विकासन्युज

सिभिल छोडेका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै, ३ वर्षका लागि नियुक्त हुँदै

काठमाडौं । सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो । उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् । सिभिलबाट बाहिरिएसँगै उनी विदेशी बैंकको सीईओ बन्ने निर्णयमा पुगेका हुन् । उनको नियुक्तीको विषय भने भोलि अर्थात् शुक्रबार फाइनल हुनेछ । पोखरेलले सिभिल बैंक छोडेसँगै विदेशी बैंक टिसाको सीईओ बन्ने कुरा भएको विकासन्युजसँग बताए । ‘सिभिल बैंकमा सबै विषय मिलाइयो, साथीहरुको भावना पनि समेटियो, अब विदेशमा पनि काम गर्नु पर्छ भन्ने मानसिकता बनाएपछि टिसा बैंकसँग कुरा भएको हो, भोलि मात्रै यकिन हुन्छ,’ उनले विकासन्युजसँग भने । उनीसँग यसअघि पनि विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरिसकेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । उनले एनआइसी एसिया बैंकमा पनि करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि एक वर्ष काम गरेको उनीसँग अनुभव छ । २०७८ जेठमा उनी सिभिल बैंकको सीईओ बनेका थिए । अहिले सिभिल बैंक हिमालयन बैंकसँग गाभिएपछि उनले सो बैंकबाट बाहिरिने निर्णय गरे लगत्तै विदेशी बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । सिभिल बैंकबाट पोखरेलसहित ८ जना व्यवस्थापन टीमका कर्मचारीले स्वेच्छिक अवकास सुविधा (भिएसआर) लिएर बाहिरिएका छन् । उनीहरु दुई वर्षको सेवा सुविधा लिएर बाहिरिएका हुन् । सिभिल बैंकका तत्कालीन सीईओ गोविन्द्र गुरुङले सिभिल छोडेर विदेशी बैंकको सीईओ बन्न गएपछि सिभिल बैंकको सिईओ पोखरेल बनेका थिए । सिभिल बैंकको सीईओ बनेपछि विदेशी बैंकमा जाने अभ्यास पनि देखिएको छ । विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा पोखरेल चिनिन्छन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले सिभिल बैंकलाई बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रुपमा स्थापित गरेका छन् । कस्तो बैंक हो टिसा ? दी टीचर्स सेभिङ्स एण्ड लोन सोसाइटी लिमिटेड (टिसा) पपुवा न्यूगिनीको एउटा वाणिज्य बैंक स्तरको वित्तीय संस्था हो । यो  बचत तथा ऋण समाज र प्यासिफिकको सबैभन्दा ठूलो क्रेडिट युनियन हो । टिसा बचत तथा ऋण समाज ऐन २०१५ अन्तर्गत दर्ता गरिएको बचत र ऋण समाज हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिभिजन नेपाल राष्ट्र बैंकले गरे जस्तै यसको नियमन बैंक अफ पपुवा न्यूगिनीले गर्छ । यो कम्पनीलाई लगानी प्रवर्द्धन प्राधिकरणले पनि नियमन गर्छ । यो कम्पनी शिक्षा विभागका दर्ता भएका शिक्षक र कर्मचारीहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउनका लागि सन् १९७२ मा स्थापना भएको थियो । अहिले नेपालमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले गर्ने काम जस्तै यो कम्पनीसाग पनि सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको आवद्धता छ । यसले मुख्य गरेर बचत र ऋण काम गर्छ । त्यसैले पनि यो एउटा बैंकको रुपमा परिचित छ । यसले सदस्यहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउन र ऋण प्रदान गर्ने गर्छ । बैंकिङ र फाइनान्स, एयरलाइन्स, बीमा लगायत क्षेत्रमा पनि यस संस्थाको लगानी छ ।

एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

काठमाडौं । एभरेष्ट बैंकल भक्तपुरको कमलविनायकमा आफ्नो १ सय २४ औं शाखा उद्घाटन गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख – प्रहरी नायब उपरिक्षक श्री राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ ।

भानु जन्मस्थललाई सप्तधाममा विकास गर्न पहल, १ करोड लाग्ने

दमौली । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दिएछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य ) नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उनकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उनकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो । भानुभक्त जन्मस्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचारप्रसार गरी साहित्यिक पर्यटनका रुपमा देशविदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । पर्याप्त बजेट नहुँदा त्यसले मूर्त रुप पाउन सकिरहेको छैन । आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए । भानुभक्तको जन्मथलो शिमखर कटेरी चुँदीरम्घामा रामायण भवन निर्माण भइसकेको छ । पर्यटन मन्त्रालयको तीन करोड रुपैयाँ लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरुपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ । चुँदीरम्घालाई सप्तधामका रुपमा विकसित गर्न गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउछन् । ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छाैँ ।’ समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि एक करोड रुपैयाँ बजेट आवश्यकपर्ने अनुमान गरिएको छ । शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्न भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माण गर्ने भनेको लामो समय भइसके पनि काम सुरु नभएकाले समितिकै सक्रियतामा अब घर निर्माण थालिने रानाभाटले बताए । ‘घर निर्माण गर्ने भनेर शिलान्यास भएको लामो समय भयो, काम भएन’, उनले भने, ‘अब समितिले आफैँले घर निर्माण काम थाल्छ ।’ भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्न गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापिठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउछन् । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीका दिन देशभित्र तथा देश बाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीयवासी निराश छन् । भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । स्थानीय अगुवा ओमकुमारी पौडेलले सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताए । ‘भानुभक्त आचार्यको जन्मथलो ओझेलमा छ, यसको विकासका लागि सरकारको ध्यान जानुपर्छ’, उनले भने ।

कृषि छोडेर जग्गा बेच्दै कृषक, अन्न विदेशबाट आयात

म्याग्दी । म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कङ्क्रिटका घरले भरिन थालेका छन् । बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न थालेपछि खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी–४ सिङ्गा, रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत स्थानमा सडकको पहुँच पुगेसँगै कृषि उत्पादन घटेको छ । यहाँका स्थानीय आयातित अन्नको भर पर्न थालेका छन् । अन्न भण्डारसँगै प्राङ्गारिक खेतीका लागि प्रख्यात गाउँ अहिले कङ्क्रिटको सहरमा परिणत हुन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकामसँग जोडिएको गाउँ भएकाले पनि यस क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता लिएको छ । खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आउन थालेको हो । ‘खेतीयोग्य जमिन निकै कम छन्, भएका जमिनमा पनि घर ठडिन थालेपछि उत्पादनमा कमी आएको छ । आयतित खाद्यान्नमा निर्भर हुनुपर्ने अवस्था छ’, स्थानीय वेदप्रसाद शर्माले भने । कृषिजन्य वस्तुको उत्पादनमा भन्दा जग्गा बेचेर बढी आम्दानी हुन थालेपछि किसानले जग्गा बेच्न थालेका स्थानीय बताउँछन् । खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थालेपछि स्थानीय उत्पादनमा जिल्ला अघि बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन् । सडक सञ्जाल विस्तार हुँदा कृषियोग्य जमिन मासिँदै जान थालेको छ । सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी सस्तोमा पाइने भएकाले घडेरी किनेर घर बनाउने आकर्षण बढेको स्थानीय बताउँछन् । हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तारका साथै जग्गाको किनबेच बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए । उनका अनुसार एक लाख ५० हजार रुपैयाँसम्ममा घडेरी पाइन्छ । ‘आधुनिक कृषि प्रर्णाली विकास हुन सकेको छैन । रैथाने परम्परागत कृषि पेशालाई अपनाउन अहिलेको परिवेशमा सुहाउँदैन, खेतीयोग्य जमिन बेच्नुबाहेक विकल्प छैन’, स्थानीय किसान टेकबहादुर कार्की भन्छन् । यहाँको भूवनोटअन्तर्गत आठ प्रतिशत बेँसी, ५६ प्रतिशत उच्च पहाडी र ३६ प्रतिशत हिमाली क्षेत्र पर्दछ । समुद्र सतहदेखि ७९२ मिटरदेखि आठ हजार १६७ मिटरसम्म फैलिएको छ । १५ वर्षयताको तथ्याङ्क हेर्दा यस क्षेत्रमा आधाभन्दा बढी खेतलाई घडेरी बनाइएको छ । हाल खेतीभन्दा आयातित खाद्यान्नका भरमा यहाँको जनजीवन चलेको छ । खेतीयोग्य जमिन बेचेर काठमाडौँ, पोखरा, चितवनलगायत सहर जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको स्थानीय बताउँछन् । रासस

चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ?

काठमाडौं । ढपक्क ढाकेको तुँवालोका पर्दाबाट सूर्यको मलिन किरणले आज बिहान काठमाडौँको कलङ्कीमा न्यानो स्पर्श छर्दै थियो । यात्रुहरुको चहलपहल बिस्तारै बढ्दै जाँदा गाडी पनि यात्रुको प्रतीक्षा गरिरहेका देखिन्थे । ठिक ९ बजे उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आइपुगे । मन्त्रालय र विद्युत् प्राधिकरणका केही कर्मचारी नक्सा र सडक डिजाइनसहित कागजात बोकेर ब्रिफिङका लागि तयारी अवस्थामा देखिन्थे । काठमाडौँको चक्रपथ सडक विस्तारका क्रममा  दोस्रो खण्डको काममा भएको अवरोध र त्यसलाई हटाउने सम्बन्धमा संयुक्त स्थलगत अनुगमनका लागि यहाँ उनीहरूको उपस्थिति भएको हो । चार वर्ष बित्दा पनि साइट क्लियर नभएको जनाउँदै निर्माण गर्ने पक्ष चिनियाँ टोलीले काम अघि बढाएको थिएन । ‘उनीहरुले चिनियाँ टोलीले भनेको अव्ट्यागल के हो ?’ चार वर्ष बितिसक्दा पनि विस्तार हुन नसकेको चक्रपथ सडकको दोस्रो खण्डको साइटमा अवरोधबारे उपप्रधानमन्त्री श्रेष्ठले ती कर्मचारी सामु प्रश्न गरेपछि हातमा बोकेको फाइल हेर्दै उक्त आयोजनाका प्रमुख सजना अधिकारीले ब्रिफिङ गर्न थाले । मन्त्री श्रेष्ठकै सामुन्ने ठडिएको विद्युत्को पोल हटिसकेको थिएन । ‘पोल सार्ने काम के भो ?’, उनले विद्युत् कर्मचारीतर्फ सङ्केत गर्दै अर्को प्रश्न गरे । ‘हुँदैछ हजुर, धेरै हटिसक्यो अब केही बाँकी छन्, त्यो पनि छिट्टै सर्छ’, प्राधिकरणका डेपुटी म्यानेजिङ डाइरेक्टर दीर्घायुकुमार श्रेष्ठले मन्त्री श्रेष्ठको जिज्ञासा मेटाए । उनबाट बढीमा १५ दिनमा पोल सारिसक्ने प्रतिबद्धता आयो । त्यही क्रममा नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह पनि टुप्लुक्क देखिए । राजदूत सोङले पुनः त्यहीँ साइट अवरोधबारे प्रश्न सोध्न थाले । साइट क्लियर हुँदै गएको र केहीमात्रै संरचना बाँकी रहेकाले छिट्टै सार्ने मन्त्रालयका कर्मचारीबाट आएको जवाफले प्रसन्न देखिएका राजदूत सोङले ‘सो गुड, थ्याङ्कयु’ भने । त्यसपछि टोली स्वयम्भू चोक पुग्यो । त्यहाँ एउटा पिपलको बोट हटाउनुपर्ने रहेछ । त्यसका संरचना हटाउने क्रम जारी रहेको अनुगमन टोलीले देख्यो  तर स्वयम्भूका सम्पदाहरुले अवरोध गर्थ्यो । अहिले भने त्यहाँका संरचनालाई सुरक्षित राख्दै डिजाइनै परिवर्तन गर्ने नेपाल र चिनियाँ टोलीबीच समझदारी भएकाले स्वयम्भूको समस्या समाधान भएको पाइयो । त्यसपछि वनस्थली, बालाजु, गोँङ्गबुलगायत क्षेत्रमा पर्ने मन्दिर, अन्य भौतिक संरचना, आइल्याण्ड, रुख बिरुवा र प्रहरी चौकीका संरचना हटिसकेको रहेछ । केही संरचना डोजर लगाएर हटाउँदै गरेको देखियो । अलिपर रहेको प्रहरी चौकीका संरचना पनि बुधबार मात्रै हटाइएकाले साइड खुल्दै गएको स्पष्ट देखियो । अनुगमन टोली सधैँ बसुन्धरा पुग्यो । टोलीले समग्रमा केही पोलबाहेक धेरै संरचना हटिसकेको र ढलको कामसमेत सुरु भइसकेको देखेपछि अब काम छिट्टै अघि बढ्नेमा शङ्का गर्नुपर्ने ठाउँ देखेन । राजदूत सोङले छिट्टै काम अघि बढाउने आश्वासन मन्त्री समक्ष नै दिए । सो क्रममा मन्त्री श्रेष्ठले पनि अब काम नरोकिने पत्रकारसँग प्रतिबद्धता जनाए । त्यहीबेला अनुगमनमा सहभागी हुन आइपुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोलकै कारणले काममा अवरोध नहुने १०/१५ दिनसम्ममा सबै पोल सारिसक्ने प्रष्ट पारे । अहिले कलङ्की क्षेत्रमा २० वटा पोल भने सार्न बाँकी देखियो । यी संरचना हटाउने काम २०१८ को नेपाल–चीन ‘जिटुजी’ सम्झौता लगत्तै हुनुपर्ने भए पनि विविध कारणले हुन नसक्दा विस्तारको काम चार वर्षसम्म थाँती रहेको हो । योजना प्रमुख अधिकारीले चक्रपथ विस्तारको दोस्रो खण्डको आठ दशमलव दुई किलोमिटर सडक रहेको जानकारी दिए । उनका अनुसार उक्त सडकमा तीन सय बिजुलीको पोल थियो । हाइटेन्सनका दुई टावर थियो । अझै कलङ्कीदेखि स्वीचाटारसम्म २०/२२ वटा पोल हटाउन बाँकी छ । उक्त सडकमा परेका १९ मन्दिर हटाइसकिएको छ । चौतारालगायत अस्थायी संरचना हटाइसकेकाले साइट क्लियर भएको योजना प्रमुख अधिकारीले बताए । यो सम्झौता सन् २०१८ मा भए पनि कोभिडलगायत कारण चीनले नै डिजाइन गर्नुपर्ने हुँदा टोली आउन नसकेकाले रोकिएको काम पनि पूरा हुन नसकेको उनको जिकिर थियो  । अहिले दोस्रो खण्ड कलङ्कीबाट वसुन्धराको कल्भर्टसम्म हुनेछ   तर सरकारले चाबहिल नजिक रहेको धोबीखोला पुलसम्म विस्तार गर्न अनुरोध गरिरहेको छ । आठ लेनको सडकमा मुख्य लेन चीनको अनुदानमा चीनियाँ पक्षले नै बनाउने र बाँकी काम भने नेपाल सरकारले नै गर्नुपर्ने छ । साइड लेन र ढलको काम सुरु भएको र ठेक्कासमेत लागिसकेकाले एक वर्षमा सक्ने उनले जानकारी दिए ।यहाँ पर्ने दुई पुल पनि चीनले नै बनाउने छ । आकासे पुल चीनले तीन वटा बनाउने छ । सुरु भएपछिको दुई वर्षमा सक्ने योजना यसको छ । उक्त सम्झौता अनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ । तेस्रो खण्डको विस्तार योजनाका लागि भने महाराजगञ्जको चक्रपथ चोकमा घरको मुआब्जाको समस्या कायम रहेको बताइन्छ । रासस

कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न

काठमाडौं । हेराल्ड डेभकर्पस्यु.आइ भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले सफलतापूर्वक नन्स्टप २४ घन्टा, कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना ३४४७ मिटर उचाइमा रहेको कुरीे गाउँमा गरेको थियो । ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागीता जनाएका थिए । जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनौट भएका थिए । जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका थिए । ह्याकाथनको मुख्य उद्देश्य शीर्ष तिन टोलीहरूलेसिर्जना गरिएको नँया प्रोटोटाइपहरू द्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई एउटा स्तरमा पुर्याउनु हो । हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अध्क्षय प्रकाश श्रेष्ठले आयोजक टिम प्रति धन्यवाद ज्ञापन गर्दै भने, यस परियोजनामा समाबेश भएका सम्पूण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याएर प्रशंसाको हकदार बनेको छ । यस नतिजा विद्यार्थीहरुको प्रतिभाको परिणाम हो र म सबैमा गर्व गर्छु ।’ हेराल्ड डेभकर्पस्की प्रमुख सुजाता थापाले पनि आयोजक समिति र तिन शीर्ष टिमको प्रशंसा गर्दै भने, ‘हाम्रो उपस्थित कलेज समुदायमा सबैको प्रयास प्रतिबिम्बित छ र म त्यसमा गर्व गर्छु ।’ त्यसै गरी उनले प्रंशसा गर्दै विद्यार्थीहरुको प्रभावशाली र प्रतिभाशाली विचारहरू प्रति चकित भएको बताए । यस प्रतियोगीताको विजयी विरिन्ची कलेज – टिम एभरेष्ट बन्न सफल भएको थियो । विजयी टिमको परियोजना ‘टाइडी टाउन’ रहेको छ, जस्को उद्देश्य सेन्सरहरूको प्रयोगले फोहोर व्यवस्थापन समस्याहरू समाधान गर्ने र फोहोर डिस्पोजलकोव्यावहारिक तरिका प्रदान गर्नु हो । यसका साथै, हेराल्ड कलेज काठमाडौंले विजयी टिम, विरिन्ची कलेज – टिम एभरेष्टलाई जितको साथै अन्य सहभागी टिमलाई सहभागिताको लागि बधाई दिएको थियो ।

डीएभी स्कुलले मनायो देवनागरी दिवस

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस मनाएकाे छ । विभिन्न  भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ  डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी दिवस मनाइएको हो । उक्त अवसरमा सहभागी विद्यालयहरूले संस्कृत श्लोकवाचन, नेपाली–हिन्दी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । अन्तर विद्यालय प्रतिस्पर्धाहरूमा डीएभी अप्रतिस्पर्धी रहे पनि डीएभी आवद्ध विद्यार्थीहरूले संस्कृत, नेपाली र हिन्दी लगायत विभिन्न मातृभाषाका साहित्य, संस्कृति, कला र रीतिरिवाज झल्काउने नृत्य एवं कलाकौशलता प्रदर्शन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अङ्ग्रेजी माध्यम विद्यालय भए पनि स्थापनाकालदेखि देवनागरी भाषाहरू अध्ययन–अध्यापन भइरहेको बताए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी डा.मंचला झाबीच शिक्षण प्रक्रियामा मातृभाषाको भूमिका विषयमा अन्तरक्रिया समेत भएको थियो ।    

पुँजी ५ अर्ब पुर्याउन संस्थापकबाट रकम उठाउँदै राष्ट्रिय बीमा संस्थान, यस्ता छन् १६ योजना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ५५औं वर्ष पार गरी ५६औं वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वमा रहेको संस्थानले बिहीबार एक कार्यक्रम आयोजना गरी आफ्नो ५६औं वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा संस्थानका प्रशासक कवि पाठकले बीमाको पहुँचमा वृद्धि गर्दै व्यवसायमा विस्ता गर्ने बताएका छन् । साथै, उनले संस्थानले विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताएका छन् । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको प्रशासक पाठकले जनाए । संस्थानले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख रुपैयाँ सेयर पूँजी (हालको बजार पूजीकरण रकम १ अर्ब ६ करोड रुपैयाँ) लगानी रहेको छ । ऋण लगानी २ अर्ब ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल ४ अर्ब ८८ करोड रहेको छ । हाल यो लगानीको व्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको संस्थानले जानकारी गराएको छ । जलविद्यूत् लगानी तथा विकास कम्पनीमा १ अर्ब सेयर लगानी (हालको बजार पुँजीकरण रकम (१ अर्ब २० करोड रुपैयाँ) गरिएको छ । विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक सेयर लगानी गरिएको छ । नागरिक लगानी कोषमा कुल सेयर पुँजीमध्ये संस्थानको २१.५ प्रतिशत स्वामित्व रहेको छ । यसको अतिरिक्त सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमइ बैंक, एनआईसी एशिया बैंक तथा नेपाल पुनर्बीमा कम्पनीमा संस्थानको संस्थापक तथा साधारण सेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ३० अर्ब २० करोड रुपैयाँ तथा डिबेञ्चरमा ५ अर्ब १० करोड लगानी रहेको छ । संस्थापकहरुले पुँजी थप्नु पर्ने हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्र छ । नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको निर्देशन बमोजिम जीवन बीमा व्यवसाय गर्ने संस्थाको चुक्ता पुँजी ५ अर्ब हुनु पर्नेछ । प्राधिकरणले तोकेबमोजिमको पुँजी पुर्याउन उन संस्थानले संस्थापकहरुलाई पुँजी थप्न पत्राचार गरिसकेको छ । त्यस्तै, संस्थानको पुँजी संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहने गरी पुँजी वृद्धि योजना नेपाल बीमा प्राधिकरणमा पेश गरिएको संस्थानका प्रमुख कार्यकारी अधिकृत कवि पाठकले जानकारी गराए । आगामी दिनमा संस्थानले प्रदान गर्दै आएको सेवाहरु थप छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ । कार्यक्रममा संस्थानका अध्यक्ष ईश्वर पौडेलले गत वर्षमा गरिएको प्रतिवद्धताहरु समयमा पुरा नगर्न नसकेको स्वीकारेका छन् । तर आगामी वार्षिकोत्सवसम्ममा भने अधिकांश प्रतिवद्धता पुरा गर्ने उनले बताएका छन् । बीमा संस्थानलाई कम्पनीमा लैजानको लागि प्रकृया शुरु भएको छ सरोकारवालाहरुको जिज्ञासालाई सम्बोधन गर्ने उनले बताए । संस्थानले केही गर्दै छ भन्ने महशुस गर्न पाइयोस् कार्यक्रममा प्रमुख अतिथि तथा राजश्व सचिव डा. राम प्रसाद घिमिरेले राष्ट्रिय बीमा संस्थानलाई लेखापरीक्षणको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी गराएका छन् । यसमा नियामक निकाय तथा सञ्चालक समितिले सहजिकरण गर्नुपर्ने उनको भनाई छ । त्यस्तै, उनले संस्थानको योजनाहरु कागजमा सीमित नभई समयमै कायान्वयनमा ल्याउनुपर्ने बताए । कुनै पनि संस्था तथा कम्पनी कर्मचारी नहुने र कर्मचारीको वृद्धि विकास पनि महत्व हुने बताउँदै राजश्व सचिव घिमिरेले कर्मचारीको नियमावली पास भइसकेको समेत जानकारी गराएका छन् । साथै, उनले बीमा संस्थानले केही गर्दै छ भन्ने महसुस हुने वातावरणको सिर्जना गराउन समेत संस्थानलाई आग्रह गरेका छन् । यस्ता छन् संस्थानको १६ योजनाहरु संस्थानले चालु आर्थिक वर्षको अन्तसम्ममा बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको काम सम्पन्न गर्ने योजना बनाएको छ । २०८० असारसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्गीय मुल्याङन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने संस्थानको योजना छ । यता अर्थमन्त्रालयले भने संस्थानलाई चैतसम्ममा लेखापरीक्षण हुन बाँकी रहेका सबै वित्तीय विवरणहरु लेखापरीक्षण गराउन निर्देशन दिएको छ । संस्थानले हालसम्म आर्थिक वर्ष २०७२/७३ देखिको लेखापरीक्षण गरेको छैन । आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मको बाह्य लेखापरीक्षकद्धारा लेखापरीक्षण गरी अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको छ । लेखापरीक्षण गर्नुअघि बीमाङ्कीय मूल्यांकन गर्नुपर्ने भएकोले संस्थानले हाल उक्त कामलाई बढी प्राथमिकतामा राखेर अघि बढीरहेको जानकारी गराएको छ । २०७५/७६ सम्मको लेखापरीक्षकद्धारा लेखापरीक्षा गरी अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको संस्थानले जनाएको छ । त्यस्तै, तोकिए बमोजिमको पूँजी कायम गरी संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने संस्थानले जनाएको छ । पुरानो हिसाव भिडान गरी फछ्र्योट गर्ने, संस्थानको डीडीए गर्ने, योजनावद्ध प्रयासबाट संस्थानको समग्र पक्षमा सुधार ल्याउँदै व्यवसाय विस्तार गर्ने संस्थानको योजना रहेको छ । त्यसैगरी, अनुकुल व्यावसायिक वातावरण निर्माण गर्न संगठन संरचना, पूर्वाधार तथा ले-आउटमा आवश्यक परिमार्जन गर्ने, एकीकृत सफ्टवेयर मार्फत हुने बीमाशुल्क संकलन र दाबी भुक्तानीको कारोवारलाई अनलाइन माध्यमबाट गरी थप व्यवस्थित गर्ने संस्थानले जनाएको छ । संस्थानले अभिकर्ताको तालिमलाई उच्च प्राथमिकता दिई नयाँ अभिकर्ता तयार गर्ने र कार्यरत अभिकर्ताहरुको लागि पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ । जीवन बीमा व्यवसायमा नयाँ क्षेत्रहरुको पहिचान गरी सञ्चालनमा रहेका बीमा योजनाहरुको पुनरावलोकन गर्ने र नयाँ योजनाहरु सञ्चालनमा ल्याउने संस्थानका प्रशासक कवि पाठकले बताए । संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, कार्यविधि तथा निर्देशिकाहरुमा समय सापेक्ष सुधार गर्ने तथा आवश्यक्ता अनुसार नयाँ कार्यविधिहरु तर्जुमा गर्ने योजना रहेको छ । संस्थानले आफ्नो सेवालाई छिटो, छरितो र गुणस्तरीय बनाउने, संस्थानको जीवन बीमा कोषलाई न्यून जोखिम तथा उच्च प्रतिफल प्राप्त हुने नयाँ लगानीको क्षेत्र पहिचान गरी लगानीलाई विविधिकरण गर्नेछ । यता लामो समयदेखि बाँकी रहेको जग्गाको नामसारीको काम सम्पन्न गरी छिट्टै आफ्नो नाममा दर्ता गर्ने संस्थानले जनाएको छ । संस्थानले सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने लगायत संस्थानको खरिद नियमावली स्वीकृत गराइ कार्यान्वयन गर्ने योजना बनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा संस्थानले कार्यरत कर्मचारी तथा अभिकर्ताहरुमध्ये उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।