विकासन्युज

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच स्मार्ट क्यूआर भुक्तानीको लागि सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सक्नेछन् । यसैगरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा वित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस्तै, बैंकका ग्राहकले एससीटी युपीआइ डेबिट कार्डको सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् । स्मार्टच्वाईस टेक्नोलोजिज र बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको बैंकले जनाएकाे छ।  

साधना लघुवित्तद्धारा सदस्य सुविधा तथा राहत वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था शाखा कार्यालय अक्षते बाग्लुङ्गद्धारा आज एक कार्यक्रमबिच सदस्य सुविधा तथा राहत विवरण कार्यक्रम सम्पन्न भएको छ । साधना लघुवित्त वित्तिय संस्थामा गठित केन्द्र न. ०४७ काठेखोला गाउपालिका वडा न. १ करिनामा आवद्ध सदस्य रण बहादुर थापामगर को मिति २०७९/ ०३ /०३ अल्पायुमै मृत्यु पश्चात् संस्थाको तर्फबाट निजको इच्छाएको व्यक्ति निजकी धर्मपत्नी देवी थापामगरलाई आज एक कार्यक्रम बिच समुहका सदस्य, काठेखोला गाँउपालिका वडा न १ का अध्यक्ष खड्क बहादुर थापा र संस्थाका प्रतिनिधिहरुको उपस्थिितीमा नगद २,४०,०४७ .५५ रुपेयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा काठेखोला गाउपालिका वडा न. १ का अध्यक्ष खड्क बहादुर थापाले आफ्नो भनाई राख्दै संस्थाले ग्राहकको हितमा पुयाएको योग्दानको चर्चा गर्दै संस्थालाई धन्यवाद ज्ञापन गदै सदस्यहरुले कर्जा लिई पुर्णरुपमा व्यवसाहिक काममा प्रयोग गरी कर्जा अनुशासन तथा कर्जाको गुणस्थर सुधार गर्नुपर्ने र कर्जाको किस्ता नियमित गर्न कर्जालाई पुर्ण सदुपयोगितामा सदस्यहरुले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा शाखाका प्रमुख जनक राज पन्तले संस्थागत परिचयसंगै संस्थाले हाल प्रदान गरीरहेका सेवा, सुविधा बारे जानकारी गदै साधना लघुवित्तले आर्थिक विकास र संमृद्धिमा संस्थाले चालेका काम र योजनाबारे धारणा व्यक्त गरे । संस्थाले मुख्य रुपमा बचत, कर्जा, बिमा, रेमिटेन्स सुविधा तालिम एवम् सदस्यहरुको व्यवसायमा टेवा पुयाउनुको लागी समय समयमा सिपमुलक व्यवसाहिक तालिम आदि संचालन गरीरहेको र सोको माध्यमबाट सदस्यहरुको व्यवसाय दिगो र सफलतामा टेवा पुग्ने धारणा व्यक्त गरे । साधना लघुवित्तले सदस्यहरुको माग र चाहना अनुसार समय सापेक्ष सेवासुविधा ल्याएको र ग्राहकहरुको सुरक्षाका लागी विशेष ध्यान दिएको समेत बताए । कार्यक्रमको सन्चालन शाखाका कनिष्ठ सहायक चन्द्र प्रकाश उपाध्यायले गरेका थिए । निज थापा संस्थाको केन्द्र न. ०४७ मा विगत २०७५/१२/१८ गते देखि आबद्ध रही व्यवसाहिक रुपमा कारोवार गरी बचत तथा कर्जा उपभोग गरी रहेका थिए । बिमा मार्फत्को उक्त रकमले थोरै भएपनि पिडामा मलम पट्टीको रुपमा काम गर्ने धारणा राखे । साधना लघुवित्त कम्पनी रजिष्टारको कार्यालयमा मिति २०७३/०२/३१ मा कम्पनी ऐन २०६३ अनुसार दर्ता भई विगत २०७४ /०७/२२ देखि केन्द्रीय कार्यालय गोरखा जिल्लाको हरमटारीमा राखी देशभरि ९३ वटा शाखा सन्जालं सहित ३१ जिल्लामा समृद्धिमा संगसगै भन्ने मुलनारा सहीत आफ्नो कारोबारलाई बिस्तार गरेको छ । साधना लघुवित्त वित्तिय संस्था छोटो समयमै करिव ९० हजार ग्राहक सदस्यहरुसंग जोडिएर लगानी बचत, बिमा र रेमिटेन्सको माध्यमवाट सेवा प्रदान गरिरहेको छ ।  

अब सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको नि:शुल्क उपचार गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन । प्रधानमन्त्रीले भने, “यसैगरी सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ।” उनले करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताए ।

९ जिल्लाको कमाण्ड सम्हालेका महिला सीडीओ

काठमाडौं । पछिल्लो समय नौ जिल्लाको कमाण्ड महिला कर्मचारीको हातमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ जिल्लामध्ये ९ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मा दिएको हो । सरकारले एकैपटिक ९ जिल्लाको नेतृत्व महिलालाई दिएको यो नै पहिलो हो । हालसम्म महिलालाई न्यून मात्रामा सिडीओको जिम्मा दिइएकोमा पछिल्लो पटक बढ्न थालेको हो । गृह मन्त्रालयका अनुसार ९ जना महिला सिडीओ मध्येमा चार जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिलालाई खटाइएको हो । सुनसुरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा पठाइएकी कल्पना श्रेष्ठ सह-सचिव हुन् । यस्तै, गोमादेवी चेम्जोङ ताप्लेजुङ, लीला केसी पाण्डे धनकुटा, प्रदर्शनी कुमारी ओखलढुंगा, सुप्रभा खनाल ढुंगेल मनाङ र अर्घाखाँचीमा पठाइएकी मीना अर्याल उप-सचिव हुन् । रसुवाको प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अगाडि हुमकला पाण्डे भक्तपुर र काभ्रेको प्रमुख जिल्ला भैसकेकि छन् । यस्तै, ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अगाडि गोमादेवी चेम्जोङ भोजपुर र सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी भैसकेकी छन् । यस्तै, धनकुटाको प्रमुख जिल्ला अधिकारी यसअघि नै रामेछाप र सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी प्युठानको प्रमुख जिल्ला अधिकारी भैसकेकी छन् । हाल महिला सिडीयो रहेका ९ जिल्लामध्ये ८ जिल्लाले पहिलो पटक महिला सिडिओ पाएको हो । गृह मन्त्रालयले ताप्लेजुङ, धनकुटा, मनाङ, सुनसरी, सिन्धुली, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा र डोटीमा पहिलोपटक महिला सीडीओ खटाइएको जनाएको छ । एकैपटक ९ जना महिला सहसचिव र उपसचिवले पहिलोपटक जिल्लाको कमाण्ड सम्हाल्ने मौका दिइएको भन्दै मापदण्ड पुगेका र सक्षम महिलालाई सिडीओ बनाइने गृहले जनाएको छ । शाखा अधिकृतबाट जागिरे जिवन सुरु गरेकी होमकला पाण्डे भक्तपुर र काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी भैसकेकी छन् । यसअघि दुई जिल्लामा एक/एक वर्ष सिडीओका रुपमा काम गरिसकेको अनुभव लिइसकेकी उनलाई सरकारले गत माघ २६ गते सुनसुरी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सिफारिस गरेको हो । उनी सुनसुरी गएपछि पहिलो पटक सुनसुरीले महिला सिडीओ पाएको छ । ‘म भन्दा अगाडि ४७ जना पुरुष सिडीयो भैसक्नुभएको रहेछ, म सुनसुरी जिल्लाको ४८ औं सिडीओको रुपमा पहिलो महिला सिडीओ भएर आएको छु’, उनले भनिन्, ‘हामी नीतितगत रुपमा काम गर्ने हो, जहाँ गएपनि काम गर्ने हो, अरु जिल्लाको अनुभवका कारण अहिलेसम्म अप्ठ्यारो भएको छैन ।’ सिडीओ हुनुभन्दा अगाडि अख्तियार दुरुपयोेग अनुसन्धान आयोग लगायतका प्रशासनिक निकायका कार्यालयमा काम गरेको अनुभव भएको उनले बताइन् । १७ वर्ष अघि शाखा अधिकृत पदबाट लोकसेवा क्षेत्रमा प्रवेश गरेकी उनी हाल सह-सचिव हुन् । सह-सचिव भएको ५ वर्ष पूरा भैसकेको उनले बताइन् । आफूले अवसरको रुपमा प्रमुख जिल्ला अधिकारीको पदलाई लिएको भन्दै कुनै असहज महसुल नभएकोे उनी बताउँछिन् । यस्तै, नेपाल सरकारको सहसचिव कल्पना पाण्डेलाई सरकारले गत असार ६ गते डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सिफारिस गरेको हो । वि.स. २०६२ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेकी उनलाई सरकारले पहिलो पटक प्रमुख जिल्ला अधिकारीका रुपमा सिफारिस गरेकोे हो । सरकारले उनलाई डोटीको सिडीओका रुपमा सिफारिस गरेसँगै डोटीले समेत पहिलो पहिलो पटक महिला सिडीओ पाएको हो । उनी भन्दा अगाडि ४५ जना पुरुष सिडीओ भैसकेका थिए । डोटी जानुभन्दा अगाडि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिइन् । पहिलो पटक सिडीओ हुँदा खुशी लागेको भन्दै उनले आफूलाई दिइएको जिम्मेवारी निर्वाह गरेको बताइन् । ‘प्रमुख जिल्ला अधिकारी भनेको हाम्रो जिम्मेवारी हो, हामीलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ, यसमा महिलाहुँदा असहज हुने र पुरुषहुँदा सहज हुने भन्ने हुँदैन, महिला भएपनि पुरुष भएपनि तोकिएको जिम्मेवारी पूरा गर्न पर्छ, तोकिएको जिम्मेवारीलाई कुन रुपमा लिने त्यो स्वयमा भर पर्छ’, उनले भनिन् ।

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो, मनग्य आम्दानी

रामपुर । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छिन् । बीउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा लगाएको आलु खन्ने र स्याहार्ने कार्य गरिरहेको बताउँछन् । ‘आलु सोचेभन्दा धेरै राम्रो उत्पादन भइरहेको छ, बिक्री गरेपछि तत्काल पैसा बुझ्न पाइने हुदा व्यावसायिक उत्पादनमा जोड दिएको छु, खेतभरि लगाएका आलु फलेको देख्दा रमाइलो लागिरहेको छ’, उनले भनिन् । उनले करिब साढे छ क्विन्टल सेरिटा, खुमल, उज्जवल जातको आलु लगाएकी छिन् । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्छिन् । आलु खेतीबाटै उनको परिवारको जीविका चलेको छ । ‘आलु लगाउन थालेपछि घरायसी व्यवहार चलाउन सहज भएको छ’, उनले भनिन्, ‘राम्रो मलजल र उन्नत जातको बीउ प्रयोगले उत्पादन राम्रो भइरहेको छ, यस व्यवसायबाट सन्तुष्ट छु ।’ यसै व्यवसायबाट दुई छोरालाई सहरमा कोठा भाडामा राखेर पढाइरहेकी छिन् । छोराको उज्वल भविष्यका लागि विगत सात वर्षदेखि आलु खेतीलाई व्यावसायिक उत्पादनमा जोड दिइरहेकी छिन् । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजार समस्याकै पिरलो हुने गरे पनि अहिले भने सो समस्या छैन । यो वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । अघिल्ला वर्षमा उनले आलु खनेर सिधै भैरहवाको शीतभण्डारमा लगेर राख्नथिन् । बीउ आलु भएकाले रोप्ने बेलामा महँगो मूल्यमा रामपुरमा ल्याएर बिक्री गरे तापनि यस पटक भने खायनका लागि खनेर सकिएपछि तत्काल बिक्री गर्ने उनी बताउँछिन् । खनेको आलु भण्डारण गरी रोप्ने बेला बीउ बिक्री गर्दा अघिल्ला वर्षमा पाँच/छ लाख रुपैयाँ कमाइ गर्थिन् । रामपुर–६ की सीता भण्डारीले यस वर्ष १२ क्विण्टल आलु उत्पादन गरेकी छिन् । खायन आलु उत्पादन गर्ने देवकोटा बर्सेनि उत्पादन राम्रो भएपछि व्यावसायिक उत्पादनमा हौसला बढेको बताउँछिन् । उत्पादित आलु गत वर्षदेखि चिप्स उत्पादक कम्पनीलाई बिक्री गर्दै आएकी छिन् । अहिले पनि चिप्सकै लागि बिक्री गर्ने तयारीमा रहेको उनी बताउँछिन् । ‘चिप्स बनाउने कम्पनीसँग समन्वय गरेर गत वर्षदेखि नै बिक्री गरिरहेका छौँ, आलु बिकेन भन्ने पिरलो भएन, बिक्री गर्ने बित्तिकै हातमा पैसा परिहाल्ने, शीतभण्डारमा राख्ने खर्च, त्यहाँसम्म लैजाने ल्याउने यातायात ढुवानीमा खर्चनुपरेन’, उनले भनिन् । बिक्रीका लागि उनले हरेक वर्ष तीन रोपनी जग्गा छुट्टाएर आलु खेती गरिरहेकी छिन् । व्यावसायिक उत्पादन थालेपछि आर्थिक क्षेत्रमा बलियो बन्दै गएको उनको अनुभव छ । फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले यस वर्ष खायन आलु उत्पादन कार्यक्रम सुरु गरेपछि किसानको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन् । कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बीउ खरिद गरेर खेती गरेका छन् । ‘आलुको लागि यो क्षेत्र उपयुक्त रहेकाले नगरपालिकाबाट उत्पादनमा जोड दिएर विभिन्न कार्यक्रम गरिरहेका छौँ, व्यावसायिक उत्पादन गर्ने यहाँका किसानले आलुबाट राम्रो आयस्रोत लिन सफल हुनुभएको छ’, कृषि शाखा प्रमुख पाण्डेय भने । रामपुरमा धेरै उत्पादन हुने आलु खेतीलाई व्यवसायीकरण गरी यसैबाट आर्थिकस्तर उकास्न आलु लगाउन किसानलाई उत्प्रेरित गर्दै बीउ अनुदान सहयोगका कार्यक्रम गरिरहेको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापाले बताए । उत्पादित आलुलाई रामपुरमै सुरक्षित भण्डारणका लागि नगरले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगर प्रमुख थापाले बताए । ‘ठूलो परिमाणमा उत्पादन गर्ने कृषिउपजलाई नगरले बजारीकरणको व्यवस्थापन गर्नेछ, उत्पादनमा किसानले जोड दिएर काम गर्नुप¥यो, विभिन्न अनुदानका कार्यक्रम पनि नगरले सहयोग गर्नेछ’, नगर प्रमुख थापाले भने । यस वर्ष हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरिएको हो । यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । स्थानीयस्तरमा नै शित भण्डार बनेपछि किसानलाई भण्डारण गर्न सजिलो र अर्कोतर्फ उत्पादित आलुबाट आम्दानीको स्रोत राम्रो बनेपछि यस व्यवसायबाट आर्थिक समृद्धितर्फ किसान अगाडि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताए । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र यस वर्ष करिब चार सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ । रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ । पछिल्ला वर्षमा रामपुरमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ । छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ । रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि सवारी साधनमा पठाउन सजिलो भएको छ । रासस

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको तयारी

विराटनगर । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ । मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई सो चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गाप्रसाद चापागाईंले पुँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न आग्रह गरे । उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीव्रता बढाउनुपर्छ भने । उनले भने,’काम गर्ने जिम्मा तपाईंहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौँ । तर, सम्झौताअनुसार काम गर्ने त फेरि पनि तपाईंहरुकै हो । मन्त्री भएर मन्त्रिपरिषद् बैठकमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।’ सचिव मोहनराज चापागाईंले विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । उनले भने, ‘मैले अघिल्लो आर्थिक वर्षमा १०० भन्दा बढी आयोजनाको समयावधि थप गरे, अहिले भने केही फायल रोकिएको छ, म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी प¥यो भनेको छ । यो त जहिल्यै आउने कुरा हो नि ।’ रासस

जहाज देखेर पाइलट बन्ने सपना बुनेकी आङपेमीको आकाश यात्रा

काठमाडौं । सबै आमाबुवाको चाहना हुन्छ, आफ्ना सन्तानले प्रगति गरुन् । समाजमा प्रतिष्ठित पेशा अपनाउन् । नाम र दाम दुबै कमाउन् । त्यसैले त बालबालिका तथा छोराछोरीलाई आशीर्वाद दिँदा भन्ने गरिन्छ डाक्टर, इन्जिनियर, पाइलट बन्नु । तर, लुक्लाकी आङपेमी शेर्पाको जीवन भने फरक किसिमले उनको पाइलट बन्ने सपना पुरा भयाे । ३३ वर्ष अगाडि अर्थात् वि.स २०४६ सालमा काठमाडौंमा जन्मिएकी शेर्पाको घर तेञ्जिङ हिलारी विमानस्थलको छेउमै पर्छ । काठमाडौंमा जन्मिएर काठमाडौंमै हुर्किए पनि आङपेमीका बुबाआमा भने लुक्लामा नै होटल चलाउँथे । विदाको समयमा लुक्ला जाँदा तेञ्जिङ हिलारी विमानस्थलमा उड्ने जहाज देख्दा उनलाई लाग्थ्यो, ठूलोे भएपछि जहाज उडाउन पाए । बाल्यकालमा जहाज उडाउने सपना बुनेकी उनले ठूलो भएपछि त्यो सपनालाई पूरा गर्न तल्लीन भइन् । १२ कक्षाको पढाई पूरा गरेर उनी परिवारका सदस्यको सल्लाहमा पाइलट कोर्स पढ्नका लागि साउथ अफ्रिका गइन् । ‘परिवारका सबै सदस्य लुक्लामा नै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो तर मलाई पर्यटन क्षेत्रभन्दा एभिएसन क्षेत्र मन पर्याे, मेरो सानैदेखिको जहाज उडाउने सपना ठूलो भएपछि पूरा गर्ने अठोट लिएँ र आमालाई सुनाएँ’, उनले विगत स्मरण गर्दै भनिन्, ‘सानैदेखि नै मैले जहाज उडाउँछुु भनेको सुनेर मेरो बुबाआमा र दाई दिदीले हुँदैन भन्नुभएन, मेरो सोच अनुसार नै १२ कक्षा पूरा गरेर पाइटल पढ्न म साउथ अर्फिका गएँ ।’ उनले सन् २०१३ मा पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएको बताउँछिन् । ९ महिनादेखि डेढ वर्ष लाग्ने कोर्ष उनले दुई वर्षमा पुरा गरिन् । सानैदेखि चन्चले स्वभावकी उनी घुम्दै बस्दा कोर्ष पूरा गर्न २ वर्ष लागेको बताउँछिन् । सन् २०१३ मा नेपाल फर्किएकी उनले जागिर पाउन साढे ३ वर्ष पर्खर्नु पर्याे । ‘अध्ययनको क्रममा घुम्दै पढ्दा कोर्ष सकिन २ वर्ष लाग्यो, पढाई पूरा गरेर नेपाल फर्किए पनि साढे ३ वर्ष बेरोजगार बसे, उनले सुनाइन, ‘मेलै सबै एयरलाइन्स कम्पनीमा जागिरका लागि अप्पलाइ गरेँ, तर कुनैमा पनि खाली नभएपछि बेरोजगार बसेँ ।’ ‘हामी पढ्न जाने बेला कन्सल्टेन्सी पढेर आएपछि जागिर पाइहाल्छ भनेको थियो, तर मलाई पढ्दा नै नेपाल गएपछि तत्काल जागिर पाइँदैन भन्ने जानकारी थियो, उनले भनिन्, ‘साउथ अफ्रिकामा म पढेकै कलेजमा १६ जना नेपाली थियौँ, यता आएपछि जागिर नपाइने भनेर अधिकांश साथीहरु उतै बसे तर म नेपाल फर्किएँ ।’ उनले साढे ३ वर्षको समयमा इन्टेरियर डिजाइनको डिप्लोमा कोर्स पूरा गरिन् । खाली समयमा आफ्नो रोजाइ अनुसार डिजाइनको कोर्स पूरा गरेपछि यति एयरबाट जागिरको अफर आएको सुनाउँछिन् । ‘खाली समयमा यत्तिकै बस्नुभन्दा डिजाइनको कोर्स गरौं भनेर डिप्लोेमा कोर्स पूरा गरेँ, त्यही समय यतीबाट जागिरको अफर आयो, त्षसैले डिजाइनका लागि फिल्डमा जान पाइनँ,’ उनले भनिन । पढाई सकेर आएको साढे ३ वर्षपछि सन् २०१६ को अप्रिलदेखि यति एयरलाइन्समा आवद्ध भएकी उनी जेटस्टीम जहाज हुँदै एटिआर जहाजको क्यापटेन भएकी छन् । सुरुवाती चरणमा यती एयरलाइन्सले सञ्चालन गरेको जेटस्टिम जहाजको कोपाइलट बनेकी शेर्पा सन् २०१९ मा एटिआर जहाजमा कोपाइटल बनेको बताउँछिन् । यतीले सञ्चालन गरेको ७२ सिट क्षमताको एटीआर जहाजको कोपाइल हुँदै उनी हाल एटीआर जहाजकै क्याप्टेन छिन् । जहाज उडाउन थालेको ७ वर्ष भयो । तर, सन् २०२२ देखि उनी क्यापटेन बनेकी हुन् । पर्यटन क्षेत्रमा रमेको परिवारबाट एभियसन सेक्टरमा छिरेकी शेर्पा आफूमात्र नभएर छोरीलाई पनि यति क्षेत्रमा ल्याउन लागेको बताउँछिन् । ‘मेरो परिवारमा एभिएसन क्षेत्रमा म मात्र आवद्ध थिएँ, महिलाका लागि राम्रो अवसरको क्षेत्र भएपछि मैले मेरो दिदीको छोरीलाई पनि ल्याउन लागेको छु, उनी हाल पाइलट कोर्ष अध्ययनका लागि साउथ अर्फिकामा छिन्’, उनले भनिन् । ७ वर्षको अवधिमा ४६ सय घण्टा आकाशमा उडान भरिसकेकी उनलाई अब एटीआर जहाजको प्रशिक्षक पाइलट बन्ने चाहना छ । ट्रंक रुटमा महिला क्यापटेन भएकै कारण अहिलेसम्म कुनै दुःख नपाएको बताउँछिन् । हामीहरु उडान गर्ने अहिले ट्रंक रुट हो, अहिलेसम्म महिला र पुरुष पाइटल भनेर कुनै भेदभाव नभएको उनी बताउँछिन् । ‘महिला भएर गाह्रो हुन्छ भन्ने गरिन्छ, तर एभियसन सेक्टरमा महिला पुरुष दुबै बराबर हो, केही गाह्रो हुँदैन्, आँट गर्याे भने गर्न सकिन्छ, नयाँ आउन चाहने महिलाहरु ढुक्क भएर आउन सक्नुहुन्छ, उनले भनिन ।’ बेला–बेलामा हुने हवाई दुर्घटनाका कारण पेशा नै छोड्न परिवारबाट अहिलेसम्म कुनै दबाब नभएको बताउँछिन् । ‘सडकमा पनि दुर्घटना हुन्छ, दुर्घटना भयो भन्दैमा हामी गाडी नै नचली बस्न सकिँदैन, हवाई दुर्घटना पनि यस्तै हो, मेरो परिवारबाट अहिलेसम्म कुनै दबाब आएको छैन्’, उनले भनिन । विगतदेखि वर्तमानसम्म समाजमा प्रतिष्ठित पेशा हो पाइलट । त्यसमा पनि महिलाका लागि पाइलट हुनु सान, मान र प्रतिष्ठा सँगसँगै जोडिएको हुन्छ । नेपाली समाजमा महिला पाइलट पेशामा स्थापित हुन जति गाह्रो छ, त्यसमा टिकि राख्न चुनौती पनि त्यति नै धेरै छ । तर, विविध बाधा, व्यवधान र चुनौतीलाई पन्छ्याउँदै विगत ७ वर्षदेखि ककपिटलाई साथी बनाउँदै आएकी छन् आङपेमी । निलो आकाशमाथि उडान गर्दै सयौं यात्रीको यात्रा सफल बनाउने जिम्मेवारी छ उनको हातमा । ७२ सिटे जहाजमा रहेका सबै यात्रुको जीवन उनको हातमा छ । ड्याफोडिल पब्लिक स्कूलमा १० कक्षासम्म पढेकी उनले युनाइटेड एकेडेमीमा फिजिक्स र गणित लिएर कक्षा १२ पढेकी हुन् । स्कूल तथा कलेज लेभलमा अध्ययन गरेका साथीमध्ये आफूमात्र एभिएसन क्षेत्रमा आवद्ध भएको उनी बताउँछिन् । ‘एभिएसन क्षेत्रमा मेरो साथीहरु कोही पनि छैनन्, तिमी यो क्षेत्रमा लागेर धेरै राम्रो गर्याैं भन्छन्, हामी दैनिक ९ बजेदेखि ५ बजेसम्म काम गर्नुपर्छ, विदा लिन समेत गाह्रो छ, तिमीलाई त फ्रिडम छ, तिम्रो क्षेत्र राम्रो रैछ, हामीले गल्ती गरेछौँ भन्छन्,’ उनले साथीहरुले गर्ने कुराहरु स्मरण गर्दै उनले भनिन् । अझै पनि आङतेमी अविवाहित छिन् । ‘मेरो विवाह भैसकेको छैन, इङगेजमेन्ट भैसक्यो, तर विवाह भएको छैन, उहाँ एभिएसन क्षेत्रमा आवद्ध नभएर पर्यटनसँग सम्बन्धित हुनुहुन्छ ।’ उनले चार कक्षासम्म होस्टलमा बसेर पढिन् । बुबा बितेपछि लुक्लाको होटल भाडामा दिएर हाल उनी आमासँगै काठमाडौंमा बस्छिन् । उनले ८५ लाख रुपैयाँ खर्चेर साउथ अफ्रिकामा गएर पाइटल कोर्स पुरा गरेकाे बताइन् । ‘आजभन्दा १०/११ वर्ष अगाडिको तुलनामा हाल डलरको रेट र हवाई इन्धनको मूल्य बढ्दा १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ, १ करोडभन्दा बढी खर्च गरेर पढ्दा पनि तत्काल जागिर पाइने सम्भावना न्यून छ’, उनले भनिन, ‘मेरो छोरी पढ्ने कलेजमा २० जना अध्ययनरत रहेको मैले जानकारी पाएको छु, अरु देशमा पनि अध्ययनकै क्रममा होलान् तर पढाइ सक्नासाथ जागिर पाइने सम्भावना न्यून छ ।’

महिलाको कमाण्डमा निगमको जहाज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले जहाजको कमाण्ड सम्हालेका छन् । आइतबार युएई गएको निगमको एयरबस ३२० (न्यारोवडी) जहाज बुधबार बिहान काठमाडौं फर्कदा जहाजको कमाण्ड महिलाले सम्हालेको निगमले जनाएको छ । नेपाल एयरलाइन्सको इतिहासमा नै पहिलो पटक महिला चालह दलका सदस्यले जहाजको कमाण्ड सम्हालेको जनाईएको छ । क्यापटेन भावना पन्त र कोपाइटल श्रृजना राउतसँगै उक्त जहाजमा आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी, र अनिशा प्रजापति रहेका थिए । यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाज बुधबार बिहान ९.५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अवतरण गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निगमले एउटा उडान महिलाको जिम्मामा दिएको हो । हाल निगममा ९ जना महिला क्यापटेन कार्यरत रहेका छन् । ९ जना महिला क्यापटेन भएपनि हालसम्म महिलाले मात्रै कुनै पनि उडान भरेका थिएनन् । जसमा एयरबस ३३० (वाईडबडी) मा १ जना, न्यारोवडीमा ४ जना र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रू मध्ये ९६ जना महिला क्याविन क्रू रहेका छन् । निगमका प्रवक्ता अर्चना खड्का निगमको इतिहासमै पहिलो पटक महिलाले जहाजको नेतृत्व लिएको बताउँछिन् । मन्त्रीको बधाई संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले एयरबस २२० जहाज उडान गर्ने चालक दलका महिला सदस्यलाई विमानस्थलमै पुगेर बधाई दिएका छन् । ‘संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो, बधाई छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावललाई, नेपालकै इतिहासमा महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु ।’ को हुन क्यापटेन पन्त ? सन् १९९१ मा रुसमा अध्ययन सकेर नेपाल फर्किएर हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । रुसबाट फर्किदा तत्कालीन नेपाल एयरवेजमा काम गर्ने तयारी गरेतापनि नेपाल एयरवेज बन्द भएपछि तीन वर्षसम्म बेरोजगार बनेकी उनले तत्कालीन नेकोन एयरबाट एभियसन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी देशकै तेस्रो महिला पाइटल समेत हुन । उनले निकोन एयरमा काठमाडौं–पटना उडान गरेका थिइन् भने बुद्ध एयरबाट भारतको बनारसमा समेत उडान गरेकी थिइन् । उनी निगममा करार कर्मचारीका रुपमा कार्यरत छिन् । सौर्य एयरमा उनले पहिलो महिला जेट एयर चालकको रुपमा समेत आफ्नो नाम राख्न सफल भएकी छिन् । उनले ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर र २ वर्ष सौर्य एयरमा काम गरिसकेकी छन् । उनी तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् । क्यापटेन पन्तका तीन छोरी र एक छोरामध्ये छोरा र पन्त एभियसन क्षेत्रमै कार्यरत छन् ।