नगरपालिकाको व्याज अनुदानपछि व्यवसायी बन्दै रामपुरका युवा, लाखौं कमाउँदै
रामपुर (पाल्पा), १० चैत (रासस) : बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित भए । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ । केही वर्ष वैदेशिक रोजगार घर फर्किएपछि फर्निचर व्यवसायमा राम्रो अनुभव बटुलेका आचार्यको पहिचान अन्ततः पोल्टी फार्ममा जोडिएको छ । उनलाई यस व्यवसायका लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ३० लाख बराबरको कर्जा रकमको व्याज अनुदान उपलब्ध गराएपछि उत्साहका साथ व्यवसाय चलाएका छन् । दिगोरुपमा व्यवसाय चलाउने अठोट लिएर रामपुर नगरपालिका–८ माथिल्ला ढिक आफ्नै पुख्र्यौली बस्तीमा अचार्य पोल्टी फार्मका नाममा करिब चार रोपनी जग्गामा व्यवसाय चलाएका छन् । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि लिएको ३० लाख बराबरको कर्जाको मासिक व्याज ३४ हजार नगरपालिकाले उपलब्ध गराएपछि व्यवसायमा धेरै सजिलो भएको उनले बताए । ‘व्यवसायका लागि आफूले लिएको ऋणको व्याज तिर्नु नपर्दा धेरै राहत भएको महसुस गरेको छु’, उनले भने, ‘व्याज तिर्नु नपरेपछि धेरै सजिलो हुँदोरहेछ, नगरले ल्याएको यो कार्यक्रम अति नै प्रभावकारी छ ।’ बुटवल, भैरहवा, चितवनलगायतका बजारबाट रामपुरमा ठूलो परिमाणमा अण्डा भित्रिएको देखेपछि उनले व्यावसायिकरुपमा अण्डा उत्पादनमा जोड दिएको बताए । अण्डा उत्पादनका लागि उनको फार्ममा लेयर्स जातका कुखुरा छन् । रामपुर क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउने उनको अभियान छ । व्यवसाय गर्न नगर सरकारले युवा स्वरोजगार कार्यक्रममार्फत व्याज अनुदान दिएपछि उनलाई व्यवसायमा ठूलो राहत पुगेको छ । ‘व्याज अनुदान कार्यक्रम गाउँमै केही व्यवसाय गर्छु भन्नेका लागि असाध्यै उपयोगीमूलक लाग्यो, ठूलो लगानी गरेर दीर्घकालीनरुपमा चलाइएका व्यवसायलाई दुई वर्षको मात्र व्याज अनुदान नभई यसलाई नगर सरकारले व्यवसायका आधारमा बढाउनुपर्नेछ, व्यवसायीलाई ऋणको भार कम पर्नेछ, एक/दुई वर्षको समय व्यवसाय लगानीकै क्रममा रहने हुँदा आम्दानी लिन पाइने अवस्था रहँदैन’, उनले भने । रामपुरमा अण्डाको माग राम्रो रहेको हुँदा उत्पादनमा जोड दिने उनको भनाइ छ । विसं २०७२ मा तीन हजार दुई सय कुखुराबाट व्यवसाय सुरु गरेका अचार्यले यो व्यवसाय एक्लै धान्दै आएका छन् । हाल उनको फार्ममा एक हजार पाँच सय कुखुरा छन् । अब दुई हजार कुखुरा राख्ने तयारी गरिरहेका छन् । दैनिक ७० पेटीसम्म अण्डा उत्पादन भइरहेको छ । वार्षिकरुपमा ८२ लाख बराबरको कारोबार हुने गरेको व्यवसायी आचार्यको भनाइ छ । उनी भन्छन्, ‘विदेशको अनुभव पनि गरियो । स्वदेशमै जस्तो पैसा कमाउन सजिलो विदेशमा हुँदैन ।’ अहिले दानाको मूल्य ह्वात्तै बढ्दा दाना व्यवस्थापनमा व्यवसायीलाई समस्या परिरहेको छ । व्यवसाय सुरुका समयमा प्रतिकिलो ३२ मा खरिद गरेको दाना हाल प्रतिकिलो ७३ मा खरिद गर्नु परेकामा दानामा धेरै रकम खर्चिनु पर्दा व्यवसायी मारमा पर्ने अवस्था रहेको उनी बताउँछन् । अचार्यले दैनिक १६० किलोभन्दा बढी दाना व्यवस्थापन गरिहेका छन् । संरचना निर्माण र कुखुरा खरिदमा करिब ६५ लाख बराबरको लगानी परेको छ । पाँच हजार दुई सय कुखुरा अट्ने क्षमताको पक्की संरचना तयार भएकाले फराकिलो संरचनामा कुखुरा खेल्दै हुर्कने वातावरणले छिटो उत्पादन दिएको आचार्य बताउँछन् । छ महिनादेखि अण्डा उत्पादन दिन सुरु गरेको कुुखुराले दुई वर्षसम्म उत्पादन दिइरहन्छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा होलसेल १२ र खुद्रा १३ मा बिक्री भइरहेको छ । करिव छ वर्ष युनाइटेड अरब इमिरेट्समा बसेर स्वदेश फर्किएका आचार्यले रामपुर मटेरीमा सात वर्ष फर्निचर उद्योग पनि चलाए । अन्ततः आफ्नै पुर्खौली जग्गालाई सदुपयोग गर्दै अण्डा उत्पादन व्यवसायमा लागेपछि छुट्टै आनन्दानुभूति भइरहेको बताउँछन् । रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यविधि २०७५ तयार पारेर कार्यविधि अनुसार नै कार्यक्रम सञ्चालन गरिरहेको छ । तरकारी, फलफूल, कुखुरा, बाख्रा, गाई, भैंसी, बङ्गुर, च्याउ, मौरीपालन व्यवसाय गर्ने युवालाई व्याज अनुदान दिइएको छ । हालसम्म यस कार्यक्रमअन्तर्गत ८६ जना युवाले व्याज अनुदान प्राप्त गरेको कृषि शाखा प्रमुख तथा समितिका सदस्य सचिव रामहरि पाण्डेय बताउँछन् । उनका अनुसार सहभागी युवाले यस कार्यक्रममा छ करोड ९० लाख ४० हजार बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको र सो कर्जाको हालसम्म ७२ लाख पाँच हजार आठ सय ७५ रकम व्याज अनुदान उपलब्ध गराइएको छ । कार्यक्रममा समावेश युवाले रु दुई लाखदेखि ३० लाखसम्मको ऋण लिएर व्यवसाय गरेका छन् । सो रकमको मासिक व्याज नगरपालिकाले भुक्तानी गरिरहेको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिए । व्याज अनुदान उपलब्ध गराउन थालेपछि गाउँमै बसेर केही उद्यम, व्यवसाय गर्छु भन्नेका लागि ठूलो राहत मिलेको छ । मासिक व्याज नगरपालिकाले भुक्तानी गरिदिएपछि व्यवसायीलाई ऋणको भार कम परेको छ । युवालाई विदेश पलायन हुन नदिने, गाउँमै आयआर्जनमूलक क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न यस कार्यक्रमले प्रोत्साहन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । ‘प्रभावकारी अनुगमन गरेर विदेश पलायन हुने आकर्षण बढेका युवालाई स्वदेशमै स्वरोजगारको ढोका खोल्ने गरी नगरले युवामाझ ल्याएको यस कार्यक्रम नमूना रहेको छ, केही गर्छु भनेर व्यवसायमा लागेका युवाले विभिन्न व्यवसायबाट राम्रो कार्य गरिरहनुभएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । कृषि उत्पादनलाई वृद्धि गरेमा हाटबजारमा बिक्री वितरण गर्ने, बजारको प्रबन्धलगायतका कार्य कृषि शाखाबाट हुने उनले बताए । उत्पादित वस्तुको बजारमा बिक्री भएन भन्ने गुनासो किसानबाट आउन नदिने प्रबन्ध नगरले गर्नेछ तर किसानले कृषिजन्य उत्पादन वृद्धि गर्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ । बजार स्थिर नहुँदा पनि उत्पादन गरेका कृषि उत्पादन कहिलेकाहीँ खपत नहुने अवस्था कृषकले झेल्नुपर्ने सास्ती उत्तिकै खेप्नुपर्छ । युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै जाँदा गाउँ रित्तिँदै जाने अवस्था रहेको हुँदा गाउँमै बसेर तरकारी, फलफूल, पशुपक्षीपालन, कुखुरा, बाख्रा, गाईभैँसीपालन गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले व्यवसायका लागि नगर सरकारले दुई वर्षको व्याज अनुदान सहयोग कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘प्रदेश, सङ्घ र स्थानीय सबै सरकारले अनुदानका कार्यक्रम ल्याए पनि लगानीअनुसारको उपलब्धि हुन सकेन, अनुदानको नाममा कतिपय ठाउँमा दुरुपयोग भएको छ’, उनले भने, ‘पूर्णरुपमा अनुदानभन्दा पनि युवाले लिएको ऋणको दुई वर्षसम्म व्याज नगरपालिकाले तिरिदिनेछ, यसले नियमितरुपमा व्यवसाय गर्नेलाई निरन्तर व्याज उपलब्ध गराइएको छ भने बीचमै व्यवसाय छाड्नेलाई व्याज अनुदान उपलब्ध हुँदैन ।’ विभिन्न विधामा कार्यविधि बनाएर व्यवसायीले तयार पारेको संरचना अनुगमन गरेर मात्रै यस कार्यक्रममा युवालाई छनोट गर्ने गरिएको छ । यस कार्यक्रममा सहभागी युवाले प्रत्येक तीन÷तीन महिनामा आफूले लिएको ऋण बैंक तथा वित्तीय खातामा व्याज नगरपालिकाले तिरिदिने गरेको नगर प्रमुख थापाले बताएका छन् । सुरुका बखत बैंकबाट मात्रै व्यवसायीले ऋण लिन पाउने व्यवस्था भए पनि अहिले भने युवालाई सहजताका लागि रामपुर नगरपालिकाभित्र रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट लिन पाउने नगरले व्यवस्था गरिदिएको छ । ३० लाखसम्म कर्जा स्वीकृतका लागि नगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई सिफारिस गर्ने र व्याज अनुदान उपलब्ध गराएको छ । रासस
हेटौँडा सिमेन्टको उत्पादन बन्द
हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ । विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए । सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन् । रासस
फूलबाट धुप बनाउँदै सुषमा, बैंकिङ छोडेर उद्योगमा जम्दै
काठमाडौं । बैंकिङ धेरैलाई मन पर्ने पेशा । आकर्षक सेवा सुविधा र समाजमा उच्च प्रतिष्ठाकै कारण धेरैले बैंकर बन्ने रुची राख्छन् । त्यो रुची सुषमा शर्मामा पनि थियो । दिनप्रतिदिनको मेहेनत, कामप्रतिको वफादारिता र लक्ष्यप्रतिको अडिकताले काठमाडौं धुम्बाराहीकी सुषमा शर्मालाई पनि बैंकको उच्च पदमा पुग्न धेरै समय कुर्नु परेन । भनिन्छ नि, ‘जो हिड्छ, उसैलाई ठेस लाग्छ ।’ हो, सुषमाको जीवनमा यस्ता अनेकौं हण्डर/ठक्करहरु छन् । बैंकको काममा बिहानै गएर राति अबेर घर फर्किर्नु परेका ती दिनहरु उनलाई हिजो जस्तै लाग्छन् । तर, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने जस्तै उनले आफ्नो लक्ष्य पछ्याउँदै गइन् । दिनहरु बित्दै गए । सन् २००६ बाट बैंकिङ करियर सुरु गरेकी सुषमा सुरुमा एनएमबि बैंकको सुपर भाइजर बनिन् । हुनत त्यसअघि उनले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा काम गरिसकेकी थिइन् । विभिन्न क्षेत्रको अनुभव हासिल गर्दै गइन् । उनी भन्छिन्, ‘मलाई आफुमा भएको क्षमता प्रदर्शन गर्नु पर्छ जस्तो लाग्छ, मलाई बैंकर बन्ने रहर थियो, बनेँ पनि, उनी थप्छिन्, ‘तर बाटो बिचमै अन्तै मोडियो ।’ उनी एनएमबि बैंकको रिटेल हेडसम्म बनिन् । बैंकको रिटेल हेडसम्म पुग्न ठूलो संघर्ष गर्नु पर्छ । त्यो संघर्ष सुषमाले पनि गरिन् । तर, त्यति धेरै संघर्ष गरेर पाएको पद चटक्कै छोडेर करिब डेढ दशकको बैंकिङ यात्रामा बिराम लगाउँदै उनी सदाका लागि त्यो क्षेत्रबाट बाहिरिन् । बैंकिङ छोड्नुको कारण के थियो ? हामीले उनलाई प्रश्न गर्यौं, जवाफमा उनले भनिन्, ‘सुरुमा मेरो इच्छा बैंकर बन्ने थियो, बैंकर बनेँ, पछि अब आफ्नै उद्योग व्यवसाय गर्नु पर्छ भन्ने मानसिकता जाग्यो, हुन त आफ्नै व्यवसाय गर्नु पर्छ भन्ने चाहना मेरो सानैदेखि थियो बुझ्दै गएपछि आफ्नै उद्योग खाेलेँ ।’ एनएमबि बैंकको जागिर छोडेपछि उनलाई अन्य बैंकहरुबाट पनि कामको प्रस्ताव धेरै आयो । तर, उनको चाहना अर्कै थियो । ‘बैंक छोडेको सुनेपछि दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरुले काम गर्नु आउनु पर्यो भनेर प्रस्ताव गरे, तर मलाई पुनः बैंकको जागिरमा फर्किन मन लागेन, मैले उद्यमी नै बन्ने सोच बनाएर एनएमबि बैंक छोडेकी थिएँ, त्यसैले पनि कसैको प्रस्ताव पनि स्वीकार गरिनँ,’ उनले काम छोड्दाका दिनहरु स्मरण गर्दै सुनाइन् । उनले १३ वर्षको बैंकिङ यात्राबाट बिट मार्दै सन् २०१८ मा आफ्नै उद्योग खोलिन् । देशमा कोरोना भाइरसको महामारी थियो । देशव्यापी लकडाउन थियो । सडकहरु सुनसान थिए । उनी आफ्नो उद्योग स्थापनाको संघर्षमा थिइन् । हुनत ती दिनहरु उनका लागि चुनौतिपूर्ण थिए । भनिन्छ नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ त्यो अठोट उनले पनि लिइन् र दिनरात आफ्नै उद्योग सञ्चालनको दौडमा लागिन् । उनी विगत चार वर्षदेखि प्रयोगविहीन फूलबाट धुप बनाउनमा व्यस्त छिन् । हिमालयन ट्रायन क्विलिटी कम्पनी सञ्चालन स्थापना गरेर उनी चिया उत्पादन गरेर निर्यातमा लागिन् । नयाँ उद्योग सञ्चालन गर्न उनलाई लामो समय लाग्यो । देश विदेशको यात्रा गर्नु पर्याे । नेपालबाट स्थानीय उत्पादनको निर्यात कम हुन्छ । भइरहेको उत्पादनले पनि राम्रो बजार पाउन सकेको छैन । तर, आफुले उत्पादनको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यातको सोच बनाउँदै अगाडि बढिरहेकी छन् । इलामबाट चिया ल्याइन् । चियालाई उत्कृष्ट प्योकेजिङ गरिन् । स्थानीय घ्यू तथा फुडहरूलाई प्याकेजिङ गरिन् । ‘नेपालमा अर्गानकि वस्तुहरु धेरै उत्पादन हुन्छन्, धेरै वस्तुहरुलाई हामीले निर्यात गर्न सक्छौं तर, प्याकेजिङमा ध्यान दिन नसक्दा बजारमा बिक्री हुन कठिन छ, मैले पनि प्याकेजिङमा जोड दिएकी छु’ उनले भनिन् । चिया निर्यातमा सफलता पाउँदै गर्दा उनले ‘फूल प्रुसाद’ जन्माइन् । उनले मन्दिरमा प्रसादको रूपमा चढाइएका फूल तथा काम नदिने फालेका फूल संकलन गरी धुप बनाउने उद्योग सञ्चालन गरिरहेकी छन् । अहिले शर्माको परिचय फेरिएको छ । अहिले उनी धुप उद्योगीका रुपमा परिचित छिन् । उनले उत्पादन गरेका धुपहरु अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुन्छन् । फूलको अनुपम सौन्दर्य देखेर हरेकको मन पग्लिन्छ । मोहित बनाउँछ । त्यही फूल प्रयोगपछि फोहोर बन्छ । त्यही फोहोर अर्थात् प्रयोगविहीन फूललाई जिवन्त दिएर उनको उद्योग सञ्चालन भइरहेको छ । उनी हरेक दिन मन्दिर पुग्छिन् । मन्दिरमा चढाइएको फूल संकलन गर्छिन् । ‘फूललाई प्रसादको रूपमा चढाएको हुन्छ तर, प्रसादको रुपमा चढाइएको फूल फ्याँक्दा मेरो मन कटक्क खान्थ्यो, त्यो फूलबाट केही उत्पादन गर्न पाए हुन्थ्यो भनेर सोच्थें, अहिले मरेको फूललाई जीवन दिइरहेकी छु,’ उनले भनिन् । फूल सबैलाई मन पर्छ । राम्रो फूललाई स्पर्श गर्न मन मन लाग्छ । सुगन्धको अनुभूति गर्न मन लाग्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा प्रयोग हुन्छ फूल । तर, त्यही फूल अन्ततः सडेर गलेर जान्छ , त्यसलाई नयाँ जीवन दिइरहेकी छन् उनी । उनले आफ्नो योजनामा सहकार्य गर्न समुन्द्र राज अर्याललाई प्रस्ताव राखिन् । उनले पनि साथ दिए । त्यसपछि सुषमा र समुन्द्रको सहकार्य भयो । ‘फूल प्रसाद’सञ्चालनमा आयो । ४० लाख लगानी शर्मा र अर्याल मिलेर सञ्चालनमा ल्याइएको फ्याक्ट्री कपनमा छ । उद्योग सञ्चालनमा हालसम्म ४० लाखभन्दा बढी लगानी भइसकेको उनले बताइन् । अहिले फ्याँकेका फूलको संकलन गरी कपनको ‘फूल प्रुसाद’ उद्योगबाट प्रशोधन गरी धुपको उत्पादन गरिरहेको शर्माले बताइन् । धुप बनाउन कुनै मेसिन प्रयोग गरिएको छैन । हाल हातले नै धुप उत्पादन भइरहेको उनको भनाइ छ । उनका अनुसार फूलको धुप अर्गानिक हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो छ । ‘म आफै पनि धुप उत्पादन गर्ने धेरै वटा फ्याक्ट्री घुमेको छु, त्यहाँ धेरै केमिकलको प्रयोग गरेर धुपको उत्पादन गरिएको हुन्छ, जुन स्वास्थ्यको लागि हानिकारक छ,’ उनले भनिन्, ‘हामीले फूलबाट उत्पादन गरेको धुप अर्गानिक हो, स्वास्थ्यका लागि पनि राम्रो छ ।’ शर्माको उद्योगबाट उत्पादन हुँदै आएको धुप विदेशमा पनि निर्यात भइरहेको छ । अमेरिका र अस्ट्रेलियामा आफूहरुले धुप निर्यात गरिरहेको शर्मा बताउँछिन् । ‘हाम्रो देशमा पूजा गर्नको लागि धुप प्रयोग गर्छन्, विदेशमा प्राय योगा गर्दा अथवा घरमा किरा वा ‘नेगेटीभीटी’ नआओस् भनेर धुपको प्रयोग गरिन्छ, विदेशमा पनि फूल प्रसादको माग छ,’ उनले भनिन् । खराब फूललाई नयाँ जीवन दिएकी शर्मा बैंक छोडेर धुपसँग रमाइ राख्दा निकै खुसी छिन् । सन्तुष्ट छिन् । तर, ढिला गरी सञ्चालन गरेकोमा भने उनलाई पछुतो छ । विदेशमा अर्बाैको धुप निर्यात हुन्छ । जसमा फूल प्रसादको पनि केही हिस्सा छ । धुपको प्याकेजिङ र ब्रण्डिङमा पनि उतिकै ध्यान दिएकी छन् । आकर्षक प्याकेजङले पनि धुपको माग बढेको उनी बताउँछिन् । शर्माले ९/१० वटा सुगन्धमा धुप उत्पादन गर्दै आएकी छन् । काठमाडौंका विभिन्न मन्दिरबाट फूल संकलन गर्ने गरेको शर्माले बताउँछिन् । पशुपतिनाथ मन्दिर र बसन्तपुरबाट धेरै फूल संकलन हुने गरेको उनको भनाइ छ । ‘हामीले फालिएको फूल मन्दिर अथवा कुनै ठाउँबाट ल्याएर प्रशोधन गर्छौं, त्यसलाई पहिला सफा गर्छाैं, सफा भएपछि सुकाउँछौं, पिसेर धुलो बनाइन्छ, त्यसपछि विभिन्न आकारमा धुप बनाइन्छ,’ उनले धुप बनाउने प्रक्रिया भनिन् । सातै प्रदेशमा शाखा खोल्ने योजना बैंकरबाट उद्योगी बनेकी शर्माले सात वटै प्रदेशमा यसको शाखा खोल्ने योजना बनाएकी छन् । विदेशमा समेत निर्यात हुने उनको धुप नेपाली बजारको सबै ठाउँमा उपलब्ध छैन । अब देशभर सहजै उपलब्ध हुने गरी वितरण गर्ने उनको योजना छ । ‘प्रयोग भइसकेको फूलहरु ल्याउनुहोस्, वातावरण स्वच्छ राख्न योगदान गर्नुहोस् भनेर सामाजिक सञ्जालबाटै आग्रह गरेका छौं, धेरैले फूल ल्याएर हामीलाई दिनुहुन्छ, फूल ल्याइदिए बापत धुप पनि दिन्छौं,’ खुसी हुँदै शर्माले भनिन् । शर्माको उद्योगबाट धुप मात्रै होइन आकर्षक डिजाइनमा गिफ्ट बक्स पनि उत्पादन हुन्छन् । आयात गरेर ल्याएर बेच्ने धुप भन्दा आकर्षक डिजाइनमा फूल प्रसादका धुपहरु उपलब्ध छन् । उपहार स्वरुप धुप दिनेहरुका लागि सजावट गरी गिफ्ट बनाइएका छन् । शर्माले उत्पादन गरेका धुप न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ४ सय रुपैयाँसम्म मूल्य पर्छ । ‘खुसी हुनको लागि उद्योग सञ्चालन गरेकी हुँ, धेरै कमाउन होइन, उत्पादन गरेको धुपलाई बजारमा धेरै मार्जिन नराखी उपलब्ध गराउँछौं, माग अनुसार नयाँ प्रडक्ट ल्याउँछौं,’ उनले भनिन्, ‘उद्योग सानो छ तर लक्ष्य ठूलो छ, ५ वर्षपछि ठूलो उद्योगी बन्ने सपना छ, सातै प्रदेशमा शाखा कार्यालय विस्तार गरी फालिएका फूललाई जीवन दिने काम गर्ने योजना छ ।’
विद्यार्थीले स्वदेशमै सम्भावना खोज्नुपर्छ : राज्यमन्त्री ठकुरी
काठमाडौं । विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दिक्षित विद्यार्थीहरु देशको कर्णधार भएकाले विद्यार्थीहरुले देखेको भिजन र मिशनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने बताएकी हुन् । यस्तै, समारोहमा लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले दिक्षान्त समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमुलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताए । पर्यटन क्षेत्रमा प्रविधिको महत्व र धार्मिकस्थललाई भर्चुअल टुरहरु माफर्त सुचना प्रविधिको प्रयोग गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने उनी बताउँछन् । बिहीबार सम्पन्न दिक्षान्त समारोहमा सन २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सुचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबिएका १९, एमएससी सुचना प्रविधि व्यवस्थापन ४९ गरी कुल १ सय १७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सुचना प्रविधि कलेज हो ।
सर्वसाधारणका लागि रानीपोखरी खुल्ला
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ । कुनै अवरोध नआए तीन सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । उनले भने, ‘पोखरीमा सर्वसाधारणको आवतजावत बढेपछि पोखरीलाई छिटो सरसफाइ गरी सौन्र्दय कायम राखिने छ, यो काठमाडौं सान हो ।’ विसं २०७२ को गोरखा भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माणका लागि शिलान्यास पनि सोही वर्ष माघ २ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो । पुनःनिर्माण कार्य सकी विसं २०७७ कात्तिक ५ मा नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो । हस्तान्तरणपछि सबैका लागि खुला गर्न कामपाले पटक–पटक प्रयास गरेको जनाएको थियो । भूकम्पका कारण पोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि क्षति भएको थियो । यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण सम्पन्न गरिएको हो । शिलान्यास भएको करिब पाँच वर्षपछि मात्र रानीपोखरी पुनःनिर्माणको काम सम्पन्न भएको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाममा यो पोखरी बनाएका हुन् । पोखरीमा एक सय आठ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रासस
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
काठमाडौं। नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८\७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् । केन्द्रका निर्देशक डा शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रुपमा रहेको छ’, उनले भने । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या करिब दुई हजार आठ सय रहेको छ। यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । आव २०७८\७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो । नेपाल सरकारले आगामी आव २०८२\८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८\७९–२०८२\८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ । रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन्। केन्द्रका निर्देशक डा शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए । आव २०७८\७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो । चालु आवमामा एक सय स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी चार वर्षभित्र सात सय ५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ। राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत आठ सय ९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार नौ सय ७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।
उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु
काठमाडौं । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्रेष्ठको मृत्यु भयो । सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो । खड्काले चलाएको बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । एकैपटक एउटा टिपरले दुई सवारी साधनलाई ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ गम्भीर घाइते भइन् । यस्तै, गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित चमतीमा ट्याङ्करको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भयो । प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । यीमाथि उल्लेखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौँ उपत्यकाभित्र छ हजार आठ सय तीन सवारी साधन दुर्घटनाबाट एक सय २७ जनाको मृत्यु भएको छ । यस्तै, एक सय ५४ जना गम्भीर घाइते भएका छन् भने पाँच हजार एक सय २७ जना सामान्य घाइते भएका छन् । पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट चार सय ८४ जनाले ज्यान गुमाएका छन् । आव २०७७/७८ मा नौ हजार पाँच सय ४५ सवारी साधन दुर्घटनाबाट एक सय ६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा सात हजार ९५ जना सामान्य घाइते भएका छन् । आव २०७८/७९ मा १० हजार सात सय ३३ सवारी साधन दुर्घटनामा परेर एक सय ९१ जनाको मृत्यु भएको छ भने दुई सय ५७ गम्भीर घाइते र आठ हजार दुई सय ८१ जना सामान्य घाइते भएका छन् । काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन् । ‘दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ’, उनी भन्छन् । साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा एक हजार सात सय ट्राफिक प्रहरी परिचालित छन् । लामो समयसम्म काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गर्नुभएका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् । ‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्’, उनी भन्छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन् । रासस
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा उल्लेख गरेर चैत ३० गते भित्र आवेदन बुझाउन आह्वान गरेको छ । निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ । प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले अनलाइनमार्फत अनलाइन प्रस्ताव पेस गर्न सक्ने छन् । प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियोरभिडियो कपीसमेत अपलोड गर्नुपर्ने छ र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामाग्री राख्न पाइने छैन् । नविन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरणसमेत गर्नुपर्ने छ । उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने छ । प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने छ । एकपटक अनलाइनमार्फत प्रस्ताव पेश गरी नम्बर प्राप्त भइसकेपश्चात् पुनः सच्याउन नपाइने जनाइएको छ ।