काठमाडौं । यो निर्माणको सिजन हो । मंसिर लागेसँगै निर्माणको सिजन सुरु हुन्छ । निर्माण व्यवसायीले मंसिरदेखि असारसम्मको समयलाई नेपालमा निर्माणको सिजन भन्ने गर्छन् । तर, यही सिजनमै निर्माण क्षेत्र सुस्त हुँदा व्यवसायीहरु समस्यामा परेका छन् ।
विगतका वर्षहरुमा यो सिजनमा निर्माण सामग्रीको माग बढ्ने गर्थ्यो । तर, यो वर्ष निजी आवास/भवन तथा अन्य निर्माणजन्य उद्योगहरु नचल्दा निर्माण सामग्रीको माग पनि न्यून देखिएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय निर्माणका काम न्यून मात्रामा हुँदा निर्माण सामग्रीको माग ३० प्रतिशत पनि नभएको व्यवयायीहरु बताउँछन् ।
बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या तथा बैंकमा लगानीयोग्य पुँजीको अभाव हुँदा पनि त्यसको मार निर्माण क्षेत्रमा परेको उनीहरु बताउँछन् । निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दीपक श्रेष्ठ तरलताको समस्याको कारण निर्माण क्षेत्रले गति लिन नसकेको बताउँछन् ।
‘विगतमा दशैं तिहार सकिएसँगै निर्माण सामग्रीको माग उच्च हुने गरेको थियो, तर अहिले फागुन सकिन लाग्दासमेत मागमा बृद्धि हुन सकेको छैन’, उनले भने, ‘निर्माणको अफ सिजन तथा तरलताको समस्याका कारण अहिले निर्माण क्षेत्रमा मन्दी छ, अहिले हार्डवयरको बजार ७० प्रतिशत डाउन छ, खपत कम भएपछि मूल्य घट्यो ।’
अफ सिजन र सिजनमा निर्माण सामग्रीको मूल्यमा खासै फरक नभएतापनि हाल तरलता अभावका कारण व्यापार नोक्सानीमा गएको उनको भनाइ छ । उनले पछिल्लो समय खपतमा कमी आउँदा निर्माण सामग्रीको बजार सुस्ताएको बताए । व्यापार नभए पनि व्यवसायीहरुले नोक्सानीमै रहेर कर्मचारीको व्यवस्थापन गर्ने काम गरिएको उनको भनाइ छ ।
तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ । बजारमा माग नहुँदा सिमेन्टको बजार खस्किएको उनले बताए । अहिले बजारमा प्रतिबोरा सिमेन्टको मूल्य ६ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म रहेको उनको भनाइ छ ।
निर्माण सामग्री व्यापार संघका महासचिव टंक नेपाल पछिल्लो समय ५० प्रतिशतभन्दा कम व्यापार भएको बताउँछन् । बैंक तथा वित्तीय संस्थाले ऋण नदिँदा निजी आवास निर्माणको काम ठप्प छ, केही मात्रामा सरकारी निर्माणको काम भएपनि निजी क्षेत्रको काम ठप्प हुँदा व्यवसाय जोगाउनै मुस्किल छ,’ उनले भने ।
व्यापार नहुँदा निर्माण सामग्रीको मूल्य स्थीर नै रहेको उनले बताए । ‘कहिले माग उच्च हुँदा पनि मूल्य बढेको हुँदैन, कहिले माग न्यून हुँदा समेत मूल्य बढ्ने गरेको छ, भारतीय बजारमा निर्भर हुँदा मूल्य अस्थीर भएको छ,’ उनी भन्छन्, ‘तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य पनि घटेको हो ।’
यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवाल माग नहुँदा बजार मूल्य स्थीर नै भएको बताउँछन् । विगतका वर्षहरुमा धमाधक निर्माणका कामहरु सुरु हुन्थे, डिमान्डसँगै मूल्य पनि उच्च हुन्थ्यो, तर अहिले अवस्था फरक हुँदा मूल्यसँगै माग पनि स्थीर छ,’ उनले भने ।
एक महिनादेखि निर्माणजन्य सामग्रीहरुको मूल्य नबढेको उनले बताए । अहिले बजारमा पैसा छैन, पैसा नै नभएपछि अहिले कामहरु रोकिएको छ । निजी कामहरु ठप्प छन् । सरकारी कामहरु पनि न्यून मात्रामा छ । उत्पादन कम हुँदा केही समय अघि वस्तुको मूल्य बढेको उनले बताए ।
उनले बजारमा डिमाण्ड नहुँदा अधिकांश ग्रिल उद्योगहरु हाल बन्दको अवस्थामा रहेको बताए । ‘कर्मचारी पाल्न सक्ने अवस्था छैन्, त्यही माथि फलामजन्य सामग्रीको मूल्य बीचमा बढ्यो, ग्राहकहरु समेत पर्ख र हेरको अवस्थामा हुँदा व्यवसाय बन्द गरेर बस्न थालेका छन्,’ उनले गुनासो गरे ।
हाल प्रतिकिलो ग्रिलको मूल्य ११५ रुपैयाँ रहेको उनले बताए । एक महिना अघि डण्डीको मूल्य प्रतिकेजी १२० रुपैयाँ थियो । हाल ११५ रुपैयाँमा झरेको छ । निर्माणको सिजनमा १४० रुपैयाँसम्म पुग्ने गरेको छ ।
छैन बजार अनुगमन
अहिले खासै बजार अनुगमन छैन । त्यही मौका छोपेर व्यवसायीहरुले आफूखुशी मूल्य बढाउने गरेका छन् । व्यक्ति र पसल अनुसार मूल्य फरक पर्छ । पैसा तिरे अनुसारको वस्तुको गुणस्तर समेत नभएको अध्यक्ष कटुवाल स्वंयम बताउँछन् ।
अहिलेकोे अवस्था ग्रिल व्यवसाय मात्र नभएर यही व्यवसायसँग जोडिएका अधिकांश व्यवसाय धरासायी अवस्थामा रहेको उनकोे भनाइ छ ।
बिहीबारसम्मको तथ्यांक अनुसार ८१ अर्ब ५५ करोड ८० लाख रुपैयाँ खर्च भएको हो । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि विकास खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ८ महिनामा विकास खर्च न्यून रहेको छ ।