ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार १४८ चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो । कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए ।
विद्यार्थीलाई संस्कार सिकाउने अभियान
झापा। धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ । विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको बिहान र बेलुकाको उपयुक्त समय मिलाएर संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल विद्यालय अभियान सञ्चालन गरिएको जनकल्याण प्रतिष्ठान एकल अभियानका जिल्ला अध्यक्ष शङ्कर भट्टराईले बताए । जिल्लाका २५ वटै कक्षाका लागि अध्ययन गर्ने स्थान, कापी, किताब र शिक्षकको व्ययभार प्रतिष्ठानले बेहोर्दै आएको उनले जानकारी दिए । प्रतिष्ठानले शिक्षकलाई मासिक पारिश्रमिक दिँदै आएको छ । एकल विद्यालयमा विद्यार्थीलाई ध्यान र योग सिकाउनुका साथै मातापिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको अभियानका शिवसताक्षी प्रमुख पीताम्बर बरालले बताए। नैतिकता, संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ्य र शारीरिक शिक्षासमेत एकल विद्यालयमा पढाइने उनले जानकारी दिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष भट्टराईका अनुसार २७ वर्ष पहिले धादिङको एउटा गाउँमा २८ विद्यार्थी पढाएर नेपालमा एकल विद्यालय अभियान प्रारम्भ भएको थियो । अहिले देशभर ४६ जिल्लाका पाँच सय एक गाउँमा यस्तो संस्कार सिकाउने कक्षा सञ्चालन भइरहेका छन् । एकल विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई आर्थिक स्रोतको अभावमा पर्याप्त पारिश्रमिक दिन नसकिएको उनले बताए । एउटा कक्षा सञ्चालन गर्न वार्षिक न्यूनतम ३६ हजार अतिरिक्त खर्च हुने गरेको बताइएको छ । शिवसताक्षीको वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाईंले एकल अभियानको कक्षामा नियमित जाने विद्यार्थी नैतिक अनुशासन र संस्कार पालनामा उदाहरणीय हुने गरेकामा प्रशन्नता प्रकट गरे । ‘मातापिता र अग्रजप्रति कसरी राम्रो व्यवहार गर्ने कुरा नानीबाबुले एकल विद्यालयमा सिक्न पाएका छन्’, वडाध्यक्ष प्रसाइँले भने, ‘योग र धर्मको आधारभूत ज्ञान पाउँदा उनीहरुमा विनम्रताको विकास हुँदोरहेछ भन्ने अभिभावकले पनि बुझेका छन् ।’ रासस
फागुन २५ गतेदेखि आइपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर
काठमाडौं । माई खोला हाइड्रोपावरले यही फागुन २५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । त्यस्तै एक लाख ५२ हजार नौ ४१ कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर बिबी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान भई बिक्रीसमेत गरिरहेको छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पारे । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै
काठमाडौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन आइपिओको निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ रुपैयाँ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब ३३ करोड २४ लाख रुपैयाँको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन र बाँडफाँट भएको छ । त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सामूहिक लगानी कोषलाईसमेत प्राथमिक शेयरको निष्कासन तथा बाँडफाँट भइसकेको छ । निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो शेयर’मार्फत अनलाइन प्रणालीबाट समेत शेयर खरिदको आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मत लिनुपर्ने भएको छ ।सोमबार गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा ९एमाले० ले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेपछि दाहालले फेरी विश्वासको मत लिनुपर्ने भएको हो । शनिबार अर्को सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । संविधान धारा १०० को उपधारा २ मा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वा उक्त दल विभाजन भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए ।
टिभिएस मोटरको एनओजी विराटनगर च्याप्टर राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम
काठमाडौं । सेगवेको पोखरामा नयाँ शोरुम संचालनमा ल्याएको छ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहबले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको हो । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ । नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको छ । शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ । पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ । यस पहलले वातावरणलाई पनि फाइदा पुर्याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ । बिक्रीको अतिरिक्त पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् । कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् । टोलीले ग्राहकहरूको सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन् । यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ । यो शोरुम सुविधा सम्पन्न रहेको छ । बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सकिनेछ । नयाँ शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–रईड गर्न सकिनेछ र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्नेछ । पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूले अब सेगवेका विभिन्न मोड़ल सजिलै निरीक्षण र खरिद गरि सन्तुष्ट अनुभव गर्नेछ । नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५ र ई–११० ले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व छन् । भर्खरै सेगवले नेपालमा ल्–श्रृङ्खला अन्तर्गतको १०० सार्वजनिक गरेको छ । सेगवे नाइनबटको १०० ७२–भोल्ट ईलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । १०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ । यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडीगो जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ । यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ ।