शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गरिन् । ‘एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन’, उनले भनिन्, ‘यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निरास छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।’ विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको जानकारी दिए । ‘एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ’, उनले भने, ‘विद्यालयको आम्दानी छैन, अरुलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके ।’ कुनै बेला एउटै कक्षामा दुईसयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करिब एक सय मात्रै छ । तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच÷सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन् । कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताए । उनले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरुलाई स्कूल आउन मन नै नलाग्ने गरेको सुनाए। त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको बताइन् । ‘हुनेखाने साथीहरु विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौँ’, सृष्टिले मलिन मुद्रामा भनिन्, ‘हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ ।’ विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गरेका प्रधानाध्यापक यादवले विद्यालयको यही दूरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए । ‘गरिब पढ्ने स्कूल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ’, प्रअ यादवले भने । यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताए । सुरुमा पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उनले प्रतिबद्धता जनाए। त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताए । उनले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राखे । विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताए । रासस

पर्यटन प्रवद्र्धन गर्न हरित पार्क निर्माण

ढोरपाटन । बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको ८ लाख रुपैयाँले पार्क निर्माण गरेको बरेङ गाउँपालिका–५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिए । १ हजार ७०० मिटरको उचाईमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए । यहाँ प्रतिक्षालय, घेराबार  र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुआत गरेको बताए । उनले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताए । अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवद्र्धन गर्ने उल्लेख गरे । गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला र छहरेखोला झरनाको प्रवद्र्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ । रासस

नाडेप लघुवित्तले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आठौं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको फागुन १० गते बसेको बैठकले चैत ८ गते नौविसे धादिङमा बिहान ११ बजे वार्षिक साधारसभा बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि फागुन २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

लाभांश बिना नेशनल हाईड्रोपावरको साधारणसभा आह्वान

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनीले २६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १० गते बसेको बैठकले चैत ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे वार्षिक साधारसभा बोलाएको हो । कम्पनीले लाभांश बिना नै आफ्नो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने

काठमाडौं । बिहीबार विभिन्न २ लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिभिल लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते अन्तिम दिन हो । यी २ लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन १२ गते शुक्रबार र फागुन १३ गते शनिबार परेको हुँदा कारोबार नहुने भएकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त र साधारणसभामा सहभागी हुन पाउनेछन् । सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ११ औँ बार्षिक साधारणसभा फागुन २९ बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजे बोलाएको छ । यस्तै, सबैको लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले छैठौं बार्षिक साधारणसभा फागुन २६ गते मस्र्याङ्दी रिभर रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान १० बजे बोलाएको छ ।