विकासन्युज

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, २३ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्तले १४ औं वार्षिक साधाण सभा बोलाउने निर्णय गरेको छ ।  लघवित्तको बुधबार बसेको संचालक समितिको बैठकले  चैत ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीले प्रस्ताव गरेको २३.१६७९ प्रतिशत लाभांश पारिथ गर्नेछ । लघुवित्तको संचालक समितिले हाल कायम चुक्ता पूँजीबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनको लागि लघुवित्तले फागुन ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा लघुवित्तको  सेयरधनीको रुपमा कारोबार गरेकाले मात्र लाभांश पाउनेछन् ।

बिहीबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

आइसिसी यु-१९ विश्वकप : नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो । यता युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ । नेपाल र युएईबीचको विजेताले यू-१९ विश्वकपको यात्रा तय गर्नेछ । नेपालको प्लेईङ–११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापा मगर छन् ।

नेपाल इको प्यानलले ल्यायो आफ्नै यूपीभीसीका झ्यालढोका

भक्तपुर । नेपाल इको प्यानलले जर्मन प्रविधिमा आधारित मेसिनबाट प्रिफ्याव्रिकेटेट वाल प्यानलका लागि उपयुक्त विशेष प्रकारका यूपीभीसीका झ्यालढोकाहरुको उत्पादन सुरु गरेकाे छ । कम्पनीले प्रिफ्याव्रिकेटेट (कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने) वाल प्यानलमा प्रयोगको लागि उपयुक्त झ्यालढोकाहरुको उत्पादन सुरु गरेकाे हाे । यसका लागि झण्डै दुई करोड थप लागनी गरेकाे कम्पनीले बताएकाे छ । इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले लामो समयको अध्यन अनुसन्धान पश्चात प्रिफ्याव्रिकेटेट वाल प्यानलका लागि उपयुक्त झ्यालढोकाको मजबुत जडानको समस्यालाई मध्यनजर गरी कम्पनीले नयाँं प्रडक्ट रुपमा यूपीभीसीका झ्यालढोकाको पनि उत्पादन थालेको बताए । ‘हाम्रो उत्पादनले अव प्रिफ्याव्रिकेटेट वाल प्यानलको प्रयोगबाट बनेका घर निर्माणकर्ताहरुलाई सजह भएको छ,’ उनले भने, ‘यसअघि पनि बजारमा युपिभिसीका झ्यालढोकाहरु रहे पनि प्रिफ्याव्रिकेटेट वाल प्यानलमा जडानमा कठिनाई भई जडानमा समस्या भएको थियो, उत्पादन थालिसकेका छौं, अब हामी छिटै बजारमा पनि पुयाउँंछौं,’ उनले भने । उर्जा किफायती, वातावरणमैत्री तथा प्राकृतिक श्रोतसाधनको कम उपयोग गरी निर्माण सामाग्री उत्पादन गर्ने लक्ष्य अनुसार त्यही अनुरुपको यूपीभीसी झ्यालढोकाको उत्पादन थालेकाे उनले बताए । उनका अनुसार यी झ्यालढोकाहरुको प्रोफाइलमा १५ वर्ष ग्यारेन्टी र हार्डवेयरमा दुई वर्ष ग्यारेन्टी रहेकाे छ । ‘साउण्ड प्रुफ, फायर प्रुफ, किराले नखाने, घामपानीले नविगार्ने यूपीभीसी झ्यालढोकाका विशेषताहरु हुन्, वेडर प्रुफ, खिया नलाग्ने, मर्मतसम्भार गरिराख्नु नपर्ने लगायतका विशेषता यसमा रहेको छ,’ उनले भने ।  

सीमा क्षेत्रका व्यापारीले भारु साट्नै छाडे, भारतमा बस्ने नेपाली चिन्तामा

काठमाडौं । कैलालीका राजु खडायत सोमबार भारतबाट नेपाल आए । त्रिनगर भन्सार नाकामा नजिकै रहेको डोके बजारमा उनले भारतीय रुपैयाँ (भारु)लाई नेपाली रुपैयाँ (नेरु)सँग साट्ने प्रयास गरे । तर, उनले भारतीय रुपैयाँ साट्न सकेनन् । भारत आवतजावत गर्दा उनले भारु र नेरु साट्ने बजार नै डोके बजार हो । तर, यस पटक भारतबाट नेपाल आउँदा उनले पसल–पसलमा धाउँदा पनि भारु साट्न सकेनन् । ‘मलाई भारु र नेरु साट्ने ठाउँ नै यही बजार जस्तो लाग्छ, अन्य ठाउँमा कहाँ साट्छन् थाहा छैन, पहिले भारु रुपैयाँ नै घर लिएर जान्थें, यस पटक गाउँमा भारु चल्दैन भनेर सुनेपछि बजारमै साट्ने निर्णय गरेँ, तर कसैले साट्न मानेनन्, साँटे पनि धेरै कम दिने भनेपछि मैले साट्न मानिनँ,’ उनले गुनासो पोख्दै भने । यसअघि भारु साट्नका लागि नेपाली व्यापारीले तछाडमछाड गर्ने गरेको उनले स्मरण समेत गरे । ‘पहिले बसबाट झर्ने बित्तिकै भारु छ भनेर व्यापारीले सोध्थे, अहिले वास्तै गरेनन्, कममा साट्ने भनेपछि मैले पनि भारु नै घर लिने निर्णय गरेँ,’ उनले थपे । नेपाल र भारत खुला सीमाना भएको कारण पनि मानिसहरुले सहजै आवतजावत गर्न पाउँछन् । नेपाली सवारी साधन नजिकै पर्ने भारतीय बजारमा जान पाउँछन् भने भारतीय सवारी साधन पनि सीमावर्ती नेपाली बजारमा गुड्न पाउँछन् । विगतमा भारतीय नागरिकहरुले नेपालमै आएर सहज रुपमा भारुको कारोबार गरेर सामान किनमेल गर्न पाउँथे भने नेपालीहरुले पनि नाका नजिकै रहेका भारतीय बजारमा गएर नेपाली रुपैयाँमा नै कारोबार गर्न पाउँथे । तर, अहिले नेपाली बजारमा भारतीय रुपैयाँ खासै चल्दैन । उसो त एक सय रुपैयाँभन्दा बढीका नोट नेपाली बजारमा कारोबार गर्न मिल्दैन । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँभन्दा माथिका भारु नेपालमा प्रतिबन्ध लगाएको छ । तर, खुला सीमाना तथा व्यापारिक सम्बन्धकै कारण भारु नेपाली बजारमा पनि खुलेआम रुपमा कारोबार हुन्छ । यस्तै, उद्योग वाणिज्य संघ बिरगञ्जका उपाध्यक्ष माधव राजपल पनि भारु र नेपाली रुपैयाँ नसाटिने बताउँछन् । उनी भारु र नेरु नसाटिएकै कारण आफुले नजिकै रहेको भारतीय बजारमा जानै छोडेको बताउँछन् । ‘अहिले नेपाली बजारमा भारुको माग नै छैन, पहिले माग धेरै हुन्थ्यो, अहिले एउटा झोलामा सामान ल्याउन पनि धौधौ हुन्छ, नेपालीहरुले भारतमा गएर सामान ल्याउनै छोडिसके, सामान ल्याउन छोडेपछि भारु साट्ने कुरै भएन, भारु र नेरु नसाटिने भएकै कारण मैले नाकामै जान छोडेँ,’ उनले विकासन्युजसँग भने । पछिल्लो समय भारुको माग घटेको र मूल्य पनि कम भएको भन्ने समाचार बाहिरिरहेको बेला नेपाली ब्यापारीले भारु नै साट्न नमानेको विषय पनि आएको छ । यसले गर्दा धेरै नेपालीलाई समस्या भएको गुनासो आएको छ । अधिकांश नेपालीहरु भारतीय बजारमा निर्भर हुन्छन् । उनीहरु दैनिक उपभोग्य वस्तुदेखि महँगो सामान पनि भारतबाट ल्याउँछन् । तर, व्यापारीहरुले भारु साट्न नमान्दा उनीहरुलाई चिन्ता थपेको छ । यसअघि भारतले ५ सय र एक हजारका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँगै धेरै नेपालीहरु समस्यामा परेका थिए । भारतले सो रकम फिर्ता लिन मानेको थिएन । त्यसपछि राष्ट्र बैंकले एक सयभन्दा माथिका भारु नोट नेपालमा प्रतिबन्ध लगाएको थियो । नेपाल राष्ट्र बैंकले एक सयभन्दा बढीको नोट प्रतिबन्ध नै गरेको कारण राष्ट्र बैंकबाट साट्ने कुरा भएन । त्यसैले पनि अहिले अधिकांश नेपालीहरु समस्यामा परेका छन् । अनौपचारिक बजार बढी चलायमान हुन थालेपछि बिरगञ्ज सीमामा कडाइ भएको उपाध्यक्ष राजपल बताउँछन् । ‘पहिले ग्रे मार्केट बढी थियो, अहिले एउटा झोलामा सामान ल्याएपनि कडाइ हुन्छ, त्यसैले पनि नेपालीहरु सामान ल्याउन नजिकैको भारतीय बजारमा जाँदैनन्, त्यसैल पनि भारुको माग र मूल्य घटेको हो, आयात पनि कम भइरहेको छ,’ उनले भने । यस्तै, उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले आफुले पनि अहिले भारुको कारोबार कम हुने गरेको सुनेको बताए । ‘मैले महसुस गर्न पाएको छैन, सञ्चार माध्यममा भारुको मूल्य र माग कम भएको सुनेको छु,’ बोगटीले भने । नेपाल राष्ट्र बैंक भने भारुको माग र मूल्य कम भएकोमा खुसी छ । एक सयभन्दा बढीको नोट प्रतिबन्ध गरेपनि त्यो नीति कार्यान्वयन हुन सकेको थिएन । अहिले कार्यान्वयन भएपछि राष्ट्र बैंक खुसी भएको हो । ‘हामीले अनौपचारिक रुपमा हुने कारोबारलाई गैरकानुनी ठान्छौं, नेपालमा प्रतिबन्ध भएपनि एक सय बढीका नोट चलिरहेका छन्, अहिले कम भएको भन्ने सूचना हामीलाई पनि आएको छ, यो खुसीको कुरा हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । अहिले एक सय भारु बराबर एक सय ५५ या १५० रुपैयाँमा खुलेआम कारोबार भइरहको बताइएको छ । तर, नेपाली व्यापारीहरुले सो मूल्यमा पनि नोट नसाटेको बुझिएको छ । बजारमा अनौपचारिक रुपमा कारोबार हुँदा एक सय रुपैयाँ भारुको १५० या १५५ रुपैयाँमा कारोबार भइरहेको विषय राष्ट्र बैंकले पनि स्वीकारेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँका अवमुल्यन भएको राष्ट्र बैंकको भनाइ छ । यसअघि सरकारले आयातमा कडाइ गर्दा अवैध च्यानलमार्फत् वस्तु आयात गर्नकै लागि भारतीय रुपैयाँ महँगोमा खरिद बिक्री भइरहेको थियो । तर, अहिले आयात फुकुवा तथा भारतीय मुद्राको पनि माग कम भएपछि भारुको अवमुल्यन भएको हो । राष्ट्र बैंक स्रोतका अनुसार भारतीय रुपैयाँ ‘कलेक्ट’ गर्ने यो एउटा अवसर हो । ‘भारतीय मुद्रा सस्तोमा पाइनु भनेको नेपालीहरुका लागि अवसर हो, नेपाली बजारमा भारुको बढी माग भएको अवस्थामा राष्ट्र बैंकले डलर खर्च गरेर भारु खरिद गर्नु पर्ने हुन्छ, अहिले भारुको माग कम छ, यतिबेला सस्तो पाएको बेला पैसा उठाउनु नेपालीका लागि अवसर हुन सक्छ,’ स्रोतले भन्यो । नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश प्रमुख विनोद लेखक राष्ट्र बैंकमा पनि नोट साट्नेको संख्या घटेको बताउँछन् । यसअघि भारुको माग धेरै हुने भएपनि यसबेला भने भारुको माग न्यून रहेको उनी बताउँछन् । उनका अनुसार यसअघि महिनामा ४५ लाख भारु साटिनेमा अहिले त्यो संख्या न्यून छ । कतिपयले हुन्डीको कारोबार बढेका कारण र भारु सहजै पाइने भएकोले माग कम भएको हुन सक्ने तर्क राख्छन् । चिन्तामा प्रवासी नेपाली अहिले लाखौं नेपालीहरु भारतमा बस्छन् । उनीहरुले कमाएर नेपाल ल्याएको पैसा कतै नेपालमा नचल्ने होकि भन्ने चिन्ता पनि उनीहरुमा छ ।  यसअघि विकासन्युजले ‘भारुको मूल्य र माग घटेको राष्ट्र बैंकको निष्कर्ष, नेपाललाई फाइदा कि बेफाइदा ? भन्ने शिर्षकको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा अधिकांश भारतमा बस्ने नेपालीहरुले प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिएका अधिकांशले रोजगारीको शिलशिलामा भारतमा काम गर्ने नेपालीलाई समस्या भएको र यसले थप चिन्ता सिर्जना गरेको धारणा राखेका छन् । सो समाचारमा प्रतिक्रिया दिँदै राकेश विश्वकर्माले भनेका छन्, ‘सलाम छ नेपाल सरकारलाई, स्वदेशमा रोजगार दिन त सकिनस्, अर्काको देशमा काम गरेर पनि खान नदिने भइस् ।’ कमेन्टमै प्रेम थापाले भनेका छन्, ‘गरिब को छोराले जसो तसो गरेर आफ्नो घरमा साँझ बिहान चुल्हो बाल्नका लागि भारतमा काम गर्छन्, सरकार देखि नसक्ने भयो ।’ ‘नेपालमा काम दिन सकिनस्, आफ्नो देशमा काम नपाएर भारत छिरेका नेपालीहरूलाई नै लुट सरकार, हाम्रो घरजग्गा पनि लुटेर भिखारी बनाई दे, परदेशमा गएर काम गर्ने मजदुरको सलाम छ,’ समाचारमा व्यंग्यात्मक रुपमा प्रतिक्रिया दिँदै नमराज बिसीले लेखेका छन् ।’ प्रतिक्रिया दिने करिब साढे २ सय जनामध्ये अधिकांशले सरकारको विरोध गरेका छन् ।

पाहुना पर्खदै बेनीका होटल

बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा म्याग्दीका व्यवसायी प्रमोद श्रेष्ठले जिल्ला भ्रमणमा आउने आफ्ना साथीहरुलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सधैँ गुनासो सुन्नुपर्दथ्योे । विश्वका प्रमुख गन्तव्यमध्येको एक मुस्ताङ जानका लागि आउने हुन् या बेनीकै लागि आउने बस्न केही अघिसम्म होटलको राम्रो प्रबन्ध थिएन । बेनी बजारबाट करिब आठ किलोमिटरको पर छ सिंगा तातोपानी । यहाँ औषद्योपचारका लागि तातोपानी कुण्डमा डुब्न विभिन्न जिल्लाबाट आउने व्यवसायीले बस्ने ठाउँ नहुँदा आफूलाई गुनासो गर्ने गरेको उनी सुनाउँछन् । ‘उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्ने गर्दथे तर त्यसका लागि नजिकै गतिलो होटल थिएन । साथीहरुको अनुरोधलाई नकार्न पनि नसक्ने अनि व्यवस्थापन गर्न पनि गाह्रो हुने अवस्था भएपछि निकै अप्ठ्यारो महसुस हुन्थ्यो । पछि आफैँले तातोपानी नजिकै होटल खोलेँ’, श्रेष्ठले भने । अहिले तातोपानी कुण्ड नजिकै होटल श्रेष्ठ हटस्पिरिङ सञ्चालनमा आएको छ । १५ करोड लागतमा खुलेको यस होटलमा ३६ वटा स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट श्रेणीका कोठा उपलब्ध छन् । तातोपानी कुण्डमा उपचारका लागि अनुसन्धानका लागि पनि स्वदेश र विदेशबाट मानिस आउने गरेका र उनीहरुको सेवाका लागि आफूहरु रहेको सो होटलका प्रबन्ध निर्देशक प्रतिश श्रेष्ठ बताउँछन् । ‘म्याग्दी र यस कुण्डमा आउने र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो’, उनले भने, ‘अहिले पर्यटक आगमनको याम नभएर त्यति धेरै पर्यटक छैनन् तर वैशाखका लागि राम्रो बुकिङ भएको छ । कोरोनाका कारण तीन चार वर्षदेखि हिँडडुल गर्न नपाएका स्वदेशी र विदेशी पाहुनाको आगमन अब वैशाखदेखि बढ्ने अपेक्षा गरेका छौँ ।’ संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले पनि २० करोड लगानीमा अर्को होटल ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा ल्याएका छन्। दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने स्वदेशी तथा भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरमा करिब पाँच करोड लगानीमा होटल मदरल्याण्ड इन सञ्चालन भएको छ । होटलका सञ्चालक होटल व्यवसायी टङ्कलाल श्रेष्ठले भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी ठूलो र सुविधायुक्त होटल सञ्चालन गरेको बताए । बेनीको लामा होटलका सञ्चालक राजन लामाले क्षमता विस्तारका लागि नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेष्टुराँमा दुई अर्ब बढीको लगानी छ । हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिकस्थल र पहाडी भूगोलको दृष्य अवलोकनका लागि म्याग्दीमा पर्यटक आउने गर्दछन् । म्याग्दी नदीको असला माछा, स्थानीय जातको सिमीको दाल, च्याउ र टुसा, आलुको परिकार, टिम्मुरको चटनी बेनीका होटल र रेष्टुराँमा स्वाद लिन सकिन्छ । धौलागिरि, अन्नपूर्ण, गुर्जालगायत हिमशृङ्खला आरोहण, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण धौलागिरि पर्यावरणीय, धौलागिरि र अन्नपूर्ण चक्रीय पदयात्रामा आउने पर्यटक, मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीको लागि पनि बेनी प्रवेशद्वार हो । विसं २०६४ मा बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तीर्थयात्रीले बेनीमा बास नपाउने अवस्था थियो । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो । होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या हटेको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताए । ‘हामीकहाँ दुई ५० होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध हुनुहुन्छ’, उनले भने, ‘तातोपानी, बेनी र गलेश्वरका सुविधायुक्त होटलमा दैनिक एक हजार जना पाहुना राख्न सकिन्छ ।’ वैदेशिक रोजगारीबाट फर्केपछि १५ वर्षदेखि बेनीमा होटल सञ्चालन गरिरहेका आचार्यले गलेश्वरमा स्थानान्तरणका लागि भवन निर्माण गरिरहेका छन् । प्रशासनिक, बैंकिङ र व्यापारिक कामले गाउँबाट सदरमुकाम पुग्ने देश सङ्घीयतामा प्रवेश गरेपछि र ठाउँ ठाउँमा सडक विस्तार भएपछि घटेका छन् । अहिले बेनीका होटल धानिने मुख्य आधार पछिल्लो समय देशका विभिन्न स्थानबाट म्याग्दी र मुस्ताङ घुम्न आउने पाहुना बन्न थालेका छन् । सङ्घसंस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर घुम्न आउनेको सङ्ख्या बढ्दो छ । यसअघिका तीन वर्ष कोरोना भाइरसको महामारी र बन्दाबन्दीले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन थालेको होटल व्यवसायी सङ्घ म्याग्दीका सचिव सरोज थापाले बताए । उनका अनुसार कोरोनाका कारण पर्यटक आगमन नभएको यसअघिका वर्षलाई म्याग्दीका व्यवसायीले होटलको क्षमता विस्तार र व्यवस्थापनमा उपभोग गरेका छन् । पुराना होटलले सुविधा र क्षमता विस्तारका साथै केही नयाँ सुविधासम्पन्न होटल यही अवधिमा खुलेका छन् । पछिल्लो तीन वर्षमा म्याग्दीको होटलमा एक अरबको हाराहारीमा लगानी थपिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेनी विश्वका प्रमुख गन्तव्यस्थलमध्यको एक मुस्ताङ जाने प्रवेशद्वार पनि हो । बेनी विसं १६३१ देखि १८४३ सम्म तत्कालीन बाइसे चौबिसे राज्यअन्तर्गत तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी थियो । दुई सय वर्षसम्म हिउँदको चार महिना बेनी र आठ महिना ढोलथान दरबारबाट राज्य सञ्चालन हुने गरेको इतिहास भेटिन्छ । रासस ।

‘प्रभु स्मार्ट फण्डले लगानीकर्तालाई २५५ प्रतिशत प्रतिफल दिन्छ’

प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । प्रभु क्यापिटलले बिक्री गरेको म्युचुअल फण्डका बारेमा चिफ इन्भेष्टमेन्ट अफिसर दुर्गानन्द झासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । झा प्रभु क्यापिटलमा साढे २ वर्षदेखि कार्यरत छन् । यसअघि उनले भारतको केपीएमजिमा ९ वर्षभन्दा बढी काम गरेका थिए । इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्गमा अनुभवि झाले मर्कर र इनफोसिसमा समेत काम गरेका थिए । उनले एमबिए, सीएफए र एफआरएमको योग्यता पनि हासिल गरेका छन् । प्रभु म्युचुअल फण्ड अन्तर्गतको प्रभु स्मार्ट फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौं । हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैं । यस अघि नै हामीले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड ल्याएर सञ्चालन गरिरहेका छौं । उक्त योजनामा बढिमा ३० वटा स्टकमा लगानी गर्ने भनेर उत्कृष्ट ३० वटा स्टकहरुलाई छनोट गरेका छौं । तर, प्रभु स्मार्ट फण्डलाई भने हामीले थप लचकदार बनाएका छौं । यसमा लगानी आवश्यकता र बजारको उतारचढावलाई मध्यनजर गर्दै स्टकहरु छनोट गर्छाैं । साथै सूचिकृत कम्पनीहरुको प्रस्तुतिका आधारमा हाम्रो लगानी रणनीतिको अन्तरगत रहेर उच्चतम प्रतिफल हासिल हुने गरी लगानी रणनीतिलाई अवलम्बन गर्ने छौं । लगानी गर्नको लागि अहिले कस्तो समय हो ? बजारलाई कसरी हेरीरहनुभएको छ ? अहिले लगानी गर्नका लागि उचित समय हो । लगानीकर्ताहरु अहिले मार्केट भोलाटाइल भएका कारण लगानीका लागि दुविधामा रहेको अवस्था छ । बजारमा देखिएका्े अनिश्चित प्रकारको उतारचढावका कारण अधिकांश लगानीकर्ताले ठूलो जोखिम व्यहोर्नु परेको छ । नेप्से ३२ सय अंक हुँदा बजारमा थुप्रै नयाँ लगानीकर्ता प्रवेश गरेका थिए । तर यसबीचमा बजारमा गिरावट आएका कारण ती नयाँ लगानीकर्ताहरुले घाटा बेहोर्नुपरेको छ । राजनीतिक, आर्थिक तथा नियामकीय नीतिको कारणबाट सेयर बजारमा सिर्जित अनिश्चतता अझै पनि सकिएको छैन । यो अझै केही समय लामो हुने देखिन्छ । यस्तोमा दिर्घकालिन लगानी गर्न चाहने विभिन्न प्रकारका लगानीकर्ताहरुले कम जोखिम लिई उच्च प्रतिफलका लागि यस्तो म्युचुअल फण्डमार्फत लगानी गर्नु उपयुक्त हुन्छ । यसै परिप्रेक्ष्यमा लगानीकर्ताहरुको आवश्यकताको व्यवस्थापन गर्न सक्नेगरी प्रभु क्यापिटल अगाडि आएको छ र बजारमा दिर्घकालिन रुपमा लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो लगानीबाट कम जोखिममा उत्कृष्ट मुनाफाका लागि प्रभु स्मार्ट फण्ड योजनाको शुरुवात गरेको छ । यसमा हाम्रा आम सर्वसाधारण लगानीकर्ताहरुले थोरै जोखिम लिई दिर्घकालिन प्रतिफलको लागि लगानी गर्न सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डका विशेषता क–के हुन् ? प्रभु स्मार्ट फण्डको आकार ८० करोडको छ । यो एउटा बन्दमुखी योजना हो । यस फण्डलाई नेप्सेमा सूचिकृत गरिने हुनाले लगानीकर्ताहरुले यसलाई प्राथमिक निष्काशन पश्चात पनि पुनः नेप्सेबाट कारोबार गर्न सक्नुहुनेछ । यस योजनामा प्रभु बैंकले १४ प्रतिशत अर्थात् ११ करोड २० लाख र प्रभु क्यापिटलले ८० लाख इकाई बीज पूँजी खरिद गर्न पाउँछ । बाँकी ८५ प्रतिशत लगानी हामीले बजारबाट उठाउनेछौंं । यो योजना इक्विटी ओरियन्टेड भएकाले यसले सूचिकृत कम्पनीहरुको सेयरमा ३५ प्रतिशतदेखि ९० प्रतिशतसम्म लगानी गर्नेछं । यस्तै, फिक्स्ड इन्स्ट्रुमेन्टमा न्यूनतम ५ प्रतिशतदेखि ३५ प्रतिशत लगानी गर्नेछ । लगानीकर्ताले फण्डमा न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डले वार्षिक औसत २५.५८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । १० वर्षको अवधिमा यस योजना लगानी गर्ने युनिट होल्डरहरुलाई कूल २५५.७५ प्रतिशत प्रतिफल दिने लक्ष्य राखिएको छ । साथै, हामीले लाभांश दर पनि स्थीर राख्ने कोसिस गरिरहेका छौं । दोस्रो र तेस्रो वर्ष १०/१० प्रतिशत, चौंथो वर्षदेखि १० वर्षसम्म १२ प्रतिशत स्थिर लाभांश दिने प्रक्षेपण गरेका छौं । फण्डको सुपरभाइजर शुल्क न्याभको शुन्य दशमलव १ प्रतिशत, फण्ड म्यानेजमेन्ट शुल्क १.५ प्रतिशत, डिपोजिटरी शुल्क शुन्य दशमलव २ प्रतिशत रहनेछ । यदि माग गरेको भन्दा बढी आवेदन परेमा २० प्रतिशत वृद्धि गरेर फण्डको आकार १ अर्ब पुर्याउँछौं । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ । यो बेला फण्ड बिक्री हुन सक्छ ? बजारमा तरलता अभाव भएको अवस्था छ र यो बेलामा लगानीकर्ताको मनोबल लगानीका लागि कम भएको अवस्था छ । तर, वास्तमा भन्नुपर्दा लगानीकर्ताहरुले यस्तै बजार घटेर तल्लो तहमा रहेको बेलामा नै दीर्घकालका लागि लगानी गर्न उचित हुन्छ । दिर्घकालिन रुपमा लगानी गर्नका लागि लगानीकर्ताहरुले विभिन्न प्रकारका लगानी औजारहरुमा लगानी गर्न सक्नुहुन्छ । धितोपत्रको दोश्रो बजारमा लगानी गर्दा अत्याधिक जोखिम हुने भएको हुँदा कम जोखिम लिन रुचाउनुहुने लगानीकर्ताहरुले दीर्घकालमा राम्रो प्रतिफल पाउनका लागि म्युचुअल फण्डमा लगानी गर्न सक्नुहुन्छ । लगानीकर्ताको म्युचुअल फण्डमा आकर्षण घटेको स्वभाविक हो । दोश्रो बजार जोखिमयुक्त रहेको र उतारचढाव पनि अत्याधिक रहेको हुँदा हिजोहाज लगानीकर्तामा ट्रेडिङ गर्ने मानसिकता बढि रहेको देखिन्छ । त्यसैले लगानीकर्ताहरुमा आजको भोलि रिटर्न खोज्ने प्रवृत्ति बढेको हुँदा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसका साथै सरकारले पनि म्युचुअल फण्डमा सर्वसाधारणको लगानी अभिवृद्धिका लागि ट्याक्स छुट लगायतका नीति अवलम्बन गर्नुपर्नेमा त्यस्तो केही भएको देखिँदैन । यद्यपि दीर्घकालमा हेर्ने हो भने मुद्दती तथा कर्पोरेट डिबेन्चरको भन्दा धेरै प्रतिफल म्युचुअल फण्डले दिएका छन् । हालसम्म परिपक्क भएका म्युचुअल फण्डहरुको वार्षिक प्रतिफल औसत १९ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । वाणिज्य बैंकहरुको मुद्दती खाताको औषत रिटर्न ९ प्रतिशतको हाराहारीमा छ । अहिलेको जस्तो बजार घटेको बेलामा म्युचुल फण्ड आउनुलाई लगानीकर्ताले दिर्घकालिन लगानीको अवसरका रुपमा लिनुपर्छ । किनभने यो बेलामा आएका फण्डहरुले युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सक्ने क्षमता राख्छन् । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? बजार माथि गएको बेलामा लगानीकर्ताको लगानी मनोबल उच्च रहने गर्दछ जसका कारण लगानीकर्ताहरुको सहभागिता उच्च हुन्छ भने घटेको बेलामा सहभागिता समेत कम भएको देखिन्छ । तर, ठूला ठूला लगानीकर्ताले बजार घटेकै बेलामा सेयर खरिद गरेका हुन्छन् । आम लगानीकर्ताले बुलिस सेन्टिमेन्ट राम्रो भएको बेलामा प्रवेश गर्छन् । जसले गर्दा उनीहरुको अत्याधिक जोखिम लिइराखेका हुन्छन् । यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई विविधिकरण (डाइभर्सीफाइड) गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा आकर्षण बढाउन लगानीकर्ताको सचेतना फैलाउन जरुरी छ । नियामक निकायले पनि म्युचुअल फण्डमा लगानी गर्नुपर्छ भनेर सचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढाउनलाइ सरकारद्वारा करमा सुबिधा लगायतका विषयमा लचक हुने व्यवस्था गर्नुपर्छ । यस्तो हुन नसक्दा म्युचुअल फण्डको रोजाइ कम हुने गरेको छ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डको लाभांश दर घटेको छ । जसले आकर्षण पनि घट्दो छ । लगानीकर्तालाई आकर्षित गर्न के गर्नुहुन्छ ? अहिले अधिकांश म्युचुअल फण्डहरु इक्विटी ओरियन्टेड छन् । यस्ता फण्डहरुले इक्विटीमा मात्रै लगानी गरेका हुन्छन् । इक्विटीको रिटर्न मार्केट अनुसार लाभांश वितरण गरिन्छ । बजारको अवस्था बढेको छ भने रिजर्भ पनि राम्रो हुन्छ । त्यो बेलामा उनीहरुले धेरै लाभांश दिन सक्छन् । अहिले सबै क्षेत्रले बजारलाई प्रभाव पार्ने काम गरेको छ । विदेशमा पनि स्थिती गाह्रो छ । रसिया र यूक्रेन युद्धले मुद्रास्फिती बढेको छ । विश्वव्यापी रुपमा ब्याजदर बढेको छ । तरलता अभाव कायम छ । यसबाट नेपाल पनि प्रभावित हुन पुगेको छ । जसले गर्दा बजार घटेको हो । गत वर्षसम्म अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए । तर पछिल्लो समय विस्तारै सुधारोन्मुख छ । ब्याजदर पनि घट्दै गएको देखिन्छ । ब्याजदर घटेपछि र वाह्य पक्ष सकारात्मक भएपछि बजारले माथि जान्छ । बैंकको ब्याजदर घटेपछि मुद्दती भन्दा म्युचुअल फण्डमा आकर्षण बढ्छ । बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नि ? इक्विटी ओरियन्टेड फण्डहरुले बजार बढेको बेलामा नै बढी प्रतिफल दिन्छन् । बजार बढेको बेला लाभांश वितरण गर्ने क्षमता बढी हुन्छ । बजार घटेको बेला फण्डको न्याभ पनि घट्छ । न्याभ घटेको बेला प्रतिफल पनि कम हुन्छ । इक्विटी ओरियन्टेड स्किम भएकाले बजार बढेको बेलामा मार्केटलाई बिट गरेर राम्रो प्रतिफल दिएका हुन् । किनभने म्युचअल फण्ड म्यानेजरहरुमा लगानी व्यवस्थापन दक्षता राम्रो हुन्छ । जसका कारणबाट उनीहरुले व्यवस्थापन गर्ने म्युचुअल फण्डबाट बढि मात्रामा पूँजीगत लाभ प्राप्त गर्ने क्षमता राख्दछन् । हाम्रो उदाहरण हेर्नुहुन्छ भने पनि हामीले व्यवस्थापन गरेको पहिलो म्युचुअल फण्ड प्रभु सेलेक्ट फण्डको व्यवस्थापन उच्चतम रुपमा भएको देख्न सक्नुहुनेछ । हामीले बजार उच्च विन्दुमा रहेको बेलामा निष्काशन भएता पनि अहिले बजार सो विन्दुबाट घटेर झण्डै २६ प्रतिशतले तल रहेको अवस्थामा पनि यसको न्याभ अर्थात खुद सम्पत्ति मुल्यलाई ४.८० प्रतिशतले सकारात्मक बनाएर राखेका छौं । अर्थात यदि लगानीकर्ताहरुमध्ये कसैले त्यसबेला नेप्सेमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने घटेर सो लगानी घटेर ७४ रुपैयाँमा आएको बेलामा पनि प्रभु सेलेक्ट फण्डमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने सो लगानी अहिले पनि १०४ रुपैयाँ ८० पैशा भएको अवस्था हो । त्यसैले हाम्रो लगानी रणनीति अनुसार बजार बढेको बेलामा मात्रै होइन बजार घटेको बेलामा पनि हामीले लगानीकर्ताहरुको हामी प्रतिको विश्वासलाई टुट्न दिएका छैनौं । त्यसैले हामी के भन्छौं भने बजार उच्च भएका बेलामा यदि कसैले सूचीकृत सेयरमा लगानी गरेको छ भने बजार घटेर आउँदा ठूलो घाटा हुने सम्भावना बढी हुन्छ । त्यसैले लगानी व्यवस्थापन क्षमता र दक्षता भएका म्युचुअल फण्ड म्यानेजरले व्यवस्थापन गर्ने म्युचुअल फण्डहरुमा दीर्घकालमा उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्य बोकेका लगानीकर्ताहरुले लगानी गर्नु उपयुक्त हुन्छ । प्रभु स्मार्ट फण्डले कुन–कुन क्षेत्रमा लगानी गर्छ ? फण्डबाट संकलन भएको रकमलाई रणनीति अनुसार लगानी गर्छाैं । धितोपत्र बोर्डका निर्देशिकाहरुले तोकेको क्षेत्रमा फण्डको लगानी गर्छाैं । फिक्स्ड इनकम इन्स्ट्रुमेन्ट, मुद्दती र ऋणपत्रमा कति राख्ने भनेर सीमा तोकिएको हुन्छ । इक्विटीमा पनि न्यूनतम यति गर्नुपर्छ भनेर सीमा तोकिएको हुन्छ । इक्विटी बढी चार्मिङ हुने भएकाले त्यसतर्फ धेरै लगानी गर्छाैं । इक्विटीमा ३५–९० प्रतिशत लगानी गर्ने योजना छ । यसमा लगानी गर्दा जोखिम उच्च हुन्छ । कम जोखिम भएका निश्चित प्रतिफल प्रदान गर्ने इन्स्ट्रुमेन्टमा ५–३५ प्रतिशत लगानी गर्छाैं । जसमध्ये १५ प्रतिशत मुद्दती, २० प्रतिशत ऋणपत्र र १–२५ प्रतिशत आईपीओ तथा अलपकालीन उपकरणमा लगानी गर्छाैं । प्रभु सेलेक्ट फण्ड चर्चा गर्नु भयो यसको अहिलेको अवस्था कस्तो छ ? प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । हामीले यो फण्ड बुलिस ट्रेण्डमा हुँदा बिक्री गरेका थियौं । त्यो बेला बजारमा चमक धेरै थियो । तर, फण्ड निष्काशन गरेको केही समय पछि बजार निकै तल झर्याे । फण्ड निष्काशनदेखि अहिलेसम्म बजार २६ प्रतिशत घटेको छ । तर, प्रभु क्यापिलटले फण्डको न्याभ सकारात्मक नै मेन्टेन गर्न सफल भएको छ । माघ महिनाको न्याभ १०.४८ प्रतिशत छ । फण्ड करिब ५ प्रतिशत सकारात्मक छ । बजार २६ प्रतिशत घट्दा पनि फण्डलाई जोगाएका छौं । हामीसँगै आएको अन्य फण्डको तुलना गर्ने हो भने प्रभु सेलेक्ट फण्ड एकदमै राम्रो अवस्थामा रहेको देखिन्छ । बजार घटेको हुँदा प्रभु सेलेक्ट फण्डले लाभांश वितरण गर्न सकेको छैन । अहिले फण्डको न्याभ जोगाउनु नै ठूलो कुरा हो । बजारले साथ दियो भने राम्रो रिजर्भ श्रृजना गरेर अगामी दिनमा राम्रो लाभांश दिन्छौं । अधिकांश म्युचुअल फण्डको न्याभ घटेको छ । तर, प्रभु सेलेक्ट फण्डले कसरी सकारात्मक राख्न सफल भयो ? प्रभु क्यापिटलको अनुसन्धान टिम रोबोस्ट छ । स्टक स्क्रिनिङ्गदेखि लिएर सेक्टर एलोकेसन, स्टक सेलेक्सन सबैलाई ब्यालेन्स राखिएको छ । फण्ड निष्काशन गर्दाखेरी नै बजारको अवस्था हेरेर लगानी गरिएको छ । त्यसैले फण्डलाई सकारात्मक राख्न सफल भएका छौं । लगानीकर्ताको सम्पत्ति जोगाउन सफल भएका छौं । जब बजारले उकालो यात्रा तय गर्छ तब राम्रो लाभांश वितरण गर्न सक्छ भन्ने हामीलाई विश्वास छ । प्रभु स्मार्ट फण्डले १० वर्षमा २५५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यो कसरी सम्भव हुन्छ ? हामीले हाम्रो लगानी व्यवथापन कुशलता र बजारको चाल अनुसार हासिल हुन सक्ने किसिमको वास्तविक प्रक्षेपण गरेका हौं । अन्य म्युचुअल फण्डको प्रक्षेपणको तुलनामा हामीले बजार प्रति सकारात्मक हुँदै गर्दा पनि सन्तुलित ढंगले प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । त्यसै अनुसार नै हामीले लाभांश दर वार्षिक १०/१२ प्रतिशतसम्म कायम राख्ने लक्ष्य राखेका छौं । अहिले बजार बियरिस मार्केट ट्रेण्डमा छ र अझै भन्नु पर्दा बजारको न्यूनतम तहको नजिक रहेको अनुमान हामीले गरेका छौं । यहाँबाट अबको एकदुई वर्षमा हामीले पुनः अर्को बुल मार्केट देख्न सक्ने अपेक्षा गरेका छौं । त्यसैले हामीले यस फण्डको १० वर्षको अवधिमा कम्तिमा २ वटा बुल मार्केटको सामना (फेस) गर्ने प्रक्षेपण लिएका छौं । यसैले हामीले १० वर्षको अवधिमा यो फण्डमा १० रुपैयाँ लगानी गर्ने युनिट होल्डरले लगानीको २.५ गुणा अर्थात २५ रुपैयाँ ५० पैशा सम्मको प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । म्युचुअल फण्डको लाभांश किन स्थीर हुँदैन ? शेयर बजारमा आउने उतारचढावसँगै सामुहिक लगानी योजनाहरुले हासिल गर्ने पूँजीगत लाभ तथा लाभांशको अवस्थामा पनि फेरबदल भइरहेको हुन्छ । अझ हाम्रो बजारमा सामुहिक लगानी योजनाहरुले अधिकांश लगानी सूचिकृत कम्पनीहरुको सेयरमा गर्ने भएको हुँदा र शेयर बजारमा विभिन्न नियामक निकायहरुबाट लिइएको नीतिले बजारको गतिलाई जहिले पनि अस्थिर बनाइराख्ने भएको हुँदा त्यसको असर म्युचुअल फण्डको प्रतिफलमा समेत पर्ने गर्दछ । यसै कारण म्युचुअल फण्डको लाभांश पनि घटबढ भइरहन्छ । प्रभु क्यापिटलले अन्य कुनै फण्ड ल्याउने योजना बनाएको छ ? प्रभु स्मार्ट फण्ड एक बन्द मुखी योजना हो । यो योजनाको निष्काशन पश्चात् हामी खुलामुखी फण्ड निष्काशनको तयारी मा छौं । उक्त फण्ड निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छौं । धितोपत्र बोर्डले स्वीकृति दियो भने हामी यस पश्चात तुरुन्तै सो खुलामूखी फण्ड निष्काशन गर्नेर्छाैं । अहिलेको समयमा अधिकांश फण्ड व्यवस्थापकसँग ३/४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् । हाम्रो यी दुई वटा फण्ड पश्चात हामी अर्काे फण्ड पनि निष्काशन गर्छाै । ग्राहकहरुसँग प्रभु क्यापिटलको छुट्टै लिगेसी छ । आगामी दिनमा पनि राम्रो प्रतिफल दिन सक्ने फण्ड ल्याउने योजना छ । खुलामुखी फण्डबाट हामी लगानीकर्ताको माझमा गएर व्यवस्थित लगानी रणनीति बनाउँछौं । म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? म्युचुअल फण्डको भविष्य राम्रो छ । म्युचुअल फण्ड राम्रो प्रतिफल दिने क्षेत्र हो । यद्यपि हाम्रो बजारमा अल्पकालिन लाभको लागि मात्रै सोच्ने लगानीकर्ता हावी भएको हुँदा वर्तमान समयमा यसप्रति उत्ति चासो रहने गरेको पाइन्न । यसको एउटा प्रमुख कारण भनेको यसको बारेमा उचित जानकारी तथा ज्ञान विस्तार नहुनु हो । यसका साथै अहिलेसम्म बजारले थप लगानी औजारहरुको साथै बजार विकासका औजारहरुको विकास राम्रोसँग गर्न नसकेका कारण समेत त्यसको असर यसमा परेको देखिन्छ । यसका साथै सरकारले लगानीकर्ताहरुलाई म्युचुअल फण्डमा लगानीका लागि प्रोत्साहन गर्ने नीति लागू नगरेका कारण पनि म्युचुअल फण्डको शुरुवात गर्दा जुन उद्देश्य राखिएको हो त्यसको पूर्ण रुपमा प्राप्ति हुन सकेको देखिँदैन । यद्यपि हामीलाई के विश्वास छ भने यो सबै अवस्था क्षणिक हो । विस्तारै सबै कुराहरुको विकास हुँदै जानेछ र हामीले खोजेको जस्तै पूँजी बजारको अवस्था बन्नेछ । त्यसकारण आगामी दिनहरुमा म्युचुअल फण्डको भविष्य थप राम्रो हुने विश्वास हामीले लिएका छौं । म्युचुअल फण्डमा लगानीकर्ताहरुलाई आकर्षित गर्न नियामक निकायदेखि सरकारले अझै सहयोग गर्नुपर्छ । लगानीकर्तालाई म्युचुअल फण्डमा आकर्षित गर्न भूमिका निर्वाह गर्नुपर्छ । अहिले म्युचुअल फण्डको आकार ३०/३२ अर्बको पुगेको छ र ५/७ वर्षपछि यो आकार दोब्बर हुनेछ ।

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द हुने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो । मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डले जनाएको छ । अत्यावश्यक सवारी साधन भने उक्त समयमा पनि सञ्चालन हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले हाललाई दश दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको हो’, उनले भने । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशङ्का उब्जिएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५ दशमलव पाँच प्रतिशत छ । सुवेदीका उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत पोल स्थानान्तरण नहुँदा काम सुस्त छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । यो खण्डमा पनि कामको गति सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ वैशाखसम्म छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएकोउक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।