निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमितामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ, तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महशुस गर्न सकेको छैनौं, मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ ।’ उनले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए । ‘हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौं, त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौ भनेर सल्लाह पनि दिएका थियौं, तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ’, उनले भने । हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न उहाँले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिए । बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरे । ‘केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो, त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ, यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ’, उनले भने । उनले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गरे । उनले भने, ‘उपस्थित राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरु साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो ?’ बैंकको निक्षेप भनेको त आम जनताको पैसा होला, यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौ भने त्यसको नतिजा के होला’, उनले थप प्रश्न गरे । उनले भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे । ‘म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु, तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौं, सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौं’, उनले भने । कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उनले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए । त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए । ‘अहिले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको छ, वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ, रेमिट्यान्सको आप्रवाह पनि बढेको छ, बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन, केही न केही सुधार हुने मलाई विश्वास छ’, उनले भने ।
लघुवित्तका प्रमोटर रहेका र कर्जा दिएका बैंक त्रासमा, तेस्रो त्रैमास नेगेटिभ आउने चिन्ता
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध आन्दोलन चर्किएको छ । सहकारी संस्थाबाट सुरु भएको आन्दोलन लघुवित्त वित्तीय संस्थासम्म पुगेको छ । यही आन्दोलन भविष्यमा उग्र रुप लिन सक्ने अड्कलबाजी पनि धेरैले गरिरहेका छन् । लघुवित्त संस्था विरुद्धको आन्दोलनले उग्र रुप लियो भने सबैभन्दा बढी क्षति बैंकिङ्ग क्षेत्रलाई पर्ने जानकारहरु बताउँछन् । पछिल्लो समय भइरहेको आन्दोलनले लघुवित्तको अस्तित्वमाथि नै प्रश्न उठाइरहेको छ । आगामी दिनमा पनि यस्तै अवस्था रह्यो भने सबैभन्दा धेरै असर वाणिज्य बैंकमा पर्न सक्ने बैंकरहरु बताउँछन् । किनभने लघुवित्त वित्तीय संस्थाहरुमा बैंकहरुले ठूलो रकम लगानी गरेका छन् । एउटै बैंकले दर्जन बढी संस्थाहरुमा लगानी गरेका छन् । बैंकहरु लघुवित्तका सेयरधनी पनि हुन् । साथै, लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट नै कर्जा लिएर ग्राहकहरुलाई प्रवाह गर्ने गर्छन् । लघुवित्तको निक्षेप स्रोत बैंकहरु हुन् । भोलिका दिनमा लघुवित्तबाट लिएको कर्जा ग्राहकहरुले फिर्ता गरेनन् भने बैंकहरुले पनि पाउने छैनन् । ग्राहकहरुले कर्जा तिरेनन् भने लघुवित्तलाई पनि बैंकको कर्जा चुक्ता गर्न रकम अभाव हुनेछ । लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेर बैंकहरुले अर्बाै रुपैयाँ फाइदा लिने गरेका छन् । लघुवित्त संस्थाले बैंकहरुलाई प्रतिफल र ब्याज दुवै दिने गरेका छन् । यस्तै अवस्था रह्यो भने लघुवित्तले लाभांश र ब्याज दुवै दिन सक्ने छैनन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंकको लगानी लघुवित्त वित्तीय संस्थामा छ । यस्तै, लक्ष्मी बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, कुमारी बैंक र प्रभु बैंकले विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेका छन् । बैंकर बिएन घर्ती लघुवित्त वित्तीय संस्था विरुद्धको आन्दोलन वाणिज्य बैंकहरुलाई चिन्ताको विषय बनेको बताउँछन् । लघुवित्त वित्तीय संस्थाहरुमा बैंकहरुले पनि लगानी गरेको हुँदा आफ्नो लगानीको चासो हुने गरेको उनले बताए । ‘लघुवित्त विरुद्धका आन्दोलन हुँदा बैंकहरुलाई चिन्ता चासो उत्तिकै हुन्छ किनभने लघुवित्तमा बैंकहरुको पनि लगानी हुन्छ, लघुवित्तका एक कर्मचारीलाई कालोमसो लगाउने बित्तीकै बैंकिङ्ग क्षेत्रका सबै संघहरुले प्रेस विज्ञप्ति जारी गरे, गृह मन्त्रालय पुगेर कारवाही गर्न माग गरे, गृहमन्त्रालयले पनि यस्ता गतिविधि रोक्न निर्देशन दियो,’ उनले भने । लघुवित्तको संख्या धेरै भएकाले प्रतिस्पर्धा बढेर बहुबैंकिङ्ग व्यवसाय गरेकाले समस्या आएको उनको बुझाइ छ । राष्ट्र बैंकले बहुबैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्था गरेसँगै विस्तारै सुधार हुनेमा उनले विश्वास व्यक्त गरे । ग्राहकहरुले कर्जा नतिर्दा खराब कर्जा बढ्ने र बैंकको नाफामा असर पुग्ने उनले बताए । ‘ग्राहकहरुले कर्जा नतिर्दा बैंकहरुको लगानीमा असर गर्छ, बैंकिङ्ग प्रणाली एउटा सिस्टममा चल्छ, सहकारीमा देखिएको समस्याल घुवित्तमा आयो, लघुवित्तपछि बैंकमा प्रवेश गर्छ, जस्तो शरिरको कुनै अङ्गमा असर गर्ने बित्तिकै पुरै शरिरलाई ज्वरो आउँछ, यस्तै असर बैंकिङ्ग क्षेत्रमा पनि पर्छ,’ उनले भने, ‘लघुवित्तलाई असर पर्दा बैंकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष असर गरेको हुन्छ, बैंकहरु आफ्नो लगानी गरेको संस्थाप्रति सदैव सजग छन् ।’ नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय रेग्मी अधिकांश लघुवित्तलाई वाणिज्य बैंकहरुले फाइनान्स गर्ने भएकाले यस्ता घटनाहरुले स्वतः बैंकहरुलाई असर गर्ने बताउँछन् । लघुवित्तका ग्राहकहरुले पैसा तिरेनन् भने लघुवित्तले पनि आफ्नो ऋण चुक्ता गर्न नसक्ने उनको भनाइ छ । केही अराजक व्यक्तिहरुको लहैलहैमा लाग्दा यस्तो समस्या आएको उनी बताउँछन् । ‘अधिकांश लघुवित्तलाई फाइनान्स गर्ने भनेको वाणिज्य बैंकहरुले हो, ग्राहकहरुले पैसा तिरेनन् भने लघुवित्तले पनि बैंकलाई पैसा तिर्न सक्दैनन्, मान्छेहरुले नबुझेर लघुवित्त विरुद्धको आन्दोलन गरे, क्षणिक रुपमा केही व्यक्तिको लहैलहैमा लागेर दीर्घकालमा असर गर्दैन्, ऋण लिएर उन्मुक्ति पाइँदैन,’ उनले भने । लघुवित्त वित्तीय संस्थामा लगानी गर्ने प्रमोटर सेयरधनी र ऋण दिने दुवै काम वाणिज्य बैंकले गर्ने भएकाले लघुवित्त संस्थामा सानो हलचलले पनि असर गर्ने गरेको उनले बताए । ‘बैंकहरुले लगानी गरेको ठाउँमा के-कस्ता गतिविधि भइरहेका छन् भनेर बैंकरहरुलाई चिन्ता चासो हुन्छ, हरेक घटनाक्रमलाई चनाखो भएर नजिकबाट नियाली रहेका हुन्छौं,’ उनले भने । उनका अनुसार वाणिज्य बैंकले लघुवित्तमा लगानी गरेको रकमबाट आउने प्रतफिलभन्दा कर्जाबाट आउने ब्याज धेरै हुने गरेको छ । लघुवित्तबाट ब्याज नआएपछि बैंकलाई घाटा हुने उनले बताए । ‘वाणिज्य बैंकहरुले लघुवित्तलाई दिएको कर्जाबाट प्रत्येक तीन महिनामा ब्याज आउँछ, बैंकको चाँसो पनि ब्याजमा हुन्छ, लघुवित्तले नाफा गरेर दिने लाभांशभन्दा बढी फाइदा ब्याजबाट हुन्छ,’ उनले भने । ग्लोबल आइएमई बैंकका डीसीईओ सुरेन्द्रराज रेग्मी अराजक व्यक्तिले भन्दैमा लिएको कर्जा तिर्दैन भन्न नमिल्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताको निक्षेप पनि सुरक्षित गर्नुपर्ने दायित्व भएकाले कर्जा लिएपछि तिर्नु पर्ने उनको भनाइ छ । अहिलेको आन्दोलन कुनै एउटा वर्गमा रहेका संस्थाहरुका विरुद्ध भन्दा पनि समग्र बैंकिङ्ग क्षेत्रविरुद्धको रहेको उनले बताए । ‘अलिलेको आन्दोलन लघुवित्त विरुद्ध मात्रै होइन, समग्र बैंकिङ्ग क्षेत्रविरुद्धको हो, अहिले कति असर पर्छ भन्न सकिदैन, अब आउने त्रैमासको वित्तीय विवरणले सबै छर्लङ्ग देखाउँछ, कर्जा लिएपछि ब्याज तिर्दैन भन्न मिल्दैन, आन्दोलन नगर्नेहरु पैसा तिरिहेका छन्,’ उनले भने । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ्गले अहिलेको गतिविधिले लघुवित्त लगायत समग्र बैंक तथा वित्तीय क्षेत्रमा नै असर गर्ने बताए । यस्ता क्रियाकलापले बैंकिङ्ग क्षेत्रप्रतिको विश्वास घट्दै जाने उनको भनाइ छ । ‘बैंक प्रति जनताको गहिरो विश्वास छ, निक्षेप जम्मा गर्छन् र कर्जा लिएर आर्थिक कारोबारलाई बढावा दिएको छ, यो सबै विश्वासको पुललाई अहिलेको गतिविधिले नकारात्मक असर गर्छ,’ उनले भने, ‘लघुवित्तमा लगानी भएका बैंकलाई प्रत्यक्ष असर पर्छ, यदि कर्जा तिर्दै नतिर्ने हो भने नाफामा असर गर्छ, लघुवित्तले जति लाभांश दिन्छ, त्यसको असर नाफामा पर्छ ।’ बैंकहरु प्रमोटर सेयरधनी पनि अधिकांश वाणिज्य बैंकहरु लघुवित्तको प्रमोटर सेयरधनी छन् । नबिल बैंकले विभिन्न लघुवित्त संस्थाहरुमा लगानी गरेको छ । नबिल बैंकको नाडेप लघुवित्त, निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त, स्वालम्बलन लघुवित्त, डिप्रोक्स लघुवित्त लगायत आधा दर्जन बढी संस्थामा लगानी रहेको छ । नाडेप लघुवित्तमा २५ प्रतिशत, निर्धन उत्थान लघुवित्तमा ९.३९ प्रतिशत, छिमेक लघुवित्तमा ११.९८ प्रतिशत, स्वाबलम्बन लघुवित्तमा १२.०२ प्रतिशत र डिप्रोक्स लघुवित्तमा ९.४२ प्रतिशत लगानी रहेको छ । यस्तै, ग्लोबल आइएमई बैंकको ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फर्स्ट माइक्रोफाइनान्समा ११ प्रतिशत, मेरो माइक्रोफाइनान्समा १४ प्रतिशत र स्पर्श लघुवित्तमा १६ प्रतिशत लगानी रहेको छ । साविकको बैंक अफ काठमाण्डूले छिमेक लघुवित्तमा ९.१४ प्रतिशत, आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्तर आरएसडिसी लघुवित्तमा १२ प्रतिशत लगानी गरेको थियो । यस्तै, लक्ष्मी बैंकको लक्ष्मी लघुवित्त वित्तीय संस्थामा ७० प्रतिशत सेयर स्वमित्व रहेको छ । साथै, स्वावलम्बन लघुवित्तमा ३.६४ प्रतिशत लगानी गरेको छ । कुमारी बैंकको फर्स्ट माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्समा ७ प्रतिशत र नेसनल माइक्रोफाइनान्समा २० प्रतिशत लगानी रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न लघुवित्तमा लगानी गरेको देखिन्छ । बैंकले आशा लघुवित्त, स्वावलम्बन लघुवित्त, स्पर्श लघुवित्त, अभियान लघुवित्त र नेसनल माइक्रोफाइनान्स लघुवित्तमा लगानी रहेको छ । यस्तै, साविकको मेगा बैंकले स्पर्श लघुवित्तमा १६.३९ प्रतिशत र अभियान लघुवित्तमा १६.३९ प्रतिशत लगानी गरेको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र उत्थान लघुवित्तमा ३१.४३ प्रतिशत, एनआईसी एशिया बैंकको एनआईसी एशिया लघुवित्तमा ५७.७५ प्रतिशत, एनएमबि बैंकको एनएमबी लघुवित्तमा ५१ प्रतिशत, कृषि विकास बैंकले साना किसान लघुवित्तमा २२ प्रतिशत, सेञ्चुरी बैंकले किसान लघुवित्तमा ७ प्रतिशत र सिभिल बैंकले सिभिल लघुवित्तमा ५१ प्रतिशत लगानी गरेका छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरएमडीसी लघुवित्त र ग्रामिण विकास लघुवित्तमा, हिमालयन बैंकको आरएमडीसी लघुवित्त, निर्धन उत्थान लघुवित्त, छिमेकी लघुवित्त र स्वावलम्बन लघुवित्तमा, प्राइम कमर्सियल बैंकको मेरो माइक्रोफाइनान्स, महिला सहयात्रा लघुवित्त र स्वाभिमान लघुवित्त, कुमारी बैंकको नेशनल माईक्रोफाइनान्स लघुवित्त, फर्स्ट माईक्रो फाइनान्स लघुवित्त, मेरो माईक्रोफाइनान्स लघुवित्त र अभियान लघुवित्तमा लगानी छ ।
दूरसञ्चार प्राधिकरणको सहयोगमा डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस
डोटी । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए । उनले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गरे। बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन् । पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको छ । पालिकाले यसअघि २२ वटा विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको छ । विद्यालयलाई सिमसहितको उपलब्ध गराएको डिभाइसमा इन्टरनेट सञ्चालन गर्नका लागि दुई वर्षसम्म आवश्यक शुल्क दूरसञ्चार प्राधिकरण बेहोर्ने र त्यसपछि विद्यालयले व्यवस्थापन बेहार्नेछ । विद्यालयलाई उपलब्ध गराएको एउटा डिभाइसको मूल्य ७३ हजार नौ सय रहेको छ ।
संयुक्त राष्ट्रसंघ महासागर सन्धि अन्तिम चरणमा
सांकेतिक तस्बिर एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ महासागर सन्धिको विषयवस्तुलाई अन्तिम रूप दिएकामा स्वागत गरेका छन् । महासचिवले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग सुनिश्चित गर्ने पाठलाई अन्तिम रूप दिएकामा सहभागी प्रतिनिधिहरूको प्रशंसा गरेको विज्ञप्तिमा जनाइएको छ । लगभग दुई तिहाइ समुन्द्रलाई ओगटेको यो विषयलको सफलताले सामुद्रिक कानूनमा संयुक्त राष्ट्रसंघको विशेष भूमिकलाई प्रतिनिधित्व गर्दछ। यो कार्य बहुपक्षीयताको लागि र सामुद्रिक जटिलताको सामना गर्ने र विनाशकारी प्रवृतिहरूको सामना गर्ने विश्वव्यापी प्रयासहरूको लागि अहिले र आगामी पुस्ताहरूका लागि पनि विजय हो। जलवायु परिवर्तन, जैविक विविधताको हानी र प्रदूषणको तीनवटा सङ्कटलाई सम्बोधन गर्न यो प्रयास महत्त्वपूर्ण छ। साथै दिगो विकासका लागि सन् २०३० एजेन्डा र कुनमिङ(मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कको सागर(सम्बन्धित लक्ष्यहरू प्राप्त गर्न पनि महत्त्वपूर्ण छ विज्ञप्तिमा भनिएको छ।
आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल
फाइल तस्बिर काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताए। मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उल्लेख गरिएको उहाँले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उनले जोड दिए । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने बताए ।
राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन । आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
काभ्रेपलाञ्चोकको बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पू्रा भई १३ वर्ष ननाघेका बालबालिका समेट्ने छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने बताइन्। कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने तथा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिनेछ । साथै सूचक बनाएर टोली खटाइने योजना बनाइएको छ । वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य)लाइसमेत परिचालन गर्ने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले पनि बालबालिकाको खोजी गर्ने, तथ्याङ्क ‘क्रस भेरिफाइ’ गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइने छ । नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म ढङ्गले लगत सङ्कलन गरिनेछ । कार्यक्रम फागुन महिनादेखि लागू भइसकेको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले अपाङ्गता तथा गरिबीको रेखामुनि रहेका बालबालिकाको सङ्ख्याका आधारमा बजेट विनियोजन गर्ने, पोसाक, झोला, जुत्ता, पुस्तक, कापी–कलम आदि उपलब्ध गराइने बताए। ‘कुनै कारण आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकालाई पनि विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि सारिने छ, यति गर्दा पनि अटेर गरे गाउँपालिकाबाट प्रदान गरिने सेवा–सुविधालाई रोक्का गरी बालबालिकालाई विद्यालय पठाएपछि मात्र सेवालाई निरन्तरता दिइने बाध्यकारी नीति बनाउने छौँ’ अधिकारीले भने। गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा सुरू गरिने तथा निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गर्ने र अन्त्यमा निःशुल्क अनिवार्य शिक्षायुक्त गाउँपालिका घोषणा गरिने योजना बनाइएको छ । बेथानचोकमा दश माध्यमिक, तीन आधारभूत र १७ प्राथमिक विद्यालयमा तीन हजार चार सय विद्यार्थी अध्यनरत छन् । निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सङ्घीय सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कार्यक्रम हो । यो कार्यक्रम यसअघि काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा पनि लागू गरिएको थियो ।
ऋण लिएर अर्बपति, हजार बाँडेर आन्दोलन
पात्र एकः एउटा बुढो मान्छे बैंक छिर्छन् । उनीसँग १५/२० लाख रुपैयाँ हुन्छ उनीसँग व्यापार व्यवसाय गर्ने आँट, कला, अनुभव केही पनि छैन । बैंकमै राखेर त्यसबाट आउने ब्याजले घर परिवार चलाउने सोच्छन् । तर आइडिया हुँदैन खाता भनेको के हो ? कस्तोमा राख्दा कति ब्याज आउँछ भनेरसम्म थाहा हुँदैन । बैंकको कर्मचारीले मुद्दतिमा धेरै ब्याज आउने र त्यसैमा राख्ने सल्लाह दिन्छन् । उसले त्यसै गर्छन् । बदलामा तीन तीन महिनामा खाताबाट आएको ब्याजले ती वृद्ध मान्छेको आजसम्म घर परिवार चलेको छ । बंैंकको सामन्जस्यता र जनताको बैंकप्रतिको विश्वास यसको मुल आधार हो । पात्र दुईः एउटा युवा विदेश जान लाग्छन्, उसको परिवार अलि खर्चालु छ । परिवारको उसलाई त्यति विश्वास हुँदैन । वा भनौँ विदेशमा रगत पसिना बगाएर एक एक गरेर कमाएको पैसा कतै फजुल खर्च गरेर सक्ने पो हो कि भन्ने डर छ उसलाई । ऊ बैंकमा आई कसो गरुम भनेर सल्लाह माग्छन् । बैंकका कर्मचारी पनि हाँसीहाँसी मुस्कानका साथ परिवारको मासिक खर्च परिवारकै खातामा पठाउनु बाँकी पैसा आफ्नै खातामा पठाउनु र पछि विदेशवाट नेपाल आएपछि तपाईंको खाताको पैसाले तपाईंलाई व्यापार व्यवसाय जे गर्न मन लाग्छ गर्नु, बरु त्यतिखेर पैसा पुगेन भने हामी ऋण दिन्छौं भन्ने सल्लाह दिन्छन् । अनि त्यो युवा बैंकमा खाता खोली अब मैले विदेशमा कमाएको पैसा सुरक्षित हुने भो भनेर हाँसीहाँसी विदेश जान्छन् । पात्र तीनः एउटा साधारण मान्छे गरिखान्छु, आफ्नै देशमा सानो तिनो व्यापार गर्छु भन्ने सोच्छन् तर बैंकले हामी जस्तोलाई के पत्याउँदो हो भनेर डराई डराई आश मारीमारी बैंक छिछर्न् । बदलामा बैंकका मिजाशिला हसिला कर्मचारीले सजिलैसँग लोन मिलाइ दिन्छन्, पत्याउछन्, त्यतिमात्र कहाँ होर व्यापारको आइडिया पनि दिन्छन्, व्यक्तिगत लाभ रत्तिभर नलिई बरु उल्टै कालो चिया खुवाउँछन् । साधारण मान्छे बैंकको ऋणी बन्दछन् । अलि पछि नियमित ब्याज र किस्ता ऋणीले तिरेको कारणले बैंकका कर्मचारी ऋणीलाई व्यापार बढाउन सल्लाह दिन्छन् । ऋणी पनि बैंकको सहयोग पाएर हौसिन्छन् ऋण थप्छन् । व्यापार बढाउछन् । व्यापारमा सँधै एकैनासले फाइदा मात्र हुँदैन कहीले काही सावा ब्याज तिर्न अलि ढिलो हुन्छ तर बैंकर समस्या बुझ्छन् । बजारको अवस्था, कोरोनाकालको व्यापारको घाटा । त्यसैले त ब्याजमा छुट पनि पाउछन् व्यापारीहरुले बैंकबाट । पात्र चारः एउटा महिला सय कढा मासिक दुईको दरले व्यक्तिगत ऋण लिएर गाईवस्तु, खसी, कुखुरा पाल्छिन् । कुखुरा पनि राम्रै छ । गाईले पनि दुध दिइरहेको छ । बेचिरहेकी पनि छिन् । तर आर्थिक उन्नति भने भइरहेको हुँदैन । कसैले उसलाई घरै छेउको लघुवित्तमा महिला उद्यमी कर्जा सस्तो ब्याजमा ऋण लिने सल्लाह दिन्छन् । उनी खुशी हुन्छिन् र त्यसै गर्छिन् । त्यतिमात्र कहाँ हो र उनले लघुवित्त धाइरहनु पर्दैन । कर्मचारी घरमै आउँछन् । कलेक्सनमा उसलाई सजिलो भएको छ । आज उसको सस्तो ब्याजको कारणले उसको आर्थिक उन्नति पनि भएको छ । बैंक आफैमा केहि पनि होइन । बैंक भनेको त आम मानिसको हो । त्यो १५/२० लाख मुद्दतिमा राख्ने बुढो मान्छेको हो बैंक । विदेशमा रगत पसिना बगाएर एक एक गरी कमाएको पैसा जम्मा गर्ने त्यो युवाको हो बैंक । बैंकले त सानो सानो थोरै थोरै ती बुढा र युवा जस्ता लाखौंको जम्मा भएको करोडौं पैसा आफैसँग कहाँ राख्छ र उद्यम गर्छु, आफ्नै देशमा केहि गर्छु, रोजगारीको अवसर सृजना गर्छु, व्यापार व्यवसाय गर्छु भन्नेलाई निश्चित मापदण्ड र नियममा रहेर जनताको पैसा सुरक्षित हुने किसिमले बैंकले ती कुखुरा गाई पाल्ने महिलालाई लगानी गर्छ । बैंकले ती व्यापारीलाई लगानी गर्छ र लगानीबाट आएको ब्याज ती बुढा जस्ता लाखौंलाई दिन्छ । बैंकका कर्मचारीलाई तलव खुवाउँछ । सरकारलाई कर तिर्छ । त्यसपछि नाफा भयो भने लगानीकर्तालाई प्रतिफल दिन्छ । पछिल्लो समय बैंकहरुले निक्षेपकर्तालाई ११/१२ प्रतिशत व्याज दिएका छन् तर बैंकमा सेयर पुँजी लगानी गर्नेको लागि १० प्रतिशत लाभांश दिन पनि नसक्ने अवस्था छ । बैंकले जबरजस्ती कसैलाई ऋण लानु भन्दैन । र, भन्न पनि मिल्दैन । हो जनताको पैसा हो सुरक्षित गरिदिनु बैंकको कर्तव्य हो । ऋण लगेपछि सावा ब्याज तिर्नुपर्छ । जनताको पैसा हो तिरेन भने बैंकले कानुनी प्रक्रिया अपनाउँदछ । बैंक भनेको पैसा लिएर पैसा दिने हो । बैंकको आधार दर घट्दा ऋणको ब्याज पनि घट्दछ, आधार दर बढ्दा ब्याज पनि बढ्दछ । बैंक नै त हो नि जसले साइकलमा आएको ग्राहकलाई पत्याएर ऋण दिएर, आइडिया दिएर अर्बौको धनी बनाएका छन् । अहिले करोडौको कार चढ्ने भएका छन् । चन्द्र ढकाल, विनोद चौधरी, अन्जन श्रेष्ठ, शंकर अग्रवाल, देविप्रकाश भट्टचन, दुर्गा प्रसाईं जस्त ठूला व्यवसायी बनेका छन् । बैंक नहुँदो हो त उनीहरुको व्यापारमा लगानी बढ्दैनथ्यो । के अनि लाखौंले रोजगारी पाउँथे त ? जसरी जब बच्चा सानो हुन्छ उसले आफ्नो बाबालाई अनेक प्रश्नहरु सोध्न थाल्छ । बदलामा बाबाले झर्को नमानी आफ्नो सन्तानका हरेक प्रश्नको जवाफ हाँसीहाँसी दिन्छन् । बच्चाले बाबामा आड भरोसा सहयोग देख्छ । सन्तानलाई लाग्दछ मेरो बाबालाई संसारको हरेक कुरा थाहाँ छ । मेरो बाबा मलाई केहि पर्दा मेरो ढाल/कबच बनेर मेरो लागि अगाडि आउँछन् । जब सन्तान अलि ठूलो हुन्छ सन्तानलाई लाग्छ मेरो बाबालाई सबै त होइन अलि अलि थाहाँ छ । सन्तान फेरि अझ अलि ठुलो हुन्छ अनि सन्तानलाई लाग्छ मेरो बाबालाई केहि थाहा छैन । मलाई सहयोग नै गर्दैनन् बाबाले । मेरो बाबा बुढा भए केहि थाहा छैन । के नै पो गरेका छन् र मेरो लागि । तर बाबा भनेको बाबा नै हो सन्तानको जहिल्यै सुःख मात्र सोच्छन् । हो, बैंक पनि एउटा अभिभावक जस्तै हो । सम्झनुस् त तपाईं पहिलो पटक ऋण लिन बैंकमा आउँदा बैंकले कत्ति धेरै सहयोग गरेको क्षण । त्यतिखेर तपाईंलाई लाग्थ्यो बैंक अभिभावक हो । यसले सहयोग गर्यो मलाई । हो, हेर्ने नजर फरक भएको हुनुपर्छ तपाईंको आज । बैंकले त आज पनि सहयोग नै गरिरहेको छ तपाईंलाई । माया गरिरहेकै छ तपाईंलाई । हो, आज दुई चार जना भ्रमित मान्छेहरुले बैंकलाई बच्चाले बाबालाई केहि थाहाँ छैन भने जस्तै बदनाम गराई रहेका छन् । बैंकरलाई कालोमोसो दल्ने कुरा गर्दै हिडिरहेका छन् । उनीहरुलाई आज यो थाहाँ छैन कि नेपालको बैंक तथा वित्तीय संस्थामा चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खातावालाहरु छन् । उनीहरुले ५४ खर्बभन्दा धेरै रकम बैंकको विश्वासमा राखेका छन् । १८ लाखभन्दा धेरै ऋणीहरु व्यापार व्यवसाय गरिरहेका छन् । दुई चार जना भम्रित मान्छेहरुले व्यक्तिगत स्वार्थको लागि बैंकरलाई नै कालोमोसो दल्ने कुरा गर्दा के त्यो भनेको विश्वासमा राखेको करोडौं निक्षेपकर्ताको अपमान होइन । करोडौंको विश्वासको अपमान होइन । भोलि निक्षेपकर्ता भ्रमित मान्छेहरुबाट सशंकित भई सडकमा आए भने तपाईं त के राज्यले पनि थेग्न सक्दैन । यो तपाईंको कालोमोसो दल्ने प्रयास बैंकरलाई होइन बंैकरको नाममा जनतालाई नै हो । भोलि बैंकिङ क्षेत्र क्रयास भयो भने देश कहाँ पुग्छ । कालोमोसो दल्न खोज्ने ऋणीहरु समयमै संयम बन्नु राम्रो । ऋण लगेर सावा ब्याज तिर्न त तपाईंलाई यत्रो रोइलो छ, तपाईं दुई चार जना सडकमा आउँदा के के न गरे जस्तो भएको होला । भोली रगत पसिना एक एक गरेर कमाएका पैसावाला निक्षेपकर्ताहरु तपाईंकै कारणले असुरक्षित महशुस भए भने र बैंकले पनि सहजिकरणको भूमिका नगरी निक्षेपकर्तालाई तपाईंको पैसा कालोमोसो दल्न खोज्नेहरुले तिर्दिन भन्दैछन् भन्यो भने र तपाईं तिरै देखाइदियो भने त्यो मास त्यतिखेर दुर्गाप्रसाइ र तीनका अराजक समूहलाई घेर्न पुग्ने दिन आउँछ । बैंकले ऋण मिनाहा गर्नुपर्छ भनेर भनेर ऋणिहरुको आन्दोलनको नाममा अफवाह फैलाउने दुर्गा प्रसाई आफैले विभिन्न बैंकबाट ५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लिएका छन् । बैंकबाट कर्जा लिएर अस्पताल बनाएका छन् । ‘मैले अस्पताल बनाए, हजारौलाई रोजगारी दिएँ, सरकारलाई कर तिरेँ’ भनेर दावी गर्छन् । त्यहि बैंककाे पैसामा उनकाे रवाफ र पहुँच ज्ञानेन्द्र शाह, केपी वली र प्रचण्डसम्म पुगेकाे हाे । प्रचण्ड र केपीलाई खुवाएकाे मार्सी चामलकाे भात पनि बैंकबाट लिएकाे ऋण हाे । बैंककाे पैसामा बनेकाे हस्पतालमा उपचारको क्रममा मृत्यु भएको लास एक रात राखे वाफत २२ हजार पाँच सय रुपैयाँ लिदै अाएकाे छन् प्रसाइले । अनि अहिले बैंकको कर्जा तिर्दिन भन्छन् । दैनिक प्रतिव्यक्ति १ हजार रुपैयाँ बाँढेर बेरोजगारहरुलाई सडकमा भेला गराउँछन् र भाषण गर्छन्, बैंकको ऋण मिनाह हुनुपर्छ, राजतन्त्र स्थापना गर्नुपर्छ । दुर्गाको यो खेती कहिलेसम्म ? भ्रममा मान्छे कहिलेसम्म ?