विकासन्युज

आकाशमै तारा एयरको ढोका खुलेपछि…

फाइल फाेटाे काठमाडौं । उडानका क्रममा तारा एयरको जहाजको ढोका खुलेको पाइएको छ । बिहीबार दिउँसो १२.५१ बजे नेपालगञ्ज विमानस्थलबाट बाजुराको कोल्टी विमानस्थलमा उडान भरेको जहाजको ढोका उडानको क्रममा खुलेको हो । बिहीबार उडानको क्रममा जहाजको ढोका खुलेको जानकारी आएपछि तत्काल प्राविधिक पठाएर अध्ययन सुरु गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । जहाज ल्याण्ड गर्ने क्रममा जहाजको ढोका खुलेपनि सबै यात्रुहरु सकुशल रहेका छन् । ‘हामीलाई हिजो दिउँसो नै जानकारी आएको थियो, जानकारी आउनासाथ प्राधिकरणका प्राविधिक घटनास्थल पुगेर अध्ययन सुरु गरिसक्नुभएको छ’, क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘जहाज ग्राउण्डेड गरेर अध्ययन सुरु भएको छ, प्रतिवेदन सार्वजनिक नहुँदासम्म जहाजसँगै चालक दलका सदस्यहरु ग्राउण्डेड छन् ।’ तारा एयरले भने उडानको क्रममा जहाजको ढोका खुलेको नभएर पार्किङमा जाने क्रममा ढोका खुलेको बताएकाे छ । यती एयरका प्रवक्ता सुदर्शन बर्ताेलाले उडानको क्रममा नभएर ल्याण्ड गरेर पार्किङ वे तर्फ जाने क्रममा ढोका खुलेको बताए । ‘अहिले जति पनि कुराहरु आएका छन्, सबै बढाई चढाई आएका हुुन्न, समयमा टिकट नपाएको, टिकट महंगो भयो भन्नेहरुले तारा र यती एयरलाई बन्दनाम बनाउन खोजे’, उनले भने । ताराले सञ्चालन गरेको जहाजका ढोकामा हाईड्रोलिक सिष्टम जडान गरिएको भन्दै अन्य टिवनअटरभन्दा फरक रहेको तारा एयरले दाबी गरेको छ ।

सामान्य घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

कञ्चनपुर अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ । शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताए । बाख्रापालनका लागि चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका छन् । समूहमा आबद्ध सदस्यमध्ये बाख्रा खरिदका लागि तीन सदस्यीय समिति गठन गरेका छन् । खरिद गरिएका बाख्रा दुई वटाका दरले १५ सदस्यलाई उपलब्ध गराइएको छ । समूहमा आबद्ध सदस्य कृष्ण थापाले बाख्रापालन गरी आत्मनिर्भर बन्नका लागि सघाउ पुगेको बताउनुभयो । अपाङ्गता भएकै कारण समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै समूहका अर्का सदस्य जानकी चौधरीले आर्थिकरुपमा आत्मनिर्भर बन्नका लागि बाख्रापालनमा लागेको बताए । समूहका अध्यक्ष हरिदत्त भट्टले स्थानिय तहले पनि विज्ञ केन्द्रको जस्तै अपाङ्गता भएका व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । केन्द्रले शुक्लाफाँटामा जस्तै बेदकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी स्थानीय जातका कुखुरापालनका लागि चार लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । कुखुरापालनका लागि समूहमा आबद्ध सदस्यले खोर निर्माण गरेका छन् । अनुदान रकमबाट दश सदस्यले कुखुरापालन गर्ने समूहका कोषाध्यक्ष प्रेम बोहराले बताए । केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाका अनुसार गत वर्ष भीमदत्त नगरपालिकामा रहेको स्वावलम्बी अपाङ्गता कृषक समूहलाई स्थानीय जातका कुखुरापालनका लागि १० लाख अनुदान उपलब्ध गराइएको थियो । ‘अपाङ्गता भएका व्यक्ति र आश्रित परिवारको आयस्तरमा बृद्धि गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, कार्यालय प्रमुख ठगुन्नाले भने, ‘अपाङ्गता भएका व्यक्ति व्यावसायिक भएर आर्थिकरुपमा सवल बने समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउने अपेक्षा गरेका छौँ ।’ समूहमा आबद्ध अपाङ्गता भएका व्यक्तिले गरेको व्यवसायलाई प्रवद्र्धन गर्नका लागि आवश्यक तालिम र प्राविधिक सल्लाह सुझाव दिने गरेको उनको भनाइ छ । रासस

नम्बर वानको ताज कायमै राख्छौं, सेयरधनी र बीमितलाई सन्तुष्ट बनाउँछौं : अध्यक्ष श्रेष्ठ

निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई एक बनेका छन् । दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । नयाँ बनेको कम्पनीको नेतृत्व प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्हाल्ने भएका छन् । यो अवधिमा मर्जरको भोगाइ, मर्जर गर्दाका चुनौति र मर्जर भएर नयाँ बनेको कम्पनीको योजनाहरुको विषयमा विकासन्युजका लागि सीआर भण्डारी र मञ्जरी पौडेलले कम्पनीका अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानी । दुई कम्पनी एक हुँदाको अनुभुति कस्तो हुने रहेछ ? यो एउटा ऐतिहासिक क्षण हो । हुन त हामी मर्जरमा तेश्रो भएका छौं । हामीभन्दा अघि दुई कम्पनी मर्ज भइसकेका छन् । यो स्केलमा दुई वटा कम्पनी मिल्दा नेपालको ठूलो कम्पनी बन्ने हिसावले मर्जर भएको यो पहिलो कम्पनी हो । मर्जर भनेको दुई वटा कम्पनी विवाह गर्ने सरह नै हो । किनभने दुई कम्पनी छुट्टाछुट्टै वातावरणमा, छुट्टै संस्कृतिमा हुर्किएका । २०/२५ वर्ष आफ्नै हिसावले काम गरिसकेका कम्पनी । एउटामा ३/४ सय जना कर्मचारी र अर्कोमा ३/४ सय जना कर्मचारी । आफ्नो आफ्नो पोलिसी अन्तर्गत काम गरेर आएका र दुई वटै सक्षम र दुई वटै सफल कम्पनीहरु थिए । मर्जर भनेको एक एक जोडेर दुई होइन एघार भन्छौं । यहि एघारलाई एउटा लक्ष्य बनाएर कम्पनीलाई अगाडि बढाउन चाहान्छौं । दुई कम्पनी एक हुनु सामान्य विषय होइन,सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर कसरी सम्भव बनाउनु भयो ?  कुनै पनि मर्जरको क्रममा विभिन्न विषयहरु आउन सक्छन् । नआउने होइन । जस्तै इगो । मेरो कम्पनी पुरानो, मलाई बढी चाहिन्छ । यो क्षेत्रमा मेरो राम्रो प्रफरमेन्स छ, मलाई यो बढी चाहिन्छ भन्ने विषयहरुले मर्जरलाई लम्ब्याएको हुन्छ । अलि जटिलताहरु उत्पन्न हुने गर्छन् । धेरै ठाउँमा आएका पनि थिए । तर हाम्रो केशमा फरक रह्यो । दुबै सफल र एउटै लेभलको कम्पनी भएकोले हिसाव मिलानमा हामीलाई गाह्रो भएन । जस्तै, स्वाप रेसियो तय गर्ने, डीडीए गर्ने लगायतका विषयमा कुनै पनि कठिनाई भएन । ५/१० प्रतिशतका यी काम सजिलै गर्यौं । अब जटिलता आउन सक्ने भनेको कर्मचारी समायोजनको विषय । को कसले कुन पोजिसनमा बसेर काम गर्ने ? भन्ने विषयमा । अब सीईओ को हुने ? अध्यक्ष को हुने ? भन्ने विषय योग्यताको आधारमा हो । हामी लिनेभन्दा पनि दिनेमा बढी फोकस हुनु पर्ने रहेछ । मलाई यो चाहिन्छ उसलाई पनि यो चाहिन्छ भन्ने भयो काम अघि बढ्दैन । यसमा छोड्न सक्नुपर्छ । के को लागि छोड्ने ? कम्पनीको लागि । यही फिलोसोपिमा काम अघि बढाउँदा काम एकदमै सजिलै भयो । दुबै कम्पनीका पदाधिकारी, सञ्चालकहरु एकदमै बुझ्ने हुनुहुन्थ्यो । एक अर्काको सबल पक्ष र कमी कमजोरीहरु बुझेको । र, सबल पक्षलाई निरन्तरता दिँदै कमी कमजोरीलाई हटाउँदै जाने भन्नेमा सबैको बुझाई मिलेको हुनाले यो मर्जरलाई सफल बनाउन हामीलाई कुनै पनि किसिमको गाह्रो भएन । फरक-फरक कम्पनीको अध्यक्ष र सीईओ बन्नु भएको छ, यो अवस्थामा भोलिका दिनमा समन्वय गरेर अघि बढ्न कत्तिको सहज या असहज हुन्छ ? असहज हुने स्थिति मैले देखेको छैन । किनभने मर्जरकै क्रममा धेरैपटक हाम्रो मिटिङ अर्थात छलफल भइसकेका छन् । धेरै विषयमा सहकार्य भइसकेको छ । कुनै पनि विषयमा कुनै पनि समस्या, बाधा अड्चनहरु आउँदा सजिलै समाधान भयो । कारण एउटै थियो दुबैको बुझाई एउटै । त्यसैले हामीले कुनै पनि असहजताको स्थिति झेल्नु परेन । र, अब आउने दिनमा पनि यहि अनुसार नै अघि बढ्न सक्यौं भने दुई कल्चरको विवाहलाई सजिलै अघि बढाउन सक्छौं जस्तो लाग्छ । भिडियो  :  हाम्रो भिजन ‘नम्बर वान’ बन्ने नै हो : अध्यक्ष श्रेष्ठ पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ? आजको दिनमा दुई कम्पनी मर्जर भयो र एकीकृत कारोबार शुरु भयो । यो भनेको ५/१० प्रतिशत मात्रै काम सकियो । बाँकी ९० प्रतिशत कामहरु अझै बाँकी नै छन् । शाखा कार्यालयको काम अगाडि बढीसकेको छ । हाम्रो दुबै कम्पनीको शाखा कार्यालय जोड्दा करिब १५०/१६० पुग्थ्यो । केही शाखाहरु दुप्लिकेट थिए, तिनलाई मर्ज गरेका छौं । र, अहिले १२३ वटा पुगेका छौं । कुनै दुईटा शाखालाई जोडेर एउटै बनाउने । कुनै पहिला चलिरहेको पुरानो शाखालाई नै निरन्तर सञ्चालन गर्ने । शाखा कार्यालयको एउटा मापदण्ड हुन्छ । कुन कति वर्ष पुरानो काम गरेको ? कुन कस्तो पोजिसनमा फीट हुन्छ ? त्यसको मूल्यांकन गरी उचित मापदण्ड बनाएर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिएर अघि बढ्ने हो ? त्यसमा हाम्रो तयारी भइरहेको छ । जस्तै, दुई वटा शाखामा दुई जना म्यानेजर हुन्छन् । शाखा एउटा बनाउँदा दुबैलाई म्यानेजर राखेर भएन । यो अवस्थामा को म्यानेजरको रुपमा निरन्तर काम गर्ने ? र को उसको अन्तर्गत काम गर्ने ? भन्ने विषयमा उनीहरुको आफ्नो आफ्नो प्रफमेन्स, क्षमता र योग्यताको आधारमा समायोजन गरेका छौं । यो कर्पोरेट कार्यालय र शाखाहरु दुबैमा लागू हुन्छ । मर्जरपछि सम्बन्धित कम्पनीका कर्मचारीहरुबाट खाईपाई आएको सेवा सुविधा घट्यो भन्ने गुनासोहरु आइरहेका छन् । यसमा सिद्धार्थ प्रिमियरले कसरी व्यवस्थापन गर्दैछ ? सिद्धार्थ प्रिमियमरले यसमा कुनै कमी हुन दिँदैन । खाईपाई आएकोमा जो जसले जति सेवा सुविधा लिइरहेको हुन्छ, त्यसमा केही पनि कमी हुँदैन । सबैलाई समान हैसियतमा लगिन्छ । कर्मचारीहरु कसैको पनि सेवा सुविधा घट्दैन । आगामी पाँच वर्षमा सिद्धार्थ प्रिमियरलाई कुन स्थानमा देख्न सक्छौं ? पाँच वर्षमा हाम्रो भिजन नम्बर वान बन्ने नै हो । अहिलेलाई दुईटा हिसाव मिलाएर नम्बर वान पुग्यो । तर नम्बर वानमा स्थीर भई राख्नु भनेको अर्को चुनौति हो । यो नम्बर वानमा बस्नको लागि के के गर्नुपर्छ ? कस्ता कस्ता श्रोतहरुको परिचालन गर्नुपर्छ ? वित्तीय श्रोत, प्राविधिक श्रोत, मानव श्रोत साधानहरु, बजारीकरण लगायतका विषयमा हाम्रो फोकस छ । अब एक वर्षसम्म यी विषयमा फोकस भइन्छ । यो स्टाब्लिस भइसकेपछि यसकै आधारमा हामी अगाडि बढ्छौं । हुन त नेपाल बीमा प्राधिकरणले दुई तीन वर्षमा पुँजीको आवश्यकतालाई परिवर्तन गर्दै आइरहेको छ । पुँजीको आवश्यकतालाई मात्रै थपेर बिजनेस सस्टेन हुन नसक्ने अवस्था आउँछ । त्यसैले पनि मर्जर एउटा म्यान्डेटोरी बन्न आयो । अब बीमा प्राधिकरणले नयाँ नयाँ नीति नियमहरु ल्याउँदै गर्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ । आजको दिनसम्म हामी पुँजीसँगै विभिन्न शीर्षकमा नम्बर वान छौं । अब हाम्रो लक्ष्य यहि नम्बर वानलाई निरन्तरता दिने हो । बीचमा उतारचढाव होला । तर पनि नम्बर वान नै भएर बस्न हामी पुरै कन्फिडेन्ट छौं । सिद्धार्थ र प्रिमियरले दिँदै आएको लाभांश र मर्जरपछि बनेको कम्पनीले दिने लाभांशमा कत्तिको वृद्धि होला ? हाम्रो उद्देश्य भनेको कुनै पनि बिजनेस गर्दा ग्राहकलाई अधिकतम सन्तुष्टि दिने हो । ग्राहकको सन्तुष्टिबाटै बिजनेस बढ्ने हो । बिजनेस बढेपछि नाफा बढ्ने हो । तर बीमामा त्यति सजिलो छैन । बिजनेस मात्रै बढाएर पनि हुँदैन । जस्तै : क्वालिटी बिजनेस भनेको के हो ? नेपालमा क्वालिटी बिजनेस नभएको कारणले फ्रडुलेन्स क्लेम बढी भइरहेको छ । यसले बीमा क्षेत्रलाई नै गाह्रो पारिरहेको छ । तर नाफा भएपछि त सेयरधनीलाई अधिकतम लाभांश दिन सक्छौं । विगतका इतिहासलाई हेर्ने हो भने सिद्धार्थ र प्रिमियर दुबै कम्पनी सञ्चालन भएको अवस्थामा दुईवटै ‘वान अफ द बेष्ट’ कम्पनी थिए । अब दुईवटा कम्पनीको श्रोतहरु मिल्दा त्योभन्दा बढी हुन्छ । कम हुँदैन भन्ने हाम्रो विश्वास छ । सेयरधनी भन्नाले सर्वसाधारण सेयरधनी मात्रै होइनन् । हामी (संस्थापक) ले पनि आफ्नै रगत पसिनाले बिजनेस चलाइरहेका हौं । हामीलाई नाफा नहुँदा जति दुख्छ, सर्वसाधारण सेयरधनीलाई पनि त्यति नै दुख्छ । उहाँहरुलाई दुखेको हामीलाई पनि दुख्छ । हामीले आफ्नो सेयरहरु बजारमा बेच्न पनि नहुने । लक गरेर राखिएको छ । संस्थापक सेयरधनीले एकपटक लगानी गरिसकेपछि सेयर बेच्न पनि नपाउने, नगद लाभांश पनि लिन नपाउने भन्ने नीति बीमा प्राधिकरणको छ । यसले गर्दा संस्थापक सेयरधनीले आफ्नो लगानीको उचित प्रतिफल पाइरहेका छैनन् । जुन सर्वसाधारण सेयरधनीले नगदसहितको लाभांश पाइरहेका छन् । यसले उनीहरुलाई फाइदा नै भइरहेको देखिन्छ । बीमा प्राधिकरणको बारम्बार एउटै गुनासो छ की बीमा कम्पनीहरु शहर केन्द्रित मात्रै छन् । गाउँ केन्द्रित छैनन् । यसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको भूमिका के रहन्छ ? साच्चै भन्ने हो भने हाम्रो फोकस नै त्यहि छ । १२३ वटा शाखा कार्यालय छन् । नेपालका ७ वटै प्रदेशमा छन् । हामी ठाउँठाउँ गाउँगाउँमा गएर विभिन्न प्रविधि मार्फत काम गर्दै जाने । शाखाहरु खोल्दै जाने । निम्न वर्गका ग्राहकहरुलाई सेवा दिने । १२३ भनेको थोरै शाखा होइनन् । हरेक वर्ष अधिकतम १० वटा शाखा खोल्दै जाने । काठमाडौं भित्र पनि थप शाखा खोल्छौं । त्यसैले हाम्रो ब्रान्च नेटवर्ट म्यासिभ नै हुन्छ । दुई कम्पनी नै अग्रणी हुन् भन्नु भयो । अग्रणी हुँदा हुँदै पनि आफै पुँजी बढाउन तपाईं असक्षम हुनु भएको हो ? असक्षम भन्दा पनि यसको भायविलिटी हेर्नुपर्यो । कुनै पनि लगानी गर्दा यसको भायविलिटी हेर्नुपर्छ । जति बजारमा प्रतिस्पर्धा हुन्छ, त्यत्ति अनुशासन हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यसले कुनै पनि कम्पनीलाई राम्रो फाइदा भइरहेको छैन । अहिले हामी आफ्नो प्रगति अनुसार टप टु/थ्री कम्पनीमा बस्न सक्षम त भयौं । तर बजार बिग्रिँदै गएकोे हिसाबले टप टु/थ्री मा बस्न कठिनाई भइसक्यो । त्यसैले मर्जर हुनु अपरिहार्य नै थियो । किनभने एउटा कम्पनीले ३०० करोडको व्यापार गरिरहेको छ भने ३०० करोडबाट ६०० करोड पुर्याउन पुँजी थपेर मात्रै हुँदैन । दुई कम्पनी मिलेर गरेको जति बिजनेस गर्न सकिँदैन । जबकी एउटै लेभलको पुँजी वा बिजनेस भएको कम्पनी मिल्दा क्षमतावान कर्मचारी तुरुन्तै हुन्छ । तुरुन्तै बजारमा स्थापित भइसकेका शाखाहरु हुन्छन् । पुँजी थपेर जाँदा एउटा एउटा शाखा बढाउनु निकै कठिन हुन्छ । नयाँ मान्छे लिनु पर्यो । नयाँ ठाउँ लिनु पर्यो । नयाँ पहिचान बनाउनु पर्यो । त्यसैले नयाँ सञ्चालन गर्नुभन्दा भइराखेको श्रोतलाई क्यापिटलाइज्ड गर्नु नै धेरै सजिलो हुन्छ । त्यसैले हामीले मर्जरलाई नै प्राथमिकता दियौं । मर्जरमा जाँदै गरेका अन्य कम्पनीलाई कस्तो सुझाव दिनुहुन्छ ? मर्जर एक पटक गर्ने भनिसकेपछि ‘ए’ पाटी ‘बी’ पाटी भन्ने हुँदैन । ‘ए’ प्लस बी नै भएर अगाडि जानु पर्छ । ‘ए’ को यति ‘बी’ को यति भनेर जानु हुँदैन । ‘ए’ को मान्छे यहाँ ‘बी’ को मान्छे त्यहाँ भन्ने सोच बनाउँनु हुँदैन । ‘एबी’ भनेको ‘ए’ प्लस ‘बी’ बराबर वाई भनेर जानुपर्छ । मर्जरलाई छिटो छरितो गर्ने, आफ्ना कर्मचारीलाई राम्रो इम्प्रेसन दिने हो भने राम्रो पक्षलाई संगाल्दै जाने र नराम्रोलाई हटाउँदै जानु पर्छ । यो एउटा ठूलो चुनौतिसँगै एउटा अवसर पनि हो । यो अवसरलाई ध्यानपूर्वक अघि बढाउनु पर्छ । र, सानातिना विषयमा नअल्झि यता गए नि ठिकै छ, उता गए नि ठिकै छ भन्ने सोच बनाएर अघि बढियो भने यो मर्जरको प्रकृया छिट्टै सकिन्छ ।

डेढ अर्ब रुपैयाँमा बन्दै गरेको आईएमई ग्रुपको कागज उद्योग (फोटोफिचर)

काठमाडौं । आईएमई समूहले सर्राफ समूहसँगको साझेदारीमा कागज उद्योगमा स्थापना गर्दैछ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले महोत्तरीको राम नगरमा ११ विघा जमिन किनेर कागज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउँदैछ । उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ । सर्राफ समूहको ३० प्रतिशत लगानी छ । सुनिल गोपाल श्रेष्ठ र ओम ज्ञवालीको १५/१५ प्रतिशत सेयर लगानी छ । यो उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले कर्जा लगानी गरेका छन् । सर्राफ समूहको कौसल किशोर सर्राफ कागज उद्योगका अनुभवी उद्यमी हुन् । एभरेष्ट पेपर मिल समेत चलाउँदै आएका सर्राफसँग यस क्षेत्रको बारेमा लामो अध्ययन र अनुभव रहेको छ । तस्वीर : बसन्त सापकोटा

छोटी भन्सार दुई दशकदेखि बन्द, खुलारुपमा भित्रन्छन् भारतीय सामग्री

फाइल फाेटाे खजुरा । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन । सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट नेपाल ल्याउने गरिकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । छोटी भन्सार कार्यालय बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका ती छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा आयात निर्यात बढेकाले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ । सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भंघोटना, साइगाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए । लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचना जीर्ण भएका छन् । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ती बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको डुडुवा गाउँपालिका–१ का अध्यक्ष पटेश्वर कुर्मीले बताए । भारतबाट अवैधरूपमा हुने चोरी पैठारीले लक्ष्यअनुसार भन्सार राजस्व सङ्कलन गर्न नसकिएको तथा स्थानीय व्यवसायीको व्यापार चौपट हुँदै गएका कारण उद्योगी व्यवसायीले तत्काल छोटी भन्सार पुनःस्थापनाको माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताए । आर्थिक वर्ष २०७८÷७९ मा २५ अर्ब २१ करोड २६ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा २२ अर्ब ३१ करोड २६ लाख रुपैयाँ अर्थात् ८८ दशमलव पाँच प्रतिशतमात्र असुली गर्न सकेको भन्सार कार्यालयले जनाएको छ । चालु आवको हालसम्म हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको सो कार्यालयले जनाएको छ । रासस

घर वरिपरी पाइने वस्तुलाई व्यवसायिक रुप दिँदा करोडको बन्यो कमलाको उद्यम

काठमाडौं । अमिलो जातको प्रजाति भोगटे, कतै भब्बु त कतै फोक्से पनि भन्ने गरिन्छ । सामान्यतया भोगटेको भित्रको अमिलो भागलाई खाएर बाँकी बाक्लो सेतो बोक्राको भागलाई धेरैले फाल्ने गर्छन् । तर, त्यही सेतो भागलाई स्वादिष्ट खानयोग्य क्यान्डी बनाएकी छिन कमलाले । गाउँघरमा उत्पादन हुने सबै वस्तुको बजारीकरण तथा औद्योगिकरण गरिएको हुँदैन । सामान्य प्रयोग गर्ने वा अरुलाई सित्तैमा बाँडीचुँडी गर्ने धेरै चलन हुन्छ । त्यस्तै असाध्यै कम मूल्यका वस्तुहरुलाई कमलाले व्यवसायिक रुप दिएकी छन् । यतिबेला उनले १५ वटा विभिन्न प्रकारका वस्तुहरुको उत्पादन गर्ने गर्छिन् । जसमा लप्सी, फर्सी, पिँडालु, भोगटे, हलुवावेद लगायतका विभिन्न परिकार रहेका छन् । ०७५ सालबाट शुर गरेको कमलाको पेशा अहिले एउटा उद्योगको रुपमा नै विकास भएको छ । जहाँ १० जना भन्दा धेरैले दैनिक रोजगारी पनि पाएका छन् । ‘हामी महिलाहरु घरबाट त्यति बाहिर जान त पाउँदैनौ, त्यसैले फुर्सदको समयमा के गरौं भन्ने सोँच हुँदा सजिलो काम, जुन घर वरिपरी पाइने तरकारी फलफूल हुन्छन्, ती वस्तुहरु खेर पनि नजाने, आम्दानी पनि हुने, अरुलाई काम पनि दिन पाइने हिसाबले मैले यो काम गरेकी हुँ’, उनले भनिन् । कमलाले क्यान्डी र अचार जस्ता परिकारहरु आफ्ना बुवाआमा र सासु ससुराबाट सिकेकी हुन् । विवाहपछि कमलाले शुरुदेखि नै यो पेशा भने अंगालेकी होइनन् । विवाहपछिको केही वर्ष उनले केही वर्ष निर्यातजन्य उनका कपडा केही वर्ष बुन्ने काम गरिन् । ०५२/५३ सालतिर शुरुमा अरुको ल्याएको अर्डरका आधारमा काम गर्न शुरु गरेकी कमलाले हस्तकलामा विस्तारै आँफैले कन्ट्याक्टमा लिएर अरुलाई समेत काम दिन लागेको अनुभव सुनाउँछिन् । हस्तकलाको काम उनले साथीहरुसँगबाट नै सिकेकी थिइन् । कमलाले घरमा नै बसेर हस्तकलाको काम गर्दा मासिक ७ हजार भन्दा धेरै पैसा आर्जन गरेको सुनाउँछिन् । जतिबेला उनको श्रीमानले पाँचतारे होटलमा काम गर्दा ३५ सय मात्रै कमाउने गर्दथे । उनी आफ्नो पेशाबाट खुसी नै थिइन्, तर गरिराखेको हस्तकला व्यवसाय पछि कन्ट्याक्ट छुटेपछि भने ५र७ वर्षको पेसा उनले बदल्न पुगिन् । हस्तकला पेशाबाट आर्जन गरेको कमाइले भने उनले व्यापार गर्ने योजना बुनेर काभ्रेबाट काठमाडौं झरिन् । ‘त्यही हस्तकलाको कमाईमा जम्मा भएको पैसाले चावहिलमा झण्डै २ लाख बराबरको कस्मेटिक पसल किनेँ’, उनले भनिन्, ‘तीन वर्ष जति त्यो पसल चलाउँदै गर्दा श्रीमान विदेश जानुभो अनि म पनि फेरि गाउँ नै फर्केर काम गर्न थालेँ ।’ कमलामा केही न केही काम गरिरहने बानी थियो । जसले गर्दा गाउँ फर्के पनि उनी त्यसै भने बस्न सकिनन् । ‘गाउँघरमा कर्कलो त्यसै खेर गइरहेको थियो, त्यसैलाई मस्यौरा बनाएर खाने खाऔं नखाने बेचौं भन्ने लाग्यो’, उनले भनिन् । ‘कर्कलोको कसैलाई पात, कसैलाई डाँठ त कसैलाई पिँडालुको मस्यौरा मन पर्छ’, उनले थपिन् । गाउँ फर्केपछि लामो समयसम्म उनले व्यवसायिक रुपमा नै मस्यौरा उत्पादनको काम गर्न थालिन् । घर वरिपरी भएका सबै विरुवाको घरायसी प्रयोजन मात्रै हुने गरेकोमा एकदिन आफ्नै महिला उद्यमी साथीको सुझावले उनको व्यवसायले नयाँ मोड लियो । ‘निरु बैदार उहाँ फेसन डिजाइनिङ कोर्ष गराउनुहुन्छ अहिलेपनि, ‘यसलाई खाएर र बाँडेर मात्रै हुँदैन, विजनेस गर्नुपर्छ यस्तो सिप भएको मान्छेले’ भन्नुभो, उहाँकै सल्लाहमा फर्म पनि दर्ता गरेर काम गर्न शुरु गरेँ’, कमलाले भनिन् । त्यसपछि उनले गाउँघरमा नै पाइने कम मूल्य भएका खाद्य वस्तुहरुको विभिन्न परिकार बनाएर बेच्ने व्यवसायको शुरुवात गरिन् । यहि शिलशिलामा उनले महिला उद्यमी साथीकै संगतले ‘एन्टी आइसी आइडिया खोज’मा सहभागी भएर आइडिया स्टुडियोले सञ्चालन गर्ने आइडिया सिजन फाइभको जित्न सफल भइन् । काम गर्ने व्यवसायिक क्षेत्रको हिसाबले सामाजिक इम्प्याक्ट कार्यक्रममा पनि छनोट भइन् उनी । आइडिया स्टुडियोको विजेता भएपछि पाएको वर्कसप तालिमपछि उनले अहिले धेरै व्यवसायिक उत्पादन गर्न थालेकी छन् । उनले सिजन अनुसार फल्ने धेरै फलफुलको क्यान्डी बनाउने गर्छिन् । ‘मस्यौरा र हर्बल चिया बनाउँछु, ड्राइ फुड त सिजन अनुसारको बनाउँछु’, उनले भनिन्, ‘सिजनमा आरुबखडा, आरु, हलुवावेदको पनि बनाउँछु ।’ बजारमा मूल्य नभएका, बजारसम्म नपुग्ने र फलेर घरमै बस्ने वस्तुहरुलाई आफ्नो व्यवासायको निम्ति रोजेको उनले कमला बताउँछिन् । ‘मलाई सित्तैमा लैजान पनि भन्नुहुन्छ कतिपयले, तर मैले उचीत मूल्य दिएर खरिद गर्ने गर्छु’, उनले भनिन् । कमलाले कोरोना महामारीको समयसम्म मस्यौरा मात्रै गरेकी थिइन् । तर, महामारीको लकडाउनले उनलाई खानाको परिकारबारेमा युट्युबमा हेर्दै जाँदा क्यान्डीसम्म पुर्याएको थियो । नयाँ–नयाँ विषयमा खोज्न आँफूलाई मनपर्ने उनी बताउँछिन् । ‘लकडाउन भएको बेलामा युट्युबमा हामीसँग भएका बोटबिरुवा के काम लाग्छ भनेर खोज्दा भोगटेको तितो बोक्रालाई मिठाई बनाउन सिकेँ’, उनले भनिन् । कमला मस्यौरा बनाउनको लागि गाउँमा पिँडालु लिन जाँदा भोगटे मानिसहरुले सित्तैमा दिने गरेकोमा उनले त्यसको सम्भावना देखेर त्यसको क्यान्डी बनाउने प्रयास गरेकी थिइन् । उनले अमिलो जातका सबै फलहरुको के–के परिकार बनाउन सकिन्छ भनेर पनि आँफूले प्रयास गरिसकेको बताउँछिन् । अहिलेसम्म उनले उत्पादन गरेका परिकारहरु धेरैले मन पराउने गरेका छन् । बच्चाबच्चीलाई गुलियो र ठूलालाई अमिलो पिरो स्वादका क्यान्डी उनले बजारमा ल्याएकी छिन् । ३ हजार रुपैयाँको लगानीमा शुरु गरेको मस्यौराको व्यवसाय अहिले ६० लाख बराबरको कारोबारमा पुगेको छ । जसमा ड्राइफुड, क्यान्डी, तितौरा, मस्यौरा लगायतका उत्पादन रहेका छन् । औसतमा मासिक रुपमा झण्डै डेढ लाख बराबरको कमाई पुगेको कमलाको भनाइ छ । उनको व्यवसायमा परिवारका सबै सदस्यहरुले सहयोग गर्ने गर्छन् । श्रीमानले सम्पूर्ण आवश्यकताअनुसारको व्यवस्थापनमा सहयोग गर्ने गर्छन भने छोरीहरुले सामाजिक सञ्जालबाट मार्केटिङमा सहयोग गर्ने गर्छन् । मौसम अनुसार काम प्रकृति र चाप पनि फरक–फरक हुने कमला बताउँछिन् । ‘मंसिरदेखि फागुन चैतसम्म संकलन र भण्डारण पनि गर्नुपर्ने हुन्छ, वर्षा मौसममा वर्षे फलफुलको काम हुन्छ’, उनले भनिन् । हिउँदको समयमा मस्यौरा बनाउने, सुकाउने र बिक्री गर्ने काम हुन्छ भने अन्य अमिलो जन्य जातका फलफुलहरु संकलन विभिन्न परिकार बनाउने काम हुन्छ । बनेका परिकारहरु वर्षैभरि नै बिक्री हुन्छन् । कमलाले आफ्नै घरमा चलाएको फर्ममा आफ्नो स्थानीय क्षेत्रका महिलाहरुलाई नै काम दिएकी छन् । केहीले मासिक रुपमा र केहीले दैनिक रुपमा काम गरेका छन् । जहाँ ५ जनाले मासिक रुपमा नै काम गरेका छन भने दैनिक रुपमा १२ जनाले काम गरेका छन् । काम अनुसार कहिले धेरै कहिले थोरै पनि हुने गर्ने उनी बताउँछन् । उनले काम गर्नेहरुलाई क्षमता र रुची अनुसारका विभिन्न काम दिएकी छन् । जहाँ कसैले पकाउने, कसैले प्याकेजिङ गर्ने, कसैले सुकाउने जस्ता कामहरु गर्ने गर्छन् । कमलाले काम गर्नेहरुलाई ८ हजार देखि १५ हजार सम्मको तलब दिने गरेको बताउँछिन् । ‘आठ हजारदेखि १५ हजारसम्म तलब छ, धेरै जान्नेहरुलाई १५ हजार सम्म पनि छ, कलेज जाने बहिनीहरु छन्, उनीहरु ११ बजे आउँछन्, उनीहरुलाई आठ हजारदेखि माथि छ’, उनले बताइन् । तलब बाहेक चिया र खाजाको व्यवस्थाको भने पैसा लाग्दैन । कामदारको प्रशंसा गर्दै उनले कामदारहरुले कामको प्रकृति हेरेर लामोसमयसम्म पनि गर्ने गरेको उनको भनाइ छ । कमलाले उत्पादन गर्ने खानेकुराको धेरै माग स्थानीय स्तरमा नै हुने गर्छ । त्यस्तै केही अन्तर्राष्ट्रिय जगतमा बसेका नेपालीको अर्डरमा जान्छ भने केही नेपाली बजारमा पुर्याउने गरेको उनी बताउँछिन् । त्यसैले प्याकेजिङमा पनि उनले मागका आधारमा गर्ने गर्छिन् । ‘गाउँघरका ग्राहकको लागि मैले १० देखि २० रुपैयाँको पनि प्याकेजिङ पनि गर्नुपर्छ, यो लेबलको बढी जान्छ’, उनले भनिन्, ‘मिनिमार्ट र बिगमार्टहरुमा जाने प्याकेजिङ छुट्टै गर्नुपर्छ ।’ विदेशमा बसेकाहरुले माग गरेको परिमाणको आधारमा प्याकेजिङ गर्ने गरेको उनको भनाइ छ । श्रीमानले पछिल्लो समयमा होटेल क्षेत्र र फर्निचर उद्योगमा लगानी गरेका छन् । तर कमलाको व्यवसायले राम्रो आकार लिँदै गएपछि श्रीमानले पनि व्यवसायमा समय दिने गरेको उनी बताउँछिन् । व्यवसायको शुरुवात गर्दा विभिन्न ठाउँमा गएर फलफूल भएका ठाउँमा गएर सम्बन्ध बनाउने काम गरेको तर, पछिल्लो समयमा अर्डरकै आधारमा घरमा नै आउने गरेको उनी बताउँछिन् । शुरुमा पूर्ण रुपमा परम्परागत शैलीमा सञ्चालन गरिएको उद्यममा अब कमलाले ब्राण्डिङ गर्दै गुणस्तरीय बनाउनका लागि प्रविधिको पनि प्रयोग गर्दै छिन् । अब सबै मौसममा वस्तुहरुलाई सुकाउनको लागि ड्राई मेशिन ल्याउने तयारी गरेको उनले बताइन् । जसले गर्दा सबै मौसममा खाद्य वस्तुहरुलाई सुकाउन सकिने उनको भनाइ छ ।

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।