युनाइटेड मोदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बुधबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोलि चैत ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभा चैत २३ गते रजिष्टार्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत बोलाएको छ ।
सगरमाथा जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
सरकारले पनि बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्र समस्या आयो : व्यवसायी
काठमाडौं । सरकारले समेत बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच भएको छलफलमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले यस्तो बताएका हुन् । ‘पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको हो,’ उनले भने । यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाले दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको बताए । ‘अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्छ र यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ,’ अध्यक्ष गोल्छाले भने । उनले विकास खर्च नबढेसम्म देश अगाडी नबढ्ने पनि बताए । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून बाधक रहेको बताउँदै उनले यसबारे महासंघले सरकारलाई पेश गरेको सुझाव हेरेर सहयोग गर्नु आग्रह गरे । छलफलमा महासंघका अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित पदाधिकारीहरू र रास्वपका दलका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उपनिर्वाचन हुन लागेको हो । आयोगले आज सार्वजनिक सूचना जारी गरी उक्त समयावधि दिइएको जनाएको छ । विद्यमान कानूनअनुसार सभाको रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने व्यवस्था छ । सोबमोजिम आयोगको चैत ६ गतेको बैठकले ती क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरेको थियो । आयोगले यस अघि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकाइसकेको छ ।
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।’ वितरणको काम चरणबद्धरुपमा गरिने उनले जानकारी दिए । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरुलाई दुई लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो । तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठह¥याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए । एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए । रासस
प्रोग्रेशिभ फाईनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । प्रोग्रेशिभ फाईनान्सको शाखा कार्यालय पोखराले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सले पोखरामा रहेको उक्त कलेजका कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । नेपाल राष्ट्र बैंकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता फाईनान्सको पोखरा शाखा प्रबन्धक टंक प्रसाद ढकालले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले फाइनान्सियल लिटशी एण्ड ग्लोबल मनी विक २०२३ तथा यसको उद्देश्यका बारेमा र शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी दिएका थिए । कार्यक्रममा ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न
काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन हाेन्डनाले प्रतियाेगिता गर्दै आएकाे छ । यसकाे लागि स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको अगुवाईमा ५ वटा क्षेत्रिय प्रतियोगिता भएकाे थियाे । जसमा प्रत्येक क्षेत्रबाट २/२ जना छनाेट भएका थिए । प्रतियोगितामा प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटिसी पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले प्राप्त गरेका थिए ।
अब धुलिखेल अस्पतालमा मोबाइल एपबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने
काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप संचालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्नेछन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने अस्पतालले जनाएकाे छ । यसका साथै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदान गर्ने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।