विकासन्युज

विद्युत् चुहावट नियन्त्रण गर्न प्राधिकरणको ‘सर्च अपरेसन’

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । यसअघि यही फागुन १९ गते अनाधिकृतरूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका–२ सिम्राहाका सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो । शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ । विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो । चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ । विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ । शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन् ।

कन्चन्पुरमा पहिलाेपटक देखियो ‘अफ्रिकन स्वाइन फिभर’

दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिए । ‘यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृतावस्थामा भेटिएको थियो’, उनले भने, ‘चोटपटक नलागेको र जीउ सुन्निएको अवस्थामा देखेपछि परीक्षण गरिएको हो ।’ उनका अनुसार काठमाडौंको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । निकुञ्जभित्र सङ्क्रमण देखिएपछि अन्य जनावरमा समेत सङ्क्रमणको जोखिम बढेको छ । गत माघमा कञ्चनपुरका बङ्गुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको हो । यसको उपचार नभएकाले यो रोग लागेपछि पशुमा ठूलो नोक्सानी पुग्न सक्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले बताए । ‘यो रोग कञ्चनपुरमा पहिलोपटक देखिएको हो यसको कुनै उपचार छैन’, उनले भने, ‘कञ्चनपुरको बेदकोटमा सुरुमा देखिएको हो अहिले अन्य ठाउँमा पनि बङ्गुर मर्न थालेका छन् ।’ अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सक बताउँछन् । रासस

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको छ । ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले भनेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण धमाधम, ४ महिनामा विद्युत् उत्पादन गर्ने

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ । प्राधिकरणको अनुसार आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवक्र्स)को निर्माण सम्पन्न भएको छ भने हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । यस्तै, ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ । विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वान, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ । विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । तार तान्न बाँकी रहेको छ । २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो । प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो । तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक कुलमान घिसिङ,आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष सुभाष कुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए । कम्पनीका सिइओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिहरुले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनीको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कं। लि।को १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ । ४९ प्रतिशत साधारण शेयरधनी समुहमा ९कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९।५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३।५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर० रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने बताइएकाे छ ।

एनआईसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ्ग सेवा, सबै सुचना एकैठाउँमा

काठमाण्डौ । एनआईसी एशिया बैंकले भाइबर बैंकिङ्ग सेवा सुरु गरेकाे छ । बैंककाे अनुसार यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिनेछ । भाइबर बैंकिङ्ग सेवा लिन आफ्नो मोबाइलको भाइबरमा एन आई सी एशिया बैंकको भाइबर सेवामा जोडिनुपर्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसार यस सेवाबाट बैंकका अधिकांस सेवाका साथै आफ्नो अकाउन्टको बारेमा जानकारी लिन र मिनी बैंक स्टेटमेन्ट निकाल्न समेत सकिने छ । त्यस्तै, यस सेवाबाट खातासँग सम्बन्धित विभिन्न सेवाहरु रजिष्ट्रर गर्नुकाे साथै बैंकका शाखाहरु र एटीएमहरु कहाँ कहाँ छन् भनेर लिष्ट हेर्न सकिनेछ । बैंक शाखा तथा एक्सटेन्डेड शाखाहरुले दिने सेवा समयको बारेमा पनि यहाँबाट थाहा पाउन सकिने बैंकले जनाएकाे छ । साथसाथै, बैंकले समय समयमा दिने विभिन्न सूचनाहरु र त्यत्तिमात्र नभएर विदेशी मुद्राको विनिमय दर, बैंकका विभिन्न प्रोडक्टहरुका बारेमा पनि यहाँबाट जानकारी लिन सकिनेछ । बैंकका चालू स्किमहरु र विभिन्न प्रमोसनहरु पनि भाइबर बैंकिङ्गमा उपलब्ध रहेकाे बैंकले जनाएकाे छ । एनआईसी एशिया बैंकको भाइबर सेवा लिन ग्राहकले बैंकको मोबाइल एप (मोबैंक) प्रयोग गरेको हुनुपर्छ । मोबाइल एपमा प्रयोग भएको नम्बर नै भाइबर सेवामा प्रयोग गरेर भाइबर सेवा सुरु गरेपछि एनआईसी एशिया बैंकको भाइबर बैंकिङ्ग सेवा लिन दर्ता प्रकृया पुरा गर्नुपर्ने बैंकले जनाएकाे छ ।  

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषका बीचमा सम्झौता भएको छ । बैंक र कोषबीच  बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिई डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिन सम्झौता भएको ह ो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ । कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यसअघि देखि कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सिजिएस ९कम्पयुटराइजड गभरमेन्ट अकाउन्टिङ सिस्टम० प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु समेत संचालनमा रहेका छन ।

यी १५ ठूला सहकारी : तरलताको समस्या छैन, न ऋण लगानीको सकस नत बचतकर्ताको गुनासो

काठमाडौं । पछिल्लो समय सहकारीहरु सकसमा छन् । बैंक तथा वित्तीय संस्थासँगै सहकारीहरु पनि तरलताको मारमा छन् । कतिपय सहकारीहरुले बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् भने कतिय सहकारीहरु सेवा केन्द्र नै बन्द गरेर बसेका घटनाहरु पनि बाहिरिरहेका छन् । यस्तै, कतिपय सहकारीका सेयर सदस्यहरुले बचत असुलका लागि विभिन्न निकाय धाइरहेका छन् । तर, सहकारीका यस्ता घटनाहरु बाहिर आइरहेको बेला देशका केही ठूला सहकारीहरु भने सहज रुपमा काम गरिरहेका छन् । ती सहकारीहरुमा बचतकर्ताले नियमित रुपमा पैसा फिर्ता लिइरहेका छन् भने ऋणीहरुले पनि ऋण पाइरहेका छन् । यसैक्रममा हामीले बढी सेयर पुँजी रहेका र ठूलो कारोबार गर्ने देशका १५ वटा सहकारीको वर्तमान वित्तीय अवस्था बुझ्ने प्रयास गरेका छौं । ती सहकारीहरुको माघ मसान्तसम्मको वित्तीय विवरण प्रस्तुत गरेका छौं । एनएमसी सहकारी झापाको मेचीनगरमा रहेको नेपाल बहुउद्धेश्यिय सहकारी संस्था (एनएमसी) सहकारी पूर्वको ठूलो सहकारीमध्येमा पर्छ । एक अर्ब ४१ करोड १ लाख ७४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा ९ अर्ब ६ करोड ७० लाख ८५ हजार रुपैयाँ बचत छ भने १० अर्ब ५१ करोड ८० लाख ३४ हजार रुपैयाँ ऋण लगानी रहेकाे छ । यो सहकारीको ७३ करोड ७० लाख ८१ हजार रुपैयाँको जगेडा कोष छ । सहकारीसँग १ अर्ब २५ करोड १६ लाख २० हजार रुपैयाँ तरलता रका रहेको जनाएको छ । सहकारीसँग १३.८० प्रतिशत तरलता अनुपात रहेको बताएको छ । यो सहकारीसँग १२ अर्ब ७० करोड ७५ लाख ५१ हजार बराबर कुल सम्पत्ति रहेको जनाएको छ । यस सहकारीसँग कुल १ लाख ४४ हजार ४३१ सेयर सदस्य र १८ हजार २६ जना ऋणी छन् । साहरा नेपाल झापाको विर्तामोडमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ६३ करोड ८१ लाख ९२ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । यो सहकारीले १० अर्ब ६१ करोड ८९ लाख ४० हजार रुपैयाँ बचत र १२ अर्ब २३ करोड २१ लाख ३८ हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ । यस सहकारीको जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख ६६ हजार रुपैयाँ छ । यस्तै, सहकारीसँग २०.२९ प्रतिशत तरलता अनुपात छ । २ अर्ब १५ करोड ४४ लाख ६७ हजार रुपैयाँ तरलता रकम छ । कुल १ लाख ६० हजार ८७२ सेयर सदस्य रहेको यस सहकारीमा कुल ८३ हजार ५२९ ऋणी सदस्य छन् । मेची सहकारी झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था एक ठूलो सहकारीका रुपमा परिचित छ । संस्थामा कुल १३ हजार ६९८ सेयर सदस्य रहेकोमा साढे २ अर्ब रुपैयाँ बचत रहेको बताइएको छ । यस्तै यस संस्थामा २ अर्ब ८९ करोड ६८ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी छ । सहकारीकाे साढे ३ अर्बको सम्पत्ति छ । कर्णाली सहकारी झापको विर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था पनि प्रदेश एकको परिचित सहकारी संस्था हो । कुल ४७ करोड १३ लाख ५ हजार रुपैयाँ सेयर पुँजी रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कुल २ अर्ब २ करोड ९२ लाख ७४ हजार रुपैयाँ बचत संकलन गरेको छ । यस सहकारीले ३ अर्ब ८४ करोड ९७ लाख ३४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । ५४ हजार १२५ जना सेयर सदस्य रहेको यस सहकारीमार्फत् १५ हजार ७१७ जनाले ऋण लिएका छन् । यो सहकारीमा १०.९६ प्रतिशत तरलता रकम रहेको बताइएको छ । १४ करोड २८ लाख २ हजार रुपैयाँको जगेडा कोष रहेको यस सहकारीको कुल सम्पत्ति ४ अर्ब २३ करोड ९६ लाख बढीको छ । जनकल्याण सहकारी प्रदेश तीनमा पर्ने जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले कुल ७९ करोड ९४ लाख ६२ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल ८२ करोड ८४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस संस्थाको ११ करोड ६५ लाख ८५ हजार रुपैयाँ सेयर पुँजी रहेकोमा ७ करोड ३६ लाख ६८ हजार जगेडा कोषमा छ । यस्तै, ९ हजार २१३ सेय सदस्य रहेको यस सहकारीको १ अर्ब १० करोड ८९ लाख ३८ हजार रुपैयाँ कुल सम्पत्ति छ । चन्द्रागिरी सहकारी प्रदेश तीनमा पर्ने यस सहकारीले पनि कुल २ अर्ब ५० करोड ६७ लाख ४५ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल २ अर्ब ४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । १७ करोड ५५ लाख ६८ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको जगेडा कोषमा कुल ८ करोड ४ लाख ३३ हजार रुपैयाँ छ । यस सहकारीसँग कुल २७.०२ प्रतिशत तरलता सम्पत्ति छ । १६ हजार ७६४ जना सेयर सदस्य रहेको यस सहकारीमा कुल २ हजार १२५ जना ऋणी सदस्य छन् । सहकारीको कुल सम्पत्ति ३ अर्ब ५ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको छ । जनसचेतन सहकारी दोलखाको जनसचेतन बचत तथा ऋण सहकारीले कुल १ अर्ब ५४ करोड ३४ लाख २९ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल १ अर्ब ८८ करोड १३ लाख ६७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल १६ करोड ५३ लाख २३ हजार रुपैयाँ सेयर पुँजी रहेकोमो यस सहकारीमा कुल २७ हजार ५३२ सेयर सदस्य छन् भने ४ हजार ७२६ ऋणी सदस्य छन् । यस सहकारी सँग कुल १३.७६ प्रतिशत तरलता छ । १७ करोड १४ लाख रुपैयाँ जगेडा कोषमा रहेको यस सहकारीको कुल सम्पत्ति २ अर्ब ३४ करोड ७५ लाख ६६ हजार रुपैयाँ बराबरको छ । सामुदायिक सहकारी काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी पनि एक ठूलो कारोबार गर्ने सहकारीमध्येमा पर्छ । ३९ करोड ९४ लाख ९७ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको जगेडा कोषमा ३१ करोड ९९ लाख २३ हजार रुपैयाँ छ । कुल २ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बचत संकलन गरेको यस सहकारीले ३ अर्ब ४५ करोड ३६ लाख २७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल ५० हजार १२१ सदस्य रहेको यस सहकारीमार्फत् ६ हजार ५९२ जनाले ऋण लिएका छन् । सहकारीमा १६.८५ प्रतिशत तरलता रकम छ । यस सहकारीको ४ अर्ब ३२ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको कुल सम्पत्ति छ । बुडोल सामुदायिक सहकारी बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ३५ करोड २१ लाख ७३ हजार रुपैयाँ बचत संकलन गरेकोमा १ अर्ब ३५ करोड ३७ लाख ५६ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल १५ करोड ५० लाख २० हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा १७ हजार २४३ सेयर सदस्य र २ हजार ६३९ ऋणी सदस्य रहेका छन् । कुल २१.५८ प्रतिशत तरलता रकम रहेको यस सहकारी जगेडा कोषमा ११ करोड रुपैयाँ छ । सहकारीको कुल सम्पत्ति १ अर्ब ७० करोड ५२ लाख रुपैयाँ रहेको छ । पोखरा रोयल कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था अहिले अधिकत तरलता हुने सहकारी संस्थामा पर्छ । २१ करोड ६ लाख ४ हजार रुपैयाँ सेयर पुँजी रहेको यो सहकारीले कुल १ अर्ब ६७ करोड ७७ लाख ५० हजार रुपैयाँ बचत संकलन गरेको छ भने १ अर्ब ७८ करोड ८५ लाख ५२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको जगेडा कोषमा १५ करोड ७३ लाख २५ हजार रुपैयाँ छ । २४.८० प्रतिशत तरलता रकम रहेको छ । यस सहकारीसँग ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ तरलता सम्पत्ति छ । कुल ८ हजार ७७७ जना सेयर सदस्य रहेको यस सहकारीले १ हजार ५०९ जना सदस्यलाई ऋण दिएको छ । बिकु सहकारी नवलपरासीमा रहेको बिकु सहकारी पनि एक ठूलो सहकारी मध्येमा पर्छ । यस सहकारीले ७ अर्ब २९ करोड १३ लाख ८८ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल ६ अर्ब ९५ करोड ८२ लाख ४३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल ९१ करोड २ लाख ६६ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा कुल १ लाख ८ हजार ५४४ सेयर सदस्य र ९ हजार ७८३ ऋणी सदस्य छन् । सहकारीमा कुल तरलता रकम २५.२२ प्रतिशत छ । यस सहकारीको ५० करोड ५१ लाखको जगेडा कोष रहेकोमा ९ अर्ब १९ करोड ३३ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति छ । मध्ये नेपाल सहकारी नवलपरासीमा केन्द्रिय कार्यालय रहेको मध्येनेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सेयर पुँजी १३ करोड ४९ लाख १९ हजार रुपैयाँ रहेकोमा यस संस्थाले ९८ करोड ३३ लाख ७५ हजार रुपैयाँ बचत संकलन गरेको छ । यस हसकारीले कुल १ अर्ब ७ करोड ६५ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, यस सहकारीमा २३ हजार २०७ जना सेयर सदस्य रहेकोमा कुल ४ हजार ९२२ जनालाई ऋण प्रवाह गरेको छ । सहकारीमा १५.४४ प्रतिशत तरलता छ । ७ करोड ४२ लाख ५३ हजारको जगेडा कोष रहेको यस सहकारीको कुल सम्पत्ति १ अर्ब ३१ करोड १२ लाख १७ हजार रुपैयाँ छ । किसान सहकारी नवलपरासीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको ३३ करोड ६७ लाख ८२ हजार रुपैयाँ सेयर सदस्य रहेको छ । यस संस्थाले २ अर्ब ७० करोड ५० लाख ४३ हजार रुपैयाँ बचत संकलन गरेकोमा २ अर्ब ४३ करोड ५९ लाख २७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल ८४ हजार १४७ जना सेयर सदस्य रहेको यस सहकारीमार्फत् कुल १३ हजार ७०३ जनाले ऋण लिएका छन् । यो सहकारीसँग २४.४३ प्रतिशत तरलता रहेकोमा कुल १७ करोड ३९ लाख १५ हजार रुपैयाँ जगेडामा छ । यस संस्थाको कुल सम्पत्ति ३ अर्ब ४५ करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको छ । जनउत्थान सहकारी लुम्बिनीको रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले २ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । ३० करोड ३४ लाख सेयर पुँजी रहेको यस सहकारीमा ३८ हजार ९७० जना सेयर सदस्य छन् । यस सहकारीबाट १० हजार ८८ जनाले ऋण लिएका छन् । यस सहकारीसँग २३.४१ प्रतिशत तरलता रकम छ भने कुल ३ अर्ब १८ करोड ६५ लाख रुपैयाँ बराबर सम्पत्ति छ । नव जीवन सहकारी धनगढीमा रहेको नवजीवन बहुउद्धेश्यिय सहकारी पनि सुदूरपश्चिमको ठूलो सहकारीमा पर्छ । कुल ३१ हजार पाँच सय ८९ छन् सेयर सदस्य रहेको यस सहकारीको सेयर पुँजी २७ करोड ७५ लाख २७ हजार रुपैयाँ छ । यस सहकारीको जगेडा कोषमा ३५ करोड १३ लाख ३५ हजार छ भने सहकारीले ३ अर्ब ८८ करोड ८३ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी र ४ अर्ब ३० करोड ४४ लाख ४१ हजार रुपैयाँ बचत संकलन गरेको छ । नवजीवन सहकारीसँग ६ अर्ब ३४ करोड चार लाख ९९ हजार कुल सम्पत्ति छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सबै सहकारीमा समस्या नरहेको बताउँछन् । ‘एकाध सहकारीहरुमा समस्या सिर्जना हुँदा सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको,’ उनले भने, ‘हाल अधिकांश सहकारीले उदाहरणीय काम पनि गरिरहेका छन्,’ । केही सहकारीका सञ्चालकको बदमासीले सम्पूर्ण सहकारी क्षेत्रले बदमासी खेप्नु परेको उनको गुनासो छ ।

एकैदिन आठ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस