विकासन्युज

नारायणघाट बुटवल सडक शिलान्यास भएको ४ वर्षपछि कालोपत्र सुरु

काठमाडौं । शलान्यासको ४ वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ । नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा पाँच सय मिटर सडकमा बिहीबार कालोपत्र गरिएको हो । गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो । कावासोतीदेखि लोकाहासम्मको ४ किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे सात मिटर फराकिलो सडकमात्र पहिलो चरणमा कालोपत्र गरिएको हो । ‘बुधबार गरिएको कालोपत्र छ सेन्टिमिटर बाक्लो छ, दोस्रो चरणमा चैत मसान्तभित्र त्यसमाथि थप चार सेन्टिमिटर बाक्लो कालोपत्र थपिने छ,’ झाले भने । कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको क्षेत्र कालोपत्र गर्न थप १ लाख घनमिटर ग्राभेल आवश्यक पर्ने भएकाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको जानकारी दिँदै झाले कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको सडक चैतभित्र कालोपत्र गरिने बताए । फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशतमात्र भएको सडकको निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ करपोरेशनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा ४ लेन तथा दाउन्नेमा ३ लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । साढे ३ वर्षमा सडक निर्माणको काम सक्ने र ५ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विं.सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

बचतकर्ताको ४५ करोड फिर्ता, १ हजार बढी सहकारीको अनुसन्धान

काठमाडौं । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उनीहरुले आग्रह गरेका हुन् । सहकारीका सन्दर्भमा बुधबार आयोजित छलफलमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन भइसकेको बताए । समितिले यसबीचमा बचतकर्ताको ४५ करोड रुपैयाँ फिर्ता गराइसकेको छ भने एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ । सहकारी विभागले सहकारीको मूल्य मान्यताविपरीत कार्य गर्ने सञ्चालकको राहदानी र बैंक खाता रोक्का गरी बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको सचिव रेग्मीले जानकारी दिए । मन्त्रालयले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सहयोग गर्न सविच रेग्मीले सहकारी महासङ्घका पदाधिकारीसँग आग्रह गरेका छन् । मन्त्रालयले सबै जिल्ला सङ्घलाई यस्तो भूमिका निभाउन आग्रह गर्दै सहकारी महासङ्घमार्फत निर्देशन पठाइसकेको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलले गलत गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकलाई सुझाव दिए । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा परेका बचतकर्ताको समस्या सुन्न र समस्या समाधान गरिदिने निकाय देशमा रहेकाले आशाको सञ्चारको सन्देश प्रवाह गर्न ध्यानाकर्षण गराए । विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको जानकारी दिए । कार्यक्रमका अन्य सहभागी वक्ताले सहकारी अभियान गलत नभएकाले केही सञ्चालकको गलत क्रियाकलापबाट उत्पन्न समस्यालाई समाधान गर्न सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिए ।

कुमारी बैंकले सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु सन्जीव भक्त श्रेष्ठको १५ हजार ६८ कित्ता र सौरभ कृष्ण मल्लको ७१ हजार २६५ कित्ता गरी कूल ८६ हजार ३३३ कित्ता बिक्रीमा राखेको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।

प्रभु बैंकको सेयर दोस्रो बजारभन्दा २० रुपैयाँ महँगो

काठमाडौं । प्रभु बैंकले दोस्रो बजारभन्दा महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्रीमा राखेको हो । नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १०५ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिहीबार बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता २० रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु संजय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता, श्रवण कुमार अग्रवाल र राजेश कुमार अग्रवालको समान ५९ हजार ७५९ कित्ता, भोज कुमार सिटौलाको ३३ हजार १८ कित्ता, सचित्र मान शाक्यको ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यको ८६ हजार ४६८ कित्ता र विनिता अधिकारीको २ लाख कित्ता गरी कूल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२५ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश ?

last day काठमाडौं । विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत २ गते अन्तिम दिन हो । यी तीन कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । हिमालय एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद गरी कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले २९ औं वार्षिक साधारण सभा चैत २९ गते बिहान ११ बजे वानेश्वर व्याक्वेट काठमाडौंमा बोलाएको छ । यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत नगद गरी कूल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले २१ औं वार्षिक साधारण सभा चैत १६ गते पर्सामा दिउसो १२ः३० बजे बोलाएको छ । यस्तै, स्वाभिमान लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले चैत ११ गते बुटवल रुपन्देहिमा बिहान ११ बजेदेखि छैठौँ बार्षिक साधारणसभा बोलाएको छ ।

चिलिमे जलविद्युतको ७.५ प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २२ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत बोनस सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्राइम लाइफको सेयर संरचना परिवर्तन, ५१:४९ अनुपात कायम

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो । कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ मा परिणत गरिएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०ः४० को रहेको थियो । सेयर अनुपातलाई ५१ः४९ मा परिणत गर्न नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनीको १५ औं बार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ । साथै सो बमोजिम आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाण्डौंमा लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यदि उक्त अवधिमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

आजदेखि काठमाडौं महानगरपालिकाका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा आज बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवामा जानुअघि उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ । सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ । त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ । बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो । यसप्रकारको अभ्यास यसअघि गरिएको छैन । यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन् । यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ । सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ । कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ । सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ । सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ । त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ । त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थीलाई परिचालन गरिनेछ । ‘अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ, स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ । सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन् । यस बेला अवस्था बुझेर सेवा दिनुपर्छ,’ कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने ।