विकासन्युज

पाँच वटा हवाइ कम्पनीले किन्दैछन् १३ नयाँ जहाज

काठमाडौं । पछिल्लो समय नेपाली आकाशमा उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले नयाँ जहाज खरिद प्रक्रिया सुरु गरेका छन् । केही वायुसेवा कम्पनीले थप जहाज खरिदको तयारी थालेका छन् भने केही कम्पनीले पुराना जहाज बिक्री गरेर नयाँ ल्याउने तयारी थालेका छन् । हाल आन्तरिक रुपमा उडान गर्दै आएका बुद्ध र सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने तयारी गरिरहेका छन् । यस्तै, प्रभु हेलिकोप्टरले पुरानो होलिकोप्टर बेचेर नयाँ ल्याउने तयारी थालेको छ भने सिम्रिक एयरले नयाँ हेलिकोप्टर खरिद गर्न लागेको हो । बुद्ध, सौर्य र सिम्रिक एयरले एक/एक थान जहाज खरिद गर्न लागेका छन् भने प्रभु हेलिकोप्टरले एयरबस मोडलको दुई थान होलिकप्टर खरिद गर्न लागेको छ । अमेरिकन कम्पनीको हेलिकप्टर थप्दै सिम्रिक एयर सिम्रिक एयरले अमेरिकन कम्पनीको नयाँ एक थान हेलिकप्टर थप गर्ने भएको छ । सिम्रिकले बेल टेक्सट्रन पीटीई बेल ५०५ जेट रेन्जर एक्स-जेआरएक्स खरिद गर्न लागेको हो । ‘खरिद प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो, हामी अप्रिल अन्तिम सातासम्म नयाँ हेलिकप्टर ल्याउने तयारीमा छौँ’, सिम्रिक एयरका जनरल म्यानेजर मुरलिधर जोशीले भने । उनका अनुसार नयाँ ल्याउन लागिएको हेलिकप्टर नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । बेल ५०५ मोडलको हेलिकप्र अहिलेसम्म नेपालमा कुनै पनि वायुसेवा कम्पनीले नल्याएको उनले बताए । हेलिकोप्टर खरिद गर्न सिम्रिकको टोली सिंगापुर पुगेको थियो । कम्पनीले सन् २०१९ मा नै उक्त मोडलको हेलिकप्टर नेपालमा ल्याएर परिक्षण उडान गरेको थियो । नेपालको भूभागमा उडान गर्न सक्ने क्षमताको भन्दै कम्पनीले सन् २०१९ मा नै दुई थान हेलिकप्टर अडर गरेको उनले बताए । कोभिडका कारण ल्याउन नसकिएको २ थान जहाजमध्ये पहिलो चरणमा १ वटा मात्रै ल्याउने तयारी भएको जोशी बताउँछन् । सिम्रिकले उक्त हेलिकप्टरको सगरमाथा, अन्नपूर्णलगायतका उच्च पहाडी भेगमा १९ हजार फिटको उचाईमा परीक्षण उडान गरेको थियो । ‘हामीले परीक्षण उडान गर्न नेपालमा उडान गर्न सक्ने देखेपछि अडर गरेका थियौँ, तर कोभिडका कारण ल्याउन सकिएको थिएन, अडर गरेको करिब ४ वर्षपनि पुनः सोही हेलिकप्टर ल्याउन लागेका हौँ’, उनले भने । यसअघि सिम्रिकले नेपालमा पहिलोपटक बेलकै ४०७ जीएक्सपी सिरिजको हेलिकोप्टर ल्याएको थियो । बेल ४०७ र एयरबस मोडलको गरी सिम्रिकले हाल ४ वटा हेलिकप्टरबाट उडान गर्दै आएको छ । नयाँ जहाज ल्याउनका लागि कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग स्वीकृति लिने तयारी थालेको छ । उक्त हेलिकोप्टर एक चालक र ४ यात्रु सिट क्षमता रहेको छ । २ थान एयरबस थप गर्दै प्रभु  प्रभु हेलिकप्टरले २ थान एयरबस किन्ने तयारी थालेको छ । आफूसँग रहेका चार वटा हेलिकप्टर बिक्री गरेर नयाँ हेलिकोप्टर खरिदको तयारी गरेको हो । कम्पनीले हाल सञ्चालन गर्दै आएको चार वटा रोविन्सन हेलिकप्टर बिक्री गरेर एयरबस कम्पनीको नयाँ हेलिकप्टर किन्न लागेको हो । प्रभुले एयरबस एएस ३५० बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्न लागेको नायब महाप्रबन्धक राजलावतले बताए । उनका अनुसार चार थान रोविन्सन हेलिकप्टर बिक्रीको अन्तिम चरणको पुगेको बताउँछन् । ‘हामीसँग पाँच थान रोविन्सन जहाजमध्ये हाल चार वटा बिक्रीको तयारी अन्तिम चरणमा पुगेको छ, उक्त जहाज बिक्री गरेर एयरबस कम्पनीका जहाज ल्याउँछौँ’, उनले भने । पाँचमध्ये कम्पनीले हालका लागि सन् २०१८ मा किनेको एउटा रोविन्सन हेलिकोप्टर भने चलाउने जनाईएको छ । एटीआर जहाज थप्दै बुद्ध एयर निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आन्तरिक उडानका लागि थप एउटा एटीआर जहाज थप गर्ने तयारी थालेको छ । हाल प्रदेश केन्द्रीत उडान विस्तार गरेको बुद्धले उडानलाई थप विस्तार गर्नभन्दै नयाँ एटीआर ७२-५०० सिटे जहाज ल्याउने तयारी भएको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्ण नयाँ जहाज अगामी अप्रिल महिनाभित्र ल्याइसक्ने तयारी भएको बताए । कम्पनीले सञ्चालन गर्दै आएको एटीआर मोडलकै जहाज ल्याउने तयारी भएको उनले बताए । नयाँ बम्वार्डियर ल्याउँदै सौर्य एयरलाइन्स सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने तयारी थालेको छ । तीन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्यले नयाँ बम्वार्डियर जहाज ल्याउन लागेको हो । ‘बम्वार्डियर सिआरजे-२००’ सिरिजको विमान ल्याउने तयारी थालिएको कम्पनीका व्यवस्थापक प्रवक्ता मुकेश खनालले जानकारी दिए । उनका अनुसार अबको एक डेढ महिनाभित्रै नयाँ बम्वार्डियर जहाज आइसक्छ । जहाज खरिद गर्न समिति गठन सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिदका लागि समिति गठन गरेको छ । निगमका उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समितिले आन्तरिक उडानका लागि ट्विनअटर र अन्तर्राष्ट्रिय उडानका लागि न्यारोवडी जहाज खरिदको लागि आवश्यक तयारी थाल्नेछ । सुरुवाती चरणमा दुईवटा न्यारेवडी र आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गर्नेछ । उक्त समितिले निगम सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनलाई आधार बनाएर सञ्चालक समितिले निर्णय गरेर मन्त्रालयमा पठाईने निगमले जनाएको छ ।

बैंकको मार्जिन कलले सताउन थाल्यो : लगानीकर्ता रौनियार

काठमाडौं । लगानीकर्ता छोटेलाल रौनियारले बैंकको मार्जिन कलले सताउन थालेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले बैंकको मार्जन कलले फोन गर्नुपरेको बताए । यसको कारण धेरै लगानीकर्ताहरुले आत्महत्या गर्नु मात्र बाँकी छ भन्दै दुखेसो गरेको पनि उनले बताए । ‘बजार घटेर घर घरकी कहानी भयो, ब्याजदर बढेका कारण लगानीकर्ता रोइरहेका छन् र कति विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘दोहोरो करले पनि लगानीकर्ताहरु पिडामा छन् ।’ जुनतारा उदाए जस्तै अब सेयर बजारलाई माथि बढाउने गरि काम गर्नुपर्ने उनी बताउँछन् । पूँजी बजार अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै उनले यस सम्बन्धि नीतिनियम बनाउँदा लगानीकर्ताको पनि सुझाव सल्लाह लिनुपर्ने बताए । यस्तै, उनले इन्साइडर ट्रेडिङ्ग गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने माग राखेका छन् । उनले राष्ट्र बैंकले दुई तीन लाभांश घटाएर पठाउनुभन्दा पहिला छलफल गर्नुपर्ने पनि बताए ।

सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसक्यो : अध्यक्ष फुलेल

काठमाडौं । सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेल सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताले चर्को शुल्क तिर्नुपरेको बताए । ‘भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का परेको छ,’ उनले भने, ‘पूँजी बजार अर्थतन्त्रको ऐना हो, पूँजी बजार रह्यो भने मात्रै अर्थतन्त्र चलायमान हुनेछ ।’ यस्तै, उनले संसदको अर्थसमितिले बजार बढेको बेला रोक्ने काम मात्रै गरेको र बजार घटेको बेला चुइक्क नबोलेको आरोप लगाए । यस विषयमा धितोपत्र बोर्डले समन्वय गरेर सकृय गराउनुपर्ने उनको भनाइ छ । उनले छिट्टै ब्रोकररहित कारोबार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन ।

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो। बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघ (संस्थाहरु लगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। साथै, बैंकले सामाजिक संजाल र वेबसाइट मार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न, ओटिपि, पासबर्ड, पिन, सिभिभि जस्ता संवेदनशील विवरणहरु कसैसँग पनि सेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका विभिन्न बैंक शाखाहरु मार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रकाश ज्वाला र वेदुराम भुसाललाई सरकारमा पठाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी शीर्ष नेताहरूको बैठकले भुसाल र ज्वाललाई सरकारमा पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। एकीकृत समाजवादीले भने तीन मन्त्रालय माग गरेको छ ।

१६ मन्त्रालय मन्त्रीविहिन हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रियासँग जोडिएका अधिकांश विद्यमान कानुनी व्यवस्था पूरा गर्नुपर्ने क्यालेन्डर पनि समयअनुसार सञ्चालनमा आउन सकेको छैन । सरकारले पूर्णता पाउन नसक्दा आर्थिक प्रशासनमा अलमल देखिएको र यसले बजेट क्यालेन्डरमा नै असर गर्न सक्ने त्रास बढाएको जानकारहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन अब ६० दिन र बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता ल्याउन ४५ दिन मात्र बाँकी छ । बजेटसँग सबैभन्दा बढी जोडिने अर्थ मन्त्रालयसहित १६ वटा मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् । सरकारमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहँदा वार्षिक बजेट र नीति तथा कार्यक्रम निर्माणका कामहरुको टुंगो अझै छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११ ले विषयगत मन्त्रालयहरूका लागि मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रियासँगै समयसीमा पनि तोकिदिएको छ । मन्त्रालयहरूले आयोजना तथा कार्यक्रमको विवरण, प्रति एकाइ लागत, कार्यान्वयन अवधि, अपेक्षित प्रतिफल, त्यसको प्रभाव र असरलगायतका विवरण फागुन मसान्तभित्र योजना आयोग र अर्थ मन्त्रालयलाई बुझाइसक्नुपर्छ । तर मन्त्रालयले यी विवरण अझै बुझाउन सकेका छैनन् । त्यसैगरी आगामी आर्थिक वर्षका लागि मन्त्रालयहरूले पाएको बजेट सीमा (सिलिङ) का आधारमा आफ्ना योजना तथा कार्यक्रमहरु चैत २५ गतेसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआइएस) मा प्रविष्ट (इन्ट्री) गरिसक्न अर्थ मन्त्रालयले पत्राचार गरिसकेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३३ ले सङ्घ सरकार, प्रदेश र स्थानीय तहबीच अन्तरसरकारी वित्त व्यवस्थापनका विषयमा आवश्यक परामर्श तथा समन्वय गर्न अर्थमन्त्रीको संयोजकत्वमा हरेक वर्ष चैतमा अनिवार्य रुपमा अन्तर सरकारी वित्त परिषद् रहने व्यवस्था गरेको छ । तर परिषद्को बैठक बस्न सकेको छैन । मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगिसकेको भनेर राजनीतिक दलका नेता, अर्थविद् र सरकारी निकायहरुले भनिरहेका बेला मुलुकको आर्थिक प्रशासन भने आफैँ अलमलमा परेको जस्तो देखिएको छ । विद्यमान कानुनी व्यवस्थाअनुसार सरकारले आगामी वैशाख मसान्तभित्र आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता ल्याइसक्नुपर्छ भने जेठ १५ गतेसम्म वार्षिक बजेट ल्याइसक्नुपर्छ । बजेट र वार्षिक नीति तथा कार्यक्रम ल्याउन निकै छोटो समय बाँकी रहेको छ तर सरकारमा जाने दलहरु न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतालाई अहिले सरकारमा जाने दलहरुले तय गर्ने न्यूनतम साझा कार्यक्रमले दिशानिर्देश गर्ने भएकाले यो आवश्यक रहेको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई बताउँछन् । ‘न्यूनतम साझा कार्यक्रम भनेको दलहरूको भयो । सरकारको फरक हुन्छ । यसकै आधारमा सरकारले वार्षिक नीति तथा कार्यक्रम बनाउने कोसिस गर्छ । यी दुई फरक विषय हुन् । तर अन्तरसम्बन्धित पनि हुन्छन्’, उनले भने । दलहरुको साझा प्रतिबद्धताले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटलाई सैद्धान्तिक र वैचारिक रुपमा दिशानिर्देश गर्ने उहाँको भनाइ छ । वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउँदा सरकारले अन्य प्राथमिकताहरु, साधन स्रोतहरुलगायतका विषयलाई आधारमा बनाउनुपर्नेहुन्छ । सरकारको न्यूनतम साझा कार्यक्रम जतिसक्दो चाँडो ल्याउन प्रयास भइरहेको र एक दुई दिन भित्रमा सार्वजनिक भइसक्ने पनि भट्टराईले बताए । सरकार विस्तारको ढिलाइले विषयगत मन्त्रालयहरुको बजेट निर्माण प्रक्रिया अस्तव्यस्त भइरहँदा सत्ताधारी दलहरुले अहिले ल्याउने न्यूनतम साझा कार्यक्रमको कुनै ठूलो अर्थ नरहने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘अहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन आवश्यक छैन । किनभने चालु आर्थिक वर्षको बजेट ल्याउँदा प्रधानमन्त्री नेपाली कांग्रेसबाट र अर्थमन्त्री नेकपा (माओवादी केन्द्र) बाट हुनुहुन्थ्यो । अहिले कांग्रेस र माओवादी केन्द्रकै सरकार बन्ने अवस्थामा न्यूनतम साझा कार्यक्रम त्यति आवश्यक छ जस्तो लाग्दैन’, उनले भने, ‘सरकारमा केही नयाँ दलहरु पनि जोडिएकाले न्यूनतम साझा कार्यक्रम ल्याउन खोजेको हो भने पनि त्यसको आयु करिब डेढ महिना मात्रै हो । वैशाख मसान्तमा त सकारकारको नीति तथा कार्यक्रम पेस गर्नैपर्ने हुन्छ ।’ विषयगत मन्त्रालयमा मन्त्री नहुँदा बजेट कार्यान्वयन र तर्जुमासँग जोडिएका धेरै विषय अड्किने खनाल बताउँछन् । ‘क्षेत्रगत मन्त्रालयमा मन्त्री छैनन् भने सचिवहरुले प्रधानमन्त्रीको तहमा गएर छलफल गर्न नपाउने अथवा प्रधानमन्त्रीले नै नभ्याउने अवस्था हुनसक्छ । मन्त्री नभएका मन्त्रालयहरुमा बजेट तर्जुमा कठिन हुन्छ । किनभने मन्त्री नभइकन कतिपय कुराहरु टुङ्ग्याउन पाइँदैन । मन्त्रालयहरुले चैत मसान्तभित्रमा टुङ्ग्याउनै पर्छ । त्यहाँ दुई हप्ता जतिको मात्रै समय बाँकी छ’, उनले भने । बजेट निर्माणका प्रारम्भिक चरणका अर्थमन्त्रीको भन्दा अर्थ सचिव र राष्ट्रिय योजना आयोगको बढी भूमिका रहने पनि खनाल बताउँछन् । राष्ट्रिय योजना आयोगबाट बजेट सिलिङ पाएका मन्त्रालयहरु मन्त्री नै नभएपछि वार्षिक योजना तथा कार्यक्रम कसरी तयार पार्ने भन्ने अलमलमा छन् । अर्कोतर्फ अर्थ मन्त्रालय पनि बजेट क्यालेन्डरमा तोकिएको समय घर्किंदै जान थालेपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा स्पष्ट हुन सकेको छैन । ‘सबै मन्त्रालयहरुलाई चैत २५ गतेसम्ममा योजना तथा कार्यक्रमको विवरण एलएमबीआईएसमा इन्ट्री गरिसक्नु भनेर अर्थमन्त्रालयबाट पत्राचार भइसकेको छ । त्यो सकिएपछि उनीहरुसँग छलफल सुरु हुन्छ’, अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने । बजेट तर्जुमा दिग्दर्शन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा भएका व्यवस्थाअनुसारको बजेट क्यालेन्डर यस वर्ष बन्न नसकेको पनि उनी स्वीकार्छन् । यी कानुनी व्यवस्थामा भएका प्रावधानअनुसार गएको अवस्थामा अहिले बजेट निर्माणको प्रक्रिया सबै विषयगत मन्त्रालयहरुसँग छलफलको चरणमा पुगिसके हुने उनको भनाइ छ । सङ्घीय सरकारले बजेट निर्माणका क्रममा प्रदेश र स्थानीय तहसँग पनि समन्वय र सहकार्य गर्नुपर्नेहुन्छ । सङ्घीय अनुदानका रुपमा तल जाने बजेट र त्यहाँ कार्यान्वयन हुने योजना तथा कार्यक्रमबारे केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग छलफल गर्नुपर्ने हो । त्यसैका लागि अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले अन्तर सरकारी वित्त परिषद्को व्यवस्था राखेको छ । ऐनले ‘परिषद्को बैठक प्रत्येक वर्षको चैत महिनामा एकपटक र अन्य बैठक संयोजकले तोकेको मिति र समयमा बस्नेछ’ भनी उल्लेख गरेको छ । तर अर्थमन्त्रीको संयोजकत्वमा बस्नुपर्ने यो बैठकको अझै टुङ्गो छैन । प्रदेशका अर्थमन्त्री, गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिका प्रमुख वा उप्रमुखबाट प्रत्येक प्रदेशबाट एकजना महिलासहित दुईजना प्रतिनिधित्व हुनेगरी प्रदेशले सिफारिस गरेको १४ जना, वित्तसम्बन्धी विज्ञमध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा एकजना महिलासमित तीनजना यो परिषद्मा रहन्छन् । रासस

लिंकन युनिभर्सिटी कलेजका १५ सय विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) को ‘दीक्षान्त समारोह २०२३’ वैशाखमा हुने भएको छ । लुक्यानले स्नातक र स्नातकोत्तर उत्तीर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दीक्षित गर्ने लागेको हो । लिंकन युनिभर्सिटीले मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षणसंस्थाहरुबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि सहित दीक्षित गर्ने बताइएको छ । लुक्यानको ‘दीक्षान्त समारोह २०२३’ बैशाख १६ गते गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १५ सय विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिने बताइएको छ । दीक्षान्त समारोहमा सहभागी हुनको लागि बिद्यार्थीहरुले अनलाइन फर्म भर्नुपर्ने हुन्छ । सो फर्म बिद्यार्थीहरुले चैत १६ गते बुधवारबाट चैत ३० गतेसम्म भर्न सक्छन् । फर्म www.convocation.lucan.org.np मा गइ भर्न सकिने छ । विद्यार्थीहरुले दीक्षित हुनको लागि शुल्क पनि बुझाउनु पर्ने हुन्छ । लुक्यानका अध्यक्ष रेश्टा झाका अनुसार विश्वविद्यालयले हालसम्म चार वटा दीक्षान्त समारोह सम्पन्न गरी ४ हजार बढी बिद्यार्थीहरु दीक्षित भइसकेका छन् । ‘हामीले यस वर्षको दीक्षान्त समारोह मार्फत १५ सय बढी बिद्यार्थीहरुलाई उपाधि द्वारा दीक्षित गर्नेछौं, विद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्वविद्यालय तथा शिक्षण संस्थाका प्रतिनिधिहरू लगायतका ३ जार बढी व्यक्तित्वहरू सम्मिलित यस दीक्षान्त समारोह २०२२ कार्यक्रम निजी शिक्षणसंस्थाहरुद्वारा गरिने एक उत्कृष्ट कार्यक्रम हुने छ,’ उनले भने । सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप, वाल्मीकि लिंकन कलेज, ग्रिन पिस लिंकन कलेज, केएफए बिजनेस स्कुल एण्ड आईटी, लिंकन इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, नेसनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स, नेपाल बिजनेस कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, पोखरा लिंकन इन्टरनेशनल कलेज, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी र वेस्टर्न मेगा कलेज गरी कुल ११ वटा शैक्षिक संस्थाहरूका विद्यार्थिहरु सहभागी हुने छन् । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशन द्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको दाबी गरेको छ ।

बससेवाबाट टिकट काट्नेलाई सुनको उपहार

काठमाडौं । बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ । चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफु जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको हो । २० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नुहुनेछ भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सकिनेछ । बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशन तथा अन्य सेवा प्रदायकका मोबाईल एप्लीकेशनबाट टिकट काट्न सक्नु हुनेछ । नयाँ योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने ‘हामीले बिगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका छौँ । नयाँ वर्षमा यात्रुहरूको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न भञ्झट नहोस् भन्ने उदश्यले ओ अफर सार्वजनिक गरेका हौँ । अन्तिम अवस्थामा टिकट काट्नु भन्दा पनि अग्रिम रूपमा टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई सहज हुने नै भयो, त्यसका साथै हामीलाई पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दछौँ ।’ अनलाइनबाट टिकट काट्न बससेवाको मोबाईल एप्लीकेशनबाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।