नेपालको आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफबीच छलफल
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा आईएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ– वाशिङ्टन डि.सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन र सिबिफिनकोतर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबिफिनका महानिर्देशक डा. गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो । नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताए । सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजीबजारमा आएको गिरावट, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा आईएमएफका प्रतिनिधिसमक्ष जानकारी प्रस्तुत गरेका थिए । आईएमएफबाट आएको मिसन टोलीका प्रतिनिधिहरुले नेपालको हालको आर्थिक कठिनाइहरूको बारेमा अध्ययन गरि प्रतिवेदन तयार गर्ने जानकारी गराएका थिए। सिबिफिनको कार्यालय, सुन्धारामा सम्पन्न उक्त भेटघाट तथा छलफल अर्थपूर्ण भएको र आगामी दिनमा समेत आईएमएफले आर्थिक तथा बैंकिङ क्षेत्रका विविध विषयहरुमा सिबिफिनसँग गरिरहेको छलफल र सहकार्यलाई जारी राख्ने सन्देश व्यक्त गरे ।
अणुब्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी सम्पन्न
काठमाडौं । नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ । विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य थिए भने बिशेष अतिथिको रुपमा पूर्व मिसनेपाल उष खड्गी , बरिष्ठ गायक आनन्द कार्कि लगायतका बिशिष्ठ ब्यक्तिको उपस्थितिमा प्रभातफेरी गरिको थियो । प्रभातफेरीमा बिभिन्न बिधालयका बिधार्थि , समाजसेवी , बिभिन्न सम्प्रदायको प्रतिनिधि, बिबिध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो । प्रभातफेरीको पूर्व सन्ध्यामा सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुब्रतको आन्दोलन र अणुव्रतको बिषयमा जानकारी दिइएको थियो । अणुब्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजीत यस अणुब्रत अमृत महोत्सव अणुब्रतका सिद्धान्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताएका थिए । उनले अणुब्रतका आचार संहिताको बारे पनि जानकारी दिएका छन् । अणुब्रत आचार्य संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने , कहि कसैलाइ आक्रमण नगर्ने , मानबिय एकतामा बिश्वास राख्ने , धार्मिक सहिष्णुतालाइ कायम राख्ने , व्यवसाय र व्यवहारमा प्रमाणिक रहने , ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने , सामाजिक कुरीतीलाइ प्रश्रय नदिने , नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने जस्ता अणुव्रत नियम सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए । सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानि , नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा , तेरापन्थ सभाका अध्यक्ष महाबिर संचेचि, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला , जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकि अध्यक्ष अमिता नाहाटा नेपाल अणुब्रत समितिका निबर्तमान अध्यक्ष ज्योति बेगानी लगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाइ सकारात्मक उर्जा दिएको र अणुब्रतका हरेक बुदाले आफूलाइ भित्री रुपमा छोएको पनि बताएका छन् । प्रभातफेरी काठमाण्डौको जैन भवन बाट सुरु भएर सोभाभगवती , ज्ञानेश्वर , मैतिदेबि ,चारखाल हुदै पुन जैन भवनमा पुगेर टुंगीएको थियो । अणुब्रतको बारे जानकारी दिने उदेश्यका साथ आयोजीत यस प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाइ सबैले प्रशसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जानकारी दिएका छन् ।
५७ अंकले घट्यो नेप्से, ४४ लघुवित्तमा नकारात्मक सर्किट
काठमाडौं । बिहीबार ४४ लघुवित्त संस्थामा नकारात्मक सर्किट लागेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार ३७ लघुवित्त संस्थामा नकारात्मक सर्किट लाग्दा ७ लघुवित्त संस्थाको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेप्सेको अनुसार यस क्रममा छिमेक लघुवित्तको सेयरधनीहरुले सबैभन्दा धेरै सेयर कारोबार गरेका छन् । छिमेक लघुवित्तका सेयरधनीले आज ८ करोड ७० लाख रुपैयाँको सेयर किनबेच गरेका छन् । यस्तै, नेप्से आज ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ । आज नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । कम्पनीको सेयर मूल्य १९ रुपैयाँले बढेको हो । बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसकाे असर सेयर बजारमा देखिएकाे जानकारहरु बताउँछन् । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै लघुवित्तहरुलाई कडाइ गरेकाे हाे । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध देशभरि गतिविधि भइरहँदा पनि लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।
महाकाली सिँचाइ : गोदावरीसम्म मूल नहर निर्माणको सुरसार
महेन्द्रनगर । कैलाली-कञ्चनपुरको ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले गति लिएको छ । महाकाली नदीको पानी कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित सरकारले राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेयता आयोजनाको कामले गति पाएको हो । एक सय ५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नर्वास नगरपालिकासम्म सिँचाइ पुग्ने गरी आयोजना अघि बढेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भू पण्डितले मूल नहर निर्माणको नयाँ ठेक्का आह्वान प्रक्रियामा रहेको बताए । ‘भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म साढे २८ किलोमिटर मूल नहर करिब करिब निर्माण भइसक्यो’, इञ्जिनीयर पण्डितले भने, ‘अबको नयाँ ठेक्कामा २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव दुई किलोमिटर मूल नहर (गोदावरी खोलासम्म) लागत अनुमान स्वीकृत भएर बोलपत्र आह्वानको प्रक्रियामा छ ।’ उनले अब निर्माण हुने २० किलोमिटर मूल नहर निर्माण तीनदेखि पाँच प्याकेजमा टेन्डर आह्वान हुनसक्ने बताए । उक्त मूल नहर निर्माणका लागि रु साढे तीन अर्ब रकम खर्च हुनेछ । ‘मूल नहर निर्माणका क्रममा जग्गा अधिग्रहण गर्न नपर्ने भएकाले गुलरिया र मालाखेती सहरमाथि नै तेस्रो चरणको मूल नहर बनाउने गरी लागत अनुमान बनेको छ’, उनले भने । उनले २८ किलोमिटर मूल नहर निर्माणको काम आगामी असारमा सम्पन्न भइसक्ने जानकारी दिए । ‘कोरोना कहर, मुआब्जा र वनका रुख कटानलगायतका विविध कारणले बीचको केही समय काम प्रभावित भयो’, उनले भने । अहिले दुई प्याकेजमा करिब ४८ किलोमिटर शाखा नहरको कामसमेत सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले दिएको जानकारीअनुसार यहाँ सिँचाइ मूल नहरको एक किलोमिटरदेखि १४ किलोमिटरसम्म एउटा र १४ देखि २२ किलोमिटर मूल नहरको शाखा नहर निर्माणका लागि ठेक्का भएर काम सुरु हुँदैछ । ‘शाखा नहरको पहिलो प्याकेज ५४ करोड र दोस्रो प्याकेज ५३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम अघि बढिसकेको अवस्था छ’, इञ्जिनीयर पण्डितले भने, ‘४८ किलोमिटर शाखा नहर निर्माण दुई वर्षभित्र पूरा गर्ने समयसीमा दिइएको छ ।’ गत असारको दोस्रो साता महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नहरमा नियमित पाउने विषय टुङ्गोमा अझै अन्योल छ । गत असार १५ गतेको दिन धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छाडे पनि लगत्तै नहर उद्घाटनपछि मात्रै नियमित पानी दिने बताए पनि दुई देशबीचको विषय भएकाले टुङ्गोमा पुग्न नसकेको आयोजना कार्यालयको भनाइ छ । ‘विभिन्न भ्रमणका क्रममा र सिँचाइ विभागमा पानी नियमित पाउनुपर्ने विषय सम्झाइरहेका हुन्छौँ’, पण्डितले भने, ‘यो माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने विषय पनि हो ।’ विसं २०६४ देखि सुरु भएको आयोजना २०७५ सालमा आइपुग्दा १२ किमी मात्र मूल नहर बनाउन सकिएको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेत स्तरोन्नति भएपछि आयोजनाको कामले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ । रासस
ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौं सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो’, उनले भने । उनले प्राचीनकालमा जुन भूमिमा राजा जनकले ज्ञानी ऋषिमुनिहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेका थिए आज त्यही पवित्र भूमिमा ज्ञानको दीप प्रज्ज्वलित गर्ने पुनीत उद्देश्यले उनै राजर्षि जनकको नाममा विश्वविद्यालय खोलिनु स्वयंमा प्रशंसनीय कार्य भएको बताए । विश्वविद्यालयले मिथिला प्रदेश जनक दर्शन, संस्कृति र मिथिला कला तथा साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने बताए । उनले विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै गुणस्तरीय शिक्षा बनाउने कुरामा चुनौती रहेको बताएका थिए । ‘मुलुकमा विश्वविद्यालयहरूको संख्या बढ्दै जानु राम्रो कुरा हो। यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ। तर विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण’, उनले भने ।
सुरु भयो आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो (फोटोफिचर)
काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा सुरु भएको एक्स्पो फागुन १४ गतेसम्म सञ्चालन हुने छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि सुरु भएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ(नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकले बताएको छ ।
फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छन् । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको बताइन्। फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामासमेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भए/नभएको विषयमा अध्ययन गर्नुपर्ने बताइन् । उनले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न नसक्दा लाभभन्दा नोक्शानी बढ्नसक्नेतर्फ सचेत हुन आवश्यक रहेको बताइन् । मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन्। उनले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताइन् ।
आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै
काठमाडौं । आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।