विकासन्युज

मदन भण्डारी राजमार्गमा ३५ पुलमध्ये चारको निर्माण सम्पन्न

काठमाडौं । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ । उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए । उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ’, उनले भने, ‘यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ,’ उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए । उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ । निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उनले बताए । १० अर्ब १३ करोडका लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ । रासस

अडानी समूहका १० मध्ये ९ कम्पनीका शेयरमा गिरावट, झरे २६ औं स्थानमा

एजेन्सी । भारतीय अर्बपति गौतम अडानीको मुख्य लगानी रहेको अडानी समूहका १० मध्ये ९ वटा शेयर घटेका छन् । फ्ल्यागशिप कम्पनी अडानी इन्टरप्राइजेज ३ प्रतिशतभन्दा बढी घटेको छ । अडानी पोर्ट पनि करिब आधा प्रतिशतले घटेको छ । अडानी पावर, ट्रान्समिसन, ग्रीन इनर्जी, टोटल ग्यासको सेयर ५-५ प्रतिशतले घटेको छ । विल्मार लगभग ४ प्रतिशत तल छ। एनिडिटिभी पनि १.५० प्रतिशत भन्दा बढी तल छ। समूहको सिमेन्ट स्टक एसीसी करिब १ प्रतिशतले घटेको छ । अम्बुजा सिमेन्टको मात्र ०‍‍.५० प्रतिशतले बढेको छ । अडानीका कारण लगानीकर्ताले एकै दिनमा गुमाए ५१ हजार करोड भारतीय रुपैयाँ बुधवार अदानी समूहको शेयरमा आएको गिरावटका कारण यसको मार्केट क्याप ५१,००० करोडभन्दा बढीबाट घटेर ७.५ लाख करोड भारुमा आएको छ। त्यसको एक दिन अघि मंगलबार समूहका १० वटा शेयरको संयुक्त बजार पुँजी भारु ८,०९,१८२ करोड रुपैयाँ थियो। अर्कोतर्फ हिन्डनबर्ग रिपोर्ट जनवरी २४ मा बाहिर आउनु अघि समूहको एम क्याप १९.१९ लाख करोड भारुको थियो। फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार गौतम अडानीको कुल सम्पत्ति जम्मा ४३.४ बिलियन डलर छ। पछिल्लो २४ घण्टामा अडानीले ६.२ बिलियन डलर गुमाएका छन् । उनी विश्वका धनीहरुको सूचीमा २६ औं नम्बरमा आएका छन् ।

लघुवित्त खारेज गर्नुपर्छ भन्नु मिटरब्याजीलाई प्रोत्साहन गर्नु हो : पूर्वअध्यक्ष लम्साल

काठमाडौं । न्युन आय भएका घरपरिवारलाई सानातिना आर्थिक गर्जो टार्न वा उत्पादनमुलक काममा लगानी गर्न जनतालाई सहायता दिने उद्देश्यले लघुवित्त संस्थाहरु विगत ३० वर्ष अगाडिदेखि सञ्चालनमा छन् । सरकारले जुन उद्देश्य, मर्म र भावनाका साथ लघुवित्तहरु खोलेको हो त्यसअनुसार चल्न नसकको गुनासाहरु आउन थालेका छन् ।  लघुवित्त संस्थाहरुले मुलुकको गरिबी निवारण गर्न र वित्तीय पहुँच पुर्याउन खेलको महत्वपूर्ण योगदान पनि रहेको छ । तर पछिल्लो समय लघुवित्तकै कारण ग्रामिण क्षेत्रका विशेषगरी महिलाहरु पीडित बनेको समाचार बाहिरिरहेका छन् । लघुवित्तहरुले सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्ति बढ्दै गएको लघुवित्त पीडितहरुको गुनासो छ । लघुवित्तबाट ऋण लिने परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्था हुनु राज्यको नियमनकारी निकाय वा स्वयं संस्था आफैँ हो । लघुवित्तको कमजोरी कहाँ कसरी भयो ? लघुवित्तमा देखिएको वर्तमान समस्या समाधान गर्न लघुवित्त र सरकारले कस्तो कदम चाल्दैछ भन्ने विषयमा लघुवित्त बैंकर्स संघका निःवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालसँग कुराकानी गरेको छ । उनले राष्ट्र बैंकले लघुवित्तको आवश्यकता नहेरी एकैपटक धेरै लघुवित्तको लाइसेन्स दिँदा अहिलेको समस्या आएको बताए । उनले लघुवित्तले ऋण असुलीको नाममा घरका भाँडाकुँडा र सरसामान नै उठाउनु गलत भएको भन्दै लघुवित्त करेक्शन भएर अगाडि बढ्न आवश्यक रहेको बताए । पछिल्लो समय बाहिर आएका लघुवित्त संस्थाहरुमा देखिएको समस्याको वास्तविकता कस्तो हो ? पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुसँग जोडिएको समस्या धेरै विषय वस्तुसँग जोडिएको समस्या हो । सबैभन्दा पहिला पछिल्लो मुलुकको आर्थिक अवस्था हो । जसमा आर्थिक मन्दी हो । विश्व नै आर्थिक मन्दीमा रहेको छ । त्यसको चपेटामा नेपाल पनि पर्छ । उद्योगी व्यवसायमा समेत प्रभाव परेकाले व्यापारमा समेत मन्दी देखिएको छ । विगतमा एक सय रुपैयाँको व्यापार गर्नेहरुले पनि १० रुपैयाँ व्यापार गरेर बस्न बाध्य भएका छन् । आर्थिक रुपमा सबै मानिसहरु समस्यामा छन् । आर्थिक चक्रमा यस्तो हुन्छ । कोभिड महामारीपछि आर्थिक समस्याको प्रभाव र रुस र युक्रेन युद्धको प्रभावको कारण पनि समस्या रहेको छ । यस्तो अवस्थाको कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई आफ्नो व्यापार व्यवसाय चल्न सकेको छैन तर ऋण तिर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यापार व्यवसाय चलेको छैन भनेर ऋण उठाउन छोड्दैन । ऋण उठाउन जाँदा अहिलेको अवस्थामा आएको हो । लघुवित्तको हकमा सञ्चालनमा कमिकजोरी र एउटा व्यक्तिहरुलाई धेरै लघुवित्तहरुले ऋण दिएको कर्जा सूचना केन्द्रको डाटा थिएन । कुनै पनि व्यक्तिले कतैबाट पनि ऋण लिएको छैन भनेपछि लघुवित्तले ऋण दिने प्रचलन भयो । त्यो कारणले पनि अहिले धेरै संस्थाहरुले एउटै व्यक्तिलाई ऋण दिएको अवस्था देखिएको छ । त्यसले मल्टिपल ल्याण्डिङ भएर एउटै व्यक्तिलाई ऋणको भार धेरै भएको देखियो । यो विषयमा लघुवित्त संस्थागत र व्यक्तिगत रुपमा कमजोरी भयो । पछिल्लो समय अर्थतन्त्रमा संकट देखिएकाले बैंक तथा वित्तीय संस्थाहरुले ऋण तिर भन्नु स्वभाविक हो । पैसाको अभाव भइरहेको अवस्थामा व्यक्तिहरुसँग ऋण उठाउन खोज्दा समस्या भयो । ग्राहकहरुले धेरै लघुवित्त संस्थाहरुसँग ऋण लिएकाले सबैले फोन गरेर ऋण उठाउन ताकेता गर्दा समस्या आयो । त्यस्ता ऋणीहरु कहाँ गएर यो ऋण नतिर्न पाए हुने थियो भनेर अहिले लघुवित्त संघर्ष समिति र मिडियामा गएर भन्ने गरेको देखिएको हो । विगतमा लघुवित्तहरुले गर्दै आएको कमजोरी र अहिले भइरहेको आर्थिक मन्दीको कारण सिर्जना भएको समस्या हो । लघुवित्त संस्थाहरुमा आएका समस्याको जड के हो, यो कसरी आयो ? समस्या आउनुमा लघुवित्त संस्थाहरु नै जिम्मेवार छौं । संस्थागत रुपमा लघुवित्त संस्थाहरु धेरै भएर पनि होला । तर त्यसको करेन्सनको शुरुवात भएको छ । मर्जरको कारण संस्थाहरु कम हुँदै गएका छन् । दर्ताको प्रक्रियाको कारण पनि धेरै संस्थाहरु भए । त्यसपछि जसरी लघुवित्त संस्थाहरु सञ्चालनमा आए ति संस्थाहरु तत्काल नाफा ल्याउने प्रतिष्पर्धा पनि रह्यो । तर नियमन कानून भित्र रहेर नै त्यो काम भए । धेरै लगानी गरेर धेरै नाफा गर्छु भन्ने कुरा गुणस्तर घट्ने पनि कानून विपरित होइन । लघुवित्तको ब्याजदर,सेवा शुल्क नियमन निकायले तोकेको गर्ने र तत्काल नाफा कमाउने रफतारमा जाँदा समस्या आएको हो । त्यस्तै, लघुवित्तको सदस्य भएर ऋण लिने व्यक्तिहरुले पनि वित्तीय साक्षरता बैंक तथा वित्तीय संस्थाहरुबाट लिने ऋणको विषयमा जानकारी नलिएकाले समस्या देखिएको हो । यसको शुरुवात लघुवित्त संस्था दर्ता र पछिल्लो समय समाजको संरचना परिवर्तन भएको छ । जहाँ लघुवित्त सामूहिक ऋणमा चल्ने हो तर अहिले एकले अर्कोको जवानी बस्दैन । एक जना ऋण तिर्न नसकेर भागिदिँदा समग्र समूहमा समस्या देखिएको छ । लघुवित्तको जुन सामुहिक मापदण्ड रहेको छ त्यो नहुँदा समस्या देखिन्छ । यी सबै समस्या अर्थतन्त्रमा समस्या परेको बेला देखिएको कारण यस्ता समस्याहरु बाहिर देखिएका हुन् । विगतमा पनि यस्ता समस्या हुँदै आएका हुन् । लघुवित्त वित्तीय संस्थाहरु जुन मूल्य र मान्यतामा चल्नुपर्ने हो, तर त्यो निश्चित मूल्य र मान्यता भन्दा बाहिर गएर जल्न खोज्दा यस्तो समस्या आएको त होइन ? लघुवित्तहरु जुन मूल्य र मान्यतामा चल्नुपर्ने थियो त्यसरी नचल्दा पनि आएको हो । लघुवित्त संस्था सञ्चालनमा निश्चित मापदण्ड भन्दा बाहिर गएर चल्न खोजेको कुरा हामीले स्वीकार गर्छौं । लघुवित्तले ऋणीहरुलाई कति वित्तीय साक्षरता दिनुपर्ने,सचेत बनाउनु पर्ने नियम छ । त्यो नियम भन्दा विपरित धेरै बाहिर पनि गएको होइन । तर लघुवित्तले गर्नुपर्ने काउन्ट सेलिङमा कमी भएको हो । तर अहिलका नागरिक धेरै कानूनी प्रक्रिया पूरा गर्न चाहँदैन । छिटो काम चाहिन्छ । अहिलेको युवा पुस्ता प्रक्रिया पूरा गर्नु भन्दा लघुवित्तलाई नै गाली गर्नुहुन्छ । लघुवित्तहरुले ऋण दिन कडाइ गर्न थाल्यो भने लघुवित्तले ऋण नै दिँदैन भनेर बिरोध गर्न शुरु हुन्छ । संस्थाले ऋण दिन पनि विभिन्न प्रक्रिया देखाएर विनाकारण दुःख दिन्छ भन्ने समस्या आउँछ । दियो भने सजिलै किन दिएको भनेर प्रश्न गरिन्छ । यो समस्यामा लघुवित्त र ऋण लिनेहरु दुवैको कमजोरी छ । लघुवित्त संस्थाहरुमा अहिलेको वर्तमान समस्या आउनुमा नियमन निकाय राष्ट्र बैंकको नियमनमा कमजोरी भएर हो वा संस्थाहरु स्वनियमन हुनुपर्ने हो तर स्वनियमन हुन नसक्दा पनि समस्या आएको होइन ? उत्तर–लघुवित्तको सिद्धान्त स्वनियमनमा बस्ने हो । स्वनियमनमा पनि बस्छौं । स्वनियमनमा बस्न नसकेको होइन । बसेका छन् । तर कुनै एउटा व्यक्तिले १५ लाख ऋण लग्यो । त्यो राष्ट्र बैंकको नियमन भन्दा फरक हो । यसमा प्रश्न आउँछ । लघुवित्तहरुमा विगतमा कर्जाको डाटा बेस थिएन । कुनै एउटा महिला आएर समूहमा बस्यो । कतैबाट ऋण लिएको छ भनेर सोध्दा छैन भन्छ । उसले लिएको कर्जाको डाटा हेर्ने माध्यम लघुवित्तसँग थिएन । त्यस्तो अवस्थामा एक जना ऋणीले कतै ऋण लिएको छैन भन्दै धेरै संस्थाहरुमा ऋण लिने गरेको देखियो । अन्य कुनै संस्थामा ऋण लिएको छैन । ऋण दिनु भनेपछि लगानी गर्ने संस्थाले ऋण दिन्छ । तर ऋण लिने व्यक्तिले लघुवित्तलाई अन्य संस्थाबाट ऋण लिएको विषयमा जानकारी दिएन । त्यसैले लघुवित्तको सिस्टमले लघुवित्तमा ऋण लिन आउने ग्राहकले अन्य संस्थाबाट लिएको ऋणको डाटा लिन अहिले पनि सक्दैन । एक, दुई वर्षदेखि कर्जा सूचना केन्द्रमा हेर्दा एउटा व्यक्तिले १५ वटा संस्थामा ऋण लिएको देखिएको छ । विगतमा त्यस्तो थिएन । लघुवित्त संस्थाहरु स्वनियमन बस्न चाहँदा चाहँदै पनि थाहा नपाएर बस्न नसकेको हो । लघुवित्त सबैले स्वनियमनमा बसेको छ भन्ने होइन । कसैले आँखा चिम्लेको पनि होला । स्वनियमन भनेको नैतिकता हो सबैमा नैतिकता नभएको हुनसक्छ । त्यस्तै राष्ट्र बैंकले नियमन गर्ने विषयमा पनि सबैलाई नियमन गर्न नसकेको हो । ऋणीले कति संस्थामा ऋण लिएको छ भन्ने डाटा राष्ट्र बैंक र लघुवित्तसँग नभएपछि नियमन भएन । पछिल्लो समय डाटा आएपछि थाहा भयो । अहिले पनि कर्जा सूचना केन्द्र प्रभावकारी छैन । लघुवित्त संस्थाहरुले वर्तमान समस्या आउनुमा कुनैपनि दोष छैन भनेर कसरी भन्न सकिन्छ ? पछिल्लो समय लघुवित्त खारेज गर्न माग भइरहेको छ । लघुवित्त संस्था खारेज र संस्थाको ऋण मिनाह हामीले गर्ने होइन । एउटा संस्थाले मिनाह गर्न सक्दैन । यस्ता विषय हामीसँग सरोकार भएको विषय होइन । खारेज गर्ने भए नेपाल सरकारले गर्नुपर्छ । लघुवित्त संस्था आवश्यक नभए सरकारको त्यही अनुसार वित्तीय नीति बन्नुपर्यो । सरकारले लघुवित्त संंस्था खारेज गरेर कसलाई प्राथमिकता दिनुपर्ने हो । ग्रामिण क्षेत्रमा लघुवित्त नभएको स्थानमा मिटर ब्याजी चलिरहेको छ । विगतको जस्तो साहुमाहजन जस्तै मिटर ब्याजीलाई प्रोत्साहन गर्नुपर्यो । लघुवित्त संस्थाहरुले नेपालमा गरिबी अन्त्य गर्नको लागि ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन काम गरेको ४० वर्ष भयो । अहिलेसम्म धेरै समस्या थिएन । अहिले अर्थतन्त्रमा मन्दीको कारण समस्या आएको हो । नेपालभरका ६० लाख नागरिकहरुलाई बैंकिङ पहुँचमा जोडेको छ । ३३ लाखलाई ऋण प्रवाह गरेर व्यवसायी बनाएको छ । महिलाहरुलाई उद्यमशिल बनाएर वित्तीय साक्षरता दिँदै अगाडि बढाएको छ । लघुवित्तले हजारौं मानिसहरुलाई सफल बनाएका उदाहरणहरु रहेका छन् । पछिल्लो समय लघुवित्तको कारण घरबाट भाग्नुपर्ने अवस्था आयो भन्नुभएको छ । त्यस्तो अवस्था किन आयो । त्यो अवस्था ऋणी आफैँले पनि बनाएको हो । ऋण धेरै भएर तिर्न नसक्ने अवस्था भएपछि रुन्छन् । घर छाड्ने र आत्मदाहाको बाटो रोज्ने भन्दा पनि समस्याको समाधानतर्फ सबै केन्द्रित हुनु आवश्यक छ । आत्महत्या गर्नु दुभाग्यपूर्ण नराम्रो कुरा हो । लघुवित्त संस्थामा भएका विकृतिलाई सधार गर्ने हो । संस्था बन्द गर्ने विषय तत्काल समस्याको समाधान होइन । लघुवित्तका कर्मचारीहरुले ऋणीहरुको घरमा गएर विभिन्न खालका यातना दिएको घटनाहरु बाहिर आएका छन् ? लघुवित्तका कर्मचारीहरुलाई मध्यराति १२ बजेसम्म ऋण उठाउन पठाउनु हुन्छ ? ऋणीहरुको घरमा गएर लघुवित्तले ताल्चा लगाउने,घरको समान जफत गर्नु गलत हो । कुनैपनि लघुवित्तले गरेको छ भने पनि गलत हो । लघुवित्तहरुले कर्मचारीहरुलाई त्यस्तो गराउनु हुँदैन । हामीले लघुवित्तका कार्यकारी निर्देशकहरुलाई भनेका छौं । यदि विगतमा भएका छन् भने पनि तत्काल बन्द गर्न निर्देशन नै गरेका छौं । किस्ता उठाउने विषयमा बिहान १० बजेदेखि ५ बजेसम्म भेट हुँदैन । फोन स्वीच अफ गर्छ त्यसलाई के गर्ने ? अफिस समयमा ऋणी घरमा भेट नहुँदा बेलुका कर्मचारी उसको घरमा गएको हुनसक्छ । ऋणीहरुले कार्यालय समयमा सम्पर्कमा रहनुभयो भने मध्यराति किस्ता उठाउन जाने कसैको रहर हुँदैन । ११ बजेसम्म घरमा ग्राहक आउँछ र कुरा गर्न बसेको हो नराम्रो नियतले बसेको नहुन सक्छ । हामीले त्यो दृष्टिकोणमा पनि हेर्नु पर्छ । त्यसरी जानु रहर नभएर बाध्यता हो । लघुवित्तले नियम भन्दा बाहिर गएर काम गरेको छैन भन्ने आधार पनि छैन, अर्को कुरा लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुबाट आवश्यक भन्दा बढी सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने सहमति गर्नुभयो, के हो वास्तविकता ? सेवा शुल्कको व्याख्या र दृष्टिकोण फरक हो । राष्ट्र बैंकको निर्देशनलाई लघुवित्तले बुझेको र राष्ट्र बैंकले बुझाई फरक भएकाले यस्तो भएको हो । त्यसमा केही विषयमा नियमन विपरित गरेको भन्ने विषय स्वीकार गर्छु । तर जुन रुपमा बाहिर आएको छ त्यो चाहीँ होइन । सरकार र लघुवित्त बीच रकम र्फिता गर्ने विषय सत्य हो । लघुवित्त सदस्यको पैसा केही सहुलियत दिने भनेर फिर्ता गर्ने विषय भएको हो । तर नियम विपरित गएर पैसा फिर्ता गर्नुपरेको भनेर भन्ने विषय कसरी ब्याख्या गर्ने विषयको कुरा हो । लघुवित्तहरुमा देखिएको समस्या लघुवित्त आफ्नै कारण र संस्था खोल्नलाई राष्ट्र बैंकले धेरैलाई लाइसेन्स दिँदा निम्तिएको समस्या भन्न मिल्छ ? लघुवित्त संस्थामा समस्या आउनुको शुरुवात धेरै संस्था खोल्न लाइसेन्स दिनु पनि एक हो । लाइसेन्स दिँदा धेरै संस्था दर्ता भए । नयाँ नयाँ व्यवसासयक क्षेत्रका लगानीकर्ताहरु आए । लघुवित्तको मर्म बुझ्ने भन्दा फरक लगानीकर्ताहरुको प्रवेश भयो । मार्केटमा नयाँ खेलाडीहरु आए सबैसँग जाडिएको छ । समस्या आउनुमा एउटा मात्रै फ्याक्टर होइन । नाफा मात्रै खोज्ने लगानीकर्ताहरुलाई लघुवित्तको लाइसेन्स दिएर पनि हुनसक्छ । लाइसेन्स दिँदा पनि संस्थाको गुणस्तर हेरिएन । त्यसरी खोल्न लघुवित्तहरु नाफामा मात्रै केन्द्रित भए । एक वर्षभित्र नै लघुवित्त नाफामा आउनुपर्छ भन्ने उद्देश्य लगानीकर्ताहरुमा हुँदा अस्वस्थ्य प्रतिष्पर्धा बढ्ने पक्ष पनि एक हो । समस्या आउनुमा एउटा मात्रै पक्षको कारण आएको होइन । अब समस्या नै समस्याको विचमा कसरी अगाडि बढ्न सकिन्छ, लघुवित्तप्रति विश्वास गुम्ने खतरा बढ्ने देख्नुभएको छैन ? मुलुक यति बेला आर्थिक मन्दीको चरणमा रहेको छ । सबै व्यवसाय चुनौतिपूर्ण अवस्थामा रहेको छ । आर्थिक गतिविधिहरु धेरै कम छ । त्यस कारण अब बाच्ने र बचाउने सिद्धान्तमा अगाडि बढ्नुपर्छ । लघुवित्त संस्थाहरु चल्नुपर्छ । सबै ऋण मिनाह, ब्याज छाडेर संस्था चल्दैन । संस्थामा एउटा ऋणीले पैसा तिरेन भने निक्षेपकर्तालाई पनि पैसा दिन सक्दैन । त्यस्तो भयो भने बैंकिङ प्रणाली ध्वस्त हुन्छ । अहिले उत्पन्न भएका समस्यालाई गहन रुपमा हेरर समाधान गर्न सकिने गर्ने र राज्यको कुनै कोषबाट लघुवित्तमार्फत अफ्ठ्यारो अवस्थामा गर्नपर्छ । ऋणीहरुलाई किस्ता तिर्न समय दिने हो । विगतमा लघुवित्तबाट ऋणको दुरुपयोग भयो । संस्थाले पनि नियमन गरेन । ऋण लिनेहरुले पनि सहज रुपमा अर्को ठाउँमा प्रयोग गर्यो । अब ऋणीले पनि ऋणको दुरुपयोग गर्दिन भनेर आउँदा समस्या समाधान हुन्छ । बिस्तारै राम्रो हुँदै जान्छ । हामीले धैर्य गर्ने अब सम्भावनाहरु के छ कसरी अगाडि बढ्न सकिन्छ भनेर संस्था र व्यक्तिहरु पनि विकल्पहरु खोज्न जरुरी छ । संस्थालाई किन पैसा दिएको भनेर औला देखाएर ऋण र ब्याज तिर्दिन भन्न थालियो भने राम्रो हुँदैन । अबको समाधान भनेको ऋण तिर्ने समय थप गर्ने र अफ्ठ्यारो परेकालाई सहजिकरण गर्नु हो । त्यो गर्न लघुवित्तहरु तयार छन् । पछिल्लो समय लघुवित्तका समस्या बाहिर आएसँगै विश्वास गुम्ने अवस्था देखिएको छ । कतिपयले लघुवित्त संस्था नबुझेर नै धारणा बनाएको पाइएको छ । सांसदहरुले समेत संसदमा बोल्न थाल्नुभएको छ । सबैलाई लघुवित्तको विषयमा बुझाउन आवश्यक रहेको देखिएको छ । ३६ प्रतिशत लघुवित्तले ब्याज लियो भन्ने गरिएको छ । त्यो हुन सक्दैन । प्रमाण भए राष्ट्र बैंकमा उजुरी दिन आग्रह छ ।

राष्ट्रपति कांग्रेसलाई दिँदा राष्ट्रिय सहमति बन्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिदा नै राष्ट्रिय सहमती हुने बताएका छन् । गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन । माओबादी केन्द्रले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेको भन्दै मन्त्री किरातीले कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिदा राष्ट्रिय सहमति हुने बताएका हुन । ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेश र संविधानको भावना राष्ट्रपति एकताको प्रतिक हो, राष्ट्रिय सहमितबाटै राष्ट्रपति चयन गर्नुपर्छ’, उनले भने ।

त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई सरकारले जनही २ लाख दिने

काठमाडौं ।  सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै, नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ । युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।

सगरमाथा इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको २६ औं साधारण सभाबाट कम्पनीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश पारित भएको हो । सभाले नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति पत्र बमोजिम २० प्रतिशत संस्थापक सेयरलाई समानूपातिक रुपमा सर्वसाधारण सेयरधनी समुहमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, सभाले मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लूम्बिनि जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता सेयर (१००:८०) कायम हूने गरी निर्धारण गरिएको सेयर आदन प्रदान अनूपात हुने गरी गरिएको मर्जर प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तुलनामा ७८/७९ मा १८.१६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै २ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा शूल्क आर्जन गरी एनएफआरएस अनुसार ३७ करोड ८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, कम्पनीले कुल दावी भूक्तानी तर्फ यस आर्थिक वर्ष गत बर्षको तुलनामा ३९.३४ प्रतिशतले बृद्धि गरि १ अर्ब ८५ करोड ६० लाख ६७ हजार भूक्तानी गरेको जानकारी दिएकाे छ ।  

नेपालको आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफबीच छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा आईएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ– वाशिङ्टन डि.सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन र सिबिफिनकोतर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबिफिनका महानिर्देशक डा. गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो । नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताए । सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजीबजारमा आएको गिरावट, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा आईएमएफका प्रतिनिधिसमक्ष जानकारी प्रस्तुत गरेका थिए । आईएमएफबाट आएको मिसन टोलीका प्रतिनिधिहरुले नेपालको हालको आर्थिक कठिनाइहरूको बारेमा अध्ययन गरि प्रतिवेदन तयार गर्ने जानकारी गराएका थिए। सिबिफिनको कार्यालय, सुन्धारामा सम्पन्न उक्त भेटघाट तथा छलफल अर्थपूर्ण भएको र आगामी दिनमा समेत आईएमएफले आर्थिक तथा बैंकिङ क्षेत्रका विविध विषयहरुमा सिबिफिनसँग गरिरहेको छलफल र सहकार्यलाई जारी राख्ने सन्देश व्यक्त गरे ।

अणुब्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी सम्पन्न

काठमाडौं । नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ  । विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य थिए भने बिशेष अतिथिको रुपमा पूर्व मिसनेपाल उष खड्गी , बरिष्ठ गायक आनन्द कार्कि लगायतका बिशिष्ठ ब्यक्तिको उपस्थितिमा प्रभातफेरी गरिको थियो । प्रभातफेरीमा बिभिन्न बिधालयका बिधार्थि , समाजसेवी , बिभिन्न सम्प्रदायको प्रतिनिधि, बिबिध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो । प्रभातफेरीको पूर्व सन्ध्यामा सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुब्रतको आन्दोलन र अणुव्रतको बिषयमा जानकारी दिइएको थियो । अणुब्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजीत यस अणुब्रत अमृत महोत्सव अणुब्रतका सिद्धान्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताएका थिए । उनले अणुब्रतका आचार संहिताको बारे पनि जानकारी दिएका छन् । अणुब्रत आचार्य संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने , कहि कसैलाइ आक्रमण नगर्ने , मानबिय एकतामा बिश्वास राख्ने , धार्मिक सहिष्णुतालाइ कायम राख्ने , व्यवसाय र व्यवहारमा प्रमाणिक रहने , ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने , सामाजिक कुरीतीलाइ प्रश्रय नदिने , नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने जस्ता अणुव्रत नियम  सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए  । सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानि , नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा , तेरापन्थ सभाका अध्यक्ष महाबिर संचेचि, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला , जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकि अध्यक्ष अमिता नाहाटा नेपाल अणुब्रत समितिका निबर्तमान अध्यक्ष ज्योति बेगानी लगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाइ सकारात्मक उर्जा दिएको र अणुब्रतका हरेक बुदाले आफूलाइ भित्री रुपमा छोएको पनि बताएका छन् । प्रभातफेरी काठमाण्डौको जैन भवन बाट सुरु भएर सोभाभगवती , ज्ञानेश्वर , मैतिदेबि ,चारखाल हुदै पुन जैन भवनमा पुगेर टुंगीएको थियो । अणुब्रतको बारे जानकारी दिने उदेश्यका साथ आयोजीत यस प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाइ सबैले प्रशसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जानकारी दिएका छन् ।