विकासन्युज

नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्यो, पुरुषभन्दा महिला बढी

काठमाडौं । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख पुगेको छ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल ‘दाहाल प्र चण्ड’ ले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) को नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो । यस्तै, सार्वजनिक गरिएको २०७८ को जनगणना अनुसार देशमा ६६ लाख ६६ हजार ९३७ कूल परिवार बसोबस रहेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० जना रहेकाे थियाे । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

हामी कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा छैनौं : सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले आफु कुनै पनि प्रकारको मर्जरको प्रकृयामा नरेहको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफु कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा नरहेको जानकारी दिएको हो । ‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधरिकता नरहेको व्यहोर सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।

महासंघको निर्वाचनमा तीन समूह प्रतिस्पर्धा गर्दै, भरत पछि हट्दा गोपाल र सुकुन्तलाल अगाडि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा तीन समूहबीच प्रतिस्पर्धा हुने सम्भावना अधिक भएको छ । महासंघको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदै आएकोमा पहिलो पटक तीन वटा समूह नै प्रतिस्पर्धामा उत्रने भएका छन् । बरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार हुँदा निर्वाचन पनि दुई पटक हुने सम्भावना अधिक रहेको जानकारहरु बताउँछन् । अध्यक्ष हुनको लागि ५१ प्रतिशत मत ल्याउने पर्ने नियम छ । कसैले पनि ५१ प्रतिशत मत पाउन नसकेमा बढी मत पाउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुने भएको छ भने उनीहरुले पदाधिकारीको नाम टुङ्गो लगाउने अन्तिम कसरतमा छन् । अञ्जनको समूहबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एशोसियट उपाध्यक्षमा जोत्सना श्रेष्ठ फाइनल भएको छ । उमेशलालको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा हेमराज ढकाल पक्का भएका छन् । एशोसियट उपाध्यक्षमा गोपाल खनाल उठ्ने सम्भावना छ । एशोसियटतर्फबाट उपाध्यक्षका आकांक्षी भरतराज आचार्यले निर्वाचनको मुखैमा अनिच्छा प्रकट गरेपछि निर्वाचन बरिष्ठ उपाध्यक्षका आकांक्षी उमेशलाल श्रेष्ठको समूह नयाँ उम्मेदवारको खोजीमा लागेको छ । रामचन्द्र संघाईको टिमबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एशोसियट उपाध्यक्षमा सन्दीप अग्रवालले उम्मेदवारी दिने तयारी गरिएको छ । रामचन्द्र संघाईले पनि एशोसियटको उपाध्यक्षमा भरतराज आचार्यलाई उम्मेदवार बनाउने बताउँदै आएका थिए । आचार्य व्याक भएपछि सन्दीप अग्रवाललाई एशोसियटतर्फ र सुकुन्तलाल हिराचनलाई वस्तुगततर्फको उपाध्यक्ष बनाउने कसरत गरिरहेको छन् । अञ्जनले आफ्नो समूहका उपाध्यक्षको उम्मेदवार गत साता नै टुंग्याएका छन् भने उमेशलाल र रामचन्द्रले आज भोलिमै उम्मेदवारको टुङ्गो लगाउने भएका छन् । उम्मेदवार तय गर्ने विषयमा विभिन्न समूहमा छलफल गर्न शुक्रबार बिहानैदेखि व्यवसायीहरु जुटेका छन् ।

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे । घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताए । किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन् । पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए । सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ । ‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद्मा ल्याउन र संसद्मा दर्ता गर्न भनिसक्नुभएको छ । चाँडै नै त्यो कानुन संसद्मा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ’, प्रेस संयोजक शर्माले भने ।

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको १ लाख ९ हजार  रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार हुँदैछ ।

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ। तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी कार्यान्वयन चरणको प्रारम्भ गरेका हुन्। बैरेनी क्षेत्रको करिब एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ । आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ । व्यास नगरपालिका उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगर प्रमुख न्यौपानेले जानकारी र्दिए । आयोजनाले बैरेनीवासीको अवस्थामा परिवर्तन ल्याउने उनको भनाइ छ । ‘आयोजनाले बैरेनीवासीलाई समृद्ध बताउँछ, आर्थिकरुपमा सबल बनाउँछ’, न्यौपानेले भने । दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भन्दै नगर प्रमुख न्यौपानेले अबको गन्तव्य बैरेनी बन्ने बताए । ‘यसले व्यवस्थित सहरको रुप लिनेछ’, उनले भने, ‘सबै एकताबद्ध भएर सहकार्य र हातेमालो गरी आयोजना सफल बनाऔँ ।’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्तगरे । भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष डा. आमोदमणि दीक्षित र विज्ञ सूर्यभक्त सांघाक्षेले आयोजना बैरेनीवासीको हीतमा हुने बताए । आयोजनाअन्तर्गत प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफल समेट्ने एकाइ प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्र मूलले जानकारी दिए । प्रथम चरणमा दुई सय ५० उपभोक्ता लाभान्वित हुनेछन् । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माण गरिनेछ । उक्त कार्यका लागि रु ८५ लाख तथा दोस्रो चरणमा बाटो, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि १२ करोड १५ लाख विनीयोजन गरिएको एकाइ प्रमुख मुलले जानकारी दिए। नगर विकास कोषसँग भएको सम्झौताबमोजिम कूल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण प्रवाह हुने तथा बाँकी ३० प्रतिशत रकम व्यास नगरपालिले बेहोर्ने छ भने सो ऋण जग्गाधनीले पूर्वाधार निर्माणका लागि गरेको योगदानबाट छुट्याइएको ‘सेल्स प्लट’ बिक्री गरी चुक्ता गरिने बताइएको छ । रासस

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

पोखरा। पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए। उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल सदस्य रहेको समिति गठन गरिएको छ । लेखा अनुगमन, मितव्ययिता एवं पारर्दशिता वृद्धि गर्न आवश्यक पहल गर्न सदस्य बरालको संयोजकत्वमा पौडेल सदस्य रहेको समिति बनाइएको छ । राजस्व, सुशासन वृद्धि एवं सम्पत्तिको संरक्षणमा आवश्यक सहजीकरण गर्न रामजी पौडेलको संयोजकत्वमा विष्णुमणि बराल सदस्य रहेको समिति बनाइएको छ भने शिक्षा, सामाजिक, स्वास्थ्य, कृषि, पशु आर्थिक विकासतर्फको बजेट व्यवस्थापन, खर्च एवं लेखाको अनुगमन र सहजीकरण गर्न दुर्गादेवी थापा केसीको संयोजकत्वमा बलराम पौडेल सदस्य रहेको समिति बनाइएको छ । भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरणतर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजकत्वमा दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ । रासस

मुगु केन्द्रबिन्दु भएर भूकम्प

मुगु । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।