काठमाडौं । पछिल्लो समय नौ जिल्लाको कमाण्ड महिला कर्मचारीको हातमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ जिल्लामध्ये ९ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मा दिएको हो ।
सरकारले एकैपटिक ९ जिल्लाको नेतृत्व महिलालाई दिएको यो नै पहिलो हो । हालसम्म महिलालाई न्यून मात्रामा सिडीओको जिम्मा दिइएकोमा पछिल्लो पटक बढ्न थालेको हो ।
गृह मन्त्रालयका अनुसार ९ जना महिला सिडीओ मध्येमा चार जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिलालाई खटाइएको हो । सुनसुरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा पठाइएकी कल्पना श्रेष्ठ सह-सचिव हुन् ।
यस्तै, गोमादेवी चेम्जोङ ताप्लेजुङ, लीला केसी पाण्डे धनकुटा, प्रदर्शनी कुमारी ओखलढुंगा, सुप्रभा खनाल ढुंगेल मनाङ र अर्घाखाँचीमा पठाइएकी मीना अर्याल उप-सचिव हुन् ।
रसुवाको प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अगाडि हुमकला पाण्डे भक्तपुर र काभ्रेको प्रमुख जिल्ला भैसकेकि छन् । यस्तै, ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अगाडि गोमादेवी चेम्जोङ भोजपुर र सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी भैसकेकी छन् ।
यस्तै, धनकुटाको प्रमुख जिल्ला अधिकारी यसअघि नै रामेछाप र सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी प्युठानको प्रमुख जिल्ला अधिकारी भैसकेकी छन् । हाल महिला सिडीयो रहेका ९ जिल्लामध्ये ८ जिल्लाले पहिलो पटक महिला सिडिओ पाएको हो ।
गृह मन्त्रालयले ताप्लेजुङ, धनकुटा, मनाङ, सुनसरी, सिन्धुली, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा र डोटीमा पहिलोपटक महिला सीडीओ खटाइएको जनाएको छ । एकैपटक ९ जना महिला सहसचिव र उपसचिवले पहिलोपटक जिल्लाको कमाण्ड सम्हाल्ने मौका दिइएको भन्दै मापदण्ड पुगेका र सक्षम महिलालाई सिडीओ बनाइने गृहले जनाएको छ ।
शाखा अधिकृतबाट जागिरे जिवन सुरु गरेकी होमकला पाण्डे भक्तपुर र काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी भैसकेकी छन् । यसअघि दुई जिल्लामा एक/एक वर्ष सिडीओका रुपमा काम गरिसकेको अनुभव लिइसकेकी उनलाई सरकारले गत माघ २६ गते सुनसुरी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सिफारिस गरेको हो ।
उनी सुनसुरी गएपछि पहिलो पटक सुनसुरीले महिला सिडीओ पाएको छ । ‘म भन्दा अगाडि ४७ जना पुरुष सिडीयो भैसक्नुभएको रहेछ, म सुनसुरी जिल्लाको ४८ औं सिडीओको रुपमा पहिलो महिला सिडीओ भएर आएको छु’, उनले भनिन्, ‘हामी नीतितगत रुपमा काम गर्ने हो, जहाँ गएपनि काम गर्ने हो, अरु जिल्लाको अनुभवका कारण अहिलेसम्म अप्ठ्यारो भएको छैन ।’
सिडीओ हुनुभन्दा अगाडि अख्तियार दुरुपयोेग अनुसन्धान आयोग लगायतका प्रशासनिक निकायका कार्यालयमा काम गरेको अनुभव भएको उनले बताइन् । १७ वर्ष अघि शाखा अधिकृत पदबाट लोकसेवा क्षेत्रमा प्रवेश गरेकी उनी हाल सह-सचिव हुन् । सह-सचिव भएको ५ वर्ष पूरा भैसकेको उनले बताइन् । आफूले अवसरको रुपमा प्रमुख जिल्ला अधिकारीको पदलाई लिएको भन्दै कुनै असहज महसुल नभएकोे उनी बताउँछिन् ।
यस्तै, नेपाल सरकारको सहसचिव कल्पना पाण्डेलाई सरकारले गत असार ६ गते डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सिफारिस गरेको हो । वि.स. २०६२ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेकी उनलाई सरकारले पहिलो पटक प्रमुख जिल्ला अधिकारीका रुपमा सिफारिस गरेकोे हो ।
सरकारले उनलाई डोटीको सिडीओका रुपमा सिफारिस गरेसँगै डोटीले समेत पहिलो पहिलो पटक महिला सिडीओ पाएको हो । उनी भन्दा अगाडि ४५ जना पुरुष सिडीओ भैसकेका थिए ।
डोटी जानुभन्दा अगाडि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिइन् । पहिलो पटक सिडीओ हुँदा खुशी लागेको भन्दै उनले आफूलाई दिइएको जिम्मेवारी निर्वाह गरेको बताइन् ।
‘प्रमुख जिल्ला अधिकारी भनेको हाम्रो जिम्मेवारी हो, हामीलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ, यसमा महिलाहुँदा असहज हुने र पुरुषहुँदा सहज हुने भन्ने हुँदैन, महिला भएपनि पुरुष भएपनि तोकिएको जिम्मेवारी पूरा गर्न पर्छ, तोकिएको जिम्मेवारीलाई कुन रुपमा लिने त्यो स्वयमा भर पर्छ’, उनले भनिन् ।