विकासन्युज

बैंकको ब्याज १० प्रतिशतभन्दा बढी हुनुहुँदैन : मुख्यमन्त्री कार्की

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताएका छन् । आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताए । पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो । उनले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गरे । मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिए । ‘दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ’, मुख्यमन्त्री कार्कीले भने, ‘निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।’ उनले मुलुकको निर्यात घटेको र आयात झन्–झन् बढ्दै गएको बताउँदै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासङघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सङ्घईले बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै उहाँले निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताएका हुन् । व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै सङ्घईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताए । व्यवसायी प्रवद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेर राम्रो काम गरेको बताए । यसले यहाँको व्यापार व्यवासाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । आजदेखि सुरु भएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराह क्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा चार ठाउँबाट एक्स्पोस्थल धरान रङ्गशालासम्म निःशुल्क बस चलाइएको छ । एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिकरूपमा राखिएको छ । एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनका स्टल ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहेका छन् । विदेशी सामग्रीका कुल १५ वटा स्टल एक्सपोमा रहेका छन् । पाकिस्तान जनावरको छालाबाट बनेको सामान उत्पादन गर्ने मुलुकका रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला–पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने आयोजक कमिटीका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । बङ्गलादेशको तयारी पोशाकका उत्पादन महिलाका कुर्ता, सलवार, साडी, बालबालिकाका पोशाक आकर्षणको स्टल राखिएको छ । बङ्गलादेशको तयारी पोशाक युरोप, अमेरिकी मुलुकमा निर्यात हुँदै आएको छ । भारतीय उत्पादन तयारी पोशाकका साथै दैनिक भान्सा तथा घरायसी कामधन्दामा आवश्यक उपकरण राखिएको छ । भारतीय साडी, कुर्ता सलवार किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट ल्याई एक्स्पोमा राखिएको छ । एक्स्पोले जुम्लाको भिर मौरीको मह, माछाको अचारदेखि अग्र्यानिक र ब्राण्डेड वस्तु किनमेल गर्ने अवसर जुटाइएको छ । यस्तै पूर्वका कृषि अभियानकर्मी कृष्ण राईले कृषि प्रविधिको जानकारीसहित कृषि स्टल राख्नुभएको छ । विभिन्न प्रविधि प्रयोग गरेर उहाँले आफ्नो करेसाबारीको प्रविधिको प्रदर्शनी मेलामा गरेका छन् । रासस

पुस १० को सहमति कार्यान्वयनमा नआए एमाले सरकारमा बस्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने स्पष्ट गरे । विभिन्न मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनले बताए । सत्ता समीकरण फेरिनु नहुने उनको भनाइ छ । छिटोछिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने उनले बताए । यसैबीच उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने उनले बताए । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे । सोही सहमति अनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनको भनाइ छ । ‘तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो’, उनले भने, ‘सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’ रासस

३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

काठमाडौं । जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । जगदम्बा मोटर्स टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य  ग्राहकहरुसँग भेटघाट र अन्तर्कृया गर्नु रहेको बताए । ‘नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ, हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ,’ उनले भने । यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौं, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका उनले जानकारी दिए । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्ने कम्पनीले बताएको छ ।

प्रचण्डजीले धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन् । अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।’ उनले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताए ।

महानगरले सुरु गर्यो कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । आज टेकुमा १२ टन कुहिने फोहरबाट मल बनाउने काम सुरु गरिएको हो । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि कामपाले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । श्रेष्ठले भने, ‘सबै फोहर एकै स्थानमा जम्मा गर्ने र कामपाको केन्द्रिय कार्यलयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थाल्नुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ ।’ उनका अनुसार कामपाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउनका लागि तयारी गरिरहेको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ । त्यसका लागि कामपाले फोहर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ । आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहरबाट मल बनाउने कामको थालनी हुने भनाइ कामपाको छ । यो सँगै कामपाका ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने कामपाको तयारी रहेको छ । त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा कामपाले नागरिकलाई वितरण गरिरहेको छ । कामपाले गत साउन एक गतेदेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ । महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । कामपाको कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन । पछिल्लो समय उत्पादन हुने फोहरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । फोहरको वर्गीकरणबिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिनादिनसम्म काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ । रासस

सिभिल छोडेका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै, ३ वर्षका लागि नियुक्त हुँदै

काठमाडौं । सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो । उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् । सिभिलबाट बाहिरिएसँगै उनी विदेशी बैंकको सीईओ बन्ने निर्णयमा पुगेका हुन् । उनको नियुक्तीको विषय भने भोलि अर्थात् शुक्रबार फाइनल हुनेछ । पोखरेलले सिभिल बैंक छोडेसँगै विदेशी बैंक टिसाको सीईओ बन्ने कुरा भएको विकासन्युजसँग बताए । ‘सिभिल बैंकमा सबै विषय मिलाइयो, साथीहरुको भावना पनि समेटियो, अब विदेशमा पनि काम गर्नु पर्छ भन्ने मानसिकता बनाएपछि टिसा बैंकसँग कुरा भएको हो, भोलि मात्रै यकिन हुन्छ,’ उनले विकासन्युजसँग भने । उनीसँग यसअघि पनि विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरिसकेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । उनले एनआइसी एसिया बैंकमा पनि करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि एक वर्ष काम गरेको उनीसँग अनुभव छ । २०७८ जेठमा उनी सिभिल बैंकको सीईओ बनेका थिए । अहिले सिभिल बैंक हिमालयन बैंकसँग गाभिएपछि उनले सो बैंकबाट बाहिरिने निर्णय गरे लगत्तै विदेशी बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । सिभिल बैंकबाट पोखरेलसहित ८ जना व्यवस्थापन टीमका कर्मचारीले स्वेच्छिक अवकास सुविधा (भिएसआर) लिएर बाहिरिएका छन् । उनीहरु दुई वर्षको सेवा सुविधा लिएर बाहिरिएका हुन् । सिभिल बैंकका तत्कालीन सीईओ गोविन्द्र गुरुङले सिभिल छोडेर विदेशी बैंकको सीईओ बन्न गएपछि सिभिल बैंकको सिईओ पोखरेल बनेका थिए । सिभिल बैंकको सीईओ बनेपछि विदेशी बैंकमा जाने अभ्यास पनि देखिएको छ । विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा पोखरेल चिनिन्छन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले सिभिल बैंकलाई बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रुपमा स्थापित गरेका छन् । कस्तो बैंक हो टिसा ? दी टीचर्स सेभिङ्स एण्ड लोन सोसाइटी लिमिटेड (टिसा) पपुवा न्यूगिनीको एउटा वाणिज्य बैंक स्तरको वित्तीय संस्था हो । यो  बचत तथा ऋण समाज र प्यासिफिकको सबैभन्दा ठूलो क्रेडिट युनियन हो । टिसा बचत तथा ऋण समाज ऐन २०१५ अन्तर्गत दर्ता गरिएको बचत र ऋण समाज हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिभिजन नेपाल राष्ट्र बैंकले गरे जस्तै यसको नियमन बैंक अफ पपुवा न्यूगिनीले गर्छ । यो कम्पनीलाई लगानी प्रवर्द्धन प्राधिकरणले पनि नियमन गर्छ । यो कम्पनी शिक्षा विभागका दर्ता भएका शिक्षक र कर्मचारीहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउनका लागि सन् १९७२ मा स्थापना भएको थियो । अहिले नेपालमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले गर्ने काम जस्तै यो कम्पनीसाग पनि सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको आवद्धता छ । यसले मुख्य गरेर बचत र ऋण काम गर्छ । त्यसैले पनि यो एउटा बैंकको रुपमा परिचित छ । यसले सदस्यहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउन र ऋण प्रदान गर्ने गर्छ । बैंकिङ र फाइनान्स, एयरलाइन्स, बीमा लगायत क्षेत्रमा पनि यस संस्थाको लगानी छ ।

एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

काठमाडौं । एभरेष्ट बैंकल भक्तपुरको कमलविनायकमा आफ्नो १ सय २४ औं शाखा उद्घाटन गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख – प्रहरी नायब उपरिक्षक श्री राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ ।

भानु जन्मस्थललाई सप्तधाममा विकास गर्न पहल, १ करोड लाग्ने

दमौली । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दिएछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य ) नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उनकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उनकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो । भानुभक्त जन्मस्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचारप्रसार गरी साहित्यिक पर्यटनका रुपमा देशविदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । पर्याप्त बजेट नहुँदा त्यसले मूर्त रुप पाउन सकिरहेको छैन । आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए । भानुभक्तको जन्मथलो शिमखर कटेरी चुँदीरम्घामा रामायण भवन निर्माण भइसकेको छ । पर्यटन मन्त्रालयको तीन करोड रुपैयाँ लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरुपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ । चुँदीरम्घालाई सप्तधामका रुपमा विकसित गर्न गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउछन् । ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छाैँ ।’ समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि एक करोड रुपैयाँ बजेट आवश्यकपर्ने अनुमान गरिएको छ । शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्न भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माण गर्ने भनेको लामो समय भइसके पनि काम सुरु नभएकाले समितिकै सक्रियतामा अब घर निर्माण थालिने रानाभाटले बताए । ‘घर निर्माण गर्ने भनेर शिलान्यास भएको लामो समय भयो, काम भएन’, उनले भने, ‘अब समितिले आफैँले घर निर्माण काम थाल्छ ।’ भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्न गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापिठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउछन् । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीका दिन देशभित्र तथा देश बाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीयवासी निराश छन् । भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । स्थानीय अगुवा ओमकुमारी पौडेलले सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताए । ‘भानुभक्त आचार्यको जन्मथलो ओझेलमा छ, यसको विकासका लागि सरकारको ध्यान जानुपर्छ’, उनले भने ।