चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक भित्रिने
बागलुङ । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसेँका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ । नवरात्रि सुरु भएसँगै कालिका मन्दिरमा टाढाटाढाबाट भक्तजन आउनेक्रम सुरु भएको छ भने रमाइलो मेला, विभिन्न घरायसी सामग्रीका कक्ष तथा स्थानीय उत्पादनका कक्षमा व्यापारसमेत सुरु भइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । चैते दसैँका अवसरमा पाँच लाख धार्मिक पर्यटकले बागलुङ कालिका मन्दिर दर्शन गर्ने कालिका मन्दिर गुठी व्यवस्थापन समिति तथा चैते दसैँ मेला मूल आयोजक समितिले जनाएको छ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष चैत १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला यही चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘नवरात्रदेखि पूर्णिमासम्म पाँच लाख दर्शनार्थीले कालिका मन्दिर आउने लक्ष्य छ, नवरात्रको चौथो दिनदेखि नै धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा व्यवस्थापन गर्न थालिएको छ, दिनप्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ’, खड्काले भने, ‘परम्परागत चैते दसैँको सबै तयारी पूरा भइसकेको छ, अहिले रमाइलो मेला सुरु भइसकेको छ, चैते दसैँको मेलाको उद्घाटन चैत १३ गते हुनेछ ।’ अहिले कालिका मन्दिरको पार्किङस्थलमा सवारीसाधन नअटाएका कारण बाङ्गेचौर खेल मैदानमा पठाइएको ट्राफिक कार्यालयका निमित्त प्रमुख प्यामनारायण पौडेलले जानकारी दिए । ‘गन्तव्य बागलुङ कालिका–कला, संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैते दसैँ मेलाको सबै तयारी पूरा भइसकेको खड्काले बताए । कला, संस्कृति, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवद्र्धनमा चैते दसैँ मेला र बागलुङ कालिका मन्दिरले ठूलो टेवा पुर्याउँदै आएको स्थानीय दुर्गाबहादुर आचार्यको भनाइ छ । चैते दसैँका अवसरमा एक करोड रुपैयाँ लागतमा मन्दिरको जीर्णोद्वार गरी कलात्मक बनाइएको छ । मन्दिरसँगै विभिन्न काष्ठकला प्रयोग गरी हवन कुण्ड, शिवालय र गणेश मन्दिरसमेत निर्माण गरिएपछि कालिका मन्दिर थप आकर्षक बनेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । तीन लाख रुपैयाँ नगद पुरस्कारसहितको कालिका खुला पुरुष भलिबल प्रतियोगिता, एक लाख ५० हजार रुपैयाँ पुरस्कारसहितको राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता, छोलो प्रतियोगिता र रथ यात्रालगायतका कार्यक्रम आयोजना गरिएको कालिका कपका मूल संयोजक अर्जुन खड्काले जानकारी दिए । पछिल्ला वर्षमा विभिन्न ठाउँमा व्यापारिक मेला आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको बुढापाका बताउँछन् । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घनाजङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ । चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ । रासस
२६ अंकले घट्याे सेयर बजार, ६ कम्पनीकाे सेयरमा सर्किट
काठमाडौं । आइतबार सेयर बजार २६.८७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार घटेर १८८८.२७ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १९२ कम्पनीको सेयर मूल्यमा गिरवाट आएको छ भने १९ कम्पनी सेयर मूल्य वृद्धि भएको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । नेप्सेको अनुसार आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । नकारात्मक सर्किट लाग्नेमा जिवन विकास लघुवित्त वित्तिय संस्था, जाल्पा लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेको छ भने सकारात्मक सर्किट लाग्नेमा माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावर रहेको छ । आज ३७ लाख कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब २८ करोडको कारोबार भएको छ जसमा सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज ८६ करोडको सेयर कित्ता सेयर किनबेच भएको छ ।
संसदमा हरि ढकाल : लगानीकर्ताले १४ खर्ब गुमाए, अझै कति गमाएको सुन्न मन छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा सेयर बजारको विषयमा आवाज उठाएका छन् । उनले पछिल्लो समय सेयर बजार नियमित घट्दै गइरहेको बताउँदै यस विषयमा सरकार सजग र सचेत बन्नु पर्ने बताएका हुन् । उनले सेयर बजार घटेर नै लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताउँदै यस विषयमा सरकार गम्भीर बन्न आग्रह गरेका हुन् ।आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले सरकारमाथि सेयर बजारको विषयमा प्रश्न गरेका हुन् । ‘पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायीमा छन्, १४ खर्ब गुमाइसके, अब कति पैसा गुमाएपछि सरकारले सुन्छ, यस विषयमा सचेत हुन आवश्यक छ,’ उनले संसदमा भने ।
काभ्रेमा खानेपानी आयोजनाको आठ हजार ७०० मिटर पाइप क्षति
काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ । तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो । आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चार सय ३५ मिटर, पनौती नपाले चार हजार तीन सय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छ सय २६ मिटर पाइपमा क्षति पु-याएको छ । क्षतिका कारण आयोजनाको एक करोड १६ लाख ३९ हजार ६५ रुपैयाँ बराबरको नोक्सान भएको हो । निर्माणाधीन आयोजनाको पाइप क्षतिबारे तीन नगरका जनप्रतिनिधिले आलटाल गरेको जनाइएको छ । बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले ती वडामार्फत क्षति पुगेको पाइपबारे थप अनुगमन गरी व्यहोर्न सकिने बताए । ‘सम्झौताभन्दा कम गुणस्तरको पाइप राखेका कारण पानीको प्रेसर परीक्षण गर्दा धेरै स्थानमा फुटेको पाइएको छ, अन्य स्थानको क्षतिबारे अनुगमन गरी परेमा बेहोर्नु पर्नेछ’, उनले भने । पाँच मुहानबाट पानी संकलन गरिने आयोजनाको तीन सय ३८ किलोमिटरमध्ये हालसम्म दुई सय ९८ किमीमा पाइप बिछ्याइएको छ । सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमा सक्ने गरी सम्झौता भएको आयोजना करिब ११ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । करिब एक अर्ब लागतको उक्त खानेपानी आयोजनाको २९ प्रतिशत बजेट दिएको एशियाली विकास बैंक (एडिबी) ले आयोजनाबाट हात झिकिसकेको छ । तीन वर्षदेखि आयोजनाको काम ९७ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरपालिकाका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरका स्थानीयका घरघरमा २४सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु-याउने जनाइएको थियो । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो । चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ्क ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन नसके पनि आयोजनाको नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने प्रक्रियामा लागिएको छ । शाक्यले भने, ‘नयाँ ठेकेदार कम्पनी खोज्नेबारे तीनै नगरपालिकाले छलफल गरेको हो, तर पुरानो निर्माण कम्पनीले आयोजनाको लागत अनुमान दिएको छैन, त्यसका कारण आयोजना कहिलेसम्म सम्पन्न गर्ने भन्नेमा अन्योलता बढेको छ ।’ ठेकेदार कम्पनीलाई १२आँै पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने बताए । वादेका अनुसार हाल खानेपानी संस्थानको वितरण प्रणालीमा मुख्य लाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थालिनेछ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको ९७ प्रतिशत काम सम्पन्न भएको छ । पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ । मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ । तीन नगरका एक हजार एक सय १४ धाराको इन्टर–कनेक्सन गरिएको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको थियो । रासस
प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायव महाप्रबन्धक सोन आले मगरले गरेका हुन् । नायव महाप्रबन्धक सोन आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने बताए कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएका थिए । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।
समृद्धि फाइनान्सद्धारा युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सले युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्सको हेटौंडा शाखा कार्यालयले ११ गते रोड हाउस रेष्टुरेन्टमा स्थानिय युवाहरु माझ र १२ गते बनेपा शाखा कार्यालयले मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि सप्ताहको सन्दर्भमा प्लान योर मनि, प्लान योर फ्युचरु भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । भविष्यमा थप शाखाहरुबाट नियमित रुपमा विभिन्न वर्गहरु लक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा १० प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।
नियम विपरित औषधि बिक्री गर्ने फार्मेसीलाई नियमन गर्न सबै पालिकालाई पत्रचार
बैतडी । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो । अनुगमनका क्रममा मेडिकहरुले अनुमति नलिइ औषधि बिक्री गरेको, स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना कडा खालका मानव स्वास्थ्यमा असर गर्ने औषधिसमेत बेचबिखन गरेको, फार्मेसी सञ्चालक आफैले चिकित्सा सम्बन्धी अभ्यास गर्ने गरेको, आयुर्वेदिक फार्मेसीबाट एलोपेथिक तथा एलोपेथिक फार्मेसीबाट भेटेनरी औषधिसमेत बेचबिखन गर्ने गरेको पाइएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले स्थानीय तहको क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसीको अनुगमन, निरीक्षण र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिएकाले नियमबमोजिम कार्य गराउन आग्रह गरिएको प्रजिअ सुरेश पन्थीले जानकारी दिए । फार्मेसी सञ्चालन गर्दा औषधिको आयात, सञ्चय, बिक्री वितरणका लागि सम्बन्धित निकायबाट अनुमति लिए नलिएको बारे अनुगमन गर्ने अधिकार स्थानीय सरकारको भएकाले सो जानकारी गराइएको हो । फार्मेसी सञ्चालकले साइनबोर्ड सबैले देख्ने गरी राख्नुपर्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्रै औषधि बिक्री गर्नुपर्ने, म्याद गुज्रेका औषधि अलग्गै राख्नुपर्ने, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री गर्न नहुनेलगायत नियम पालना गराउनुपर्ने प्रशासनले पालिकालाई पठाएको पत्रमा उल्लेख गरिएको छ । औषधिकोे अवैधरूपमा बेचबिखन तथा कारोबारले आमजनताको स्वास्थ्यमा जटिल समस्या सिर्जना हुने भएकाले यसमा सचेत हुन र आम उपभोक्ताको स्वास्थ्यसम्बन्धी मौलिक हक र अधिकार संरक्षण गर्न अनुगमन समितिलाई सक्रिय पार्न पनि प्रशासनले पालिकालाई भनेको छ । रासस
लुम्बिनी सरकारबाट बाहिरियो माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उनीहरुले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन् । एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।