बिहीबार २६ अंकले घट्यो सेयर बजार, हिमालयन डिस्टिलरीको उच्च कारोबार
काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ । यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ । लघुवित्तका सेयरधनीले सेयर ७ प्रतिशतले घट्दा प्रति सेयर ६१ रुपैयाँ गुमाएका छन् । यस्तै, बुद्ध भुमि हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरधनीले सेयर मूल्य ४.२९ प्रतिशतले बढ्दा प्रति सेयर १८ रुपैयाँ कमाएका छन् । नेप्सेको अनुसार आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
१०० सहकारीको बैंक खातासँगै चल/अचल सम्पत्ति रोक्का, बचतकर्ताको डेढ अर्ब दाबी
काठमाडौं । सहकारी मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक सय बढी सहकारी संस्थाहरुको बैंक खाता र चल÷अचल सम्पत्ति रोक्का गरेको छ । बचकर्ताको रकम फिर्ता गर्न नसकेर सहकारी विभागबाट सिफारिस भएका एक सय सहकारीको सम्पत्ति रोक्का भएको हो । बिहीबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को कार्यसमितिसँग सहकारी क्षेत्रका समसामयिक विषयवस्तुमा छलफल गर्दै मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले करिब एक सय सहकारीको चल÷अचल सम्पत्ति रोक्का भएको बताएका हुन् । उनले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेर काम गरिहेको बताए । ‘हालसम्म एक सयको हाराहारीमा सहकारीहरुको चल÷अचल सम्पत्ति रोक्का गरेका छौं, हजारभन्दा बढीको श्रेस्ता माग गरेर अनुसन्धान भइरहेको छ, उजुरीको आधारमा केहीको सिआइबी, कतिपय सहकारीहरुको विषयलाई लिएर सीडीओलाई पनि जानकारी गराएका छौं, सम्पत्ति शुद्धिकरण विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग पनि समन्वय भइरहेको छ,’ उनले भने । उनले १ अर्ब ४४ करोड रुपैयाँ दायित्व माग भएकोमा ५० करोडको हाराहारीमा भुक्तानी भएको बताए । बचतकर्ताको बचत कहिले फिर्ता हुन्छ, कार्यालय कहिलेदेखि खुलाउनु हुन्छ भन्ने विषयमा सहकारीका सञ्चालकहरुरुबाट जवाफ मागिरहेका छौं, उनीहरुले सही र यथार्थ तथा चित्त बुझदो जवाफ दिएमा हामी केही समय दिन्छौं, जसरी भएपनि समस्या आएका सहकारीको समस्या समाधान गर्न तर्फ हामी जोड दिइरहेका छौं,’ उनले भने । देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु भएको उनले बताए । कानुनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही भइरहेको जानकारी दिँदै मन्त्रालयले कुनै सहकारीले गलत काम गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको विवरण उक्त समिति, सहकारी विभाग, प्रदेशस्थित सहकारी विभाग र मन्त्रालयमा पठाउन सबै बचतकर्तालाई सुझाव दिएको छ । यस्तै, छलफलमा सचिव रेग्मीले अहिले सहकारीको बचतमा २५ लाखको सीमा तोक्ने विषय सकारात्मक भएको बताए । उनले सहकारीकर्मीहरुबाट यो व्यवस्थाको विरोध भएको बताउँदै यसलाई हेरफेर पनि गर्न सकिने बताए । बचतकर्ताको स्रोत खुलाउने सकारात्क विषय नै रहेको उनको भनाइ छ ।
रामपुरमा बन्यो १५ शय्याको आयुर्वेद अस्पताल
रामपुर (पाल्पा) । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो । जिल्लामा पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक उत्साहित भएका छन् । दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय पछि यो अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो ठूलो आयुर्वेद अस्पताल हो । गत माघमा अस्पताल निर्माण गरिएपछि फागुन पहिलो हप्ता निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिक लाभान्वित हुने स्थानीय शङ्कर भण्डारीले बताए । ‘अस्पतालको संरचना व्यवस्थित छ, अब स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत विशेषज्ञसहितको दरबन्दी, उपकरण तथा औषधिलगायत सामाग्रीको व्यवस्था गरी सेवा दिनुपर्छ’, उनले भने । आयुर्वेद उपचार पद्दतिलाई विस्तार गर्न रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी १५ शय्याको भवन निर्माणका लागि सङ्घीय सरकारको भवन निर्माण शिर्षकअन्तर्गत नौ करोड ५४ लाख ८७ हजार ४८ को लागतमा ठेक्का सम्झौता भएको थियो । एघार करोड ३३ लाख ४९ हजार ९३को लागतमा निर्माण गरिएको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमुख कविराज चेमनप्रकाश पोखरेलले जानकारी दिए । उनले आयुर्वेदिक उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको बताउनुभयो । शाखाप्रमुख पोखरेलका अनुसार आयुर्वेदिक औषधालयमा दैनिक २५ देखि ५० बिरामी आउने गरेका छन् । ‘नयाँ भवनबाट सेवा थप गरी सञ्चालनमा आएपछि स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्’, उनले भने । अस्पतालको स्वामित्वमा रहेको १२ रोपनी आठ आना जग्गामा ६८ कोठासहितको तीन तले सुविधा सम्पन्न नयाँ भवन निर्माण भएको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनदेखि शिवशक्ति कन्ट्रक्सन प्रालीले निर्माण थालेको थियो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमीलाई मध्यनजर गर्दै चैत ११ देखि सरकारले अनिश्चितकालका लागि बन्दाबन्दी गरेपछि निर्माणमा असर परेको थियो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सीरदेखि पुनः भवन निर्माण थालिएको थियो । विसं २०७८ भदौ २४ मा निर्माण गर्ने सम्झौता भए पनि बन्दाबन्दीका कारण समयमै काम हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीसहितले सेवा प्रदान गर्नेछन् । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट पञ्चकर्म सेवा, आकस्मिक सेवा, ओपिडी, एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गरिनेछ । नगरप्रमुख रमणबहादुर थापाले सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन, संरक्षण र सञ्चालनमा चुनौती रहेकाले सरोकारवालासँग छलफल र समन्वय गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । पालिकाभित्र आन्तरिक स्रोतको अभावका कारण अस्पताल सञ्चालनमा चुनौती भएकाले १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नाको विकल्प रहेको उनको भनाइ थियो । ‘संघीय र प्रदेश सरकारले आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था गरेर केही बजेट उपलब्ध गराए पालिकाले अपुग बजेट विनियोजन गरेर अस्पताल सञ्चालन गर्न सकिन्छ’, नगरप्रमुख थापाले भने । उनले सरकार र पालिकासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले निर्माण सम्पन्न गर्नु मात्रै उपलब्धि नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानीय तहका लागि उपलब्धि हुने बताए । उनले यस पद्दतिले मानव स्वास्थ्यमा असर नगर्ने भएकाले आयुर्वेद उपचार थप प्रभावकारी बनाउन सारेकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । विसं २०१७ मा पाल्पामा आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवा पाएका थिए । उक्त अस्पताल विसं २०२९ मा अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालेको थियो । अञ्चल कार्यालयको सदरमुकाम बुटवलमा राख्ने तत्कालीन सरकारको निर्णयपछि २०४३ माघ ६ मा बुटवलमा स्थानान्तरण गरिएको थियो । यो सरकारी क्षेत्रबाट स्थापना भएको पहिलो आयुर्वेद औषधालय हो । उक्त औषधालयलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनेपछि नागरिकले अब सहज स्वास्थ्योपचार पाउनेमा यहाँका स्थानीयवासी ढुक्क छन् । तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय छन् । रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा भने एक÷एक आयुर्वेद औषधालय छन् । रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ । तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ । औषधालयमा कविराज र वैद्य एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । साथै ओपिडी, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायत सेवा प्रवाह भइरहेका छन् । पछिल्लो समय आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढ्दै गएकाले पनि अस्पतालको स्तरोन्नति आवश्यक देखिएको हो । रासस
मर्जरपश्चात् सिभिलका ग्राहकलाई हिमालयन बैंकमा सास्ती
काठमाडौं । मर्जरपश्चात् हिमालयन बैंकको डिजिटल कारोबारमा अभ्यस्त नहुँदा साविक सिभिल बैंकका ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो । साविक सिभिल बैंकका एक कर्मचारीले हिमालयन बैंकको डिजिटल कारोबार प्रयोग गर्न सकस परेको बताए । साविकको सिभिल बैंकको मोबाइल एप मर्जर पश्चात् बन्द भइसकेको छ । उक्त एप प्रयोग गरिरहेका ग्राहकहरुलाई हिमालयन बैंकको मोबाइल एप प्रयोग गर्न भने सकस परेको बैंकका एक कर्मचारीले विकासन्युसँग बताए । ‘सिभिल बैंकको एप बन्द भएपछि ग्राहकहरुले हिमालयन बैंकको एप चलाउनुपर्छ, सिभिल बैंकका ग्राहकलाई हिमालयन मोबाइल बैंकिङ्ग एप चलाउन सकस भयो, फरक सफ्टवेयर भएपछि ग्राहकलाइ चलाउन सकस पर्याे,’ उनले भने । साविक सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले डिजिटल बैंकिङ्गमा जोड दिएका थिए । उनले डिजिटल बैंकिङ्गमा जोडबल गरेका कारण मोबाइल एप प्रयोगकर्ता १ लाख भन्दा बढी थिए । जसका कारण उनले १ वर्षको अवधिमा ५० अर्बको निक्षेपलाइ ९० अर्ब पुर्याउन सफल भएका थिए । तर, अहिले हिमालयन बैंकको एप प्रयोग गर्न भने झण्झट रहेको एक कर्मचारीले बताए । ‘सिभिल बैंकका कर्मचारीदेखि ग्राहकहरु डिजिटल बैंकमा अभ्यस्त थिए, बैंकले डिजिटल बैंकिङ्गलाई जोड दिएपछि ५० अर्बको निक्षेप ९० अर्ब पुगेको थियो, ११ सय जना कर्मचारीबाट ९ सयमा झारेको थियो, डिजिटल बैंकिङ्गको अभ्यासले सम्भव भएको हो,’ उनले भने । हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उज्जव राजभण्डारी मर्जरपश्चात् समस्या आएको भएपनि सुधार गरिरहेको बताउँछन् । सुरुमा सिस्टम व्यवस्थापन गर्नुपर्ने भएकाले ग्राहकलाई समस्या परेको हुन सक्ने उनको भनाइ छ । ‘साविक सिभिल बैंकको वेवसाइट सर्च गर्दा स्वतः हिमालयन बैंकको वेभसाइट खुल्छ, सिस्टम मिलाउँदा एक/दुई दिन गाह्रो परेको हुन सक्छ, चेक क्लियरिङमा समस्या समाधान भइसक्यो, सिस्टम फरक हुँदा समस्या परेको हो,’ उनले भने । हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपमा इमेल र फोन नम्बर अनिवार्य राख्नुपर्ने भएकाले साविक सिभिल बैंकका ग्राहकहरुलाई समस्या आएको उनको भनाइ छ । मोबाइल बैंकिङ्गमा देखिएको समस्या आजदेखि समाधान हुने उनले बताए । ‘हाम्रो मोबाइल बैंकिङ्ग एपमा फोन नम्बर र इमेल अनिवार्य चाहिन्छ, इन्टरनेट बैंक पनि माइग्रेट गरिरसक्यो, पहिला पनि ३/४ हजार एकाउन्टको मोबाइल बैंकिङ्ग चलेको थियो तर, नमिलेकोहरुको आजदेखि मोबाइल बैंकिङ्ग समस्या समाधान हुन्छ,’ उनले भने । साविक सिभिल बैंक र हिमालयन बैंकमा काम गर्ने सिस्टम फरक भएकाले शाखा कार्यालयमा ग्राहकहरुलाई सहज ढंगबाट सेवा दिने गरी निर्देशन पठाइसकेको उनले जानकारी दिए । ‘नयाँ आएका हिमालयन बैंकको शाखा कार्यालयलाई पूर्ण अधिकार दिइएको छ, एकदुई दिन समस्या आएको हो, आइतबारदेखि कुनै पनि समस्या आउँदैन,’ उनले भने । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार गरेको थियो । हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नामबाट एकीकृत कारोबार गरेको हो । बैंकले आफैले विकास गरेको हिमालयन मोबाइल बैंकिङ्ग (एचएमबि) एप मार्फत् ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सुपर मादी हाइड्राेपावर र शुभम पावरकाे आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । सुपर मादी हाइड्रोपावर र शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।दुवै कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । सुपर मादी हाइड्रोपावरको पनि २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको सेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९ रुपैयाँ ८० पैसादेखि २९९ रुपैयाँ ४० पैसा सम्मको ओपनिङ्ग रेन्ज दिएको छ । सोहि रेन्जको आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबार हुनेछ । यस्तै, शुभम पावरको दुई करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९.८० रुपैयाँदेखि २९९.४० रुपैयाँ सम्मको ओपनिङ्ग रेन्ज दिएको छ ।
छुटै छुटकाे ‘बिग सिजी डे’ हुँदै
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजीटल ईकमर्सले फेरी पनि बिग सिजी डे २.३.२३ योजना ल्याएको छ । बिग सिजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउँदै आएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि मार्च ३ देखी मार्च १० तारिखसम्म उपलब्ध हुने बताइएकाे छ । यस योजनामा नि:शुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२ प्रतिशतसम्मको थप विशेष छुटकाे व्यवस्था रहेकाे छ । कम्पनीकाे अनुसार बिग सिजी. डे २.३.२३ मा सिजी ग्रुप अन्तर्गत सिजी. इलेक्ट्रोनिक्स, सिजी. फुड्स, सिजी नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।
भिभोका दुई स्मार्टफोन भी२५ई र वाई१५सी को मूल्य घट्यो
काठमाडौं । भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीबी) को मूल्य ३ हजार रुपैयाँले घटेर ३९ हजार ९९९ रुपैयाँ र भिभो वाई१५सी को मुल्य पनि ३ हजार रुपैयाँले घटेर १४ हजार ९९९ रुपैयाँ भएकाे छ । कम्पनीले वाई१५सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म १४ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुने जनाएकाे छ । कम्पनीले यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने जानकारी दिएकाे छ । भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेकाे छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । यस स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि रहेकाे छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई राम्राे बनाउँदछ । यस फोनमा ४४ वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न र राम्राे ब्याट्री लाइफ पनि प्रदान गर्दछ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा आकर्षक रहेकाे छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्दछ । यस्तै, वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा रहेकाे छ ।
नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले दिए राजिनामा, अध्यक्षमा पौडेल सर्वसम्मत
काठमाडौं । नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले फागुन १७ गते राजिनामा दिएका हुन् । दुई सञ्चालकले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका हुन् । जसलाई फागुन १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरिसकेको छ । त्यस्तै, सोहि दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक लक्ष्मण पौडेललाई नयाँ अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै बीमा प्राधिकरणले दुई सञ्चालकको नियुक्तिको सम्बन्धमा सञ्चालक समितिलाई नै निर्णय गर्न पत्राचार गरेको थियो । सम्बन्धित समाचार : नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन