विकासन्युज

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’

काठमाडौं । काठमाडौं उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई आज दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सोमबार बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो । बिहानैदेखि उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेक पोइन्ट राखिएको थियो । होलीमा कतिपयले उच्छ्रिङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागुपदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको र दर्जनौँ कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए । होहल्ला नगरी, जाँड रक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गर्दा पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको बताइएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए तथा कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाई दिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व सोमबार पहाडी जिल्लामा र आज तराईका जिल्लामा मनाइने गरिन्छ ।

दिनेश श्रेष्ठ उमेशलालको समूहबाट पुनः उपाध्यक्षमा लड्दै, नेतृत्व निर्विरोध गराउने ढकालको प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको दौडमा रहेका दिनेश श्रेष्ठ अन्ततः सो पदबाट पछि हटेका छन् । हाल महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका उनी वरिष्ठ उपाध्यक्षको रेसबाट पछि हट्दै पुनः जिल्ला नगर उपाध्यक्षको नै तयारीमा लागेका हुन् । महासंघ स्रोतका अनुसार उनी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको समूहबाट पुनः जिल्ला नगर तर्फको उपाध्यक्षका लागि उम्मेदवार बन्ने निश्चित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्षको लागि श्रेष्ठसँगै उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईको चर्चा थियो । अब श्रेष्ठ वरिष्ठ उपाध्यक्षको दौडबाट बाहिरिएसँगै उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । उनीहरुले सो पदका लागि तयारी पनि गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आजदेखि (होलीको अवसर पारेर) चुनावी क्याम्पियन पनि सुरु गरेका छन् । उनले आज आफ्नो चुनावी क्याम्पियनको सुरुवात गर्दै वर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतलाई पनि निमन्त्रणा गरेका थिए । दुवै जना उनको होली विशेषसभासँगै चुनावी क्याम्पियन कार्यक्रममा उपस्थित थिए । अब भोलिदेखि उमेशलाल श्रेष्ठसँगै उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठसँगै चुनावी प्रचारप्रसारमा जाने बुझिएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्नो टीमबाट दिनेश श्रेष्ठ जिल्ला नगरको उपाध्यक्षको उम्मेदवार बन्ने स्वीकार गरे । ‘सकेसम्म हामी सबै मिलेर जान्छौं, दिनेशजी पनि अब उपाध्यक्षमा दोहोरिनु हुन्छ, सबै साथीहरुलाई सकेसम्म निर्विरोध रुपमा अगाडि बढौं भन्ने मेरो आग्रह हो,’ श्रेष्ठले भने । उनको चुनावी अभियानमा सहभागी हुँदै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैलाई निर्विरोध रुपमा टीममा समावेश गर्ने प्रयास रहने बताएका छन् । यस विषयमा दिनेश श्रेष्ठले भने आफुले साथीहरुले भनेको पदमा बस्न तयार रहेको बताए । ‘म निजी क्षेत्रको भलो चाहन्छु, पद भन्ने विषय मेरो लागि गौण हो, अहिले सबैसँग कुरा भइरहेको छ, कुन टिमभन्दा पनि सबैले मिलेर अगाडि बढ्ने हो,’ उनले विकासन्युजसँग भने । महासंघमा अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिँदैछ । महासंघले चैत २८ गते महाधिवेशनको मिति तोकेको छ । निर्वाचनपछि महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बन्दैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको बैधानिक व्यवस्था छ । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एशोसिएट समूहबाट उपाध्यक्षमा शाहिल अग्रवाल, वस्तुगत समूहबाट उपाध्यक्ष मनिषलाल प्रधान उम्मेद्वार बन्ने चर्चा छ । यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियततर्फको उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगत समूहको उपाध्यक्ष पदमा हेमराज ढकाल उम्मेद्वार बन्ने बताइएको छ । रामचन्द्रको समूहबाट भने पदाधिकारीका उम्मेद्वारबारे अहिलेसम्म प्रारम्भिक खाका आएको छैन । जिल्ला उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले पनि आकांक्षा राखेका छन् ।

युएईलाई नेपालले ४२ रनले हरायो

काठमाडौं ।घरेलु टोली यूएईमाथि नेपालले ४२ रनको जित निकालेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

कतारकी राजकुमारी अल्थानी हिमाल चढ्न म्याग्दीमा

काठमाडौं । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आएकी छन् । ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा ९निम्स० अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन् । ‘हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,’ पुर्जाले भने, ‘बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।’ यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छिन् । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् । नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हो।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए। ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ । समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।रासस

तत्काल सकिन्छ कर्जाको ब्याज १०.६० प्रतिशतमा झार्न, सेयरधनीलाई पनि १२ प्रतिशत लाभांश

हरेक बैंकहरुले बेसरेट (आधारदर) मा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको व्याजदर निर्धारण गर्छन् । हाल बैंकहरुको औषत व्याजदर १४.२५ प्रतिशत छ । बैंकहरुको बेसरेट औषतमा १०.७५ प्रतिशत छ भने बैंकहरुले औषतमा ३.५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन् । ढेड वर्ष पहिले २०७८ असार मसान्तमा बैंकहरुको बेस रेट औषतमा ७.७५, औषत प्रिमियम ३ प्रतिशत र कर्जाको औषत व्याज १०.७५ प्रतिशत थियो । यहाँ बुझ्नु पर्ने राष्ट्र बैंकले सेट गरेका शुत्र अनुसार कर्जाको व्याज ३ प्रतिशतले बढेको छ र बैंकहरुको तर्फबाट शून्य दशमलव ५ प्रतिशत व्याज वृद्धि भएको छ । बिन्दुगत आधारमा ३.५ अंकले व्याजदर बढेको छ तर प्रतिशतका आधारमा ३२.५५ प्रतिशतले व्याज वृद्धि भएको छ । बैंकहरुको ठूला, नियमित र विश्वाशिला ऋणीलाई बेसरेटमा शून्य दशमलग २५ प्रतिशत मात्र प्रिमियम लिएर कर्जा प्रवाह गरेका हुन्छन् भने नयाँ ऋणी, उच्च जोखिमपूर्ण व्यवसाय, सरकारले निरुत्साहित गरेको व्यवसाय छ भने बेसरेटमा ८ प्रतिशतसम्म प्रिमियम लगाएका हुन्छन् । त्यसैले अहिले पनि कुनै ऋणीले १० प्रतिशत ब्याजमा कर्जा पाइरहेका छन् भने केहीले १८ प्रतिशतसम्म ब्याज तिर्नु परेको छ । राष्ट्र बैंकले दिएको शुत्रका आधारमा बैंकको व्याजदर वृद्धि भएको छ । बैंकहरु आफैले तजविजी अधिकारीका आधारमा ब्याजदर वृद्धि भएको छैन । बैंकहरुले प्रिमियममा शूल्य दशमलव ५ प्रतिशत मात्र वृद्धि गरेका छन् । अहिले वाणिज्य बैंकहरुमा औषतमा प्रिमियम दर ३ देखि ३.५ प्रतिशत छ, जुन २०८० को असार मसान्तभित्र २.५ प्रतिशतमा झानुपर्ने हुन्छ, नेपाल राष्ट्र बैंकको नियम अनुसार । राष्ट्र बैंकले २०८० असारभित्र स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्ने गरी बैंकहरुलाई परिपत्र गरिसकेको छ । तसर्थ आगामी बैंशाखदेखि नै बैंकहरुले ऋणको व्याजदर घटाउन थाल्नेछन् । निक्षेपको लागत, सीआआर र एसएलआर लागत, बैंकको सञ्चालन खर्च जोडेर बेसरेट निर्धारण हुन्छ । अहिले बैंकहरुले निक्षेपकर्तासँग लिएको पैसाको लागत ८.६५ प्रतिशत रहेको छ । सीआरआर (नगद मौज्जाद अनुपात) र एसएलआर लागत क्रमशः ०.३५ प्रतिशत र ०.२५ प्रतिशत रहेको छ । बैंकको कर्मचारी खर्च तथा सञ्चालन खर्च औषतमा १.५० प्रतिशत रहेको छ । यस आधारमा बैंकहरुको बेसरेट औषतमा १०.७५ प्रतिशत भएको हो । बेसरेट घटाउने तरिका निक्षेपका लागत औषतमा ८.६५ प्रतिशत छ । बैकिङ क्षेत्रमा कुल निक्षेप करिव ५५ खर्ब पुग्दैछ । त्यसको ६० देखि ७० प्रतिशत निक्षेप मुद्दति खातामा छ । त्यसमा संस्थागत निक्षेपकर्ताको हिस्सा करिव ५५ प्रतिशत र व्यक्तिगत निक्षेपकर्ताको पैसा करिव ४५ प्रतिशत रहेको छ । व्यक्तिगत निक्षेप करिव २५ खर्ब छ, जसको ब्याज मुद्दतिमा ११ प्रतिशत तोकेका छन् बैंकहरुले । संस्थागत निक्षेप करिव ३० खर्ब छ, जसको ब्याज बैंकहरुले करिव ९ प्रतिशत तोकेका छन् । राष्ट्र बैंकले नै व्यक्तिगत निक्षेपभन्दा संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले कम हुनुपर्ने नियय बनाएको छ । संस्थागत निक्षेपकर्ता कि सरकारी निकाय छन्, कि सरकार संलग्न निकाय छन् कि पब्लिक लिमिटेड कम्पनीहरु छन् । सबैभन्दा ठूलो निक्षेपकर्ता नेपाल राष्ट्र बैंक नै हो । त्यसपछि कर्मचारी संचयकोष, नागरिक लगानी कोष, आर्मी र पुलिसका कोषहरु, दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, विद्युत प्राधिकरण, नेपाल आयल निगम, सडक बोर्ड, बीमा प्राधिकरण, बीमा कम्पनीहरु, निक्षेप तथा कर्जा सुरक्षण निगम नै संस्थागत निक्षेपकर्ता हुन् । यी संस्थाहरुले किन लगानी गर्दैन ? किन निक्षेप बैंकमा राखेर व्याज खान्छन् ? विगत दुई वर्षयता मुद्रास्फिति ७ प्रतिशतभन्दा कम छ तर संस्थागत निक्षेपकर्ताहरुले ९ देखि १० प्रतिशत व्याज पाइरहेको छन् । जोखिमपूर्ण लगानी गर्नुभन्दा बैंकमा पैसा राखेर उच्चदरको कमाई गर्न उनीहरु पल्केका छन् । अब राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको व्याज व्यक्तिगत निक्षेपकर्ताका भन्दा आधा कम गर्नुपर्छ । यसो गर्दा संस्थागत निक्षेपकर्ताको व्याज ५ वा ६ प्रतिशत भन्दा कम हुन्छ । व्यक्तिगत निक्षेपकर्ताले ११ प्रतिशत व्याज पाउँदा संस्थागत निक्षेपकर्ताले ५ प्रतिशत मात्र व्याज पाउने हो भने बैंकिङ क्षेत्रको निक्षेपको लागत ८.३५ प्रतिशतबाट घटेर ६.२५ प्रतिशत हुनेछ । बैंकहरुले कुल निक्षेपको ४ प्रतिशत अर्थात २ खर्ब २० अर्ब नेपाल राष्ट्र बैंकमा नगद मौज्दात राख्नै पर्छ, जसलाई बैंकहरुले आययोग्य क्षेत्रमा लगानी गर्न पाउँदैनन् । यसको लागत ०.३५ प्रतिशत पर्छ । बैंकहरुको बेसरेट घटाउनको लागि राष्ट्र बैंकले सीआरआरलाई २ प्रतिशतमा झार्न सक्छ । त्यसले बैंकहरुको बेसरेटको लागत ०.२० प्रतिशतमा झार्छ । एसएलआरको लागत पनि ०.२५ बाट ०.१५ प्रतिशतमा झार्न सकिन्छ । सेयरधनीलाई १२ प्रतिशत लाभांश माथि उल्लेख भए अनुसार निक्षेपको लागत ८.६५, सीआरआरको लागत ०.३५ र एसएलआरको लागत ०.२५ प्रतिशतबाट क्रमशः ६.२५, ०.२० र ०.१५ प्रतिशतमा झार्न सकिन्छ । बैंकको कर्मचारी लगात र सञ्चालन खर्च भने कम गर्न सकिदैन । कर्मचारीको तलव वा सञ्चालन खर्च कम नगरीकन पनि बैंकहरुको औषत बेसरेट १०.७५ प्रतिशतबाट ८.१० प्रतिशतमा झार्न सकिन्छ । अहिलेको भन्दा २.६५ प्रतिशत विन्दुले अर्थात २४.६५ प्रतिशतले झार्न सकिन्छ । यसरी बेस रेटलाई ८.१० प्रतिशतमा झार्न सकिन्छ भने स्प्रेडदर ४.४ बाट ४ प्रतिशतमा झर्नु पर्ने नियमको कार्यान्वयसँग प्रिमियम दर २.५ प्रतिशत मात्र लाग्छ । यस अवस्थामा कर्जाको व्याज दर औषतमा १०.६ प्रतिशतमा झर्नेछ । यस अवस्थामा व्याज खाएर बसिरहेका संस्थागत निक्षेपकर्ताले लगानीका अन्य क्षेत्रको खोजी गर्नेछन् । त्यसले रोजगारी वृद्धिदेखि उत्पादन वृद्धिसम्ममा सकारात्मक योगदान गर्नेछ । दोस्रो, पब्लिक निक्षेपकर्ताको व्याजदर नघटाईकन बैंकहरुले कर्जाको व्याज घटाउन सफल हुनेछन् । यस अवस्थामा निक्षेकर्ताले पाउने व्याजभन्दा बैंकका सेयरधनीले पाउने लाभांश पनि १÷२ प्रतिशत विन्दुले बढी हुनेछ । यसले बैंकप्रतिको आरोप र आक्रोस कम गर्दै लैजान्छ । (सरोज आचार्यको तथ्यांक विश्लेषणमा आधारित)

बेलायतमा आप्रवासी शरणका लागि निवेदन दिन नपाइने

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् । बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरेका छन् । सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने अपेक्षा गरिएको फक्स न्युजले उल्लेख गरेको छ। ‘अवैध आप्रवासन बेलायती करदाताहरूका लागि उचित छैन, कानुनी रूपमा यहाँ आउनेहरूका लागि यो उचित छैन र अपराधी गिरोहहरूलाई उनीहरूको अनैतिक गतिविधि जारी राख्न दिनु उचित होइन। म अवैध आप्रवासीका डुङ्गाहरू रोक्ने मेरो वाचा पूरा गर्न कटिबद्ध छु’, उनले भने। बेलायतमा गैरकानुनी आप्रवासीहरूलाई सीमा पार गरेपछि त्यहाँ शरण लिनका लागि दाबी गर्न अनुमति दिने कानुन छ। सामान्यतया, आप्रवासीहरूलाई उनीहरूको मुद्दा चलिरहेको बेलामा बस्न अनुमति दिइन्छ तर नयाँ कानुनले त्यस्ता आप्रवासीहरूलाई शरण दाबी गर्नबाट रोक्ने बताइएको छ । लामो समयदेखि फ्रान्सबाट जोखिमपूर्ण बाटो भएर बेलाइत पुग्ने शरणार्थीहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

झापामा छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

फाइल तस्बिर झापा । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । ‘धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती सुरु गरेका छौं’, उनले भने, ‘परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ ।’ अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उनको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाइएको छ । यो प्रविधिबाट खेत हिल्याएर ‘ड्रम सिडर’ मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताए । अहिले परीक्षण खेतीमा धान उम्रिसकेको जनाइएको छ ।

होली मनाउन शुरु, काठमाडौं वसन्तपुरको फोटो फिचर

नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ । तस्बिर : रासस ।