दुर्गा प्रसाईंको अराजकता विरुद्ध सरकारसँगै राष्ट्र बैंक पनि तात्यो, ‘अन दि स्पट’ कारवाहीको सर्कुलर

<p>काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिन थालेका छन् । उनले कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक रुपमै बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न किसिमका आपत्तिजनक र अराजक अभिव्यक्ति दिन थालेका छन् । उनले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आव्हान गरिरहेका छन् [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिन थालेका छन् । उनले कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक रुपमै बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न किसिमका आपत्तिजनक र अराजक अभिव्यक्ति दिन थालेका छन् । उनले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आव्हान गरिरहेका छन् ।

त्यति मात्रै होइन उनले सार्वजनिक कार्यक्रममै बैंकरलाई ‘जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्नु’ भन्दै समाज भड्काउने गलत अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्तिको प्रशय पाउँदै बुधबार जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहद्वारा कालोमासो पनि दलियो ।

पूर्वदेखि पश्चिमसम्म बैंकविरोधी अभिव्यक्ति दिइरहेका प्रसाईंले एउटा संयन्त्र नै खडा गरेर लागिरहेका छन् । उनले झापामा मात्रै २ सय जनालाई परिचालन गरेको बताउँदै आएका छन् ।

उनको यस्ता गलत अभिव्यक्ति र समाज भड्काउने गतिविधिप्रति सरकार चनाखो बनेको छ । शुक्रबार गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताए । उनले बैंक तथा वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरुमा अराजक गतिविधि गरेमा तत्काल कारवाही गर्न परिपत्र जारी गरेको बताए ।

‘कानुनी राज्यमा सबै कामहरु नियमसंगत हुनुपर्छ, बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अराजक गतिविधि भइरहेका छन्, यसलाई रोक्न जिल्ला प्रशासनहरुलाई निर्देशन दिएका छौं, गलत गर्नेलाई तत्काल पक्राउ गरेर कारवाही गर्न पनि भनेका छौं,’ उनले विकासन्युजसँग भने ।

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरको विषयमा विभिन्न उद्योगी व्यवसायीहरुले पनि लामो समयदेखि विरोध तथा आन्दोलन गरिरहेका छन् । तर, ती आन्दोलनहरु शान्तिपूर्ण भइरहेका छन् । कतिपय ठाउँमा बैंकमा निक्षेप नराख्ने अभियान पनि सञ्चालन भइरहेका छन् । तर, व्यवसायी प्रसाईं अराजक किसिमले सडकमा उत्रिएपछि सरकार उनको यो अभियान रोक्न लागेको हो ।

ऋण नतिरेर सुख छैन : राष्ट्र बैंक

व्यवसायी प्रसाईंले २० लाख भन्दा कमको ऋण मिनाहा हुनु पर्ने माग पनि राखेका छन् । जुन मागको राष्ट्र बैंकले समेत विरोध गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारी माथि कालोमोसो दल्न समूह बनाउने कामले समाज विभाजित हुने बताउँदै यस्ता अराजक मानसिकता भएका व्यक्तिलाई कारवाही गर्नु पर्ने धारणा राखे ।

‘बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन, त्यसको परिकल्पना नगर्न आग्रह छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा बैंकको होइन, त्यो नेपाली दाजुभाई दिदिबहिनीहरुले पैसा हो, कर्जा लिनेहरुले कर्जा दिँदिन भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुन्छ,’ उनले भने ।

यस्तै, उनले कर्जा ढिला हुनसक्ने र ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको बताए । ‘कर्जा दिन ढिला हुनसक्छ, त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी प्रक्रियामा नीतिगत परिवर्तन गरी रोक्न सक्छ, यो विषयमा ऋणीहरुलाई बुझाउँदै छौं,’ उनले भने ।

बिहीबार बैंक तथा वित्तीय संस्थामा कार्यरत सीईओहरुको चार संस्थाहरुले समेत बैंक तथा वित्तीय संस्थाविरुद्द अराजक किसिमका अभिव्यक्ति दिनेहरुलाई कारवाही गर्नु पर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्ता प्रवृतिको विरोध जनाएको थियो ।

व्यवसायीको पनि छैन साथ

दुर्गा प्रसाईं र उनको समूहले गरेको काममा स्वंयम् उद्योगी व्यवसायीहरुले पनि साथ दिएका छैनन् । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत ऋण लिएपछि तिर्नु पर्ने भन्दै सस्तो लोकप्रियताको लागि समाज भड्काउनेहरुबाट सजग बन्न आग्रह गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकबाट ऋण लिएपछि तिर्नु पर्ने बताए । ढकालले व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत आग्रह गरेका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभामा बोल्दै उनले केही व्यक्तिहरुले लोकप्रिय बन्ने होडबाजीमा सस्ता–मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन आग्रह गरेका हुन् ।

‘व्यवसायीहरुले सस्तो लोकप्रियताको लागि गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु हुँदैन, जथाभावी बोल्नु हुँदैन, बैंकको ब्याज र सावाँ समेत तिर्दिन भन्न मिल्दैन, बैंकमा भएको पैसा पनि जनताकै हो,’ यस्ता अभिव्यक्ति दिएर समाज भड्काउने काम गर्नु हुँदैन,’ उनले भने ।

Share News