जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने बताउँछन् । उनले भने, ‘अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।’ संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गरे । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग मुलुकको सर्वाेच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ? मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरँे, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२÷६३ को आन्दोलनपछि सर्वसम्मतिले सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु । एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो होला ? राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित ग¥यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ । राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्काे दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु ‘म अलरेडी टेस्टेड व्यक्ति हुँ ।’ मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ । पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ । आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ? सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ । विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ? यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छाैँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् । आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छाँै । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु । अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ? उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।
सूर्यज्योति लाइफका सञ्चालक अग्रवालको राजिनामा स्वीकृत
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालक जयन्त कुमार अग्रवालको राजिनामा स्वीकृत भएको छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक अग्रवालको राजिनामालाई फागुन १६ गतेदेखि नै लागू गरी स्वीकृत गरेको हो । अग्रवालले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
आकाशमै तारा एयरको ढोका खुलेपछि…
फाइल फाेटाे काठमाडौं । उडानका क्रममा तारा एयरको जहाजको ढोका खुलेको पाइएको छ । बिहीबार दिउँसो १२.५१ बजे नेपालगञ्ज विमानस्थलबाट बाजुराको कोल्टी विमानस्थलमा उडान भरेको जहाजको ढोका उडानको क्रममा खुलेको हो । बिहीबार उडानको क्रममा जहाजको ढोका खुलेको जानकारी आएपछि तत्काल प्राविधिक पठाएर अध्ययन सुरु गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । जहाज ल्याण्ड गर्ने क्रममा जहाजको ढोका खुलेपनि सबै यात्रुहरु सकुशल रहेका छन् । ‘हामीलाई हिजो दिउँसो नै जानकारी आएको थियो, जानकारी आउनासाथ प्राधिकरणका प्राविधिक घटनास्थल पुगेर अध्ययन सुरु गरिसक्नुभएको छ’, क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘जहाज ग्राउण्डेड गरेर अध्ययन सुरु भएको छ, प्रतिवेदन सार्वजनिक नहुँदासम्म जहाजसँगै चालक दलका सदस्यहरु ग्राउण्डेड छन् ।’ तारा एयरले भने उडानको क्रममा जहाजको ढोका खुलेको नभएर पार्किङमा जाने क्रममा ढोका खुलेको बताएकाे छ । यती एयरका प्रवक्ता सुदर्शन बर्ताेलाले उडानको क्रममा नभएर ल्याण्ड गरेर पार्किङ वे तर्फ जाने क्रममा ढोका खुलेको बताए । ‘अहिले जति पनि कुराहरु आएका छन्, सबै बढाई चढाई आएका हुुन्न, समयमा टिकट नपाएको, टिकट महंगो भयो भन्नेहरुले तारा र यती एयरलाई बन्दनाम बनाउन खोजे’, उनले भने । ताराले सञ्चालन गरेको जहाजका ढोकामा हाईड्रोलिक सिष्टम जडान गरिएको भन्दै अन्य टिवनअटरभन्दा फरक रहेको तारा एयरले दाबी गरेको छ ।
सामान्य घट्यो सुनको मूल्य
काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
कञ्चनपुर अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति
कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ । शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताए । बाख्रापालनका लागि चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका छन् । समूहमा आबद्ध सदस्यमध्ये बाख्रा खरिदका लागि तीन सदस्यीय समिति गठन गरेका छन् । खरिद गरिएका बाख्रा दुई वटाका दरले १५ सदस्यलाई उपलब्ध गराइएको छ । समूहमा आबद्ध सदस्य कृष्ण थापाले बाख्रापालन गरी आत्मनिर्भर बन्नका लागि सघाउ पुगेको बताउनुभयो । अपाङ्गता भएकै कारण समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै समूहका अर्का सदस्य जानकी चौधरीले आर्थिकरुपमा आत्मनिर्भर बन्नका लागि बाख्रापालनमा लागेको बताए । समूहका अध्यक्ष हरिदत्त भट्टले स्थानिय तहले पनि विज्ञ केन्द्रको जस्तै अपाङ्गता भएका व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । केन्द्रले शुक्लाफाँटामा जस्तै बेदकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी स्थानीय जातका कुखुरापालनका लागि चार लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । कुखुरापालनका लागि समूहमा आबद्ध सदस्यले खोर निर्माण गरेका छन् । अनुदान रकमबाट दश सदस्यले कुखुरापालन गर्ने समूहका कोषाध्यक्ष प्रेम बोहराले बताए । केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाका अनुसार गत वर्ष भीमदत्त नगरपालिकामा रहेको स्वावलम्बी अपाङ्गता कृषक समूहलाई स्थानीय जातका कुखुरापालनका लागि १० लाख अनुदान उपलब्ध गराइएको थियो । ‘अपाङ्गता भएका व्यक्ति र आश्रित परिवारको आयस्तरमा बृद्धि गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, कार्यालय प्रमुख ठगुन्नाले भने, ‘अपाङ्गता भएका व्यक्ति व्यावसायिक भएर आर्थिकरुपमा सवल बने समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउने अपेक्षा गरेका छौँ ।’ समूहमा आबद्ध अपाङ्गता भएका व्यक्तिले गरेको व्यवसायलाई प्रवद्र्धन गर्नका लागि आवश्यक तालिम र प्राविधिक सल्लाह सुझाव दिने गरेको उनको भनाइ छ । रासस
नम्बर वानको ताज कायमै राख्छौं, सेयरधनी र बीमितलाई सन्तुष्ट बनाउँछौं : अध्यक्ष श्रेष्ठ
निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई एक बनेका छन् । दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । नयाँ बनेको कम्पनीको नेतृत्व प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्हाल्ने भएका छन् । यो अवधिमा मर्जरको भोगाइ, मर्जर गर्दाका चुनौति र मर्जर भएर नयाँ बनेको कम्पनीको योजनाहरुको विषयमा विकासन्युजका लागि सीआर भण्डारी र मञ्जरी पौडेलले कम्पनीका अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानी । दुई कम्पनी एक हुँदाको अनुभुति कस्तो हुने रहेछ ? यो एउटा ऐतिहासिक क्षण हो । हुन त हामी मर्जरमा तेश्रो भएका छौं । हामीभन्दा अघि दुई कम्पनी मर्ज भइसकेका छन् । यो स्केलमा दुई वटा कम्पनी मिल्दा नेपालको ठूलो कम्पनी बन्ने हिसावले मर्जर भएको यो पहिलो कम्पनी हो । मर्जर भनेको दुई वटा कम्पनी विवाह गर्ने सरह नै हो । किनभने दुई कम्पनी छुट्टाछुट्टै वातावरणमा, छुट्टै संस्कृतिमा हुर्किएका । २०/२५ वर्ष आफ्नै हिसावले काम गरिसकेका कम्पनी । एउटामा ३/४ सय जना कर्मचारी र अर्कोमा ३/४ सय जना कर्मचारी । आफ्नो आफ्नो पोलिसी अन्तर्गत काम गरेर आएका र दुई वटै सक्षम र दुई वटै सफल कम्पनीहरु थिए । मर्जर भनेको एक एक जोडेर दुई होइन एघार भन्छौं । यहि एघारलाई एउटा लक्ष्य बनाएर कम्पनीलाई अगाडि बढाउन चाहान्छौं । दुई कम्पनी एक हुनु सामान्य विषय होइन,सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर कसरी सम्भव बनाउनु भयो ? कुनै पनि मर्जरको क्रममा विभिन्न विषयहरु आउन सक्छन् । नआउने होइन । जस्तै इगो । मेरो कम्पनी पुरानो, मलाई बढी चाहिन्छ । यो क्षेत्रमा मेरो राम्रो प्रफरमेन्स छ, मलाई यो बढी चाहिन्छ भन्ने विषयहरुले मर्जरलाई लम्ब्याएको हुन्छ । अलि जटिलताहरु उत्पन्न हुने गर्छन् । धेरै ठाउँमा आएका पनि थिए । तर हाम्रो केशमा फरक रह्यो । दुबै सफल र एउटै लेभलको कम्पनी भएकोले हिसाव मिलानमा हामीलाई गाह्रो भएन । जस्तै, स्वाप रेसियो तय गर्ने, डीडीए गर्ने लगायतका विषयमा कुनै पनि कठिनाई भएन । ५/१० प्रतिशतका यी काम सजिलै गर्यौं । अब जटिलता आउन सक्ने भनेको कर्मचारी समायोजनको विषय । को कसले कुन पोजिसनमा बसेर काम गर्ने ? भन्ने विषयमा । अब सीईओ को हुने ? अध्यक्ष को हुने ? भन्ने विषय योग्यताको आधारमा हो । हामी लिनेभन्दा पनि दिनेमा बढी फोकस हुनु पर्ने रहेछ । मलाई यो चाहिन्छ उसलाई पनि यो चाहिन्छ भन्ने भयो काम अघि बढ्दैन । यसमा छोड्न सक्नुपर्छ । के को लागि छोड्ने ? कम्पनीको लागि । यही फिलोसोपिमा काम अघि बढाउँदा काम एकदमै सजिलै भयो । दुबै कम्पनीका पदाधिकारी, सञ्चालकहरु एकदमै बुझ्ने हुनुहुन्थ्यो । एक अर्काको सबल पक्ष र कमी कमजोरीहरु बुझेको । र, सबल पक्षलाई निरन्तरता दिँदै कमी कमजोरीलाई हटाउँदै जाने भन्नेमा सबैको बुझाई मिलेको हुनाले यो मर्जरलाई सफल बनाउन हामीलाई कुनै पनि किसिमको गाह्रो भएन । फरक-फरक कम्पनीको अध्यक्ष र सीईओ बन्नु भएको छ, यो अवस्थामा भोलिका दिनमा समन्वय गरेर अघि बढ्न कत्तिको सहज या असहज हुन्छ ? असहज हुने स्थिति मैले देखेको छैन । किनभने मर्जरकै क्रममा धेरैपटक हाम्रो मिटिङ अर्थात छलफल भइसकेका छन् । धेरै विषयमा सहकार्य भइसकेको छ । कुनै पनि विषयमा कुनै पनि समस्या, बाधा अड्चनहरु आउँदा सजिलै समाधान भयो । कारण एउटै थियो दुबैको बुझाई एउटै । त्यसैले हामीले कुनै पनि असहजताको स्थिति झेल्नु परेन । र, अब आउने दिनमा पनि यहि अनुसार नै अघि बढ्न सक्यौं भने दुई कल्चरको विवाहलाई सजिलै अघि बढाउन सक्छौं जस्तो लाग्छ । भिडियो : हाम्रो भिजन ‘नम्बर वान’ बन्ने नै हो : अध्यक्ष श्रेष्ठ पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ? आजको दिनमा दुई कम्पनी मर्जर भयो र एकीकृत कारोबार शुरु भयो । यो भनेको ५/१० प्रतिशत मात्रै काम सकियो । बाँकी ९० प्रतिशत कामहरु अझै बाँकी नै छन् । शाखा कार्यालयको काम अगाडि बढीसकेको छ । हाम्रो दुबै कम्पनीको शाखा कार्यालय जोड्दा करिब १५०/१६० पुग्थ्यो । केही शाखाहरु दुप्लिकेट थिए, तिनलाई मर्ज गरेका छौं । र, अहिले १२३ वटा पुगेका छौं । कुनै दुईटा शाखालाई जोडेर एउटै बनाउने । कुनै पहिला चलिरहेको पुरानो शाखालाई नै निरन्तर सञ्चालन गर्ने । शाखा कार्यालयको एउटा मापदण्ड हुन्छ । कुन कति वर्ष पुरानो काम गरेको ? कुन कस्तो पोजिसनमा फीट हुन्छ ? त्यसको मूल्यांकन गरी उचित मापदण्ड बनाएर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिएर अघि बढ्ने हो ? त्यसमा हाम्रो तयारी भइरहेको छ । जस्तै, दुई वटा शाखामा दुई जना म्यानेजर हुन्छन् । शाखा एउटा बनाउँदा दुबैलाई म्यानेजर राखेर भएन । यो अवस्थामा को म्यानेजरको रुपमा निरन्तर काम गर्ने ? र को उसको अन्तर्गत काम गर्ने ? भन्ने विषयमा उनीहरुको आफ्नो आफ्नो प्रफमेन्स, क्षमता र योग्यताको आधारमा समायोजन गरेका छौं । यो कर्पोरेट कार्यालय र शाखाहरु दुबैमा लागू हुन्छ । मर्जरपछि सम्बन्धित कम्पनीका कर्मचारीहरुबाट खाईपाई आएको सेवा सुविधा घट्यो भन्ने गुनासोहरु आइरहेका छन् । यसमा सिद्धार्थ प्रिमियरले कसरी व्यवस्थापन गर्दैछ ? सिद्धार्थ प्रिमियमरले यसमा कुनै कमी हुन दिँदैन । खाईपाई आएकोमा जो जसले जति सेवा सुविधा लिइरहेको हुन्छ, त्यसमा केही पनि कमी हुँदैन । सबैलाई समान हैसियतमा लगिन्छ । कर्मचारीहरु कसैको पनि सेवा सुविधा घट्दैन । आगामी पाँच वर्षमा सिद्धार्थ प्रिमियरलाई कुन स्थानमा देख्न सक्छौं ? पाँच वर्षमा हाम्रो भिजन नम्बर वान बन्ने नै हो । अहिलेलाई दुईटा हिसाव मिलाएर नम्बर वान पुग्यो । तर नम्बर वानमा स्थीर भई राख्नु भनेको अर्को चुनौति हो । यो नम्बर वानमा बस्नको लागि के के गर्नुपर्छ ? कस्ता कस्ता श्रोतहरुको परिचालन गर्नुपर्छ ? वित्तीय श्रोत, प्राविधिक श्रोत, मानव श्रोत साधानहरु, बजारीकरण लगायतका विषयमा हाम्रो फोकस छ । अब एक वर्षसम्म यी विषयमा फोकस भइन्छ । यो स्टाब्लिस भइसकेपछि यसकै आधारमा हामी अगाडि बढ्छौं । हुन त नेपाल बीमा प्राधिकरणले दुई तीन वर्षमा पुँजीको आवश्यकतालाई परिवर्तन गर्दै आइरहेको छ । पुँजीको आवश्यकतालाई मात्रै थपेर बिजनेस सस्टेन हुन नसक्ने अवस्था आउँछ । त्यसैले पनि मर्जर एउटा म्यान्डेटोरी बन्न आयो । अब बीमा प्राधिकरणले नयाँ नयाँ नीति नियमहरु ल्याउँदै गर्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ । आजको दिनसम्म हामी पुँजीसँगै विभिन्न शीर्षकमा नम्बर वान छौं । अब हाम्रो लक्ष्य यहि नम्बर वानलाई निरन्तरता दिने हो । बीचमा उतारचढाव होला । तर पनि नम्बर वान नै भएर बस्न हामी पुरै कन्फिडेन्ट छौं । सिद्धार्थ र प्रिमियरले दिँदै आएको लाभांश र मर्जरपछि बनेको कम्पनीले दिने लाभांशमा कत्तिको वृद्धि होला ? हाम्रो उद्देश्य भनेको कुनै पनि बिजनेस गर्दा ग्राहकलाई अधिकतम सन्तुष्टि दिने हो । ग्राहकको सन्तुष्टिबाटै बिजनेस बढ्ने हो । बिजनेस बढेपछि नाफा बढ्ने हो । तर बीमामा त्यति सजिलो छैन । बिजनेस मात्रै बढाएर पनि हुँदैन । जस्तै : क्वालिटी बिजनेस भनेको के हो ? नेपालमा क्वालिटी बिजनेस नभएको कारणले फ्रडुलेन्स क्लेम बढी भइरहेको छ । यसले बीमा क्षेत्रलाई नै गाह्रो पारिरहेको छ । तर नाफा भएपछि त सेयरधनीलाई अधिकतम लाभांश दिन सक्छौं । विगतका इतिहासलाई हेर्ने हो भने सिद्धार्थ र प्रिमियर दुबै कम्पनी सञ्चालन भएको अवस्थामा दुईवटै ‘वान अफ द बेष्ट’ कम्पनी थिए । अब दुईवटा कम्पनीको श्रोतहरु मिल्दा त्योभन्दा बढी हुन्छ । कम हुँदैन भन्ने हाम्रो विश्वास छ । सेयरधनी भन्नाले सर्वसाधारण सेयरधनी मात्रै होइनन् । हामी (संस्थापक) ले पनि आफ्नै रगत पसिनाले बिजनेस चलाइरहेका हौं । हामीलाई नाफा नहुँदा जति दुख्छ, सर्वसाधारण सेयरधनीलाई पनि त्यति नै दुख्छ । उहाँहरुलाई दुखेको हामीलाई पनि दुख्छ । हामीले आफ्नो सेयरहरु बजारमा बेच्न पनि नहुने । लक गरेर राखिएको छ । संस्थापक सेयरधनीले एकपटक लगानी गरिसकेपछि सेयर बेच्न पनि नपाउने, नगद लाभांश पनि लिन नपाउने भन्ने नीति बीमा प्राधिकरणको छ । यसले गर्दा संस्थापक सेयरधनीले आफ्नो लगानीको उचित प्रतिफल पाइरहेका छैनन् । जुन सर्वसाधारण सेयरधनीले नगदसहितको लाभांश पाइरहेका छन् । यसले उनीहरुलाई फाइदा नै भइरहेको देखिन्छ । बीमा प्राधिकरणको बारम्बार एउटै गुनासो छ की बीमा कम्पनीहरु शहर केन्द्रित मात्रै छन् । गाउँ केन्द्रित छैनन् । यसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको भूमिका के रहन्छ ? साच्चै भन्ने हो भने हाम्रो फोकस नै त्यहि छ । १२३ वटा शाखा कार्यालय छन् । नेपालका ७ वटै प्रदेशमा छन् । हामी ठाउँठाउँ गाउँगाउँमा गएर विभिन्न प्रविधि मार्फत काम गर्दै जाने । शाखाहरु खोल्दै जाने । निम्न वर्गका ग्राहकहरुलाई सेवा दिने । १२३ भनेको थोरै शाखा होइनन् । हरेक वर्ष अधिकतम १० वटा शाखा खोल्दै जाने । काठमाडौं भित्र पनि थप शाखा खोल्छौं । त्यसैले हाम्रो ब्रान्च नेटवर्ट म्यासिभ नै हुन्छ । दुई कम्पनी नै अग्रणी हुन् भन्नु भयो । अग्रणी हुँदा हुँदै पनि आफै पुँजी बढाउन तपाईं असक्षम हुनु भएको हो ? असक्षम भन्दा पनि यसको भायविलिटी हेर्नुपर्यो । कुनै पनि लगानी गर्दा यसको भायविलिटी हेर्नुपर्छ । जति बजारमा प्रतिस्पर्धा हुन्छ, त्यत्ति अनुशासन हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यसले कुनै पनि कम्पनीलाई राम्रो फाइदा भइरहेको छैन । अहिले हामी आफ्नो प्रगति अनुसार टप टु/थ्री कम्पनीमा बस्न सक्षम त भयौं । तर बजार बिग्रिँदै गएकोे हिसाबले टप टु/थ्री मा बस्न कठिनाई भइसक्यो । त्यसैले मर्जर हुनु अपरिहार्य नै थियो । किनभने एउटा कम्पनीले ३०० करोडको व्यापार गरिरहेको छ भने ३०० करोडबाट ६०० करोड पुर्याउन पुँजी थपेर मात्रै हुँदैन । दुई कम्पनी मिलेर गरेको जति बिजनेस गर्न सकिँदैन । जबकी एउटै लेभलको पुँजी वा बिजनेस भएको कम्पनी मिल्दा क्षमतावान कर्मचारी तुरुन्तै हुन्छ । तुरुन्तै बजारमा स्थापित भइसकेका शाखाहरु हुन्छन् । पुँजी थपेर जाँदा एउटा एउटा शाखा बढाउनु निकै कठिन हुन्छ । नयाँ मान्छे लिनु पर्यो । नयाँ ठाउँ लिनु पर्यो । नयाँ पहिचान बनाउनु पर्यो । त्यसैले नयाँ सञ्चालन गर्नुभन्दा भइराखेको श्रोतलाई क्यापिटलाइज्ड गर्नु नै धेरै सजिलो हुन्छ । त्यसैले हामीले मर्जरलाई नै प्राथमिकता दियौं । मर्जरमा जाँदै गरेका अन्य कम्पनीलाई कस्तो सुझाव दिनुहुन्छ ? मर्जर एक पटक गर्ने भनिसकेपछि ‘ए’ पाटी ‘बी’ पाटी भन्ने हुँदैन । ‘ए’ प्लस बी नै भएर अगाडि जानु पर्छ । ‘ए’ को यति ‘बी’ को यति भनेर जानु हुँदैन । ‘ए’ को मान्छे यहाँ ‘बी’ को मान्छे त्यहाँ भन्ने सोच बनाउँनु हुँदैन । ‘एबी’ भनेको ‘ए’ प्लस ‘बी’ बराबर वाई भनेर जानुपर्छ । मर्जरलाई छिटो छरितो गर्ने, आफ्ना कर्मचारीलाई राम्रो इम्प्रेसन दिने हो भने राम्रो पक्षलाई संगाल्दै जाने र नराम्रोलाई हटाउँदै जानु पर्छ । यो एउटा ठूलो चुनौतिसँगै एउटा अवसर पनि हो । यो अवसरलाई ध्यानपूर्वक अघि बढाउनु पर्छ । र, सानातिना विषयमा नअल्झि यता गए नि ठिकै छ, उता गए नि ठिकै छ भन्ने सोच बनाएर अघि बढियो भने यो मर्जरको प्रकृया छिट्टै सकिन्छ ।
डेढ अर्ब रुपैयाँमा बन्दै गरेको आईएमई ग्रुपको कागज उद्योग (फोटोफिचर)
काठमाडौं । आईएमई समूहले सर्राफ समूहसँगको साझेदारीमा कागज उद्योगमा स्थापना गर्दैछ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले महोत्तरीको राम नगरमा ११ विघा जमिन किनेर कागज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउँदैछ । उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ । सर्राफ समूहको ३० प्रतिशत लगानी छ । सुनिल गोपाल श्रेष्ठ र ओम ज्ञवालीको १५/१५ प्रतिशत सेयर लगानी छ । यो उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले कर्जा लगानी गरेका छन् । सर्राफ समूहको कौसल किशोर सर्राफ कागज उद्योगका अनुभवी उद्यमी हुन् । एभरेष्ट पेपर मिल समेत चलाउँदै आएका सर्राफसँग यस क्षेत्रको बारेमा लामो अध्ययन र अनुभव रहेको छ । तस्वीर : बसन्त सापकोटा
छोटी भन्सार दुई दशकदेखि बन्द, खुलारुपमा भित्रन्छन् भारतीय सामग्री
फाइल फाेटाे खजुरा । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन । सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट नेपाल ल्याउने गरिकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । छोटी भन्सार कार्यालय बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका ती छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा आयात निर्यात बढेकाले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ । सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भंघोटना, साइगाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए । लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचना जीर्ण भएका छन् । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ती बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको डुडुवा गाउँपालिका–१ का अध्यक्ष पटेश्वर कुर्मीले बताए । भारतबाट अवैधरूपमा हुने चोरी पैठारीले लक्ष्यअनुसार भन्सार राजस्व सङ्कलन गर्न नसकिएको तथा स्थानीय व्यवसायीको व्यापार चौपट हुँदै गएका कारण उद्योगी व्यवसायीले तत्काल छोटी भन्सार पुनःस्थापनाको माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताए । आर्थिक वर्ष २०७८÷७९ मा २५ अर्ब २१ करोड २६ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा २२ अर्ब ३१ करोड २६ लाख रुपैयाँ अर्थात् ८८ दशमलव पाँच प्रतिशतमात्र असुली गर्न सकेको भन्सार कार्यालयले जनाएको छ । चालु आवको हालसम्म हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको सो कार्यालयले जनाएको छ । रासस