राजीनामा बुझाउन अर्थमन्त्रीसहित ८ मन्त्री बालुवाटारमा
काठमाडौं । अपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित नेकमा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने बालुवाटार पुगेका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउन पुगेका हुन् । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णय अनुसार नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउन लागेका हुन । राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका बेला जेनेभा जान लागेकी मन्त्री विमला राई पौड्याललाई रोक्ने र एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने अभिव्यक्ति दिएपछि राजीनामा दिएर सरकारमा बाहिरिन लागेको अर्थमन्त्री पौडेलले जानकारी दिए । ‘हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ, तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ, त्यसैले सरकारबाट फिर्ता हुने नर्णय गरेका छौँ,’ उनले भने । पौडेलको नेतृत्वमा एमालेबाट ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता रहेको थियो ।
जापान जान चाहने अधिकांश विद्यार्थीको सीओई रद्द, यस कारण पाउँदैनन् अध्ययन अनुमति
काठमाडौं । जापानको टोकियोमा अध्ययन भिसामा जान चाहेका नेपाली विद्यार्थीहरुले पछिल्लो केही वर्ष यता अनुमति पाउन छाडेका छन् । टोकियोमा अध्ययनको लागि भिसा आवेदन प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थीहरु अस्विकृत हुने गरेको काठमाडौंस्थित कन्सल्टेन्सी सञ्चालकहरुको भनाइ छ । जापान नेपाली विद्यार्थीहरुको एउटा महत्वपूर्ण रोजाइ मध्येमा पर्ने मुलुक हो । जापान जान चाहने धेरै नेपालीहरुले पहिलो रोजाई टोकियोलाई बनाउने गर्छन । तर, तीन वर्षदेखि जापानको टोकियोमा अध्ययन अनुमति प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थी अस्विकृत हुने गरेका छन् । जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेले विगत ३ वर्षदेखि जापानको टोकियोले अत्यन्तै कम नेपाली विद्यार्थीलाई मात्र अध्ययन अनुमति दिने गरेको बताए । ‘भर्खरै आउन शुरु भएको नतिजा हेर्दा टोकियो इमिग्रेसनको लगभग ५ प्रतिशत पनि छैन’, उनले भने, ‘टोकियोमा नतिजा बिग्रेको ३ वर्ष भयो, टोकियोले विद्यार्थी लिन नमानेको हामीले देखिरहेका छौं ।’ जापानमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएको विद्यार्थीले अध्ययन अनुमतिको लागि आवेदन गर्न सक्छन् । तर कस्तो सर्टिफिकेट भएको विद्यार्थी लिने भन्ने विषयमा भने त्यहाँका स्कुलहरुले आ–आफ्नो मापदण्ड बनाएका हुन्छन् । नेपाली विद्यार्थीहरुले अध्ययन अनुमति किन पाउन सकेनन् भन्ने विषय भने आफूहरुले जान्न नसकेको महासचिव पाण्डेले विकासन्युजलाई बताए । कोभिड महामारीपछि जापान जाने विद्यार्थीको संख्यामा वृद्धि भएपनि टोकियोमा भने कम विद्यार्थीले अनुमति पाउने गरेको जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका अध्यक्ष देवकोटाको भनाइ छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा नै बढ्दै गएको महंगीको प्रभाव जापानमा पनि परेको छ । जसले गर्दा जापानी परिवेशमा दैनिकी जीवन महंगो हुँदै गएको छ । पछिल्लो ३ वर्षदेखि जापान सरकारले उपभोग्य करमा वृद्धि गरेर ७ प्रतिशत पुर्याएको जालसानका महासचिव पाण्डेले बताए । जापानमा अध्ययन भिसामा गएका विद्यार्थीहरुले कानूनी रुपमा हप्तामा २८ घण्टामात्रै र विदाको समयमा काम गर्न पाउने उनले बताए । तर, बढेको महंगीका कारण भने जापानमा विद्यार्थीहरुलाई काम गरेर कलेजको शुल्क बुझाउने र दैनिकी खर्च उठाउन नै समस्या हुँदै गइरहेको धेरैले प्रतिक्रिया दिन थालेका छन् । महंगी र विदेशी विद्यार्थीलाई तोकिएको काम गर्ने समयको विषयमा जापानको संसदमा पनि कुरा उठेको र पारिश्रमिकको विषयमा पनि नयाँ व्यवस्था हुने सम्भावना रहेको उनले बताए । के छ जापानमा अध्ययन भिसा आवेदन प्रकृया ? जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेका अनुसार जापानमा अध्ययनको लागि कम्तिमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएका विद्यार्थीहरुले आवदेन गर्न सक्छन् । त्यसरी विद्यार्थी भिसामा आवेदन गर्दा पहिला विद्यार्थीहरुले निश्चित समयको भाषा स्कुलमा पढ्नुपर्ने हुन्छ । त्यसैले उल्लेखित शर्त पूरा भएका इच्छुक विद्यार्थीहरुले जापानको कुन ठाउँमा अध्ययन गर्ने हो सो का आधारमा कन्सल्टेन्सी मार्फत स्कुल छनोट गरेर सम्बन्धित स्कुलमा आवेदन गर्छन् । ‘त्यसरी आवदेन गर्दा विद्यार्थीले आफ्नो राष्ट्रिय परिचयपत्र खुल्ने नागरिकता वा पासपोर्टको फोटोकपी र प्लस टु पास भएको सर्टिफिकेट र ट्रान्सकिप्ट पठाउनुपर्ने हुन्छ’, पाण्डेले भने । उनका अनुसार विद्यार्थीले छनोट गरेको स्कुलले विद्यार्थीको आवेदनलाई स्वभाविक ठानेमा योग्यताको प्रमाणपत्र (सिओई)का लागि सम्बन्धित क्षेत्रको अध्यागमन विभागमा पठाउँछ । त्यसपछि अध्यागमन विभागले विद्यार्थीलाई योग्यताको प्रमाणपत्र दिने वा नदिने निर्णय गर्छ । योग्यताको प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीलाई मात्रै स्कुलले अध्ययनमा जानको लागि आवश्यक कागजात प्रकृया अगाडि बढाउने अनुमति दिन्छ । त्यसपछि मात्रै विद्यार्थीले कलेजले उपलब्ध गराएको कागजात र पासपोर्टका आधारमा भिसाको लागि राजदुतावासमार्फत आवेदन प्रकृया अगाडि बढाउन सक्छ । कोरोना महामारीको समयमा नेपाली विद्यार्थीहरु विदेश अध्ययनको लागि जान पाएका थिएनन् । त्यसपछिका समयमा भने ठूलो संख्याका नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जान थालेका छन् । अहिले शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट दैनिक दुई देखि छ सय जना विद्यार्थीले एनओसी लिने गरेका छन् । उक्त शाखाका अनुसार साउन देखि मङ्सिरसम्म ३८ हजार ६१ जाना विद्यार्थीले देश बाहिर पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसि) लिएका छन् । जसमध्ये जापान पनि विद्यार्थीहरुको महत्वपूर्ण रोजाइको देश बन्ने गरेको छ । तर, केही वर्ष यता जापानको टोकियोलाई केन्द्र बनाएर अध्ययन भिसाको लागि प्रयास गरेका विद्यार्थीहरुलाई निरन्तर रुपमा हातमा सुन्य लाग्दा उनीहरु निराश बन्दै गएका छन् ।
‘राज्यलाई कर नतिर्ने र जनतालाई खुशी नदिने क्षेत्रलाई सदाको लागि बन्द गरौं’
काठमाडौं । उद्यमी तथा सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले राज्यलाई कर योगदान नगर्ने क्षेत्रलाई सदाको लागि बन्द गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो बताएका हुन् । ‘कुनै क्षेत्रले राज्यलाई कर योगदान गर्न र जनताको मुहारमा खुशी थप्न सक्दैन भने त्यो क्षेत्र सदाको लागि बन्द गर्दा राम्रो हुन्छ,’ उनले लेखेका छन् ।
राष्ट्रपतिमा पौडेल विजयी हुन्छन् : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् । पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताए । पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो । उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए । आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको उनको भनाइ थियो । उनले भने, ‘२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढाल्यौ, माओवादी सशस्त्र द्वन्दमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौ २०६२/६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ । त्यसैले हामीबिना यो देश चलाउछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।’
असिनाले साढे दुई करोडको सुन्तलामा क्षति
कास्की । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा साढे दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए । दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग पाँच करोड रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरिहेको छ । महाशाखा प्रमुख कँडरियाका अनुसार असिनाका कारण यस क्षेत्रमा करिब साढे दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि कृषक मर्कामा परिरहेको बताउँदै उनले क्षतिको जोखिमलाई न्यूनीकरण गर्न कृषि बीमा गर्नुपर्नेमा जोड दिए । रासस
सोमबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार, स्वाभिमान लघुवित्तमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । सोमबारको सेयर बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २५९ वटा स्क्रीप्समध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको हो । एकैदिन कम्पनीको २९ हजार २२ कित्ता सेयर ६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको हो । नेप्सेका अनुसार कम्पनीको सो मात्राको सेयर एक हजार ३० पटकमा किनबेच भएको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा रहेको एनआईसी एशिया बैंकको ५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा सोमबारको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६३ करोडले घटी हो । आइतबारको बजारमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका थिए । त्यस्तै, सोमबार सर्वाधिक सेयर मूल्य बढ्नेको सूचीमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा अर्थात ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४८९ रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा प्रतिकित्ता १३२ रुपैयाँले बढी हो । यसैगरी, ९ प्रतिशत बढीले बढ्नेमा सामलिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सोमबारको नेप्से परिसूचक भने ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले घटी हो । सो दिन परिसूचक घटेर न्यूनतम अर्थात १९९२ बिन्दुमा झरेको थियो । सामान्य अंकले घटेको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा बढी प्रतिशत अर्थात ६.४३ प्रतिशतले घटेको छ । र, सोमबार प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
मनाङमा फागुन मध्यसम्म पनि परेन हिउँ
मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन । विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ । फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताए । ‘डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको छैन’, उनले भने । माथिल्लो मनाङमा आंशिक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका ओम बहादुर गुरुङले बताए । ‘विगतका वर्षमा हिउँले डाँडाकाँडा र भिरपाखा सेताम्मे ढाकिएका हुन्थे, तर यसवर्ष भने आंशिक मात्रामा देखिएको छ’, उनले भने । यहाँको माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो क्षेत्रमा हिमपात हुन सकेको छैन । यसको असर कृषि क्षेत्रमा परेको भन्दै कृषकहरु चिन्तित छन् । यहाँ फापर, करु, जौ, स्याउलगायत उत्पादन हुनेगरेकामा पर्याप्त पानी नपुग्दा उत्पादन घट्ने सम्भावना देखिएको ताचैका कृषक सोलबहादुर गुरुङले बताए । मनाङमा कात्तिकको अन्तिम सातादेखि हिमपात हुनुपर्नेमा हालसम्म हुन सकेको छैन । फागुन मध्यमा पुग्दासम्म पर्याप्त हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषक उत्पादन घट्ने भन्दै चिन्तित छन् । रासस
राष्ट्रियसभा बैठक : दुई विषयगत समितिको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८/०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताए। त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकारी उनले गराए। बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गरिन् । उनले समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।