ट्यारिफको मार अमेरिकी उपभोक्तामा, उत्पादन सुस्त हुँदा अर्थतन्त्रमा खतरा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष राष्ट्रपति चुनावका क्रममा अमेरिकालाई महान बनाउने वाचा गरेका थिए । चुनाव जितेपछि उनले विश्वका अधिकांश देशमाथि उच्च ट्यारिफ (शुल्क) लगाइदिए । तर अब यसको असर अमेरिकामै परिरहेको देखिन्छ । नोभेम्बर महिनामा अमेरिकाको म्यान्युफ्याक्चरिङ क्षेत्र (सामान उत्पादन) सुस्त भयो । यो पछिल्ला चार महिनामध्ये सबैभन्दा कम हो । यसको मुख्य कारण बढ्दो ट्यारिफ हो, जसले वस्तुहरू महंगा बनायो र उपभोक्ताले खरीद कम गरे । यसले अमेरिकामा मन्दीजस्तै अवस्था निम्त्याएको छ । रोयटर्सका अनुसार यस अवस्थाकै कारण बजारमा नबिकेका वस्तुको थुप्रो लाग्दै गएको छ, जसले देशको समग्र आर्थिक वृद्धि सुस्त हुने डर बढाएको छ । एसएन्डपी ग्लोबलका अनुसार अमेरिकाको म्यान्युफ्याक्चरिङ पीएमआई (पर्चेजिङ मेनेजर्स इन्डेक्स) अक्टोबरमा ५२.५ बाट घटेर नोभेम्बरमा ५१.९ पुगेको छ । नयाँ अर्डरमा ठूलो गिरावट आएको छ भने तयार वस्तुको स्टक ऐतिहासिक स्तरमा पुगेको छ । एसएन्डपी ग्लोबल इन्टेलिजेन्सका क्रिस विलियमसनका अनुसार म्यान्युफ्याक्चररहरू नयाँ अर्डरको सुस्त वृद्धि र स्टक बढ्दो स्तरका कारण चिन्तामा छन् । उनले यदि माग फेरि बढेन भने उत्पादन झनै कमजोर हुनसक्ने चेतावनी दिए । रोयटर्सका अनुसार उपभोक्ताहरू अब लामो समय चल्ने म्यान्युफ्याक्चरिङ वस्तु किन्न हिच्किचाइरहेका छन् । युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणमा खरीद गर्ने क्षमतामा ठूलो गिरावट देखिएको छ । सर्भेले उपभोक्ताहरू महँंगो मूल्य र घट्दो आम्दानीबाट निरन्तर दबाबमा रहेको बतायो । ट्यारिफले आयात खर्च बढाएकाले न्यून र मध्यम आय भएका परिवारमाथि थप बोझ परिरहेको उल्लेख छ । हालै सेयर बजारमा आएको गिरावटले खर्चमा अगाडि रहने धनी अमेरिकीहरूको भरोसामा पनि धक्का पुगेको छ । अर्थशास्त्री सुंग वोन सोनका अनुसार कम आय वर्गले खर्च बढाउने सम्भावना छैन । साथै बजारको अनिश्चितताले धनी वर्गको खर्च पनि घटाउनेछ, विशेष गरी अवकाशप्राप्त नागरिकहरूको । फ्याक्ट्री क्षेत्र सुस्त भए पनि समग्र व्यवसायिक गतिविधि भने बलियो देखिएको छ । अमेरिकाको कम्पोजिट पीएमआई आउटपुट इन्डेक्स ५४.८ मा पुगेको छ, जसलाई सेवा क्षेत्रले मजबुत बनाएको हो । सेवा क्षेत्रको पीएमआई ५५.० मा पुगेको रोयटर्सले जनाएको छ ।
क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु, २ वर्षभित्र सम्पन्न हुने
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो । क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो । ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । 'पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ', योगेशले भने । उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ । यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ । क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले दुई अर्ब ६३ करोड बराबर रुपैयाँको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ । कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए । उनले भने, 'निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनःनिर्माण थालिएको हो ।' क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस
एनपिएलले कीर्तिपुरमा आर्थिक गतिविधि बढ्यो, व्यवसायीलाई भ्याइनभ्याइ
कीर्तिपुर । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपिएल) । यही मङ्सिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ । जहाँ हजारौँ दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन् । एनपिएलका लागि जाने दर्शकहरु कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन् । खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपिएल सहयोगी बनेको उनीहरुको बुझाइ छ । कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए । 'पोहर साल हरेक दिन जसो जित्ने टोलीका समर्थकहरुले रेष्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ', उनले भने । कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ । रेष्टरेन्टहरुले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन् । ससः नेवारी रेस्टुरेन्टका प्रवन्धक रिजन महर्जन एनपिएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए । 'हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौ, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौँ,' उनले भने । उक्त रेष्टुरेन्टले एनपिएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।
१ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा
काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कका लागि प्रस्ताव गरिएको १ ट्रिलियन डलरको कार्यकारी–क्षतिपूर्ति प्याकेजले एउटा अझै महत्त्वपूर्ण चिन्तालाई छायामा पारिदिएको छ । मस्कको २०१८ को पे प्याकेज जुन अहिले पनि अदालतमा अड्किएको छ, जसले विद्युतीय सवारीसाधन (ईभी) निर्माता टेस्लाको आगामी वर्षौंको नाफा खाइदिन सक्छ । डेलावेयर सुप्रीम कोर्टले चाँडै नै तल्लो अदालतको फैसला उल्ट्याउने वा नउल्ट्याउने निर्णय गर्नेछ, जसले मस्कको अघिल्लो चर्चित क्षतिपूर्ति प्याकेज रद्द गरेको थियो । अदालतको फैसला उल्टिएन भने मस्कलाई दिनुपर्ने सेयर बोनसको हिसाबले टेस्लाले दुई वर्षसम्म कमाएको नाफा करिब सकिन सक्छ । तुलनाका लागि २६ अर्ब डलर टेस्लाले २०१९ मा नाफामा आएकोदेखि अहिलेसम्म कमाएको कुल शुद्ध नाफाको आधाभन्दा धेरै बराबर छ । अदालतमा टेस्ला जिते पनि मस्कले ट्रिलियन–डलरको प्याकेजअन्तर्गत राखिएका प्रदर्शन लक्ष्यहरू पूरा गर्दै गएमा प्रत्येक लक्ष्य पूरा हुँदा अर्बौं डलरका भुक्तानी र लेखाखर्च हुने भएकाले टेस्लाको नाफामा एक दशकसम्म दबाब पर्न सक्छ । यो असामान्य नाफा–जोखिमले मस्कको ‘सुपर–साइज’ क्षतिपूर्तिका चुनौतीहरू देखाउँछ । विश्वका सबैभन्दा ठूला सार्वजनिक कम्पनीहरूमा पनि सीईओको पारिश्रमिकले कम्पनीको अन्तिम नाफामा यति ठूलो प्रभाव पार्नु दुर्लभ हो । ठूला प्याकेजहरू प्रायः सयौँ मिलियन डलरमा मापन हुन्छन्, अर्बौंमा होइन । मस्कको अत्यधिक ठूलो क्षतिपूर्तिले यस्तो समय टेस्लालाई थप अनिश्चित नाफा जोखिममा राखेको छ । कारबिक्रीमा गिरावट, विद्युतीय–सवारी अनुदान घट्नु, र रोबोट जस्ता उच्च–खर्चीलगानी परियोजनाको बढ्दो खर्चका कारण कम्पनीको आम्दानी घट्दो क्रममा छ । ‘स्टक क्षतिपूर्ति खर्चले नगद प्रवाहमा असर पार्दैन र चिन्तालाई ‘सिर्फ लेखाजोखा’ भनेर धेरै सेयरधनीले हेला गर्न सक्छन्,’ कोर्नेल यूनिभर्सिटीका ब्रायन डन भन्छन् । ‘तर सीईओ क्षतिपूर्तिका कारण नाफामा ठूलो गिरावट आउनु भनेको टेस्लाको बोर्डले ‘बौद्धिक र विश्वस्तकारी दायित्व’ पूरा नगरेको संकेत हो,’ उनी थप्छन् । ब्रायन डनका अनुसार उनीहरूले सेयरधनीबाट सबैभन्दा ठूलो सेयरधनी (मस्क) तर्फ विशाल सम्पत्ति ट्रान्सफर गरिरहेका छन् । टेस्लाको बोर्डले भने मस्कको नयाँ प्याकेजले उनलाई त्यतिखेरमात्र केही दिन्छ जब कम्पनीले ‘उच्चस्तरका लक्ष्य’ पूरा गर्छ, जसमा अत्यधिक नाफा लक्ष्य पनि छन् । ती उच्च नाफा लक्ष्य पूरा भएमा मस्कका पारिश्रमिक खर्चले नाफामा कम असर पार्ने बोर्डको तर्क छ । तर प्याकेजका सजिला लक्ष्यहरू पूरा हुँदा पनि टेस्लाको व्यवसाय परिवर्तन नगरी नै मस्कलाई दशौं अर्ब डलरका भुक्तानी आउने अवस्था बन्न सक्छ । अधिकतम भुक्तानीको मूल्य ८७८ अर्ब डलर हुन्छ किनकि १ ट्रिलियन डलर बराबर स्टकबाट प्याकेज स्वीकृत गर्नेबेला रहेको सेयरमूल्य घटाइन्छ । नजिकिँदै अदालतको ठूलो निर्णय सबैभन्दा तत्काल जोखिम २०१८ को क्षतिपूर्ति विवादसँग जोडिएको छ । गत वर्ष डेलावेयरको न्यायाधीशले प्याकेज रद्द गर्दै निर्णय गरे । अदालतका अनुसार मस्कको पारिश्रमिक सम्बन्धी वार्ता बोर्ड सदस्यहरूको अत्यधिक पारिश्रमिक र उनीहरूसँग मस्कको अत्यन्त नजिकको सम्बन्धका कारण निष्पक्ष थिएन । यदि सुप्रीम कोर्टले टेस्लाको पक्ष लिन्छ भने मस्कले २०१८ को प्याकेजका स्टक विकल्प जोगाइराख्न सक्छन् र कम्पनीलाई थप लेखाखर्च लाग्दैन । २०२२ सम्म लक्ष्य पूरा हुँदा ती विकल्पको मूल्य ५६ अर्ब डलर पुगेको थियो— आजको मूल्य ११६ अर्ब डलर छ । तर प्रारम्भिक फैसला कायम रहेमा प्रतिस्थापन प्याकेजअन्तर्गत मस्कले कम सेयर पाउनेछन् तर कम्पनीका लागि खर्च धेरै हुने— किनकि टेस्लाको सेयरमूल्य अहिले धेरै उच्च छ । नयाँ प्याकेजको मूल्यांकन अगस्तको मूल्य (जब बोर्डले स्वीकृत गर्यो) अनुसार २६ अर्ब हुन्छ। टेस्लाले यो खर्च २०२७ अगस्टसम्म लेखामा राखिसक्नुपर्ने हुन्छ, जब मस्कले ती सेयर पाउन योग्य हुन्छन् । २६ अर्ब डलरलाई ८ त्रैमासिकमा बाँड्दा प्रत्येकमा ३.२५ अर्ब डलर नाफा घट्नेछ— जुन २०१९ देखि पछिल्ला २५ त्रैमासिकमध्ये ४ बाहेक प्रत्येक त्रैमासिकको नाफाभन्दा बढी हो । कम्पनीले फाइलिङमा लेखेको छ— अपील असफल भएमा ‘हाम्रा व्यवसाय र प्रतिवेदित नाफामा गम्भीर प्रतिकूल असर’ पर्न सक्छ । बोर्डले २०१८ को प्याकेज प्रतिस्थापन नभए मस्क टेस्ला छाड्न सक्छन् भन्ने तर्क गरेको छ । टेस्लाले यसका लागि नगद तिर्नु पर्दैन, नयाँ सेयर जारी गर्न सक्छ । तर लेखा–नियमअनुसार कम्पनीले ती शेयर बजारमा बेच्न सक्ने भएकाले स्टक–क्षतिपूर्तिलाई खर्चका रूपमा देखाउनुपर्ने विशेषज्ञहरूको भनाइ छ । यस्ता सेयर जारी हुँदा कुल सेयर संख्या बढ्ने भएकाले अन्य सेयरधनीको मतदान शक्ति र स्वामित्व कमजोर हुन्छ— किनकि बढी हिस्सा सीईओतर्फ सर्छ । ‘निश्चित रूपमा तपाईं सेयरधनीलाई चोट पुर्याउँदै हुनुहुन्छ,’ ग्रिनबर्ग ग्लुसकरका कर्पोरेट वित्तकर विशेषज्ञले भने । एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ छ कारोबार ?
काठमाडौं । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल दुई लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १३५ रुपैयाँ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार तीन हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ब्याजदर व्यवस्थापनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ फागुन ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
१ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै निर्धन उत्थान
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । २ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनी यस वर्ष भने खुद नाफामा गएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ७६ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ ।
भोजपुरमा अलैँचीको मूल्य प्रतिमन ९८ हजार पुग्दा किसान उत्साहित
भोजपुर । उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिए । केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उनले बताए । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । 'गाउँघरमै अहिले अलैँची ९८ हजारसम्ममा कारोबार भइरहेको छ', किसान विष्टले भने, 'कतिपय किसानले बिक्री गरिसके, केहीले भाउ अझै बढ्ला कि भनेर राखेका छन् । बजारमूल्यको प्रतीक्षा गर्दै बसेको अवस्था पनि छ ।' टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९० घर किसानले व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैँचीको उत्पादनमासमेत वृद्धि भएको अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टले बताए। मूल्य बढेसँगै किसान खेती विस्तारमा जुटेको उनले जानकारी दिए । 'समग्र अलैँची उत्पादन केही घटे पनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ', अध्यक्ष विष्टले भने, 'रोगकीराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबै जना लागेको अवस्था छ ।' कृषि ज्ञान केन्द्रले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैँची खेती भइरहेको जनाएको छ । यहाँ प्राय: रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत स्थानमा अलैँची खेती बढी हुने गरेको छ । यी क्षेत्रका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव बटुलेका कारण अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ । अलैँचीले राम्रो मूल्य पाएका कारण गाउँघरमा आर्थिक गतिविधि पनि बढेको छ । परिवारको खर्च, स्वास्थ्योपचार, छोराछोरीको पढाइ तथा अन्य आवश्यकता पूरा गर्न अलैँची मुख्य आधार बनेको स्थानीय किसानहरू बताउँछन् । मूल्य बढे पनि अलैँची खेतीमा रोग कीरा, हावापानीको अनियमितता, बजार मूल्यमा हुने उतारचढावलगायतका समस्या भने कायम रहेको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार रोग रोकथाम, प्रविधिमैत्री खेती, गुणस्तर सुधार र किसानको क्षमतावृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् । रासस