सुकुम्वासीलाई जग्गा, भोटको राजनीति अन्त्य
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुकम्वासीलाई जग्गा वितरण गरिने प्रतिवद्धता गरेका छन् । शनिबार काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीलाई व्यवस्थित ठाउँमा सार्ने प्रक्रिया अगाडि बढिरहँदा प्रधानमन्त्री बालेनले यस्तो प्रतिवद्धता गरेका हुन् । उनले अब लामो समयदेखि रहँदै आएको बाढीको समस्या वर्तमान सरकारले समाधान गर्न खोजेको उल्लेख गर्दै त्यो समस्याको समाधानसँगै सुकुम्वासीमाथि गरिने भोटको राजनीति पनि अन्त्य गरिन लागिएको उनको भनाइ छ । यस्तो छ उनको भनाइ बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य । यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि । यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु । सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने ? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु ? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो । त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन् । यो स्थानान्तरणले काठमाडौंको ढल निकास प्रणालीलाई सहज बनाउनेछ । यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौंका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो । मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौं । काठमाडौंका खोला किनार बाहेक अरू हजारौं परिवार छन्, जो वास्तवमै पीडित छन् । अनि देशभर लाखौं सुकुम्बासी छन् । त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौं, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।
शेखर गोल्छा पक्राउप्रति आपत्ति जनाउँदै नाइमाले भन्यो– प्रमाणबिना उद्योगीमाथि प्रहार नगर
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग जोडिएको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाइमाको बोर्ड सदस्यसमेत रहेका गोल्छामाथि भइरहेको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संस्थाले शुक्रबार (आज) एक विज्ञप्ति जारी गरी राज्यका निकायहरूलाई संवेदनशीलता अपनाउन र विधिको शासन कायम राख्न आग्रह गरेको हो । नाइमाले कुनै पनि व्यक्तिमाथि कारबाही वा प्रक्रिया अघि बढाउँदा सम्बन्धित पक्षलाई आफ्नो कुरा राख्ने पर्याप्त अवसर दिनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्दछ । प्रक्रियागत स्पष्टता र उचित विवेकले मात्र प्रणालीप्रतिको विश्वास सुदृढ हुन्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा निजी क्षेत्रको ठूलो योगदान रहेको स्मरण गराउँदै नाइमाले राज्यको व्यवहार सकारात्मक हुनुपर्ने उल्लेख गरेको छ । ‘निजी क्षेत्रको मनोबल उच्च राख्ने र उद्यमशीलता जोगाउने दिशामा राज्यले उचित नीतिगत सन्देश दिनु आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ । संस्थाले आफू पारदर्शिता र विधिको शासनको पक्षमा रहेको पनि प्रष्ट पारेको छ। कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा नाइमाले जोड दिएको छ । कानुन उल्लंघन गर्ने जो-कोहीमाथि कारबाही हुनुपर्छ भन्नेमा संस्था अडिग रहेको विज्ञप्तिमा उल्लेख छ । पर्याप्त प्रमाणबिना कसैमाथि कठोर कदम चाल्दा समग्र आर्थिक प्रणाली र विश्वासमा धक्का लाग्ने चेतावनीसमेत नाइमाले दिएको छ । शेखर गोल्छालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
नर्भिक हस्पिटलको आईपीओ मूल्य ११ सय रुपैयाँ
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको सेयर मूल्य १ हजार १ सय रुपैयाँ प्रस्ताव गरिएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्रीका लागि प्रक्रिया अघि बढाएको कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि अनुमानित प्रतिकित्ता १ हजार १ सय रुपैयाँ मूल्य ताेकेकाे हाे । शुक्रबार योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्दै उक्त मूल्य प्रस्तावित गरिएको कम्पनीले जनाएको छ । बोलकबोल विधिमार्फत जारी हुने सेयर मूल्य पछि घटबढ हुन सक्नेछ । कम्पनीले जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँमध्ये २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ४१ हजार २०० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् १२ लाख २४ हजार ७२० कित्ता सेयर (कर्मचारीलाई समेत) बुक बिल्डिङ विधिमार्फ बिक्री गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेको छ ।
जीवन बीमा कम्पनीहरूको नयाँभन्दा पुरानो पोलिसीमै जोड, झण्डै ८० प्रतिशत व्यवसाय नवीकरणबाट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जसमा कम्पनीहरूले १ खर्ब ८ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमामार्फत आर्जन गरेको छन् भने ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँमात्रै नयाँ व्यापार (प्रथम शुल्क) आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार बीमा कम्पनीहरूको प्रथम बीमा शुल्कको बजार हिस्सा २२ प्रतिशत छ भने ७७.३० प्रतिशत भने नवीकरण बीमा शुल्कको बजार हिस्सा नवीकरण शुल्कबाट देखिएको छ । बीमा कम्पनीहरूको नवीकरण बीमा शुल्कको बजार हिस्सालाई हेर्ने हो भने बीमा व्यवसाय नवीकरणकै भरमा चलेको देखिन्छ । यो तथ्यांकले जीवन बीमा कम्पनीहरू नयाँ भन्दा पुराना पोलिसीमार्फत प्रिमियम संकलन गर्न सक्रिय देखिन्छन् । अर्को कारण बीमा कम्पनीहरूले पछिल्ला समयहरूमा पुराना पोलिसीलाई नवीकरण गर्न बीमितलाई क्यास ब्याक, उपहारलगायत विभिन्न छुटका योजना सार्वजनिक गरिरहेका छन् । यसले पनि बीमा कम्पनीहरूको नवीकरण शुल्क बढ्नमा मद्दत पुगेको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल लाइफले नवीकरण बीमा शुल्कबाट २८ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । जुन कुल व्यवसायको २०.३३ प्रतिशत हिस्सा हो । नेपाल लाइफले ५.९१ प्रतिशत मात्रै नयाँ व्यवसाय भित्र्याएको छ । अर्थात ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ। नेशनल लाइफले ९ महिनाको अवधिमा १२ अर्ब ५६ करोड १९ लाख रुपैयाँ नवीकरण शुल्कबाट आर्जन गरेको छ । यो कुल बीमा शुल्कको ८.९४ प्रतिशत हो । कम्पनीले सो अवधिमा ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ अर्थात ३.२१ प्रतिशत प्रथम बीमा शुल्कबाट व्यवसाय संकलन गरेको छ । एलआइसी नेपालले १२ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ बराबरको व्यवसाय नवीकरण शुल्कबाट संकलन गरेको छ । जुन कुल व्यवसायको ९.०४ प्रतिशत हिस्सा हो । कम्पनीले प्रथम बीमा शुल्कबाट भने २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी, हिमालयन लाइफले ११ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १२ करोड ५३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ३५ करोड १० लाख रुपैयाँ, एशिएन लाइफले ५ अर्ब ४९ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ११ करोड ५९ लाख रुपैयाँ नविकरण शुल्कबापत व्यवसाय आर्जन गरेका छन् । कुल व्यवसायमा हिमालयन लाइफको ८.१८, राष्ट्रिय जीवन बीमाको ५.७८, सूर्यज्योति लाइफको ४.५२, एशिएन लाइफको ३.९१ प्रतिशत, सिटिजन्स लाइफको २.९ ३ प्रतिशत हिस्सा नवीकरण बीमा शुल्को छ । त्यस्तै प्रथम बीमा शुल्कतर्फ क्रमश १.२५ प्रतिशत, ०.७० प्रतिशत, १.५६ प्रतिशत, १.२४ प्रतिशत र सिजिटन्स लाइफको १.३८ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, नवीकरण बीमा शुल्कबाट सानिमा रिलायन्सले ३ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ, आईएमई लाइफ ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७४ करोड २६ लाख रुपैयाँ, रिलायबल नेपालले २ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ र सन् नेपाल लाइफले २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ संकलन गरेका छन् । प्रथम बीमा शुल्कबाट सानिमा रिलायन्सले १ अर्ब ४७ करोड रुपैयाँ, आईएमई लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब १६ करोड, रिलायबल नेपालले १ अर्ब ४६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २२ करोड २३ लाख रुपैयाँ र सन नेपाल लाइफले ८३ करोड ८१ लाख रुपैयाँ संकलन गरेका छन् ।
हिमालयन बैंक अब फोनेपेमा, लाखौं ग्राहकलाई क्यूआर भुक्तानी सुविधा
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ । यो साझेदारीलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक अग्रणी संस्थासँग जोडेको छ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित छ । विश्वास, नवप्रवर्तन र वित्तीय नेतृत्वको पर्याय बनेको हिमालयन बैंक आधुनिक बैंकिङ सेवा नेपालमा भित्र्याउने अग्रणी संस्थामध्ये एक मानिन्छ । देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका कारण हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले डिजिटल भुक्तानीको प्रयोगलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ । यसबाट देशभरका लाखौं हिमालयन बैंकका ग्राहकहरूले सहज रूपमा क्यूआर-आधारित कारोबारको सुविधा प्राप्त गर्नेछन् । फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हिमालयन बैंकलाई नेटवर्कमा स्वागत गर्दै नेपालको डिजिटल भुक्तानी यात्रामा यो परिभाषित क्षण भएको बताए । उनले हिमालयन बैंकले नेपाली ग्राहकहरूसँग निर्माण गरेको गहिरो विश्वास र फोनेपेका २० लाखभन्दा बढी व्यापारी टचपोइन्टहरूको पहुँचले नगदरहित नेपालको लक्ष्यतर्फ अझ तीव्र गतिमा अघि बढ्न मद्दत गर्ने उल्लेख गरे । उनले देशको अग्रणी निजी बैंकका रूपमा हिमालयन बैंकले अनुपम विश्वसनीयता र पहुँच ल्याएको भन्दै अब डिजिटल भुक्तानीलाई देशको हरेक कुनामा र हरेक नेपालीसम्म पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे । हिमालयन बैंकले पनि फोनेपे नेटवर्कमा आबद्ध हुनु आफ्नो दीर्घकालीन वित्तीय नेतृत्वको स्वाभाविक विस्तार भएको जनाएको छ । बैंकका अनुसार अब ग्राहकहरूले अन्तरसञ्चालनयोग्य डिजिटल भुक्तानीका सम्पूर्ण फाइदा छिटो, सुरक्षित र सहज रूपमा अनुभव गर्न सक्नेछन् ।
नेप्सेले सीडीएससीका सीईओ पन्दाकलाई फिर्ता बोलायो
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । शुक्रबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको गरेको हो । यसअघि पन्दाकलाई नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै उनलाई सीईओको जिम्मेवारी तोकेको थियो । सीईओमा कार्यरत छँदा सूचीकृत कम्पनीलाई २ आइजिन दिने नीति बनाउने तयारी गरेपछि पन्दाक विवादित भएकी थिइन् ।
जोखिमयुक्त बस्ती हटाउने घोषणा गर्दै प्रधानमन्त्रीले भने- भोटको राजनीति गरेर नागरिकको ज्यानमा खेलबाड गर्दैनौं
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंका विभिन्न नदी किनारमा रहेका अव्यवस्थित र जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेका छन् । उनले हरेक वर्ष मनसुनको समयमा आउने बाढीका कारण हजारौं नागरिकले ज्यान जोगाउन घरबार छाड्नुपर्ने नियतिलाई अन्त्य गर्न सरकारले यो कदम चाल्न लागेको बताएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने, ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै अधिकार र भोटको राजनीति सधैँ गरिरह ने ?’ प्रधानमन्त्रीले जोखिमयुक्त ठाउँमा बसिरहनु नागरिकको अधिकार नभई, जोखिमरहित ठाउँमा सुरक्षित रूपमा व्यवस्थापन हुनु वास्तविक अधिकार भएको उल्लेख गरे । थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै र बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने सरकारको योजना छ । नदी किनारका बस्तीका कारण उपत्यकाको ढल निकास प्रणाली निर्माणमा अवरोध पुगेको र नदीहरू दुर्गन्धित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस स्थानान्तरणले काठमाडौँको समग्र वातावरणीय सुधारमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे । बस्ती स्थानान्तरणसँगै ढल निकास प्रणाली सहज हुने र उपत्यकाको फोहोर व्यवस्थापनमा सुधार आउने उनको तर्क छ । उनले आफ्नो चुनावी वाचा र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई स्मरण गरेको पनि उल्लेख गरेका छन् । ‘हामी सरकारमा छौं, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,’ प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । सरकारले अहिले आन्तरिक तयारी तीव्र पारेको र अबको वर्षमा यो समस्यालाई थाती नराखी ठोस नतिजा निकाल्ने दाबी गरेको छ ।
लागुऔषध कारोबारीले जेनजी आन्दोलनमा लुटिएको पेस्तोलले प्रहरीमाथि चलाए गोली
काठमाडौं । जेनजी आन्दोलनमा लुटेको हतियार किनेर लागुऔषध कारोबारीले प्रहरीमाथि गोली चलाएका छन्। काठमाडौंको साँखुमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि खोजतलास तथा नियन्त्रण गर्न प्रहरी पुगेका थिए । सोही क्रममा भीडन्त हुँदा एक जना घाइते भएको र अर्का व्यक्ति नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । कारोबारीले प्रहरीमाथि गोली चलाएकाले आत्मरक्षाको निम्ति प्रहरीले गोली चलाएकाे हो । घटनास्थलबाट एउटा पेस्तोल र तीन राउण्ड गोलीसहित उनीहरू पक्राउ परेका छन् । ब्यूरोका अनुसार कारोबारीले जेनजी आन्दोलनमा लुटिएको हतियार प्रयोग गरेका थिए ।