दुई वर्षको सेवा सुविधासहित सिभिल बैंकबाट सीईओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए

<p>काठमाडौं । सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका छन् । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् । यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको सञ्चालक अम्बिर बोगटीले विकासन्युजलाई [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका छन् । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् ।

यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको सञ्चालक अम्बिर बोगटीले विकासन्युजलाई बताए । उनीहरु स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् ।

हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने भएसँगै सिभिल बैंकका उच्च तहका ८ जना कर्मचारी भिआरएसमा बाहिरिएका हुन् । बाहिरिएका सीईओसहितका कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधा पाउने भएका छन् । उनीहरुले प्रयोग गरिरहेको सवारी साधन पनि बैंकले प्रदान गरेको जनाएको छ ।

यस्तै, मर्जरपश्चात् बैंकमा हिमालयनको सञ्चालक समिति कायम रहने भएसँगै सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र सम्भु प्रसाद पन्त बाहिरिएका छन् । बैंकले सीईओसहित सञ्चालकहरुको बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरेको छ ।

एकीकृत काराेबार कहिले ?

शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिभिल बैंकसँग एकीकृत कारोबार सुरु गर्दैछ । हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुनेछ ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ ।

मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बन्नेछन् । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् ।

साथै, मर्जर पश्चात् बैंकको सीईओमा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् ।

Share News