विकासन्युज

निवर्तमान स्वास्थ्यमन्त्री भन्छन् : काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्यो

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अव काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट विदा लिनु परेको उनको गुनासो थियो । स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीको रुपमा आफूले बेथित रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए । निवर्तमान मन्त्री गिरीले भने, ‘४२ दिन स्वास्थ्यमन्त्रीको रुपमा रहेर काम गर्ने अवसर प्राप्त भयो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले जुटे । सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तरक्रिया गर्ने, कहाँ के समस्या छन ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गर्ने भन्ने लाग्छ । अव स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट विदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्य मन्त्री बन्नु अघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन ।’ निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसका लागि विमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्याउनुपर्ने उनको सुझाव थियो । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे । उनले स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए । निवर्तमानमन्त्री गिरीले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्याएका स्वास्थ्य क्षेत्र हेर्ने पत्रकारहरुलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताए । त्यस अवसरमा उनले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि आफूले सांसदको रुपमा सरकारको ध्यानाकर्षण गराउने भन्दै त्यसका लागि सुझाव दिन पत्रकारहरुलाई आग्रह गरे ।

सात दिनभित्रमा कागजात नबुझाउने बीमा अभिकर्ताको लाइसेन्स खारेज हुने

काठमाडौं । बीमा अभिकर्ताहरुले आगामी ७ दिनभित्रमा आफ्नो कागजात सम्बन्धित कम्पनीमा पेश गर्नुपर्ने भएको छ । प्राधिकरणको अनुसार बीमा कम्पनीका अभिकर्ताहरुले आगामी फागुन २२ गतेभित्रमा विभिन्न कागजातहरु पेश गर्नुपर्ने भएको हो । सो अनुसार अभिकर्ताहरुले एसएलसी वा सोभन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड आफू कार्यरत बीमा कम्पनीमा पेश गर्नुपर्ने छ । यदि उक्त अवधिमा पनि सो कागजपत्रहरु पेश नभएमा बीमा अभिकर्ता इजाजत पत्र नवीकरण नहुने जनाइएको छ । बीमा ऐन, २०७९ को दफा ९१ (७) बमोजिम ‘बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यन्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्ताहरुलाई आफु कार्यरत बीमकका कार्यालयहरुमा तपशील बमोजिमका कागजातहरु पेश गर्न सूचना जारी गरिरहेको छ । र, हालसम्म पनि उक्त कागजातहरु पेश नगरेका अभिकर्ताहरुलाई फागुन २२ गतेसम्मको समय दिइएको प्राधिकरणले जनाएको छ ।

सरकारी निकायका वेबसाइटमा एकीकृत व्यवस्थापन प्रणाली सुरु

काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरिन् । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ । एउटै स्टाण्डर्डको ढाँचामा वेभपेज निर्माणले भविष्यमा वेभपेजहरुको सुरक्षा निरिक्षण (सेक्युरिटी इन्सपेक्सन) तथा प्रणाली अपडेट गर्न समेत सहज हुने छ । साइबर सुरक्षामा देखिने जोखिमलाई एउटै प्रणालीबाट हल गर्न सकिने तथा वेभ डेभलपमेन्टको क्षेत्रमा विकास हुने नयाँ प्रविधिलाई समेत एउटै प्लेटफर्मबाट अपडेट गर्न सहज हुने छ । नयाँ बन्ने टेम्प्लेटमा मास्टर हेडबाहेक अरु डिजाईनलाई सम्बन्धित कार्यालयहरुले सिस्टममा उपलब्ध डिजाईन प्रयोग गरी आफ्नो आवश्यकता अनुसार परिमार्जन गरी प्रयोगमा ल्याउन सक्नेछन् ।

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनाका साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । उता प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । रासस

एनआईबिएल एस क्यापिटलले सम्पन्न गर्यो धितोपत्र बजार सम्बन्धी कार्यक्रम 

काठमाडौं । एनआईबिएल एस क्यापिटलले धितोपत्र बजार तथा म्युचुअल फण्ड सम्बन्धी कार्यक्रम संचालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलको आयोजनामा ठमेल काठमाडौं स्थित अलफ्ट होटलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो । यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटलले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांश पारित गर्न चैत १७ गते १८ औं साधारण सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट संचालक समितिले प्रस्ताव गरेको ८.५३४ बोनस सेयर र ०।४४९ प्रतिशत नगद लाभांश गरी कुल ९.०३३ प्रतिशत लाभांश पारित गर्नेछ । यस्तै, बैठकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) कम्पनीको सेयरधनीको रुपमा कायम भएकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

२ लाखसम्मको बीमा दाबीलाई सानो दाबी मानिने, कम्पनीहरुले १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने

काठमाडौं । निर्जीवन बीमातर्फको दुई लाख रुपैयाँसम्मको बीमा दाबीलाई सानो दाबी मानिने भएको छ । नेपाल बीमा प्राधिकरणले दोश्रो पटक संशोधन गरेको बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७९ अन्तर्गत अब २ लाख रुपैयाँसम्मको दाबीलाई सानो दाबीको रुपमा लिइने भएको हो । उक्त संशोधित मार्गदर्शनअनुसार निर्जीवन बीमातर्फ २ लाख रुपैयाँसम्म र बाली, पशुपन्छी, कृषि तथा लघुबीमातर्फ ५० हजार रुपैयाँसम्मको दाबीलाई सानो दावी मानिने थप व्यवस्था गरिएको छ । यसअघिको मार्गदर्शनमा भने सानो दाबीको रकमलाई खुलाइएको थिएन । प्राधिकरणले क्षति सम्बन्धी विशेष व्यवस्था अन्तर्गत केही व्यवस्थाहरु थप गरि सानो दाबीको रकम खुलाई छिटोभन्दा छिटो भुक्तानी गर्नुपर्ने स्पष्ट रुपमा खुलाएको हो । संशोधित निर्देशिका अनुसार उक्त रकमसम्मको सानो दाबी भुक्तानीको लागि न्यूनतम प्रमाणहरु प्राप्त भएको मितिले १५ (पन्ध्र) दिनभित्र फर्छ्यौट गरि सक्नुपर्ने छ । साथै, बीमा कम्पनीहरुले बीमितको प्रमाणहरु संकलन गर्न वा बीमितलाई सम्पर्क गर्न गरेको पत्राचारको प्रमाण संलग्न राख्नु पर्ने संशोधित निर्देशिकामै उल्लेख छ । यसअघि क्षति सम्बन्धी विशेष व्यवस्थाअन्तर्गत कम्पनीले आफ्नो बीमा दाबी कार्यविधिमा स्पष्ट क्षति सम्बन्धी व्यवस्था गर्नुपर्ने र उक्त कार्यविधिमा स साना दाबी रकम भुक्तानी सम्बन्धी व्यवस्था गर्नुपर्ने भन्ने मात्रै थियो । यतिसम्मको दाबीलाई स-साना दाबी मानिने भनेर रकम नै तोकेको भने थिएन । त्यसैगरी, यसअघि संशोधित निर्देशिकामा भएको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थालाई पनि थप संशोधन गरिएको छ । संशोधित नयाँ निर्देशिकाअनुसार बीमकले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको मितिले १५ दिन भित्र तोकिए बमोजिमको ढाँचामा प्राधिकरण समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ । यसअघिको व्यवस्थाअनुसार प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र र प्रत्येक आर्थिक वर्ष सकिएके ३० दिनभित्र बीमा दाबी भुक्तानी हुन नसकेका बीमा दाबीहरुको विवरण साविकको बीमा समिति समक्ष बुझाउनु पर्ने थियो । अब भने मासिक र वार्षिक मात्रै नभई त्रैमासिक रुपमा पनि उक्त विवरण बुझाउनु पर्ने भएको छ । त्यस्तै, कम्पनीहरुले दाबी भुक्तानी हुन नसकेको बीमा दाबीको वार्षिक विवरणमा विस्तृत खुलाउनु पर्ने हुन्छ । जसमा हालसम्मको जम्मा दाबी, पछिल्लो तीन महिनाको दावी, एक वर्ष अघिको दाबी, दुई र तीन वर्ष अगाडि दाबी भुक्तानी गर्न बाँकी भएको अवस्थामा पनि भुक्तानी गर्न बाँकी संख्या र बाँकी रकम दुबै खुलाउनु पर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले घटाएर पठायो आशा लघुवित्तको लाभांश

काठमाडाैं । आशा लघुवित्त वित्तिय संस्थाकाे लाभांश घटेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तकाे लाभांश ६.०५२६ प्रतिशत घटाएर पठाएकाे हाे । याेसँगै लघुवित्तकाे सेयरधनीले १४.२८५७ बाेनस सेयर र ०.७१४३ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशतमात्र लाभांश पाउनेछन् । यसअघि कम्पनीले सेयरधनीलाई २० प्रतिशत बाेनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरेर कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे ।