डिजिटल बैंकिङलाई जोड दिइरहेको राष्ट्र बैंक किन छाप्दैछ बढी नोट ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्षको अवधिमा कागजी नोट झण्डै २ सय प्रतिशतले बढाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नोटको संख्या ह्वात्तै बढेकाे हो । गत असार मसान्तसम्म राष्ट्र बैंकले साढे ६ खर्ब रुपैयाँ बराबरका ३ अर्ब नोट बजारमा पठाएको थियाे । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १० वर्ष अघि अर्थात् आर्थिक वर्ष २०६९/७० [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्षको अवधिमा कागजी नोट झण्डै २ सय प्रतिशतले बढाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नोटको संख्या ह्वात्तै बढेकाे हो । गत असार मसान्तसम्म राष्ट्र बैंकले साढे ६ खर्ब रुपैयाँ बराबरका ३ अर्ब नोट बजारमा पठाएको थियाे ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार १० वर्ष अघि अर्थात् आर्थिक वर्ष २०६९/७० मा २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँको १ अर्ब ११ करोड ३९ लाख नोट बजारमा पठाएको थियो । त्यसको १० पछि १७१ प्रतिशत बढाएर गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ करोड ४६ लाख ८९ हजार नोट चलनचल्तिका लागि बजारमा पठाएको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरका १ अर्ब ३६ करोड ८८ लाख नोट र आर्थिक वर्ष २०७१/७२ मा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५२ करोड ९३ लाख नोट चलनचल्तिमा थिए ।

यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ८४ करोड ८२ लाख र आर्थिक वर्ष २०७३/७४ मा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब १ करोड ९८ लाख नोट चलनचल्तिमा थिए ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब २३ करोड २७ लाख र आर्थिक वर्ष २०७५/७६ मा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब २५ करोड ७७ लाख नोट चलनचल्तिमा थिए ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब ६९ करो ३२ लाख र आर्थिक वर्ष २०७७/७८ मा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब ७५ करोड ८४ लाख नोट चलनचल्तिमा थिए ।

तथ्याङ्क अनुसार बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै आएको भएपनि गत वर्ष भने घटाएको देखिन्छ । २०७८ असार मसान्तसम्म ६ खर्ब ८३ अर्ब ५० करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा थिए । तर, २०७९ असार मसान्तसम्म ७.४६ प्रतिशत घटाएर ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट चलनचल्तीका लागि बजारमा पठाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर श्रेत्री बजारको स्थिती हेरेर चलनचल्तिका लागि बजारमा नोट पठाइने गरेको बताउँछन् । व्यवहारमा खाँचो नपरोस् भनेर राट्र बैंकले नोटको सर्कुलर गर्ने गरेको उनको भनाइ छ ।

‘१० वर्ष अघिको तलव भत्ता र अहिलेको तलवभत्ता, १० वर्ष अघिको बजेट र अहिलेको बजेटमा धेरै अन्तर छ, व्यवहारमा खाँचो नहोस् नोट चलनचल्तिमा ल्याउने हो, विदेशी मुद्रा जति धेरै आयो सोही अनुसार पनि नोटको चलनचल्ति बढ्छ,’ उनले भने ।

विदेशी मुद्राको फ्लो नेपालमा बढेपछि नेपाली मुद्रा बढी छापिने गरेको उनले बताए । नोटको संख्या बढ्दा विकास निर्माण पनि बढ्ने गरेको उनी बताउँछन् । साथै, राष्ट्र बैंकले मूल्य वृद्धिलाई पनि ध्यानमा राखेर बजारमा नोट पठाउने गरेको उनको भनाइ छ ।

‘अहिले भिखारीलाई ५ रुपैयाँ दियो भने नाक खुम्च्याउँछन्, तरकारी लगायत सबै सामान महँगो छ, १० वर्ष अघि एक केजी आलुको ३० रुपैयाँ पथ्र्याे भने अहिले ९० रुपैयाँ पर्छ,’ उनले भने ।

राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी राष्ट्र बैंकले बजारको सबै पक्षलाई क्याल्कुलेसन गरेर नोटहरु पठाउने गरेको बताउँछन् । सरकारले आर्थिक वृद्धिदरको लक्ष्य पुरा गर्नका लागि पनि राष्ट्र बैंकले मनी सप्लाइ गर्ने गरेको उनको भनाइ छ ।

‘सरकारको आर्थिक वृद्धि हासिल गर्न लक्ष्य तोकेको हुन्छ, राष्ट्र बैंकले उक्त लक्ष्य पुरा गर्न मनी सप्लाइको काम गर्छ, राष्ट्र बैंकले नोट पठाउँदा सबै पक्षको क्याल्कुलेसन गरेको हुन्छ,’ उनले भने, ‘अन्य देशमा जस्तो जथाभावी पैसा राष्ट्र बैंकले पठाउँदैन, क्षमता अनुसार पठाएको हुन्छ ।’

अर्थतन्त्र वृद्धि हुनु, बैंकको संख्यासँगै खाता संख्या, आर्थिक गतिविधि वृद्धि भएपछि पैसाको खाँचो हुने भएकाले नोटको संख्या बढेको उनले बताए । आगामी दिनमा डिजिटल कारोबार बढ्दै गएपछि नोटको संख्या घट्न सक्ने उनले बताए ।

‘आर्थिक गतिविधि बढ्नु, मोनिटाइज हुनु, गाउँ गाउँमा शाखा कार्यालय पुग्नुले पैसाको आवश्यक पर्छ, धेरै भन्दा धेरै मोनिटाइज भएपछि नोट बढेको हो,’ उनले भने, ‘राज्यका हरेक निकाय डिजिटलमा सक्षम भएपछि मात्रै डिजिटल कारोबार बढ्छ, अनि नोटको कारोबार घट्छ ।’

उनका अनुसार स्वीजरल्याण्डमा १० प्रतिशत मात्रै नगद र ९० प्रतिशत डिजिटल कारोबार हुने गरेको छ । नेपालमा पनि यो अवस्था आउन सक्ने उनले बताए ।

‘कुनै पनि देशको केन्द्रिय बैंकले नोट घटाउँछ भन्दैन तर, डिजिटललाई प्रमोट गरेको हुन्छ, नोट छाप्ने काम निरन्तर हुन्छ किनभने समाजको एउटा समूहले जहिले पनि नगद कारोबार गर्न चाहन्छ,’ उनले भने, ‘आवश्यक परेको मुद्रा छापेर बजारमा पठाउने हो, सबै मान्छे डिजिटल नहुन सक्छन्, समाजमा कोही मान्छे डिजिटल नचाहने हुन्छन्, नोटको पूर्ण विकल्प हुन सक्दैन ।’

Share News