१० दलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिवार संसद भवनमा पुगेर १० दलीय गठबन्धनको तर्फबाट उनले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी थिए । निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । प्रश्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्छु ।’ नेकपा एमालेबाट पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन् । उनको प्रश्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ हुनुहुन्छ भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।
उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन् शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट रहेका छन् । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।
संसारका सबैभन्दा महँगो र आकर्षक १० गहना
एजेन्सी । कोहिनूर र यसको अमूल्यताको कथा सबै भारतीयहरूलाई थाहा छ। बेलायती राजा चार्ल्सको राज्याभिषेक नजिकिँदै गर्दा फेरि एकपटक कोहिनूर चर्चामा छ । मूल्यमा मात्र नभएर गहनाको सुन्दरताले पनि तिनीहरूलाई अमूल्य बनाउँछ। पढ्नुहोस् संसारका दश प्रख्यात गहनाहरू जसको चमक कहिल्यै ओइलाउँदैन। एटलाको क्रस १९२० मा लन्डनका जौहरी जेरार्डले अटालाको क्रस बनाएका थिए । गत महिना रियालिटी स्टार किम कार्दशियनले यसलाई १.६२ करोडमा किनेका थिए । कुनै समय यो क्रस राजकुमारी डायनाको घाँटीमा सजिएको थियो। नीलमबाट बनेको यो क्रसमा ५.२ क्यारेट हीरा जोडिएको छ। यो राजकुमारी डायनाको मनपर्ने गहना थियो, तर यो गहना उनको कहिल्यै हुन सकेन। विभिन्न अवसरहरूमा यसको मालिक नईम अटालाले राजकुमारी डायनालाई लगाउन दिन्थे । जतिबेला नईम अटाला एस्प्रे र जेरार्डका सीईओ थिए। अक्टोबर १९८७ मा एक परोपकारी कार्यक्रममा डायनाले यसलाई लगाएकी थिइन्। उनले यसलाई बैजनी रंगको मोतीको हारसँग लगाएकी थिइन् । ब्ल्याक डायमंड आरलाव कालो हीरा आँफैमा आकर्षक हुन्छ । तकिया आकारको कालो हीरा ६७.४९ क्यारेटको रहेको छ । एउटा कथा अनुसार १९ औं शताब्दीमा भारतको ब्रह्मा मन्दिरबाट यसको चोरी भएको थियो । तब देखि नै हिरा श्रापित भएको भनिन्छ । चोरी गर्ने व्यक्तिको अकाल मृत्यु भएको त्यसपछि तीन मालिकले आत्महत्या गरेका थिए भन्ने कथन रहेको छ । यसमा नादिया भिगिन ओर्लोभ नामकी एक रूसी राजकुमारी, उनको आफन्त र अमेरिकामा हीरा आयात गर्ने व्यापारी जी डब्लु पेरिस समेत सहभागी रहेको बताइन्छ । तर, हालैका केही अनुसन्धानले यी कथाहरूमा प्रश्नचिन्ह खडा गरेको छ । अहिले विज्ञहरुले यो हिरा भारतबाट चोरी भएको र राजकुमारी नादियाको अस्तित्वमाथि पनि प्रश्न उठाइरहेका छन्। ला पेरेग्रीना सन् १५७६ मा दक्षिण अमेरिकी देश पानामामा फेला परेको ‘ला पेरेग्रीना’ नामको नासपतीको आकारको यो मोती यसको कथा जत्तिकै मनमोहक छ । यसलाई संसारकै आकर्षक मोती मानिन्छ । यो ५०.५६ क्यारेटको मोती स्पेनका फिलिप द्वितीयले आफ्नी श्रीमती इंग्ल्याण्डकी रानी मेरी (१) को लागि किनेका थिए । त्यसबेलादेखि यो अमूल्य मोती स्पेनको शाही परिवारको धेरै पुस्तामा रहँदै आएको थियो । त्यसपछि यो मोती फ्रान्सका शासक नेपोलियनका भाइ जोसेफ बोनापार्टको हातमा पर्यो। लामो समयपछि अर्थात् १९६९ मा हलिउडकी चर्चित अभिनेत्री एलिजाबेथ टेलरका लागि अभिनेता रिचर्ड बर्टनले किनेका थिए । ला पेरेग्रिनालाई सन् २०११ मा न्यूयोर्कको लिलामी घर क्रिस्टीजले १ अर्ब ५४ करोडमा बेचेको थियो । यो प्राकृतिक मोतीको लागि तिरेको सबैभन्दा उच्च मूल्य थियो। होप डायमन्ड होप डायमन्ड अँध्यारो विगतका लागि चिनिने अर्को श्रापित हीरा होप डायमन्ड हो। यसलाई अमेरिकाको स्मिथसोनियन संग्रहालयको राष्ट्रिय रत्न संग्रह मध्ये विशेष रुपमा लिइन्छ । यो ४५.५२ क्यारेटको एकदमै विशेष र दुर्लभ नीलो हीरा हो। जब यो पराबैंगनी प्रकाशमा पर्दा यसको रंग रुबी रातो हुन्छ। यसले यसलाई थप रहस्यमय बनाउँछ। यसको इतिहासको रोचक कथा सन् १९६६ मा आएको कार्ल शुक्ररको पुस्तक ‘द अनएक्सप्लेन्ड’ मा रेकर्ड गरिएको छ । कथा अनुसार एक हिन्दू पुजारीले यसलाई मन्दिरको मूर्तिबाट बेइमानी गरेर हटाएका थिए । सन् १६६८ मा फ्रान्सका सम्राट लुइस चौधौंले किनेका थिए र फेरि फ्रान्सेली क्रान्तिको बेला कसैले यसको चोरी गर्यो । यो हिराबाट फ्रान्सका सम्राट र उनकी रानीलाई श्राप लागेको बताइन्छ। गहना ब्रान्ड कार्टियरले सेतो हीराको हारमा द होपलाई सेट गरेर सन् १९१२ मा एभलिन वाल्श म्याक्लिनलाई बेचिएको थियो । सन् १९५८ सम्म यो हीरा जौहरी ह्यारी विन्स्टन पुग्यो। त्यही वर्ष उनले स्मिथसोनियन संग्रहालयलाई दान दिएका थिए । वालिस सिम्पसनको प्यान्थर ब्रेसलेट होप डायमन्ड सन् १९३६ मा राजा एडवर्ड आठौंले आफ्नी प्रेमिका वालिस सिम्पसनका लागि इङ्गल्याण्डको मुकुट त्यागेका थिए । धेरै बहुमूल्य हीरा र गहनाहरू उनीहरूको प्रेम कथामा उपहारको रूपमा साटासाट गरिएको पाइन्छ । यी प्रेमीले जीवनभर एकअर्कालाई यस्ता उपहारको वर्षा गर्दै आएका थिए । यी दुईको उपहार सन् २०१० मा सोथबीजले लिलामी गरेको थियो । त्यो लिलामीको मुख्य आकर्षण वालिस सिम्पसनले सन् १९५२ मा उपहारको रूपमा प्राप्त गरेको ब्ल्याक प्यान्थर ब्रेसलेट थियो। हीरा र रत्नले जडित यो ब्रेसलेट पेरिसबाट किनिएको थियो । अमेरिकी गायिका म्याडोनाले वालिस सिम्पसनको जीवनमा आधारित फिल्ममा यो ब्रेसलेट लगाएकी थिइन्, तर अर्बौं खर्चेर किन्ने व्यक्तिको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । कोहिनूर कोहिनूर कोहिनूरसँग धेरै भारतीयहरूको भावना जोडिएको पाइन्छ । धेरै भारतीयहरुलाई यसको महिमा थाहा छ। यो १०५.६ क्यारेटको संसारको सबैभन्दा ठूलो हीरा हो। बेलायतको शाही मुकुट सजाउने यो हीरा सबैभन्दा विवादास्पद गहना पनि हो । यो मध्ययुगीन समयमामा दक्षिण भारतमा उत्खनन् भएको मानिन्छ । यसको लिखित अभिलेखहरू १६२८ मा मात्र भेटिएको थियो, जब मुगल सम्राट शाहजहाँ सिंहासनमा आसिन भएका थिए । सन् १७३९ मा इरानका सम्राट नादिर शाहले दिल्ली तर्फ अग्रसर भएर मुगलहरूलाई पराजित गरेका थिए । यसपछि कोहिनूर नादिर शाहको हातमा पुग्यो। नादिर शाहले यसलाई अफगानिस्तान लिएर गए। स्मिथसोनियन पत्रिकाका अनुसार यो बहुमूल्य पत्थर एकपछि अर्को शाही परिवारमा हस्तान्तरित हुँदै गयो र अन्ततः सन् १८१३ मा महाराजा रणजित सिंहको हातमा पुग्यो । त्यतिबेला भारतको बाँकी भागमा ब्रिटिश ईस्ट इन्डिया कम्पनीको शासन थियो। कम्पनीले यो हिराको बारेमा थाहा पाएपछि यसलाई प्राप्त गर्न पहल गर्यो । सन् १८४९ मा यो हीरा पञ्जाबको सिंहासनका दश वर्ष पुरानो उत्तराधिकारीबाट खोसेर रानी भिक्टोरियालाई सुम्पिएको थियो । सन् १८५१ मा इंग्ल्याण्डमा यो हीराको भव्य प्रदर्शनी गरियो । तर, त्यतिबेला धेरै मानिससँग हीरा थिएन। कतिपयले कोहिनूर पनि श्रापित हिरा भएको भनेर हल्ला पनि फैलाए । अहिले यो हीरा बेलायतको शाही परिवारसँग छ तर भारत, पाकिस्तान, इरान र अफगानिस्तानले फिर्ता दिन माग गर्दै आएका छन् । मारी आंत्वानेटको औंठी यो औंठी विश्वका गहनाहरु मध्ये उत्कृष्ट सूचीमा पर्छ । यो कुनै समय फ्रान्सकी रानी मेरीको थियो। पछि बोर्बोन पर्मा परिवारले यसलाई किन्यो। सन् २०१८ मा सोथबीको लिलामीमा सो औंठी धेरै मूल्यमा बिक्री भएको थियो । फिल्मबाट चर्चित हीरा सन् १८७० मा यो हीरा प्रसिद्ध स्टोर टिफनी द्वारा खरिद गरिएको थियो। सन् १९६१ को फिल्म ूब्रेकफास्ट एट टिफनीू को लागि प्रमोशनल तस्बिरहरूमा अभिनेत्री अड्रे हेपबर्न द्वारा लगाएको यो हीरा पछि निकै प्रसिद्ध भयो। यो हीरा हेर्नको लागि उत्कृष्ट थियो। सांस्कृतिक रूपमा मूल्यवान। यो पहेंलो रङको हीरासँग विगतमा केही विचलित सम्झनाहरू जोडिएको मानिन्छ । अहिलेसम्म चार जना महिलाले मात्रै १२८.५४ क्यारेटको हीरा लगाएका छन् । यो सन् १८७७ मा दक्षिण अफ्रिकाको किम्बर्ली खानीबाट निकालिएको थियो। यस खानीमा काला मजदुरहरू अत्यन्तै दयनीय अवस्थामा काम गर्न बाध्य थिए। सन् २०२१ मा वासिङ्टन पोस्टमा प्रकाशित लेखमा लेखिका करेन एटियाले यस्ता हीरालाई ‘ब्लड डायमण्ड’ भनिनुपर्छ भनी लेखिन् । तर किन ? ूहजारौं अफ्रिकीहरूले आफ्नो ज्यान गुमाए र अफ्रिकाका स्रोतहरू लुट्दा धेरै समुदायहरू पूर्ण रूपमा नष्ट भए,ू आटिया भन्छिन्। रानी भिक्टोरियाको मुकुट यो लन्डनको भिक्टोरिया र अल्बर्ट संग्रहालयमा सबैभन्दा प्रसिद्ध आभूषण हो। रानी भिक्टोरियाको मुकुटलाई अमूल्य नीलमणि र हीरा जोडेर बनाइएको छ । सन् १८४०मा रानी को लागी राजकुमार अल्बर्ट द्वारा यसको डिजाइन गरिएको थियो। यो शाही जोडीले सोही वर्ष विवाह गरेको थियो । जोसेफ किचिङले यो सुन्दर ताज बनाएका थिए । यो रानीको सबैभन्दा मूल्यवान चीज थियो। नेपोलियनको हीराको हार ऐतिहासिक नेपोलियन डायमंड नेकलेस फ्रान्सका सम्राटले सन् १८११ मा आफ्नो दोस्रो रानी मेरी लुइसलाई आफ्नो दोस्रो छोरा नेपोलियन द्वितीयको जन्मको अवसरमा उपहारको रुपमा दिएका थिए । यो चाँदी र सुनको हार एटिन निटो द्वारा डिजाइन गरिएको थियो। यसमा २३४ हीराहरू छन्, जुन धेरै साना हीराहरूले सजाइएको छ। यी सबै हीराहरू भारत र ब्राजिलका खानीहरूबाट ल्याइएको बताइन्छ । नेपोलियनको पराजय पछि यो अमूल्य हार उनकी पत्नीको शहर भियनामा लगियो। आफ्नी श्रीमतीको मृत्यु पछि यो हार नेपोलियनकी बहीनी समक्ष गयो । यो हार सन् १९४८ सम्म उनीसँगै रह्यो । त्यसपछि यो फ्रान्सका कुलिन व्यक्तिले खरिद गरे भने उनीमार्फत अमेरिकी व्यवसायी महिला मार्जरी मेरिवेदरले खरिद गरिन । पछि उनले यसलाई स्मिथसोनियन संग्रहालयलाई दान गरिन् ।
मन्त्री किराँतीको प्रश्न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । शनिवारबाट शुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै प्रश्न गरे । उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएकमो भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए । उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो । आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौँ भने यो देश कहिले सफा गर्छौं, त्यसैले प्रतिकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्नसक्छौँ । असम्भव कुरा केही छैन भन्ने सन्देश हो ।’ सो अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाईमा सरिक भएका थिए । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ ।
एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार
काठमाडौं । नेकपा एमालेले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए । उनले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरितको कुरा भएको बताए । उनले भने, ‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरितको कुरा हो । त्यसो गर्न मिल्दैन ।’ उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।
पाल्पा रामपुर नगरपालिकाद्वारा डिजिटल परिचयपत्र वितरण सुरु
पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ । पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक । अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिं ठकुरीबाट परिचयपत्र वितरण कार्य सुरु भएको छ । डिजिटल प्रविधिको परिचयपत्र पाउँदा ज्यादै खुसी लागेको उनले बताएका छन् । नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन र रामपुर नगरलाई डिजिटलमैत्री नगरपालिका बनाउन यस कार्यको थालनी गरिएको बताएका छन् । ‘नगरपालिका कार्यालय, केही वडा कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिसकेको र बाँकी वडामा पनि नगरले राख्ने तयारी गरिरहेको छ’, उनले भने, ‘सूचना प्रविधिको विकासलाई अवलम्बन गरी सफ्टवेयर जडान गरेर नगर तथा वडा कार्यालयबाट विभिन्न सेवा दिइरहेका छौँ, नगरलाई डिजिटलमैत्री नगर बनाउने हाम्रो सङ्कल्प छ ।’ सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर शुक्रबारदेखि सेवा सुरु गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलो पटक रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडका इन्जिनियर गङ्गाराम रेग्मीले जानकारी दिएका छन् । अपाङ्गता भएका व्यक्तिका लागि वर्गअनुसारको रातो, निलो, पहेँलो र सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । ‘सूचना प्रविधिको पहुँच विस्तार हुँदै गएको अवस्थामा कार्यालयका कामकाज छिटो गर्न डिजिटल प्रविधिको परिचयपत्र वितरण कार्य सुरु गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । यस्तो परिचयपत्र पानीमा नभिज्ने, हराएमा तत्काल अर्को निकाल्न मिल्ने, नवीकरण गर्न झण्झट नहुने, नवीकरण घरमै बसेर पनि गर्न सकिने, कर्मचारीलाई परिचयपत्र बनाउन धेरै समय खर्चिएर बस्न नपर्ने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताए। यसअघिको परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिँदै आएको थियो । नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मेसिन राखेर नगरपालिकाबाटै परिचयपत्र दिन थालिएको हो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । हातले बनाएका परिचयपत्र पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेकाले सो समस्या धेरै सेवाग्राहीले गुनासो गरेपछि यस्तो परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । अनलाइन प्रविष्टीकरण गरिने भएकाले यो परिचयपत्र बारकोडमार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुनेछ । हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै यस्तो परिचयपत्र लिन सकिने व्यवस्था गरिएको छ । रासस ।
एडीबीले लुम्बिनी विकास कोषलाई दिएको १३ करोडको विद्युतीय गाडी प्रयोगमा आएन
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि सरोकारवाला निकायको चासो पुगेको छैन । लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । तर, आवश्यक कानुनी प्रक्रियामा ढिलाई र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुल्ला आकाशमुनि थन्किएका छन् । एसियाली विकास बैंक (एडीवी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडमा लुम्बिनी विकास कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा साढे तीन करोड बढी भन्सार राजस्व सरकारले व्यहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी सवारी साधन लामो समय खुल्ला आकाशमुनि थन्किएर रहँदा बिग्रने सम्भावना रहेको छ । थन्क्याइएका कतिपय गाडीका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रने समस्या देखिन थालेका छन् । लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि ल्याइएका पाँचवटा १९ सिट क्षमताका बस र १४ वटा पाँच सिट क्षमताका भ्यान सञ्चालन प्रक्रियामा अन्यौल देखिएको छ । अत्याधुनिक सुविधासहितका यी विद्युतीय गाडी स्वचालित ढोका भएका र शारीरिकरुपमा अशक्तका लागि अपाङ्गतामैत्री रहेका छन् । सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्य लुम्बिनी विकास कोषले जनतालाई सेवा दिने भनेर ल्याएका अनुदानका सवारी साधन खुला चौरमा राखेर राज्यको सम्पत्ति नोक्सान पु¥याउने काम भएको बताउँछन् । यसको सञ्चालनको मोडल विकास कोषले आफैँ व्यवस्थापनाको जिम्मा लिएर चलाउनुपर्ने बताउँछन् । उनले भने, ‘निजी क्षेत्र वा अरु कुनै पनि मोडलमा लैजादा केही वर्ष पछि यी गाडी कामै नलाग्ने गरी थन्किने अवस्थामा पुग्ने छन् ।’ विकास कोषले यति लामो समयसम्म करोडौ मूल्यका गाडी थन्क्याएर राख्दा पनि सरोकारवला कसैसँग पनि छलफल नगरेको उनी बताउँछन् । तीन वर्षसम्म सञ्चालनको ढाँचा र सवारीको नम्बर प्लेट परिवर्तनमा समय लाग्नु अचम्मको विषय भएको उनको भनाइ छ । ‘सरकारी सवारी साधन सेतो नम्बर प्लेटबाट रातो वा हरियोमा परिवर्तन गर्न एकै दिनमा सकिन्छ तर विभिन्न बाहानमा अल्झाउने काम भएको छ’ उनले भने, ‘जनतालाई सेवा दिन ल्याएका साधन खै त जनतालाई सेवा दिएको ?’ लुम्बिनी विकास कोषले असोज १३ गतेबाट दशैं तिहार र छठपर्वमा यात्रुलाई सेवा दिने भन्दै परीक्षणका रुपमा पाँचवटा बस सञ्चालन गरेको थियो । चाड पर्व अवधिभर परीक्षणका रुपमा सञ्चालन गरिएका बसमा निःशुल्क सेवा प्रदान गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक राखेर परीक्षणका रुपमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध मावलीस्थल देवदह र लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म पाँच वटा बस परीक्षणका रुपमा सञ्चालन गरिएको थियो । तर, चाडपर्व पछि भने बस सञ्चालनमा आउन सकेका छैनन् । नेपाल एसोसिएसन आफ ट्राभल्स एण्ड टुर ऐजेन्ट(नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दातृ निकायले दिएका सवारी साधन यसरी लामो समयसम्म पनि तिनको सञ्चालन प्रक्रियामै अलमल गरेर थन्क्याएर राख्नु राम्रो सन्देश नजाने बताउँछन् । उनले लुम्बिनीको पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील निजी क्षेत्रका सङ्घ संस्थालाई सञ्चालनको जिम्मा दिन आफूले विकास कोषका पदाधिकारीसमक्ष कुरा राखेको समेत बताए । अध्यक्ष पन्तले यी सवारी साधनको विकास कोषले अनुगमन गर्ने गरी निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिँदा यसको सञ्चालन दीर्घकालीन रहने बताउँछन् । ‘जे सुकै होस् तर यति लामो समयसम्म सञ्चालनमा आउन नसक्नु राम्रो होइन’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि हो भने यस्ता पर्यटकीय सेवालाई आवश्यक कानुन बनाएर छिटो सञ्चालनमा ल्याउन पर्छ ।’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्ढीराज भट्टराई लुम्बिनीमा आएका बस पर्यटक लक्षित भएकाले पनि सरकारी नम्बर प्लेट बाट हरियो नम्बर प्लेट रुपान्तरण गर्नुपर्ने तर विकास कोषले सङ्घीय पर्यटन मन्त्रालयलाई आवश्यक निर्णयका लागि पत्राचार गरे पनि निर्णयमा ढिलाइ भएको बताउँछन्। ‘सेतो प्लेटबाट हरियो प्लेटमा रुपान्तरण गर्न नियमनकारी निकायले बाटो फुकाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीले विकास कोषका तर्फबाट पत्राचार गरेका छौँ, तर सङ्घीय मन्त्रालयबाट ढिला भएकाले प्रदेश सरकारबाट निर्णय गराउने विषयमा पनि छलफल चल्दै छ ।’ उनले गत असोजमा गाडीको परीक्षणका लागि बृहत्तर लुम्बिनी क्षेत्रभित्र बस सञ्चालन गरेर गाडी र सडकको अवस्थाअनुरुप परीक्षण सफल भएको पनि बताए। ‘गाडी, बाटोको अवस्था मुख्य राजमार्गभन्दा कतिभित्र जान सक्छन् सम्पूर्ण अध्ययन गरिसकेका छौँ’, उनले भने, ‘परीक्षणबाट बृहत्तर लुम्बिनीभित्रका बौद्ध परिपथमा यी बस राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था छ ।’ उनले यी सवारी साधनको सञ्चालन ढाँचा कसरी गर्ने भन्ने अझै टुङ्गो लागि नसकेको तर सवारी साधनसँगै चार्जिङ स्टेसनसमेत सञ्चालन गर्ने गरी सञ्चालन ढाँचा तयार गरिने बताउँछन् । उनले भने, ‘पहिले कोषले आफैँ सञ्चालन गर्ने र केही समयपछि व्यावसायिक रुपमा निजी वा साझेदारी कुन मोडल उपयुक्त हुन्छ त्यसतर्फ जान पनि सकिन्छ । रासस ।
काठमाडौंवासीलाई गिज्याइरहेको वागमती (फोटो फिचर)
काठमाडौंको बल्खुस्थित वागमती नदिमा छाडा गाई गोरु । काठमाडौं । वागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त वागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ । बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर । वागमती नदीको सभ्यता धेरै गर्विलो छ । वागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । कुलेश्वर छेउको वागमती र सुकुम्बासी बस्ती । पछिल्लो समय वागमती सरसफाई अभियानसँगै वागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण वागमती नदी स्वच्छ, सफा र सुन्दर वागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि वागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ । तर काठमाडौंवासी नै वागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन् । काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदिमा मिसाइएको नाली । काठमाडौं उपत्यकाभित्र त वागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो वागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले वागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित वागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ । ललितपुर देविचौर र काठमाडौंको छैमले बीचबाट बगेको वागमती नदि र फोहोरका कारण निस्केको फिज । काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक वागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाईमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।