आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै
काठमाडौं । आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।
जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
स्याङ्जाको छायाँक्षेत्र शिव मन्दिरमा एक दिनमै ५ लाख बढी भेटी सङ्कलन
स्याङ्जा । छायाँक्षेत्र शिव मन्दिरमा पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा पाँच लाख १४ हजार छ सय ९७ रुपैया भेटी सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनले द्रूत सेवा प्रयोग गरेबापत एकलाख ५१ हजार आठ सय, भजनकीर्तनमा चढाएको दानबाट एकलाख १३ हजार दुई सय, स्टल बिक्रीबाट ९१ हजार चार सय ४०, सहयोग रसिदबाट ५५ हजार २५, दानपेटिकाबाट ५४ हजार एक सय ८०, आजीवन सदस्यबाट ४१ हजार तीन सय र पार्किङबाट सात हजार सात सय ४५ रकम सङ्कलन भएको हो । महाशिवरात्रिका अवसरमा मन्दिरमा देशका विभिन्न ठाउँबाट बीस हजार बढी श्रद्धालु भक्तजनले दर्शन गरेका मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त पौडेलले बताए । विभिन्न शीर्षकमा सङ्कलन भएको रकमलाई मन्दिरको भौतिक पूर्वाधारको विकासमा खर्च गरिने उनले बताए । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिए अनुसार पार्वतीको शेष रहेका सबै अङ्ग यसै ठाउँमा पतन भएको किंबदन्ती रही आएको छ । भगवान शिव ब्याकुल भई त्रिशूल प्रहार गरी जल उत्पत्ति गरेको र सोही जल आज पनि ढुङ्गाको कोप्चेराबाट छङछङ गर्दै बहिरहेकाले यस ठाउँलाई ‘छाङ्छाङ्दी’ पनि भन्ने गरिएको जनाइएको छ । रासस
दुई वर्षको सेवा सुविधासहित सिभिल बैंकबाट सीईओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए
काठमाडौं । सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका छन् । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् । यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको सञ्चालक अम्बिर बोगटीले विकासन्युजलाई बताए । उनीहरु स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् । हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने भएसँगै सिभिल बैंकका उच्च तहका ८ जना कर्मचारी भिआरएसमा बाहिरिएका हुन् । बाहिरिएका सीईओसहितका कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधा पाउने भएका छन् । उनीहरुले प्रयोग गरिरहेको सवारी साधन पनि बैंकले प्रदान गरेको जनाएको छ । यस्तै, मर्जरपश्चात् बैंकमा हिमालयनको सञ्चालक समिति कायम रहने भएसँगै सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र सम्भु प्रसाद पन्त बाहिरिएका छन् । बैंकले सीईओसहित सञ्चालकहरुको बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरेको छ । एकीकृत काराेबार कहिले ? शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिभिल बैंकसँग एकीकृत कारोबार सुरु गर्दैछ । हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुनेछ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बन्नेछन् । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको सीईओमा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांशसँगै मर्जर प्रस्ताव पारित
काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे लाभांश पारित गरेकाे छ । कम्पनीकाे १८औं वार्षिकसाधारण सभाले संचालक समितिले प्रस्ताव गरेको ७.३५ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गरेकाे छ । यस्तै, सभाले सगरमाथा इन्स्योरेन्स कम्पनी गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले लेखापरीक्षण वापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा आज २०७९ साल फाल्गुण ११ गते काठमाडौंमा सम्पन्न भयो । सभा औपचारिक रुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुख प्रकट गर्दै उहांको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरियो । सभामा कम्पनीका अध्यक्ष श्री मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराउनु भयो । त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १०० स् ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण ९म्म्ब्० बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। मा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरियो ।
वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी
बागलुङ । बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्याउने भएको हो । लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । ‘हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन’, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले भने । उनका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पुर्याउने लक्ष्य छ । प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने बताए । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीनपटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । शर्माले भने, ‘खानेपानी विभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताइरहँदा हामीले केही भुक्तानीका काममासमेत सहजीकरण र सहयोग गरेका छौँ ।’ बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरणपछि वितरण गर्नेगरी काम भइरहेको छ । रू ३२ करोड २५ लाखको लागतमा निर्माण थालिएको हो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए । अहिले बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो । रासस
चमेराको जीवनचक्र सङ्कटमा
लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्न सक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टो तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन् । कपिलवस्तुका चमेरा संरक्षणकर्ता शम्भु सैनी भन्छन्, ‘चमेरो कुकुर, बिरालो, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै एक स्तनधारी प्राणी हो । विस्तारै यसको लोप हुँदै जाँदा जैविक विविधतामा समस्या आउन थालेको छ ।’ पर्यावरणका लागि हितकर यस्ता जीव लोप भएमा अनेक समस्या आउनसक्ने उनको भनाइ छ । चमेरो संरक्षण समिति कपिलवस्तु नगरपालिका–३, देवानगढियाँका अध्यक्षसमेत रहेका सैनी भन्छन्, ‘चमेरोले लगाएका गुन त खासै थाहा छैन । तर चमेराले पर्यावरणीय सुरक्षा र विपद् पूर्वको सङ्केत अवश्य गर्छ ।’ नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि होइनन् । तर प्रोत्साहन र उचित कदरको खाँचो छ । चमेरोको संरक्षणका लागि एक हेक्टर वनमा अभ्यास सुरु गरिएको उनले बताए । पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ । चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन । बच्चालाई गुँडमै छोडेर पोथी चमेरो अथवा आमा चमेरो एक्लै उडेर कतै जाँदैन् । पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ भने बच्चा चमेरालाई आमाको जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ । चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन् । तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नङ्ग्राले च्यापेर बस्दछन् । त्यस अवस्थामा तिनको मुन्टो माथितिर नै फर्केको हुन्छ । दि न्यू योर्क टाइम्स (२०१८ को अप्रिल १७) मा प्रकाशित एक लेखमा चमेरोको बारेमा उल्लेख गरिएको छ । लेखमा चमेरोको स्वरूप र स्वभाव कौतूहलपूर्ण रहेको र यसको पर्यावरणीय महत्वका व्याख्या गरिएको छ । चमेराको तीखो कोणाकारका पखेटाहरू हेर्दा झण्डै झण्डै मानिसको हात र पाखुराजस्तै देखिन्छ । चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ । चमेराको आकार चङ्गा जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ । चमेराहरू विभिन्न रङ्गका हुन्छन् । विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छ तर केही चमेराहरू भने पहेंलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका चमेरा पनि पाइन्छन् । ‘रातिमा मात्र सक्रिय हुने चमेराले कृषिका लागि हानीकारक कीरा खाएर बालीनाली जोगाउन सहयोग पुर्याउँछ’, वन्यजन्तु विशेषज्ञ डा हेमसागर बरालले बताए । चमेरालाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ । एउटा मांशहारी चमेरो र अर्को फलाहारी चमेरो । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ । आकारमा मांसहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ । मांसहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा रहेको बताइन्छ । वन्यजन्तु विशेषज्ञ डा बरालका अनुसार विश्वमा एक हजार चार सय छ प्रजातिका चमेरा पाइन्छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ५५ प्रजातिका चमेरा भेटिएको छ । संसारमा ७० प्रतिशत मांशहारी र ३० प्रतिशत साहाकारी चमेरा भेटिएका छन् । ‘चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले निकै नै उपयोगी जीव हो । यसले वन जङ्गल जोगाउन र बिउबिजन परागसेचन गरेर फूललाई परागषेचन गर्नसमेत मद्दत गर्छ’, डा बरालले भने । चमेरा पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन् । खासगरी फलाहारी चमेराले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरूको परागषेचन गर्नसमेत मद्दत गर्दछ । त्यसैगरी मांशहारी चमेराले मानिस र अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर मद्दत पुर्याइरहेको हुन्छ । एउटा चमेरोले एक रातमा दुई हजारदेखि छ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसको मल प्राङ्गारिक मलका लागि उत्कृष्ट मानिन्छ । लटरम्म झुन्डिएर बस्ने चमेरो कानले देख्ने प्राणी हो । चमेरोले आफ्नो कानको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ र देख्छ । चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तिनको दूरी पत्ता लगाउने प्रविधि विकास भएको मानिन्छ । समुद्र वा तालको गहिराइ नाप्न पनि यो प्रविधि प्रचलनमा छ । आकाशमा उडेका हवाईजहाज वा पानीमा चल्दै गरेका जहाज र पनडुब्बी ठम्याउने राडर प्रविधिको आधार चमेरोकै ‘इकोलोकेशन’ प्रविधि हो भन्ने धेरैको मान्यता छ । चमेरोको खुट्टा तुलनात्मक रुपमा सानो हुन्छ । यसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन । त्यसैले चमेरो रूख, गुफालगायतका ठाउँमा टाउको तल पारेर बस्ने गर्छ । यसरी बस्दा आफूलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ र सुरक्षित उपाय खोज्छ । चमेराको बासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाइ गुफामा बढ्न थालेको नेपाल पक्षी संरक्षण सङ्घका वन्यजन्तुविद् भूपाल नेपालीको भनाइ छ । वन्यजन्तुविद् नेपालीका अनुसार चमेरोले अन्धकारमा बाटो पहिल्याउनका लागि सुन्ने क्षमताको पनि प्रयोग गर्छ । आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्छ । उनी भन्छन्, ‘अँध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ, जसले चमेरालाई सिकार गर्न सहज बनाउछ । अगाडि कुनै वस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ । यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ ।’ चमेरो ४१ वर्षसम्म बाँचेको तथ्याङ्क छ । चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाइसराइसमेत गर्छन् । एक दिनमा दुई सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ । प्रतिघण्टा ७० माइल उडान गर्नसक्ने चमेराले १० हजार फिट उचाइसम्म उडान भर्न सक्ने बताइन्छ । मानव ढुङ्गेयुगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै चमेरा र मानव जातिको अन्तरसम्बन्ध नजिकिँदै गएको मानवशास्त्रीको भनाइ छ । वन्यजन्तुविद् नेपालीले भने, ‘चमेराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, र बगैंचामा बस्न रुचाउँछन र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन् ।’ गुफामा बास बस्ने चमेरो साना खालका हुन्छन् र तिनको आहारा भनेको रातमा उड्ने कीटपतङ्ग, लामखुट्टेलगायत अनेकौँ ससाना प्राणी हुन् । एकातिर पुरानो र परम्परागत चमेरामैत्री घर नहुनु, रुख बिरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, आहाराको कमीको समस्या बढ्दै गएको छ भने अर्कोतिर यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने र धपाउने प्रवृत्तिले पनि चमेराको सङ्ख्यामा कमी आएको उनले बताए । एक अध्ययनले मोबाइल फोन र यसको टावरको विकीरणको कारणले पनि असर पारेको उनको भनाइ छ । सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको छ । चमेराको चर्चामा पोखराको चमेरे गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा विशेष उल्लेखनीय छन् । केही वर्षअघिसम्म काठमाडौँका नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान पाइने चमेरा आजभोलि देख्न मुस्किल भएको छ । बढ्दो सहरीकरणले निम्त्याएको धुलो, धुवाँ, बिजुलीका तार र रूखबिरुवाको विनाशले गर्दा रुपन्देही, कपिलवस्तु र काठमाडौँलगायत सबैतिर चमेराको सङ्ख्या दिनदिनै घट्दो छ । रासस
दुई घण्टामै २० लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । बिहीबार सेयर बजार खुलेको दुई घण्टामा धेरै लघुवित्त संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज १४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र ६ वटाको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसकाे असर सेयर बजारमा देखिएकाे जानकारहरु बताउँछन् । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै लघुवित्तहरुलाई कडाइ गरेकाे हाे । नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले ७ लाख बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यस्तै, लघुवित्तबाट ऋण लिँदा अब ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको स्वघोषणा गर्नुपर्नेछ । यति मात्र नभएर अब लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध देशभरि गतिविधि भइरहँदा पनि लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।