नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसाय लक्षित अरबौं लगानी थपिँदै
नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको बाँकेको नेपालगञ्ज ‘होटल हव’को रुपमा विकास हुँदैछ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो । व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना ठूला होटलमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । साना होटलसँगै जिल्लामा ठूलो लगानीमा तारे होटल खोल्ने क्रम बढेको छ । लुम्बिनी प्रदेशमा तीन होटलले पाँचतारेको मान्यता पाउँदा बाँकेमा दुई वटा पाँचतारे होटल खुलिसकेका छन् । चारतारे दुई, बाँकी तिनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा पदयात्रा सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका व्यवसायी बताउँछन् । होटल बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए। आफूहरूले पनि दुई हजार जना अट्ने नेपालगञ्जकै सबैभन्दा ठूलो हल बनाइसकेको उनले जानकारी दिए । नेपालगञ्ज र कोहलपुर बजारको दृश्यावलोकन गर्न मिल्ने होटलको आठ तलमाथि रुफटप रेस्टुराँ सञ्चालन गरिरहेको उनको भनाइ छ । होटलमा व्यवसायीको लगानी बढे पनि सरकारका तर्फबाट लगानी सुरक्षाको वातावरण नभएको भन्दै उनीहरू चिन्तित छन् । सरकारले पर्यटनतर्फ आकर्षण गर्ने कार्यक्रम घोषणा गरेअनुसारको कुनै गतिविधि नभएकाले पर्यटक बढ्नेमा खासै आशावादी नरहेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाका प्रबन्धक देवानन्द अर्यालले बताए। उनका अनुसार पश्चिममा थुप्रै पर्यटन सम्भावना रहेकाले विकासका लागि सरकारको ध्यान जानुपर्ने देखिन्छ । बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीयस्थलको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न तालतलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृति, प्राङ्गारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक घुम्नलायक थुप्रै मनमोहक दृश्य छन् । जसको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । यहाँ बागेश्वरी, जङ्गेश्वर महादेव, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्र रहेको धर्मगुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए। त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्क आदि पर्यटकका गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्य बताउँछन् । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा करिब डेढ अर्बको लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको यसका सञ्चालकले जानकारी दिएका छन् । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ । अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । रासस ।
स्ववियु निर्वाचन हुने देशभरका क्याम्पसमा आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । करिब एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचनको चहलपहल बढेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ । आज बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता सङ्ख्या प्राप्त भएको छ । उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु नभएकाले मतदाता सङ्ख्या यकिन नभएको बताए । उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) बहुमुखी क्याम्पसमा रहेको बताए । पिएन क्याम्पसमा १० हजार आठ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । पिएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार दुई सय ६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सात हजार एक सय नौ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् । यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शङ्करदेव क्याम्पसमा छन् । शङ्करदेवमा आठ हजार चार सय ९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता छन् । शङ्करदेवपछि नेपाल कमर्स क्याम्पस मिनभवनमा आठ हजार एक सय ८८, पाटन संयुक्त क्याम्पसमा सात हजार छ सय नौ र पद्मकन्या बहुमुखी क्याम्पसमा पाँच हजार पाँच सय ९२ विद्यार्थी मतदाता छन् । त्रिविको केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९ मतदाता छन् । उपत्यकामा सबैभन्दा थोरै विद्यार्थी आयुर्वेद क्याम्पस कीर्तिपुरमा एक सय ५१ छन् । देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी मतदाता छन् ।
उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ । उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा
काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो । कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवम् लिड क्याल्सियम प्रविधिजस्ता विशेषता यस ब्याट्रीमा छ । ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने कम्पनीले जनाएको छ । ‘एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झट टाढा राख्दछ ।’
पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो । अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए । उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए ।
१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौं : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल अहिले करिब १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको बताए । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको छ, नेपाल अहिले करिब १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको छ, यसले करिब १० महिनाको आयातलाई धान्नसक्रछ,’ उनले भने । गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । उनले पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको जानकारी दिए । यस्रतै, गभर्नर अधिकारीले वि।सं। २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको बताउँदै आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको बताए । ‘अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्छ, आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको छ,’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन : उपसभापति खड्का
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन् । शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए । ‘संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको छ, प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्था अनुकुल छैन, आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिलेको छैन,’ उनले भने । उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताएका छन् । चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसअघि बिहीवार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसक्नुभएको छ ।
सबैको लघुवित्तको १८ प्रतिशत लाभांश पारित
काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाकाे लाभांश पारित भएकाे छ । लघुवित्तकाे छैठौं वार्षिक साधारण सभा संचालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत लाभांश र ०.९५ प्रतिशत लाभांश पारित भएकाे हाे । सभाले आ.व. २०७८/७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ । यसैगरी सभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित सेयरधनीहरुले सर्वसम्मतिबाट पारित भएकाे लघुवित्तले जानकारी दिएकाे छ ।