पैसा नभएको बैंकको चेक काट्ने बूढानीलकण्ठका घले पक्राउ
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति प्रकाउ गरेको छ । कार्यालयले धादिङको गङ्गा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको हो । उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार पीडितलाई बिगो भराइ ३६ लाख ८८ हजार जरिवाना, एक लाख ४७ हजार क्षतिपूर्ति शुल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
नेरुडे बरगाछी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे बरगाछी शाखाले बुधबार केन्द्र प्रमूख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला लघुवित्तले कार्यक्रम आयोजना गरेकाे हो । कार्यक्रममा ८५ वटा केन्द्रका सयभन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो । उपस्थित केन्द्र प्रमुखहरु मध्येबाट ज्येष्ठ सदस्य राधा पौडेलको अध्यक्षतामा आयोजित गोष्ठीमा नेरुडेका जनशक्ति व्यवस्थापन विभागका प्रमुख ऋषिप्रसाद न्यौपानेले संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बरगाछी शाखा अन्तर्गतका उत्कृष्ट सदस्यहरु सरस्वतीदेवी पराजुली, पार्वतीदेवी राय, धर्मशिला खानाललाई सम्मान गरिएको बरगाछी युनिटका प्रमुख राजु कुमार चौधरीले जानकारी दिए ।
स्ववियु निर्वाचनलाई लक्षित गर्दै सुरक्षा परिचालन योजना लागू
चितवन । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा लक्षित गरी योजना लागू गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिने छ । निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै शङ्कास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए । स्ववियु निर्वाचन कार्यातालिका अनुसार उम्मेदवारको नामा प्रकाशन पछि अहिले विद्यार्थी सङ्गठन प्रचारप्रसारमा लागि रहेका छन् । प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए । निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको पण्डितले बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्ववियु निर्वाचनका लागि समन्वयात्मक सुरक्षा रणनीति अपनाइएको बताए । उनले भने, ‘स्ववियु निर्वाचन हुने कलेजमा कलेज प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।’ रासस
कतारबाट ‘आइएमई पे’मा पैसा पठाउँदा ४५ जनाले सुनदेखि आइफोनसम्म जित्ने
काठमाडौं । ‘आइएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारले ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनकाे लागि प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । यस क्याम्पियन अन्तर्गत सेवाग्राहीहरूले युनिमनि कतार मोबाइल एप वा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा आकर्षक उपहार जित्नेछन् । ‘आइएमई पे’काे अनुसार क्याम्पेनमा १० जना विजेताले आइफोन १४ प्रो म्याक्स, ५ जना विजेताले सामसुङ ए २२ अल्ट्रा र ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । सोही क्याम्पेनको अवधि चैत १ गतेदेखि जेठ १ गतेसम्म जम्मा ६२ दिनका लागि लागु हुने कम्पनीले जनाएकाे छ । उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पेवालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।
उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए । बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढङ्गले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ । हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधनका लागि सरकारसँग राप्रपा बैठकले माग गरेको छ ।
यूएईका कप्तान भन्छन् : भोलि नेपालसँग जितिन्छ
काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले भोलिको खेलमा नेपालसँग जित्ने बताएका छन् । आज (बुधबार) पिएनजीसँग विजय भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भोलि नेपालसँग हुने खेलमा पनि राम्रो प्रदर्शन गरेर खेल आफ्नो पक्षमा पार्ने बताएका हुन् । ‘आज हामीले राम्रो खेल खेल्यौं, यसलाई हाम्रो कम ब्याकका रुपमा पनि बुझ्दा हुन्छ, हामी हाम्रा लागि विशेष दिन छ, भोलि नेपालसँगको खेल पनि जितेर सुखद अन्त्य गर्न चाहन्छौं,’ उनले भने । लगातार चार पराजयपछि आज यूएईले एउटा जित हात पारेको हो । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत बुधबार पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध ६ विकेटको जित निकालेसँगै यूएईले राम्रो कमब्याक गरेको हो । पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान ७६ बलमा १२ छक्का र ६ चौकासहित ११९ रन बनाए । ओडिआईमा वसिमको यो करियरमा उत्कृष्ट पारी हो ।
अब सेयर बजारमा पैसा बिनै पनि लगानी गरेर कारोबार गर्न सकिने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ भन्ने व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको नेप्सेले जनाएको छ । नेप्सेकाे अनुसार प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश राखेर कारोबार सम्पन्न गराउनेछ ।
बेलायतबाट १४ अर्ब अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । बैठकले यही चैत ८ देखि १० सम्म न्यूयोर्कमा आयोजना हुने उच्चस्तरीय वाटर कन्फरेन्स, २०२३ को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति दिएको छ । नेपाल र श्रीलङ्का सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ । नागढुङ्गा–नौबिसे–मुग्लिन सडक विस्तारका लागि सडक सीमाभित्रका एक सय २१ र नारायणघाट–मुग्लिन सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कनभित्र परेका २६ वटा घरटहरा भोगचलन गर्ने व्यक्तिलाई क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।