विकासन्युज

निर्यात ७७ प्रतिशतले बढ्यो, चार महिनामा ६ खर्ब बढीको आयात

काठमाडौं । भन्सार विभागले निर्यात बढेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालबाट कुल ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो । गत आवको कात्तिकसम्म कुल ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।  यो अवधिमा कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कुल ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो ।  विभागका अनुसार यो अवधिसम्म कुल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ । कात्तिकसम्म कुल ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।  चार महिनाको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत र आयातको हिस्सा ८६.७० प्रतिशत रहेको छ ।   

भौतिक पूर्वाधार पुन:निर्माण कोषमा एफवान सफ्ट ग्रुपले जम्मा गर्‍यो ७५ लाख रुपैयाँ

काठमाडौं । एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा ७५ लाख रुपैयाँ सहयोग गरेको छ।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुन:निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो।  एफवान सफ्ट इन्टरनेशनल, ईसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हो ।   राष्ट्र पुन:निर्माणको यात्रामा राष्ट्रसँग दृढतापूर्वक हातेमालो गर्ने निर्णय गर्दै एफवान सफ्टले सहयोग गरेको हो ।  एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले राष्ट्र पुन:निमाणमा जागरुक भएर लाग्नुपर्ने बताए ।

काठमाडौंमा प्रोटोनको ‘एक्सचेन्ज फर एक्सचेन्ज’ क्याम्प : ८ वर्ष वारेन्टी र शून्य प्रतिशत ब्याजदरमा गाडी

काठमाडौं । जगदम्बा मोटर्स प्रोटोन डिभिजनले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘एक्सचेन्ज फर एक्सचेन्ज’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  यही नोभेम्बर २१ देखि २३ (शुक्रबारदेखि सोमबार) सम्मका लागि आयोजित यो कार्यक्रम ग्राहकहरूको अझ नजिक पुग्ने र उनीहरूलाई उत्कृष्ट डिल तथा प्रिमियम ड्राइभिङको अनुभव गराउने उद्देश्यका साथ ल्याइएको कम्पनीका मार्केटिङ हेड आकाश विक्रम थापाले जानकारी दिए ।  थापाका अनुसार यो ३ दिने कार्यक्रम भए पनि ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएमा यसलाई १ दिन थप विस्तार गरिएको छ ।  ‘हामी ग्राहकको अझ नजिक पुग्न चाहन्छौं, अझ उहाँहरूलाई बेटर अफर र बेटर डिल दिन चाहन्छौं । त्यसैले थप एक दिनको समय राखेका हौं,’ उनले भने । एक्सचेन्ज क्याम्पमा पुराना गाडीको मूल्यांकनका लागि ग्राहकहरूले नेपालकै उत्कृष्ट रिकन्डिसन हाउसबाट उच्च र सन्तोषजनक मूल्य प्राप्त गर्न सक्ने थापाले बताए । जुनसुकै ब्रान्ड, मोडल तथा इन्धन प्रकार (पेट्रोल, डिजेल, इलेक्ट्रिक) का गाडीहरू पनि एक्सचेन्ज गर्न सकिने थापाले जानकारी दिए ।  प्रोटोनका गाडीहरुको सुरुवाती मूल्य ४६ लाख ९९ हजार लाख रुपैयाँदेखि ६७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । जगदम्बा मोटर्सले हाल प्रोटोन इमास सेभेन मोडललाई प्राइम र प्रिमियम गरी दुई भेरिअन्टमा बिक्री गर्दै आएको छ । उनका अनुसार यस गाडीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘एजे शटब्लेड ब्याट्री’ हो । जुन हालसम्म बजारमा रहेका सबै इभीहरूमध्ये सबैभन्दा सुरक्षित र भरपर्दो मानिन्छ । यसले ग्राहकहरूलाई सुरक्षा र लामो समयसम्म गाडीको स्वामित्व कायम राख्न मद्दत गर्नेछ ।  कम्पनीले ब्याट्रीमा ८ वर्ष र असीमित माइलेजको वारेन्टी प्रदान गरेको छ । गाडी खरिदका लागि ग्राहकहरूलाई सहयोग पुर्याउन नेपालका प्रमुख वाणिज्य बैंकहरूसँग जगदम्बा मोटर्सले टाईअप गरेको छ । यसका साथै जगदम्बाको आफ्नै इनहाउस हायर परचेज योजना पनि रहेको छ । जसअन्तर्गत शून्य प्रतिशत ब्याजदरमा पनि गाडी खरिद गर्न सकिनेछ ।  पहिलो तीन दिनमा १२ वटा युनिट बिक्री भएको र सोमबारसम्म थप १० युनिट बिक्री हुने प्रक्षेपणका साथ कुल २२ युनिटको बिक्री लक्ष्य राखिएको थापाले बताए ।  हाल बुकिङ खुल्ला रहेको र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले गर्दा आगामी दिनहरूमा पनि ग्राहकहरूको घरघरमा पुग्न र सुविधा दिन यस्तै एक्सचेन्ज क्याम्पहरू आयोजना गरिने उनको भनाइ छ ।  हाललाई प्रोटोन इमास सेभेन नै प्रमुख मोडल रहने र २०२६ सम्ममा केही नयाँ उत्पादनहरू आउने सम्भावना रहेको पनि थापाले बताए ।  काठमाडौंको ज्ञानेश्वरस्थित एटीक रेष्टुरेन्टमा एक्सचेन्ज अफर सञ्चालन भइरहेको हो ।   

जसपाका ५ केन्द्रीय पदाधिकारीले पार्टीभित्र गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष राईलाई लेखे पत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँचजना केन्द्रीय पदाधिकारीले पार्टी अध्यक्षलाई संयुक्त रूपमा पत्र लेख्दै पार्टीभित्र उत्पन्न गम्भीर राजनीतिक अवस्थाबारे ध्यानाकर्षण गराएका छन् ।  जारी गरेको पत्रमा उनीहरूले पार्टीभित्र बढ्दो विभाजन, नेतृत्व तहमा देखिएको निष्क्रियता र पछिल्लो राजनीतिक घटनाक्रममा स्पष्ट रणनीति नदेखिएको आरोप लगाएका छन् । पछिल्लो जेनेजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आए पनि जसपाले त्यसअनुसारको प्रभावकारी निर्णय नलिएको उनीहरूको दाबी छ ।  उनीहरूले पार्टीको केन्द्रीय समिति र कार्यकारी समितिको बैठक नबसेको, मुलुकको परिस्थितिअनुसार रणनीति बनाउन आवश्यक छलफल नभएको तथा पार्टी संरचना पुनर्गठनसमेत ठप्प भएको आरोप लगाएका छन् । पार्टीभित्र निर्णय प्रक्रिया अवरुद्ध हुँदा कार्यकर्तामा निराशा, असन्तुष्टि र अविश्वास बढ्नुका साथै विभिन्न राजनीतिक शक्तिसँग पार्टीको सम्बन्ध पनि ओझेलमा परेको नेताहरू बताउँछन् । नेताहरूले अध्यक्ष अशोक राईलाई लेखेको पत्रमा जारी वार्ताहरूमा स्पष्ट नहुँदा वाम ध्रवीकरणको पहल ओझेलमा पर्नु चिन्ताको विषय भएको स्पष्ट पारेका छन् । नेताहरूले मंसिर १५ गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठकलाई सकारात्मक रूपमा लिए पनि त्यसअघि पार्टी अध्यक्षले स्पष्ट राजनीतिक मार्गनिर्देशन, पार्टी संगठन सक्रियता र एकीकृत राजनीतिक धारणा सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । संयुक्त पत्रमा हस्ताक्षर गर्नेहरूमा संघीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय समितिका उपाध्यक्ष राजबहादुर विष्ट, उपाध्यक्ष पशुपति बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गानन्द देवकोटा, केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा. पुष्करराज कार्की र पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घतु रहेका छन् । उनीहरूले पार्टीभित्रको असन्तुष्टि समाधान गर्दै आगामी राजनीतिक परिस्थिति सामना गर्न नेतृत्वले चाँडै स्पष्ट कदम चाल्नुपर्ने माग गरेका छन् ।

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा पन्तलाई सिफारिस गर्ने निर्णय सर्वसम्मतले पारित

काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा संघका पदाधिकारी, सल्लाहकार र सदस्यहरूको उपस्थितिमा चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदका लागि युवा व्यवसायी सिरीष पन्तलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय पारित भएको छ । बैठकले पन्तलाई व्यवसायिक समस्यामा नजिकको दृष्टिकोण, निष्पक्षता, स्पष्ट कार्ययोजना र व्यवसायमैत्री नेतृत्व क्षमता भएको आधारमा योग्य उम्मेदवार ठहर गरेको छ । संघका अध्यक्ष नरहरी घिमिरेले पन्तलाई केवल उम्मेदवार नभई परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाममुखी र व्यवसायीको हित सर्वोपरि राख्ने नेतृत्व भएको बताएका छन् । वर्तमान परिस्थितिमा योग्य नेतृत्व रोज्ने महत्त्वपूर्ण समय आएको संघले बैठकमा उल्लेख गरेको छ । संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास जस्ता विषयहरू यही निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवार मत प्रयोग गर्न अपिल गरिएको छ । सिरीष पन्तले आफ्नो सेवा र परिणाममा विश्वास राख्ने युवा नेताको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। संघको निष्कर्ष अनुसार उनी व्यक्तिगत स्वार्थमा नझुक्ने, दबाबमा नआउने र सबै पक्षलाई समेटेर अघि बढ्न सक्षम नेतृत्वकर्ता हुन् । निर्माण सामग्री व्यवसायीहरूको साझा आकांक्षा, चितवनको व्यापारिक संरचना सुदृढीकरण, युवा ऊर्जाको प्रतिनिधित्व र आधुनिक संस्थागत रूपान्तरणको यात्रामा सिरीष पन्त नै सबैभन्दा योग्य, सक्षम र विश्वसनीय विकल्प भएको संघले सबैको समक्ष राखेको छ । संघले सबै उद्योगी व्यवसायीलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो बहुमूल्य मत दिन अपिल गरेको छ ।  

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  यस अन्तर्गत, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहनेछ र कुल २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।  सम्झौता अनुसार नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरी निकट भविष्यमा आईपीओ सुरु गर्ने योजना तय गरेका छन् । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्डको कोष व्यवस्थापकको इजाजत प्राप्त गरेको कम्पनीले बुक बिल्डिङ्ग विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न स्वीकृति पाएको छ ।  

जेनजी आन्दोलनपछि रास्वपा संकटमा, काठमाडौं सभापति प्रदीप विष्टले पनि छोडे पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको असन्तुष्टि तीव्र बन्दै गएको छ । पछिल्ला केही महिनादेखि नेतृत्व शैलीप्रति प्रश्न उठाउँदै नेताहरूले पार्टी छाड्न थालेका छन् ।  यही क्रमसँगै रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पद तथा पार्टी दुवै त्यागेका छन् । उनले बागमती प्रदेश समितिमा औपचारिक रूपमा लिखित राजीनामा बुझाइसकेका छन् । राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समिति बैठक बोलाएर आफ्नो निर्णयबारे जानकारी गराएका थिए ।  बैठकमा उनले पार्टीभित्र पछिल्लो समय देखिएको निर्णय प्रक्रियाको शैली, नेतृत्वको एकाधिकारवादी प्रवृत्ति र आन्तरिक संवादको अभावले आफू निराश भएको खुलाउँदै राजीनामा दिएको स्रोतले बतायो । विष्ट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए । पहिलो पटक चुनाव लडेका उनलाई ८ हजार ७३९ मत प्राप्त भएको थियो ।  पार्टीभित्र आधार विस्तार र संगठन सुदृढीकरणमा सक्रिय रहेका उनको अचानकको राजीनामाले काठमाडौं क्षेत्रमा रास्वपाको संरचनामा थप असर पर्ने एक  केन्द्रीय सदस्यले बताए । यद्यपि उनले आगामी राजनीतिक योजनाबारे खुलेर बोलेका छैनन् । कात्तिक २८ गते नेता सन्तोष परियारले रास्वपा परित्याग गरेका थिए । त्यसअघि सांसद सुमना श्रेष्ठले पनि पार्टी छोडेकी थिइन् ।  विष्टको राजीनामा रास्वपाभित्र व्यापक बहसको विषय बनेको ती केन्द्रीय सदस्यले बताए । 

प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म चल्ने

काठमाडौं । प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर कार्यक्रम सोमबारसम्म सञ्चालन हुने भएको छ ।  जगदम्बा मोटर्सले गत शुक्रबारदेखि काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा जारी एक्सचेन्ज अफर कार्यक्रम थप एक दिन समय थपिएको हो । सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।  उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।