क्यानले श्री एयरलाइन्सलाई दियो पुन: उडान अनुमति
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई पुनस्उडान अनुमति दिएको छ । फागुन २५ गते उडान नं एसएच८२१ भएको प्राविधिक कारणका छानबिनको लागि क्यानले श्री एयलाइन्सको उडान रोकेको थियो । प्राधिकरणका विज्ञहरुको टोलीले एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ्ग, अपरेशन, सुरक्षा तथा कम्पनीको वित्तिय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गर्दा पूर्ण सुरक्षित भएको पाएपछि पुनः सेवा संचालन गर्न अनुमति दिएको हो ।
सात महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात
काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र छ करोड छ लाख ५६ हजार बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार सो अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो । दुई सिमेन्ट तथा एक स्टिल निर्यात गरेका व्यवसायी भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् । नियमित निर्यात पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यात केही सुस्त भए पनि हाल नियमितरुपमा निर्यात भइरहेको जानकारी दिए । ‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझ्नसमेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने, ‘हामीले निरन्तररुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ”, अर्घाखाँची ब्राण्डको सिमेन्ट हाल भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ ।’ पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टिलले गत साउन ४ गते तथा अर्घाखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् । सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोड बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको जनाएको छ । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ । सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्कअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ । निर्यात र विद्युत्् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् । ‘सिजन’मै छैन माग मङ्सिर महिनादेखि नेपालमा विकास निर्माणको समय सुरु भए तापनि सिमेन्ट खपत नभएको व्यवसायीले बताएका छन् । सिमेन्ट उत्पादन सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले विकास निर्माणको सुरु भए तापनि सिमेन्टको मागमा वृद्धि नभएको बताए । उनका अनुसार बजारमा माग नहुँदा अधिकांश सिमेन्ट उद्योगले क्षमताको आधाभन्दा पनि कम उत्पादन गर्दै आएका छन् । हाल ३० प्रतिशतमात्र सिमेन्ट खपत भएको उनको भनाइ छ । रासस
निर्माण सिजनमै बन्दैनन् घर, कति पर्छ सिमेन्ट र डण्डीको मूल्य ?
काठमाडौं । यो निर्माणको सिजन हो । मंसिर लागेसँगै निर्माणको सिजन सुरु हुन्छ । निर्माण व्यवसायीले मंसिरदेखि असारसम्मको समयलाई नेपालमा निर्माणको सिजन भन्ने गर्छन् । तर, यही सिजनमै निर्माण क्षेत्र सुस्त हुँदा व्यवसायीहरु समस्यामा परेका छन् । विगतका वर्षहरुमा यो सिजनमा निर्माण सामग्रीको माग बढ्ने गर्थ्यो । तर, यो वर्ष निजी आवास/भवन तथा अन्य निर्माणजन्य उद्योगहरु नचल्दा निर्माण सामग्रीको माग पनि न्यून देखिएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय निर्माणका काम न्यून मात्रामा हुँदा निर्माण सामग्रीको माग ३० प्रतिशत पनि नभएको व्यवयायीहरु बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या तथा बैंकमा लगानीयोग्य पुँजीको अभाव हुँदा पनि त्यसको मार निर्माण क्षेत्रमा परेको उनीहरु बताउँछन् । निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दीपक श्रेष्ठ तरलताको समस्याको कारण निर्माण क्षेत्रले गति लिन नसकेको बताउँछन् । ‘विगतमा दशैं तिहार सकिएसँगै निर्माण सामग्रीको माग उच्च हुने गरेको थियो, तर अहिले फागुन सकिन लाग्दासमेत मागमा बृद्धि हुन सकेको छैन’, उनले भने, ‘निर्माणको अफ सिजन तथा तरलताको समस्याका कारण अहिले निर्माण क्षेत्रमा मन्दी छ, अहिले हार्डवयरको बजार ७० प्रतिशत डाउन छ, खपत कम भएपछि मूल्य घट्यो ।’ अफ सिजन र सिजनमा निर्माण सामग्रीको मूल्यमा खासै फरक नभएतापनि हाल तरलता अभावका कारण व्यापार नोक्सानीमा गएको उनको भनाइ छ । उनले पछिल्लो समय खपतमा कमी आउँदा निर्माण सामग्रीको बजार सुस्ताएको बताए । व्यापार नभए पनि व्यवसायीहरुले नोक्सानीमै रहेर कर्मचारीको व्यवस्थापन गर्ने काम गरिएको उनको भनाइ छ । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ । बजारमा माग नहुँदा सिमेन्टको बजार खस्किएको उनले बताए । अहिले बजारमा प्रतिबोरा सिमेन्टको मूल्य ६ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म रहेको उनको भनाइ छ । निर्माण सामग्री व्यापार संघका महासचिव टंक नेपाल पछिल्लो समय ५० प्रतिशतभन्दा कम व्यापार भएको बताउँछन् । बैंक तथा वित्तीय संस्थाले ऋण नदिँदा निजी आवास निर्माणको काम ठप्प छ, केही मात्रामा सरकारी निर्माणको काम भएपनि निजी क्षेत्रको काम ठप्प हुँदा व्यवसाय जोगाउनै मुस्किल छ,’ उनले भने । व्यापार नहुँदा निर्माण सामग्रीको मूल्य स्थीर नै रहेको उनले बताए । ‘कहिले माग उच्च हुँदा पनि मूल्य बढेको हुँदैन, कहिले माग न्यून हुँदा समेत मूल्य बढ्ने गरेको छ, भारतीय बजारमा निर्भर हुँदा मूल्य अस्थीर भएको छ,’ उनी भन्छन्, ‘तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य पनि घटेको हो ।’ यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवाल माग नहुँदा बजार मूल्य स्थीर नै भएको बताउँछन् । विगतका वर्षहरुमा धमाधक निर्माणका कामहरु सुरु हुन्थे, डिमान्डसँगै मूल्य पनि उच्च हुन्थ्यो, तर अहिले अवस्था फरक हुँदा मूल्यसँगै माग पनि स्थीर छ,’ उनले भने । एक महिनादेखि निर्माणजन्य सामग्रीहरुको मूल्य नबढेको उनले बताए । अहिले बजारमा पैसा छैन, पैसा नै नभएपछि अहिले कामहरु रोकिएको छ । निजी कामहरु ठप्प छन् । सरकारी कामहरु पनि न्यून मात्रामा छ । उत्पादन कम हुँदा केही समय अघि वस्तुको मूल्य बढेको उनले बताए । उनले बजारमा डिमाण्ड नहुँदा अधिकांश ग्रिल उद्योगहरु हाल बन्दको अवस्थामा रहेको बताए । ‘कर्मचारी पाल्न सक्ने अवस्था छैन्, त्यही माथि फलामजन्य सामग्रीको मूल्य बीचमा बढ्यो, ग्राहकहरु समेत पर्ख र हेरको अवस्थामा हुँदा व्यवसाय बन्द गरेर बस्न थालेका छन्,’ उनले गुनासो गरे । हाल प्रतिकिलो ग्रिलको मूल्य ११५ रुपैयाँ रहेको उनले बताए । एक महिना अघि डण्डीको मूल्य प्रतिकेजी १२० रुपैयाँ थियो । हाल ११५ रुपैयाँमा झरेको छ । निर्माणको सिजनमा १४० रुपैयाँसम्म पुग्ने गरेको छ । छैन बजार अनुगमन अहिले खासै बजार अनुगमन छैन । त्यही मौका छोपेर व्यवसायीहरुले आफूखुशी मूल्य बढाउने गरेका छन् । व्यक्ति र पसल अनुसार मूल्य फरक पर्छ । पैसा तिरे अनुसारको वस्तुको गुणस्तर समेत नभएको अध्यक्ष कटुवाल स्वंयम बताउँछन् । अहिलेकोे अवस्था ग्रिल व्यवसाय मात्र नभएर यही व्यवसायसँग जोडिएका अधिकांश व्यवसाय धरासायी अवस्थामा रहेको उनकोे भनाइ छ । बिहीबारसम्मको तथ्यांक अनुसार ८१ अर्ब ५५ करोड ८० लाख रुपैयाँ खर्च भएको हो । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि विकास खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ८ महिनामा विकास खर्च न्यून रहेको छ ।
पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याइने
जाजरकोट । बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । अध्यक्ष गिरीका अनुसार अहिले पालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको धारा पुर्याउने कामको सुरुआत भइरहेको छ । सो वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्ष २०७९/८० भित्रै खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ । यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । लगभग दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ रुपैयाँको लागतमा योजना सञ्चालन गरिएको हो । त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका एक सय २८ घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट-२ का स्थानीय पदम रोकायले बताए । गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पुर्याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ्ग शाहको भनाइ छ । हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ । जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको पनि गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने गिरीको भनाइ छ । जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ । ‘स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढङ्गले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य हो, पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुनेछ, उनले भने । जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ । रासस
प्रचण्डको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने आदेश दिनु नपर्ने निर्णय गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले रिट निवेदकले माग गरे अनुसारको आदेश तत्काल दिन नपर्ने आदेश गरेको हो । सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ । निवेदक ज्ञानेन्द्रराज आरण लगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष दाहाललाई जिम्मेवार रहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने अदालतका प्रवक्ता विमल पौडेलले बताए ।
पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : चार जना दोशी ठहर, १५ जनालाई सफाई
काठमाडौं । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्ष अघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोशी ठहर गरेको छ । अदालले सोही मुद्धामा परेका बाँकी १५ जनालाई सफाइ दिएको छ । न्यायाधीश धर्मराज पौडेलको इजलासले गत २५ माघमा सुनाएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाई दिएको हो । को- को भए दोशी ठहर र को-कोले पाए सफाई ? ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र लुईटेलका अनुसार सो मुद्दामा एक नाबालकसहित कुल १९ जना आरोपित रहेकोमा चार जनालाई कसुर ठहर हुने फैसला भएको छ । दोशी ठहर हुनेहरुमा नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई , दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास रहेका छन् । यस्तै नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राईलाई दोशी ठहर गरेको छ । सूचना अधिकारी लुइटेलले बाँकी १५ जना मध्ये एक जना प्रतिवादीको मृत्यु भएकाले उनको मुद्दा खारेजी भएको र अन्य १४ जनाले यस अभियोगबाट सफाइ पाएको बताए । को को ले पाए सफाई ? कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का मानव अङ्ग प्रत्यारोपण स्वीकृत समितिका सदस्यहरुले यस अभियोगबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा समितिका संयोजक डा. बालकृष्ण कालाखेती, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का प्रमुख संचालन अधिकृत डा. सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का कानूनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले रहेका छन् । यस्तै सो कलेजमा कार्यरत डा. भूषण तिमिल्सिना, डा. राकेश बर्मा, ललितपुर महानगरपालिका वडा न – ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रसाशन कार्यालय ललितपुरका नबराज केसी र राम कुमार केसीले पनि सफाई पाएका छन् । घटना कसरी थाहा भयो ? पुरानो मेडिकल कलेजमा २७ जेठ २०७६ मा भएको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो प्रत्यारोपण गैर कानूनी रहेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसार पसार ब्यूरो बबरमहलले २७ असार २०७७ मा विशेष अपरेसन नै चलाएर प्रत्यारोपणसंग जोडिएका चिकित्सक, वडाध्यक्ष देखि बिरामीसम्मलाई नियन्त्रणमा लिएको थियो । व्यूरोले सुरुमा मानव बेच बिखनसम्बन्धि कसूरमा मुद्दा चलाउने तयारीका अनुसन्धानलाई अगाडी बढाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले अभियोजनको क्रममा सो मुद्दा मानब बेच बिखनसम्बन्धि कसूरमा चल्न नसक्ने भन्दै मानवको अंग प्रत्यारोपण सम्बन्धि कसूरबाट चलाउन पर्ने बताएको थियो । त्यसपछि उजुरीकर्ता समेत प्रतिवादी हुने भनि अभियोजन सम्बन्धि निर्क्योल गरे पश्चात अनुसन्धान गर्ने कार्यालय ललितपुर जिल्ला प्रहरी परिसरमा स्थानान्तरण भई १९ साउन २०७७ का दिन जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । मानव अङ्ग प्रत्यारोपण (नियमित र निषेध) गर्ने ऐन, २०५५ अनुसार दायर मुद्दाको फैसला गत २५ माघमा भएको थियो । न्यायाधीश धर्मराज पौडेलको इजलासबाट भएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाई दिएको हो । अदालतले सो मुद्दामा उजुरीकर्ता बबरमहल २२ संकेत राखी अनुसन्धान अघि बढाइएकोमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरबाट अभियोजनको क्रममा प्रतिवादी कायम भएका र नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई , दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास र नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राई ठहर गरेको छ । नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भन्दै प्रहरीको मानब बेच बिखन तथा ओसार पसार ब्यूरो बबरमहलले बेनामी उजुरी परेपछि मानब बेच बिखन तथा ओसार पसार सम्बन्धि कसूरमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा आफ्नो विशेष अपरेशनमा पक्राउ नपरेका फरारप्रतिवादीहरु बबरमहल २८ र गीता देवी बतास साथै ब्युरोले तोकेको उजुरी कर्ता बबरमहल २२ नै दोषी ठहर भएको छ । मुद्धामा सफाइ पाएकाहरुले न्याय पाएको अनुभूति गरेको भन्दै गम्भीर प्रकृतिको यस्तो मुद्दाका सम्बन्धमा अनुसन्धानरअभियोजन गर्ने प्रहरी अधिकारीहरु अझ बढी व्यवसायिक, कुशल निपूर्ण एवं चनाखो हुनु पर्ने सुझाव दिएका छन् ।
सर्वोत्तम स्टिलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडाैं । सर्वोत्तम स्टिलले सर्वसाधारणकाे लागि सेयर जारी गर्ने भएकाे छ । यसकाे लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । सौरभ ग्रुपद्धारा संचालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।
नबिल बैंकले कर्मचारीलाई दियो सुरक्षित कार्यस्थलका लागि तालिम
काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागीता रहेको थियो । कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो ? कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरीकाबाट हुन सक्छ ? यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा व्यवहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी दिइएको थियो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए । कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् । ‘मैले यो कक्षामा आत्मरक्षा सम्बन्धी तरिका मात्र सिक्छु सोचेको थिए तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुव्र्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’ उनले भनिन् । आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो एक दिने तालिम संचालन गरेको नबिल बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताए । ‘कार्यक्रम सोचेको भन्दा उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट आएकोले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको छ,’ उनले भने ।