विकासन्युज

ऋण लिएर अर्बपति, हजार बाँडेर आन्दोलन

पात्र  एकः एउटा बुढो मान्छे बैंक छिर्छन् । उनीसँग १५/२० लाख रुपैयाँ हुन्छ उनीसँग व्यापार व्यवसाय गर्ने आँट, कला, अनुभव केही पनि छैन । बैंकमै राखेर त्यसबाट आउने ब्याजले घर परिवार चलाउने सोच्छन् । तर आइडिया हुँदैन खाता भनेको के हो ? कस्तोमा राख्दा कति ब्याज आउँछ भनेरसम्म थाहा हुँदैन । बैंकको कर्मचारीले मुद्दतिमा धेरै ब्याज आउने र त्यसैमा राख्ने सल्लाह दिन्छन् । उसले त्यसै गर्छन् । बदलामा तीन तीन महिनामा खाताबाट आएको ब्याजले ती वृद्ध मान्छेको आजसम्म घर परिवार चलेको छ । बंैंकको सामन्जस्यता र जनताको बैंकप्रतिको विश्वास यसको मुल आधार हो । पात्र  दुईः एउटा युवा विदेश जान लाग्छन्, उसको परिवार अलि खर्चालु छ । परिवारको उसलाई त्यति विश्वास हुँदैन । वा भनौँ विदेशमा रगत पसिना बगाएर एक एक गरेर कमाएको पैसा कतै फजुल खर्च गरेर सक्ने पो हो कि भन्ने डर छ उसलाई । ऊ बैंकमा आई कसो गरुम भनेर सल्लाह माग्छन् । बैंकका कर्मचारी पनि हाँसीहाँसी मुस्कानका साथ परिवारको मासिक खर्च परिवारकै खातामा पठाउनु बाँकी पैसा आफ्नै खातामा पठाउनु र पछि विदेशवाट नेपाल आएपछि तपाईंको खाताको पैसाले तपाईंलाई व्यापार व्यवसाय जे गर्न मन लाग्छ गर्नु, बरु त्यतिखेर पैसा पुगेन भने हामी ऋण दिन्छौं भन्ने सल्लाह दिन्छन् । अनि त्यो युवा बैंकमा खाता खोली अब मैले विदेशमा कमाएको पैसा सुरक्षित हुने भो भनेर हाँसीहाँसी विदेश जान्छन् । पात्र तीनः एउटा साधारण मान्छे गरिखान्छु, आफ्नै देशमा सानो तिनो व्यापार गर्छु भन्ने सोच्छन् तर बैंकले हामी जस्तोलाई के पत्याउँदो हो भनेर डराई डराई आश मारीमारी बैंक छिछर्न् । बदलामा बैंकका मिजाशिला हसिला कर्मचारीले सजिलैसँग लोन मिलाइ दिन्छन्, पत्याउछन्, त्यतिमात्र कहाँ होर व्यापारको आइडिया पनि दिन्छन्, व्यक्तिगत लाभ रत्तिभर नलिई बरु उल्टै कालो चिया खुवाउँछन् । साधारण मान्छे बैंकको ऋणी बन्दछन् । अलि पछि नियमित ब्याज र किस्ता ऋणीले तिरेको कारणले बैंकका कर्मचारी ऋणीलाई व्यापार बढाउन सल्लाह दिन्छन् । ऋणी पनि बैंकको सहयोग पाएर हौसिन्छन् ऋण थप्छन् । व्यापार बढाउछन् । व्यापारमा सँधै एकैनासले फाइदा मात्र हुँदैन कहीले काही सावा ब्याज तिर्न अलि ढिलो हुन्छ तर बैंकर समस्या बुझ्छन् । बजारको अवस्था, कोरोनाकालको व्यापारको घाटा । त्यसैले त ब्याजमा छुट पनि पाउछन् व्यापारीहरुले बैंकबाट । पात्र  चारः एउटा महिला सय कढा मासिक दुईको दरले व्यक्तिगत ऋण लिएर गाईवस्तु, खसी, कुखुरा पाल्छिन् । कुखुरा पनि राम्रै छ । गाईले पनि दुध दिइरहेको छ । बेचिरहेकी पनि छिन् । तर आर्थिक उन्नति भने भइरहेको हुँदैन । कसैले उसलाई घरै छेउको लघुवित्तमा महिला उद्यमी कर्जा सस्तो ब्याजमा ऋण लिने सल्लाह दिन्छन् । उनी खुशी हुन्छिन् र त्यसै गर्छिन् । त्यतिमात्र कहाँ हो र उनले लघुवित्त धाइरहनु पर्दैन । कर्मचारी घरमै आउँछन् । कलेक्सनमा उसलाई सजिलो भएको छ । आज उसको सस्तो ब्याजको कारणले उसको आर्थिक उन्नति पनि भएको छ । बैंक आफैमा केहि पनि होइन । बैंक भनेको त आम मानिसको हो । त्यो १५/२० लाख मुद्दतिमा राख्ने बुढो मान्छेको हो बैंक । विदेशमा रगत पसिना बगाएर एक एक गरी कमाएको पैसा जम्मा गर्ने त्यो युवाको हो बैंक । बैंकले त सानो सानो थोरै थोरै ती बुढा र युवा जस्ता लाखौंको जम्मा भएको करोडौं पैसा आफैसँग कहाँ राख्छ र उद्यम गर्छु, आफ्नै देशमा केहि गर्छु, रोजगारीको अवसर सृजना गर्छु, व्यापार व्यवसाय गर्छु भन्नेलाई निश्चित मापदण्ड र नियममा रहेर जनताको पैसा सुरक्षित हुने किसिमले बैंकले ती कुखुरा गाई पाल्ने महिलालाई लगानी गर्छ । बैंकले ती व्यापारीलाई लगानी गर्छ र लगानीबाट आएको ब्याज ती बुढा जस्ता लाखौंलाई दिन्छ । बैंकका कर्मचारीलाई तलव खुवाउँछ । सरकारलाई कर तिर्छ । त्यसपछि नाफा भयो भने लगानीकर्तालाई प्रतिफल दिन्छ । पछिल्लो समय बैंकहरुले निक्षेपकर्तालाई ११/१२ प्रतिशत व्याज दिएका छन् तर बैंकमा सेयर पुँजी लगानी गर्नेको लागि १० प्रतिशत लाभांश दिन पनि नसक्ने अवस्था छ । बैंकले जबरजस्ती कसैलाई ऋण लानु भन्दैन । र, भन्न पनि मिल्दैन । हो जनताको पैसा हो सुरक्षित गरिदिनु बैंकको कर्तव्य हो । ऋण लगेपछि सावा ब्याज तिर्नुपर्छ । जनताको पैसा हो तिरेन भने बैंकले कानुनी प्रक्रिया अपनाउँदछ । बैंक भनेको पैसा लिएर पैसा दिने हो । बैंकको आधार दर घट्दा ऋणको ब्याज पनि घट्दछ, आधार दर बढ्दा ब्याज पनि बढ्दछ । बैंक नै त हो नि जसले साइकलमा आएको ग्राहकलाई पत्याएर ऋण दिएर, आइडिया दिएर अर्बौको धनी बनाएका छन् । अहिले करोडौको कार चढ्ने भएका छन् । चन्द्र ढकाल, विनोद चौधरी, अन्जन श्रेष्ठ, शंकर अग्रवाल, देविप्रकाश भट्टचन, दुर्गा प्रसाईं जस्त ठूला व्यवसायी बनेका छन् । बैंक नहुँदो हो त उनीहरुको व्यापारमा लगानी बढ्दैनथ्यो । के अनि लाखौंले रोजगारी पाउँथे त ? जसरी जब बच्चा सानो हुन्छ उसले आफ्नो बाबालाई अनेक प्रश्नहरु सोध्न थाल्छ । बदलामा बाबाले झर्को नमानी आफ्नो सन्तानका हरेक प्रश्नको जवाफ हाँसीहाँसी दिन्छन् । बच्चाले बाबामा आड भरोसा सहयोग देख्छ । सन्तानलाई लाग्दछ मेरो बाबालाई संसारको हरेक कुरा थाहाँ छ । मेरो बाबा मलाई केहि पर्दा मेरो ढाल/कबच बनेर मेरो लागि अगाडि आउँछन् । जब सन्तान अलि ठूलो हुन्छ सन्तानलाई लाग्छ मेरो बाबालाई सबै त होइन अलि अलि थाहाँ छ । सन्तान फेरि अझ अलि ठुलो हुन्छ अनि सन्तानलाई लाग्छ मेरो बाबालाई केहि थाहा छैन । मलाई सहयोग नै गर्दैनन् बाबाले । मेरो बाबा बुढा भए केहि थाहा छैन । के नै पो गरेका छन् र मेरो लागि । तर बाबा भनेको बाबा नै हो सन्तानको जहिल्यै सुःख मात्र सोच्छन् । हो, बैंक पनि एउटा अभिभावक जस्तै हो । सम्झनुस् त तपाईं पहिलो पटक ऋण लिन बैंकमा आउँदा बैंकले कत्ति धेरै सहयोग गरेको क्षण । त्यतिखेर तपाईंलाई लाग्थ्यो बैंक अभिभावक हो । यसले सहयोग गर्यो मलाई । हो, हेर्ने नजर फरक भएको हुनुपर्छ तपाईंको आज । बैंकले त आज पनि सहयोग नै गरिरहेको छ तपाईंलाई । माया गरिरहेकै छ तपाईंलाई । हो, आज दुई चार जना भ्रमित मान्छेहरुले बैंकलाई बच्चाले बाबालाई केहि थाहाँ छैन भने जस्तै बदनाम गराई रहेका छन् । बैंकरलाई कालोमोसो दल्ने कुरा गर्दै हिडिरहेका छन् । उनीहरुलाई आज यो थाहाँ छैन कि नेपालको बैंक तथा वित्तीय संस्थामा चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खातावालाहरु छन् । उनीहरुले ५४ खर्बभन्दा धेरै रकम बैंकको विश्वासमा राखेका छन् । १८ लाखभन्दा धेरै ऋणीहरु व्यापार व्यवसाय गरिरहेका छन् । दुई चार जना भम्रित मान्छेहरुले व्यक्तिगत स्वार्थको लागि बैंकरलाई नै कालोमोसो दल्ने कुरा गर्दा के त्यो भनेको विश्वासमा राखेको करोडौं निक्षेपकर्ताको अपमान होइन । करोडौंको विश्वासको अपमान होइन । भोलि निक्षेपकर्ता भ्रमित मान्छेहरुबाट सशंकित भई सडकमा आए भने तपाईं त के राज्यले पनि थेग्न सक्दैन । यो तपाईंको कालोमोसो दल्ने प्रयास बैंकरलाई होइन बंैकरको नाममा जनतालाई नै हो । भोलि बैंकिङ क्षेत्र क्रयास भयो भने देश कहाँ पुग्छ । कालोमोसो दल्न खोज्ने ऋणीहरु समयमै संयम बन्नु राम्रो । ऋण लगेर सावा ब्याज तिर्न त तपाईंलाई यत्रो रोइलो छ, तपाईं दुई चार जना सडकमा आउँदा के के न गरे जस्तो भएको होला । भोली रगत पसिना एक एक गरेर कमाएका पैसावाला निक्षेपकर्ताहरु तपाईंकै कारणले असुरक्षित महशुस भए भने र बैंकले पनि सहजिकरणको भूमिका नगरी निक्षेपकर्तालाई तपाईंको पैसा कालोमोसो दल्न खोज्नेहरुले तिर्दिन भन्दैछन् भन्यो भने र तपाईं तिरै देखाइदियो भने त्यो मास त्यतिखेर दुर्गाप्रसाइ र तीनका अराजक समूहलाई घेर्न पुग्ने दिन आउँछ । बैंकले ऋण मिनाहा गर्नुपर्छ भनेर भनेर ऋणिहरुको आन्दोलनको नाममा अफवाह फैलाउने दुर्गा प्रसाई आफैले विभिन्न बैंकबाट ५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लिएका छन् । बैंकबाट कर्जा लिएर अस्पताल बनाएका छन् । ‘मैले अस्पताल बनाए, हजारौलाई रोजगारी दिएँ, सरकारलाई कर तिरेँ’ भनेर दावी गर्छन् । त्यहि बैंककाे पैसामा उनकाे रवाफ र पहुँच ज्ञानेन्द्र शाह, केपी वली र प्रचण्डसम्म पुगेकाे हाे । प्रचण्ड र केपीलाई खुवाएकाे मार्सी चामलकाे भात पनि बैंकबाट लिएकाे ऋण हाे । बैंककाे पैसामा बनेकाे हस्पतालमा उपचारको क्रममा मृत्यु भएको लास एक रात राखे वाफत २२ हजार पाँच सय रुपैयाँ लिदै अाएकाे छन् प्रसाइले । अनि अहिले बैंकको कर्जा तिर्दिन भन्छन् । दैनिक प्रतिव्यक्ति १ हजार रुपैयाँ बाँढेर बेरोजगारहरुलाई सडकमा भेला गराउँछन् र भाषण गर्छन्, बैंकको ऋण मिनाह हुनुपर्छ, राजतन्त्र स्थापना गर्नुपर्छ । दुर्गाको यो खेती कहिलेसम्म ? भ्रममा मान्छे कहिलेसम्म ?

गहुेश्वरी फाइनान्सले धितोमा रहेको जग्गासहित कार बेच्दै

काठमाडौं । गहुेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । फाइनान्सबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने फाइनान्सले जनाएको छ । फाइनान्समा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न फाइनान्सले आग्रह गरेको छ । ऋणी रविन्द्र सिंह केसीले लिएको ऋण वापत राखिएको धितो सवारी लिलामी गर्ने भएको हो । फाइनान्सले सन् २०१८ मा बनेको ना ८ ख २१४१ नम्बरको टाटा मोटर्सको सवारी बिक्रीमा राखिएको हो । यस्तै, फाइनान्सले ऋणी अश्विन केसीले कर्जा लिए वापत धितोमा राखेको बुटवल १३ बेलबास रुपन्देही स्थित कित्ता नम्बर ५१६२, ५१६५, ५१५९ को क्रमशः ०–०–८.२५, ०–०–४.५ र ०–०–३.७५ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।

नेप्सेमा ५ कम्पनीको डेढ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आँधिखोला लघुवित्त, आइसीएफसी फाइनान्स, साविक सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकको गरी कूल १ करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस वापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आधिखोला लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ५७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस वापतको ५ लाख ६३ हजार ५५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस वापतको ४५ लाख ३८ हजार १०६.८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु बैंकको ६.५० प्रतिशत बोनस वापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल टेलिकमसहित ८ इन्टरनेट कम्पनी कारबाहीमा, कति तिरायो जरिवाना ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ८ वटा इन्टरनेट कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले एकैपटक ८ वटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको हो । इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको भेटिएपछि कारबाही गरिएको प्राधिकरणले बताएको छ । इन्टरनेट सेवाको प्याकेजको महसुल दर बिक्री गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने हुन्छ । प्राधिकरण्का प्रवक्ता सन्तोष पौडेलका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल रहेका छन् । यी कम्पनीले महसुल दर स्वीकृत नगरेकाले कारवाही गरिएको हो । यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम १ लाख रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । साथै, प्राधिकरणको निर्देशन विपरीत चाडपर्वमा प्रवर्द्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गर्ने वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेटलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । यस्तै, प्राधिकरणको निर्देशनविपरीत भास सेवा स्वतः नवीकरण गरेको भन्दै नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

सिवाइसी नेपाल र आँधिखोला लघुवित्तको फागुन ३० गतेदेखि एकीकृत कारोबार

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै लघुवित्तबीच मर्जर भई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै संस्थाहरुको छुट्टाछुट्टै साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । साथै, नेपाल राष्ट्र बैंकबाट पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते एक आपसमा मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । एकीकृत कारोबार प्रयोजनका लागि फागुन २८ गतेदेखि फागुन २९ गतेसम्म २ दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने जनाएको छ । मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोक कास्की साविक सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय कायम रहने छ । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो ।

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं  र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । फागुन ८ गतेदेखि गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न रहेका थिए । शिविरमा २ हजार ४३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए । बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए । जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।

दोषीलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले जारी गरिएको विज्ञप्तिमा अखाद्य सामग्री बालबालिकालाई वितरण गर्न ल्याउन लागिएको घटनाको छानबिन गरी त्यस कार्यमा संलग्न दोषीहरूमाथि कानूनी कारबाही चलाउन सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न माग गरिएको छ । ‘५४ हजार किलो भिजेको, मक्किएको र गन्हाएको चामल नेपाल भित्र्याउन लागिएको घटनालाई हामीले नेपाली जनताको स्वस्थकर खाद्यान्नको हकविरुद्ध र विशेषतः बालबालिकाको सर्वोत्तम हित प्रतिकूल गम्भीर हेलचेक्र्याइँ ठानेका छौँ,’ विज्ञप्तिमा भनिएको छ । नेपालका दुर्गम क्षेत्रमा कामका लागि खाद्यान्न तथा दिवा खाजाजस्ता कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले ४५ वर्षअघि देखि खाद्यान्न वितरण गर्दै आएको छ । वि.सं. २०६६ जेठ, असार र साउनमा जाजरकोटलगायत पहाडी जिल्लामा तीन सयजना भन्दा बढी नागरिकको झाडाका कारण मृत्य भएपछि इन्सेकले गरेको स्थलगत अध्ययनमा खाद्यान्न वितरणका क्रममा हुने गरेको अनियमिता छर्लङ्ग भएको विज्ञप्तिमा उल्लेख छ । ‘वि.सं २०६६ साउन ३१ गते सार्वजनिक गरिएको उक्त अध्ययन प्रतिवेदनमा विश्व खाद्य कार्यक्रमले जाजरकोटसहितका पहाडी जिल्लामा वितरण गरेको कुहिएको चामल पनि पखालाको एउटा कारण भएको जनाएको थियो,’ प्रतिवेदनलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदनमा अखाद्य खानेकुराको वितरण तथा उपभोग गरिएको र म्याद नाघेको वाटर प्युरिफायर बाँडिएको, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले सङ्कलन गरिएको यथेष्ट नमूनाका आधारमा जाजरकोटमा विपरीत चामल खान नमिल्ने भएको ठहर गरेको जानकारीसमेत समावेश गरिएको थियो ।’ उक्त प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही चलाउन नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घलाई समेत गरिएको ध्यानाकर्षणको बेवास्ता गरिएको इन्सेकको ठहर छ । विश्व खाद्य कार्यक्रमले नेपालमा आपूर्ति गर्ने सबै प्रकारका खाद्यान्नको परीक्षण अनिवार्य गरी नेपाली जनताको खाद्यसम्बन्धी संवैधानिक हक सुनिश्चित गर्न मागसमेत इन्सेकले गरेको छ ।

काठमाडौं ‘भ्यू टावर’ २९ तला बनाइने, पुल्चोक इन्जिनियरिङ क्याम्पसले थाल्यो अध्ययन

काठमाडौं । काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ । वि.सं २०७२ को भूकम्पपछि १२ तलाको बनाउने भनेर काम थालिएको भए पनि अहिले १२ तलालाई बढाएर २९ तला बनाउने तयारी कामपाको छ । प्राविधिकले जाँच गरेपछि उनीहरुकै सल्लाहमा तला थपको काम अघि बढाइने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो । भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोही अनुसार निर्माणको काम अघि बढाइएको हो । ‘हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, थप्न मिल्छ कि मिल्दैन जस्ता विषयको अध्ययन अनुसन्धान गर्न क्याम्पसलाई जिम्मा दिएको हो,’ काफ्लेले भने, ‘४ हप्तामा सक्नेगरी १० दिनअघि क्याम्पसलाई उक्त जिम्मेवारी दिइएको छ ।’ स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले वि.सं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरे पनि निर्माणका लागि भने तोकेकोभन्दा बढी समय लागाइएको छ । सम्झौताअनुसार २०७८ साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक १ करोड रकम कामपालाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको कामपाको भनाइ छ । स्तम्भका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुने बताइएको छ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । त्यसैगरी, टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा ३ सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछ । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । सोही अनुसार १२ तले भ्यू टावरको सोही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । बसपार्क सञ्चालन थप समस्या भ्यू टावर निर्माण र तला थप गर्ने विषयले बसपार्क सञ्चालनका लागि अझै समस्या हुने भएको छ । टावर निर्माणका लागि लामो समय लाग्दा सार्वजनिक यातायात सञ्चालन गर्न समस्या भएको हो । हाल भ्यू टावर निर्माण भइरहेको स्थानबाट काठमाडौँ उपत्यकालगायत स्थानको लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साबिक पुरानो बसपार्क काठमाडौँ भ्यू टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ । निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै कामपाले यस विषयमा छलफल सुरु भएको जनाए पनि बसपार्क थप व्यवस्थापनको विषयमा भने स्थान तय गर्न सकेको छैन । वि.सं. २०७२ साल साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साबिकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ । टावर निर्माणको कामअन्तर्गत सुरुको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन । टावर निर्माण उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवतजावत गर्ने गरेका थिए ।रासस