सहकारीलाई बलियो बनाउन मर्जरमा जानुपर्छ : प्रमुख कोइराला
विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । ‘यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।’ ‘मर्जर’मा गएमा सहकारी बलियो हुने भन्दै नगरप्रमुख कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन् । स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । उपप्रमुख कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शीता र इमान्दारिता जरुरी रहेको औँल्याए । अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिएका थिए । उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो राखेका थिए । महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । रासस
पोखराको हिमालय आँखा अस्पताल अब्बल, ३१ हजार बढीको सफल शल्यक्रिया
अन्नपूर्ण (कास्की) । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले जानकारी दिए । सोही अवधिमा २१ लाख ६१ हजार पाँच सय ५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा श्रेष्ठले बताए । ‘यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा तीन लाख ९८ हजार सात सय २७ को आँखा जाँच गरिएको छ’, उनले भने, ‘११ हजार तीन सय २७ लाई निःशुल्क चश्मा वितरण पनि गरियो ।’ विभिन्न स्थानमा गरिएको आँखा जाँच शिविरबाट आठ लाख ३७ हजार एक सय ५० लाभान्वित भएको उनले जानकारी दिए । अस्पतालले उत्कृष्ट सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीको आँखाको उपचार पोखरामा मै सम्भव भएको नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए । जसले गर्दा समय र पैसाको बचत भएको अध्यक्ष गुरुङले बताए । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ’, अध्यक्ष गुरुङ भन्छन् । पछिल्ला समय अस्पतालमा नयाँ सुविधा बढेकाले पनि बिरामी सङ्ख्या बढेको छ । पुरानो सेवाबाहेक आँखाको रेटिनाको शल्यक्रिया, कन्ट्याक्ट लेन्स सुविधा, भिजन थेरापी नयाँ प्रविधि ल्याएपछि अस्पतालमा झनै बिरामीको सङ्ख्या बढेको डा श्रेष्ठले बताए । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको डा श्रेष्ठको दाबी छ । आगामी दिनमा नयाँ भवन बनाउने योजना रहेको डा श्रेष्ठले सुनाए । ‘३० वर्ष अघि एक सय ५० जनालाई लक्षित गरी बनाइएको हो । अहिले त दैनिक छ सयभन्दा बढी बिरामी आउँछन्’, डा श्रेष्ठले भने, ‘हावाहुरी र पानी पर्दा बिरामीलाई साह्रै समस्या हुन्छ । त्यसैले नयाँ भवन बनाउने कि भनेर सोचिरहेका छौँ ।’ पोखरा पर्यटकीय क्षेत्र भएकाले आगामी दिनमा मेडिकल टुरिजमको अवधारणालाई अघि बढाउने योजना रहेको डा श्रेष्ठले बताए । क्यान्सरको जटिल शल्यक्रिया, नाक, कान, घाँटी र नसासँग सम्बन्धित शल्यक्रिया र चश्मा लगाउन नपर्ने री हुने लेजर सर्जरीबाहेक अन्य सेवा अस्पतालबाट दिइरहेको उनको भनाइ थियो । हालसम्म कर्णाली र गण्डकीमा गरी २७ ठाउँमा आँखा उपचार केन्द्र छन् । तत्कालीन गण्डकी, धौलागिरि र कर्णाली अञ्चलमा यी सेवा केन्द्र रहेको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिए । अस्पतालमा बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलियालगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्टनसिप गर्न आउने गरेका छन् । उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कछन् । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ । आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा निकै सस्तो शुल्कमा आँखासम्बन्धी पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीको रुचि पनि असाध्यै देखिएको व्यवस्थापक गर्बुजाले बताए । तीन वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्समा ४० जनाले पढ्दै आएको उहाँले जानकारी दिनुभयो । पोखरा विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित चार वर्षे ब्याचलर अफ अप्टोमेट्रीमा १६ जना र दुई वर्षे मास्टर्स अफ अप्टोमेट्रीमा छ जना विद्यार्थी अध्यतरत छन् । रासस
तोलाको १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ बुधबार तोलाको १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । महासंघको अनुसार तेजावी सुनको मूल्य पनि बढेर आज प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा किनबेच भइरहेको छ । महासंघका अनुसार बुधबार चाँदीको मुल्य प्रति तोला १ हजार ३०० रुपैयाँ कायम भएको छ ।
तीन कम्पनीले १४ जहाज बेच्दै, कसले किन्दैछ ?
काठमाडौं । पछिल्लो समय सरकारी तथा निजी लगानीमा सञ्चालित आधिकाशं वायुसेवा कम्पनीहरुले जहाज बिक्री गर्ने भएका छन् । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमदेखि निजी क्षेत्रका लगानीमा सञ्चालित वायुसेवा कम्पनीहरुले जहाज बिक्री गर्न लागेका हुन् । नेपाल एयरलाइन्सले ६ थान चिनियाँ जहाज बिक्रीको (जसमध्ये एउटा जहाज नेपालगन्ज एयरपोर्टमा दुर्घटनाग्रस्त भएपछि स्क्र्याप गरेर इन्स्योरेन्ससमेत दाबी गरिसकेको) तयारी थालेकोे लामो समय भैसक्यो । सुरुवाती चरणमा भाडामा दिने तयारी थालिएको चिनियाँ जहाज भाडामा नलागेपछि निगमले सम्बन्धित कम्पनीलाई नै फिर्ता पठाउने तयारी थालेको छ । नेपाल एयरलाइन्सले चीनबाट खरिद गरेका ५ थान चिनियाँ जहाज (५६ सिटे २ थान एमए–६० र १९ सिट क्षमताका ३ थान वाई–१२ ई) बिक्री नभएपछि अर्थ मन्त्रालयको अनुमति अनुसार जहाज फिर्ता पठाउने तयारी थालेको हो । जहाजको आम्दानीभन्दा सञ्चालन खर्च बढी भएपछि निगम सञ्चालक समितिले २०७७ को साउन १५ गतेदखि चिनियाँ जहाज ग्राउण्डेड गरेको थियो । जहाज ग्राउण्डेड गरेपछि बिक्रीको तयारी थालेको थियो । अर्थ मन्त्रालयले निगमलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उक्त जहाज भाडामा लगाउन नभए बिक्रीको प्रक्रिया थाल्न निर्देशन दिएको थियो । अर्थको निर्देशन अनुसार जहाज भाडामा लिन कुनै पनि कम्पनी नआएपछि निगमले सम्बन्धित कम्पनीलाई नै जहाज फिर्ता लिन पत्र पठाइसकेको छ । भाडामा नगएपछि अर्थ मन्त्रालयले नै गत डिसेम्बर १४ अर्थात मंसिर २८ गते निगमलाई पत्र पठाउँदै एभिक इन्टरनेशनललाई जहाज बिक्री गर्न पत्र पठाएको थियो । अर्थको सहमति अनुसार निगम सञ्चालकले जहाज लिनका लागि पत्र पठाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । ‘अर्थको स्वीकृति अनुसार निगम सञ्चालकले एभिक इन्टरनेशनललाई जहाज लिनका लागि पत्र पठाइसकेको छ, उताबाट अहिलेसम्म मन्त्रालयमा कुनै जानकारी आएको छैन’, मन्त्रालय स्रोतले भन्यो । ४० वर्षयता नेपाल वायुसेवा निगमले आन्तरिक सेवामा रहेका ट्वीनअटर डीएचसी ६ मोडलका जहाजहरुलाई विस्थापन गर्न भन्दै २०६८ सालमा चिनियाँ जहाज खरिद योजना अगाडि बढेको थियो । यस्तै, निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्स र प्रभु हेलिकप्टरले समेत जहाज बिक्रीकोे तयारी थालेका हुन् । गुण एयरलाइन्सले २०७८ सालमा यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम–४१ सिरिजका जहाज बिक्रीको तयारी थालेको छ । गुण एयरका प्रवक्ता तथा मार्केटिङ्ग प्रमुख प्रज्वल थापा पुराना जहाज बिक्रीको तयारी अन्तिम चरणको पुगेको बताउँछन् । यस कम्पनीको जहाज अमेरिकाको एक कम्पनीले खरिद गर्न इच्छा देखाएको बुझिएको छ । ‘यतीसँग किनेका ५ सहित गुणसँग ७ वटा जहाज भएतापनि ४ वटाले मात्र उडान गर्ने गरेको थियो, उडान नगर्ने जहाज हामीले बिक्रीको तयारी थालेका थियौँ, तयारीकै बीचमा क्यानले उडानमा प्रतिबन्ध लगायो’, थापाले भने, ‘प्रतिबन्धकै बीच जहाज खरिद गर्न अमेरिकाको एक कम्पनीले जहाज लैजाने टुंगो लगभग लागिसक्यो, मूल्यांकनको काम बाँकी छ ।’ उनले पुराना जेट स्ट्रिम जहाज बिक्री गरेर ५० देखि ७० सिट क्षमताका मझौला जहाज ल्याएर गुणले पुनः उडान सुचारु गर्ने बताए । प्रभुले ४ वटा बिक्री गर्ने प्रभु हेलिकोप्टरले हाल सञ्चालन गर्दै आएको चार वटा हेलिकप्टर बिक्रीको तयारी थालेको छ । कम्पनीले चार वटा रोविन्सन हेलिकप्टर बिक्री गरेर एयरबस कम्पनीको नयाँ हेलिकप्टर किन्ने तयारी थालिएको जनाएको छ । प्रभु हेलिकप्टरका नायब महाप्रबन्धक नोवलकुमार राजलावत चार थान रोविन्सन हेलिकप्टर बिक्रीको अन्तिम चरणको पुगेको बताउँछन् । ‘हामीसँग पाँच थान रोविन्सन जहाजमध्ये हाल चार वटा बिक्रीको तयारी अन्तिम चरणमा पुगेको छ, उक्त जहाज बिक्री गरेर एयरबस कम्पनीका जहाज ल्याउँछौँ’, उनले भने । पाँचमध्ये कम्पनीले हालका लागि सन् २०१८ मा किनेको एउटा रोविन्सन हेलिकोप्टर भने चलाउने जनाईएको छ । क्यानडा पुग्यो बुद्धले २५ वर्ष चलाएको जहाज बुद्ध एयरले २५ वर्ष अगाडि उडान यात्रा सुरु गरेको पहिलो जहाज बिचक्राफ्ट जहाज बिक्री गरिसकेको छ । केही दिन अगाडि बुद्धले पुराना जहाज क्यानेडियन कम्पनीलाई बिक्री गरिसकेको छ । बुद्धले आजभन्दा २५ वर्ष अगाडी बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट हवाई यात्रु सुरु गरेको थियो । नेपाली आकाशमा ७५ हजार पटक उडान अवतरण गरेको पुरानो चहाल क्यानडाको कम्पनीलाई बिक्री गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र वहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार नेपाली आकाशमा उडान गर्ने सबै जहाज थोत्रा र पुराना हुन भन्नेहरुका लागि बुद्धले बिक्री गरेको बिचक्राफ्ट जहाज उदाहरण हो । जहाज पुरानो नहुँने भन्नै तोकिएको समयमा मेन्टेनेश गरेर २५ वर्षदेखि जहाज चलाईएको उनको बताए । १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाजको नेपाली दर्ता नम्बर ‘नाइन एन –एईई’ र दोस्रो जहाज सन् १९९८ मा खरिद गरिएको बिचक्राफ्टको दर्ता नम्बर ‘नाइन एन –एईडब्लू’ रहेको छ । पुराना जहाज उडाउँदा खर्च धेरै हुन थालेपछि बुद्धले हालै क्यानेडियन कम्पनीलाई बिचक्राफ्ट बिक्री गरेको हो । नागरिक उडड्यन प्राधिकरण (क्यान) भने बुद्ध एयरले पुराना जहाज बिक्री गरिसकेको भन्दै अन्य एयरलाइन्सका जहाज बिक्रीको जानकारी नआएको जनाएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौला बुद्ध एयरले सञ्चालन गरेका जहाज मात्र बिक्री भएको बताए । गुण एयर र प्रभु होलिकप्टरका जहाज बिक्रीको औपचारिक रुपमा कुनै जानकारी नगराएको उनको भनाइ छ । ‘हामीसँग गुणले जहाज बिक्रीको विषयमा कुनै जानकारी गराएको छैन, मैले पहि समाचार देखेर थाहा पाएको हो’, उनले भने, बिक्रीको आन्तरिक तयारी भएको होला, हामीकहाँ भुक्तानी गर्नुपर्ने बक्यौता रकम पूर्ण रुपमा भुक्तानी नभएसम्म जहाज बिक्रीको अनुमति दिदैनौं।’ जहाज खरिद तथा बिक्रीका लागि क्यानले अनुमति दिनुपर्छ । पछिल्लो समय निगमको टिवनअटर, श्री एयरका तीनवटा र सौर्यले एउटा जहाज ग्राउन्डेड गरेर राखेको छ ।
सुदूरपश्चिममा पुन: देखिन थाले कोरोना संक्रमित
फाइल फाेटाे काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए । सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ । स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ । कोरोनाको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ । कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रासस
एमबीबीएस अध्ययनको लागि छ हजार ६६९ जनाले निकाले नाम
काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा छ हजार ६६९ जना विद्यार्थीले प्रवेशिका परीक्षामा नाम निकालेका छन् । फागनु २४ गते चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा छ हजार ६६९ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । २०० पूर्णांकमा लिइएको परीक्षामा सबैभन्दा उच्च स्कोर ल्याउने विद्यार्थीले १७८.७५ नम्बर प्राप्त गरेका छन् भने ५८.२५ सम्म नम्बर ल्याउने विद्यार्थीलाई पनि उतीर्ण गराइएको छ । परीक्षामा २१३ विद्यार्थीले उत्तर पुस्तिकामा रोल्न नम्बर र बबल विगारेको र २३ विद्यार्थीले प्रश्न सेट र उत्तर पुस्तिका दुवैमा बबल सेट बिगारेको आयोगले जनाएको छ । प्रकाशित नतिजामा आफ्नो असहमति रहेमा विद्यार्थीले चैत्र ८ गतेदेखि १० गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने पनि आयोगले जानकारी दिएको छ ।
आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै
फाइल फाेटाे काठमायौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ । नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्का साथ तालिकाको अन्तिममा छ । नेपालले आजको खेलमा करण केसीको ठाउँमा गुलशन झालाई समावेश गरेको छ । नेपाली टोलीमा झासँगै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । विभिन्न सात राष्ट्र सहभागी शृङ्खलाको यो अन्तिम खेल हो । रासस
२ वर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति÷रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको छ । यसअघि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति÷सम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आइएको थियो । निश्चित अवधिका लागि मात्र श्रम स्वीकृति जारी हुँदा श्रमिकको कार्य अवधि र भिषा अवधि छदै श्रम स्वीकृतिका कारणबीचमा नै नेपाल फर्किनुपरेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि ननघाइ बस्नुपर्ने अवस्था देखिएको थियो । सरकारले गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट नै पुनः श्रम स्वीकृति दिने व्यवस्थासमेत गरेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा पुनः श्रम स्वीकृतिको व्यवस्था गरिएको छ । सो व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन पनि पुनः नेपाल आउनुपर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितव्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्धारलगायत सुविधा कानुनबमोजिम प्राप्त गर्न नसक्ने अवस्था थियो ।