सरकारले पनि बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्र समस्या आयो : व्यवसायी
काठमाडौं । सरकारले समेत बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच भएको छलफलमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले यस्तो बताएका हुन् । ‘पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको हो,’ उनले भने । यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाले दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको बताए । ‘अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्छ र यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ,’ अध्यक्ष गोल्छाले भने । उनले विकास खर्च नबढेसम्म देश अगाडी नबढ्ने पनि बताए । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून बाधक रहेको बताउँदै उनले यसबारे महासंघले सरकारलाई पेश गरेको सुझाव हेरेर सहयोग गर्नु आग्रह गरे । छलफलमा महासंघका अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित पदाधिकारीहरू र रास्वपका दलका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उपनिर्वाचन हुन लागेको हो । आयोगले आज सार्वजनिक सूचना जारी गरी उक्त समयावधि दिइएको जनाएको छ । विद्यमान कानूनअनुसार सभाको रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने व्यवस्था छ । सोबमोजिम आयोगको चैत ६ गतेको बैठकले ती क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरेको थियो । आयोगले यस अघि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकाइसकेको छ ।
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।’ वितरणको काम चरणबद्धरुपमा गरिने उनले जानकारी दिए । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरुलाई दुई लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो । तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठह¥याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए । एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए । रासस
प्रोग्रेशिभ फाईनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । प्रोग्रेशिभ फाईनान्सको शाखा कार्यालय पोखराले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सले पोखरामा रहेको उक्त कलेजका कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । नेपाल राष्ट्र बैंकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता फाईनान्सको पोखरा शाखा प्रबन्धक टंक प्रसाद ढकालले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले फाइनान्सियल लिटशी एण्ड ग्लोबल मनी विक २०२३ तथा यसको उद्देश्यका बारेमा र शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी दिएका थिए । कार्यक्रममा ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न
काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन हाेन्डनाले प्रतियाेगिता गर्दै आएकाे छ । यसकाे लागि स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको अगुवाईमा ५ वटा क्षेत्रिय प्रतियोगिता भएकाे थियाे । जसमा प्रत्येक क्षेत्रबाट २/२ जना छनाेट भएका थिए । प्रतियोगितामा प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटिसी पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले प्राप्त गरेका थिए ।
अब धुलिखेल अस्पतालमा मोबाइल एपबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने
काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप संचालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्नेछन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने अस्पतालले जनाएकाे छ । यसका साथै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदान गर्ने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।
निगमको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्य कारवाहीमा
काठमाडौं । नेपाल एयरलान्सको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्यहरु कारवाहीमा परेका छन् । सोमबार ताप्लेजुङ बाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजले तोकेकोभन्दा बढी सामान बोकेको पाइएपछि चालकदलका सदस्य, ग्राउण्ड स्टाफ र फ्लाइट डिस्प्याचरलाइ कारबाही गरिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सो उडानमा सब्लंङन सबैलाइ कारवाही हुनेछ । टिननेटर विमानमा तोकिएकोभन्दा १०५ केजी बढी सामान रहेको बुझिएको छ । पछिल्लो समय क्यान विमान कम्पनीहरुको कामलाई सुक्ष्म ढंगले निनगरानी गरिरहेको छ । गलत गर्नेलाई तत्काल कारवाही गरिरहेको छ ।
अब अनलाइनबाटै बीमा एजेन्ट र सर्भेयरको लाइसेन्स नवीकरण हुने, डुब्लीकेशन भए के गर्ने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्न शुरु गरेको छ । प्राधिकरणले गत चैत ५ गतेदेखि नै उक्त प्रणाली मार्फत अभिकर्ताको व्यवस्थापन शुरु गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको सामान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनको लागि सो कार्य शुरु गरेको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ता तथा बीमा सर्भेयरको अनुगमनमा सहज हुने भन्दै एक कार्यक्रमबीच सो प्रणालीको उद्घाटन गरेका हुन् । नयाँ प्रणालीमामार्फत अभिकर्ताले कसरी गर्ने लाइसेन्स नवीकरण ? यो व्यवस्था लागू भएसँगै बीमा अभिकर्ताले लाइसेन्स नवीकरण गर्न कम्पनी धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । बीमा प्राधिकरणले अनलाइन प्रणाली लागू गरेसँगै उनीहरुले अब घरबाटै आफ्नो लाइसेन्स नवीकरण गर्न सक्ने छन् । त्यसको लागि बीमा अभिकर्ताहरु बीमा प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । उक्त वेवसाइटमा गई अभिकर्ताले इ-सर्भिसेस् तथा अनलाइन पेमेन्ट सर्भेयर तथा एजेन्ट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसमा गइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स अर्थात इजाजतपत्र ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढी कम्पनीमा आवद्ध) भए वा नभएको पहिचान गर्नुपर्छ । यदि बीमा अभिकर्ता एउटा मात्र कम्पनीमा आवद्ध भएको पाइएमा उसले नवीकरणका लागि विभिन्न दुई विवरण टिप्नु पर्छ । एउटा आफ्नो लाइसेन्स नम्बर, अर्को उक्त लाइसेन्स नम्बर जारी भएको मिति । जुन मिति नेपाली नभई अंग्रेजी डेट नै हुनुपर्ने व्यवस्था छ । अभिकर्ता एकभन्दा बढी बीमकसँग आवद्ध भएमा के गर्ने ? यदि बीमा अभिकर्ता एकभन्दा बढी बीमक (कम्पनी) सँग आवद्ध भएमा अभिकर्ताले थप प्रकृया पुरा गर्नुपर्ने हुन्छ । सिस्टमले देखाए बमोजिमको कम्पनीहरुमध्ये आफूले एउटा मात्रै कम्पनी छान्नु पर्छ । त्यससँगै आफूले छानेको कम्पनी सहि छ वा छैन एकीन गर्नुपर्ने हुन्छ । कम्पनी एकीन गरिसकेपछि सिस्टममा भएको मोबाईल नम्बरमा गएको ओटीपी (वान् टाइम पासवर्ड) सिस्टममा राख्नुपर्ने छ । तर उक्त ओटीपी कोड एक दिनमा बढीमा दुई पटक मात्रै जेनरेट गर्न सकिने सिस्टम छ । जसको समयसीमा पनि १० मिनेटको मात्रै रहने छ । त्यस्तै, ओटीपी राखिसकेपछि बीमा ऐन, २०७९ को दफा ९१(७) बमोजिम समान किसिमको एक बीमक एक अभिकर्ता छनौट भएको मानिने छ । सो अनुसार छनौट भइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र उक्त नम्बर जारी गरिएको मिति (अंग्रेजी मिति) टिप्नुपर्ने हुन्छ । यसपछि मात्रै अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण गर्न पाउने छन् । उनीहरुले नेपाल क्लियरिङ हाउस, कनेक्ट आईपीएस, इसेवा, प्रभु टिभी, सेल पे, खल्ती, आइएमई पे लगायतका गेटवेहरुबाट लाइसेन्स नवीकरण गर्न सक्ने छन् । बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुले विभिन्न भुक्तानी सेवा प्रदायक संस्था मार्फत जुनसुकै समयमा नवीकरण शुल्क तिर्न सक्ने छन् । उक्त सेवा उनीहरुले वेब र मोबाइल एप दुबै माध्यमबाट पाउन सक्ने छन् । साथै, माथिका मध्ये कुनै एक गेटवेबाट भुक्तानी गरेपछिको भौचर सुरक्षित राख्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अभिकर्ताको लाइसेन्स नवीकरणको लागि प्राप्त भएको निवेदन कम्पनीको आईआरएमआईएस सिस्टममा जाने छ । उक्त सिस्टमबाट प्राधिकरणमा सिफारिस भई आएपछि मात्रै प्राधिकरणले एप्रुभ गर्छ । प्राधिकरणले एप्रुभ गरेपछि मात्रै लाइसेन्स नवीकरण भएको मानिने समेत जनाइएको छ । सर्भेयरले कसरी नवीकरण गर्ने ? बीमा सर्भेयरको लाइसेन्स नवीकरणको प्रकृया पनि अभिकर्ताको जस्तै लगभग उस्तै छ । अभिकर्ताले प्राधिकरणको वेवसाइटमा भएको एजेन्ट म्यानुअलमा जानुपर्थ्यो भने सर्भेयरले सर्भेयर म्यानुअल भन्ने अप्सनमा जानु पर्ने हुन्छ । त्यस्तै, अभिकर्ताको लाइसेन्स नम्बर भनेकोमा सर्भेयरले स.ई.प. ३४२/०६३/०६४ टिप्नु पर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी, बीमा सर्भेयरहरुले २०७९ सालमा शुरु गरेका र सम्पन्न गरेका कामको विवरण पनि राख्नु पर्ने बताइएको छ । नवीकरणमा समस्या देखिए तत्काल समाधान गर्न निर्देशन प्राधिकरणका अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायमा वृद्धि भएसँगै बीमा अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने बताएका छन् । त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आइहालेमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् । समस्या आए के गर्ने ? लाइसेन्स नवीकरण गर्दा सम्बन्धित सेवा प्रदायकको भुक्तानी तथा डाटा इन्ट्रीमा समस्या आएमा अभिकर्ता तथा सर्भेयरले आफू आवद्ध भएको बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, अन्य प्राविधिक समस्या आएमा बीमा प्राधिकरणको इजाजत शाखा तथा सूचना प्रविधि शाखाको नम्बर (०१-५४२८६१८, ५४२१०७९ मा कल गरी एक्स्टेन्सन नम्बर २२०, २०९, ११७) मा सम्पर्क गरी जानकारी लिन सक्ने छन् । त्यस्तै, उनीहरुले इमेल [email protected] मार्फत पनि आफ्नो समस्या राख्न सक्ने प्राधिकरणले जानकारी गराएको छ ।