परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानीको लागि सम्झौता
काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवद्र्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरे । दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवद्र्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदान लगायतमा सहकार्य हुनेछ । काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रबद्र्धनमा दुई संस्थाबीच सहकार्य हुनेछ,’ उनले भने । यस्तै, इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए । त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुबै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दिप शारदा, महानिर्देशक दिपकराज जोशी, इण्डियन च्याम्बर अफ कमर्सका महानिर्देशक डा। राजीव सिंहलगायत थिए ।
एमबिबिएस पढेका विद्यार्थी माल्दिभ्सदेखि मलेसियासम्म
काठमाडौं । नेपालमा चिकित्सा शास्त्र अन्तर्गतको एमबिबिएस अध्ययन पुरा गरेका अधिकांश विद्यार्थी विदेश पलायन हुने गरेका छन् । नेपालमा थप उच्च शिक्षा अध्ययनमा समस्या र बेरोजगारीको कारण विद्यार्थीहरु विदेश पलायन भएको देखिन्छ । शैक्षिक शत्र २०७९/८० का लागि चिकित्सा शिक्षा आयोगले विभिन्न विश्वविद्यालयका २१ वटा मेडिकल कलेजलाई एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको लागि अनुमति प्रदान गरेको छ । ती कलेजहरुमा एमबिबिएस अध्ययन गर्नको लागि आयोगमार्फत छ हजार छ सय ३९ जना विद्यार्थीले प्रवेश परीक्षा उत्तिर्ण गरेका छन् । शैक्षिक शत्र ०७९/८० बाहेक पछिल्लो १० वर्षमा ७६ हजार पाँच सय पचास जना विद्यार्थीले एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तिर्ण गरेको तथ्यांकले देखाउँछ । त्यस्तै, पछिल्लो दश वर्षमा २६ हजार नौ सय १६ जना विद्यार्थीले एमबिबिएस उत्तिर्ण गरेका छन् । नेपाल मेडिकल काउन्सिलमा एमबिबिएस उत्तिर्ण गरेका २७ हजार आठ सय पाँच र एमडी उत्तिर्ण गरेका नौ हजार तीन सय ३९ जना चिकित्सक दर्ता भएका छन् । काउन्सिलमा दर्ता हुनको लागि परीक्षामा सहभागी भएका मध्ये ६० प्रतिशतको हाराहारीमा मात्रै उत्तिर्ण भएको देखिन्छ । बाँकी विद्यार्थीहरुले केही पटक परीक्षामा सहभागी भए पनि सबै विद्यार्थीले निरन्तर प्रयास नगर्ने नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अनिल बिक्रम कार्की बताउँछन् । चालु शैक्षिक शत्रबाट एमबिबिएस कोटामा दुई हजार दुई सय २३ जना विद्यार्थीले सरकारको छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउँछन् । चालु शैक्षिक शत्रमा पनि एमबिबिएस अध्ययन गर्ने कुल कोटाको १० प्रतिशत विद्यार्थीहरुले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार नेपालमा ३० हजारको संख्यामा डाक्टरहरु रहेका छन् । तर, चिकित्सा क्षेत्र व्यवस्थित हुन नसक्दा र चिकित्सा बेरोजगारीको दर बढ्दै जाँदा एमबिबिएस पढेका ठूलो संख्याका विद्यार्थी मुलुकबाटै पलायन हुने गरेका छन् । विद्यार्थी माल्दिभ्सदेखि खाडीसम्म ठूलो लगानी गरेर रोजगारको अवसर नपाएपछि एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरुको ५० प्रतिशत भन्दा धेरै संख्या विदेश पलायन हुने गरेको छ । नेपाल मेडिकल एशोसियसनका अध्यक्ष कार्कीले यस्तो संख्या ७०/७५ प्रतिशत रहेको बताए । ‘नेपालमा उच्च शिक्षा अध्ययनको लागि केही बाधा व्यवधानहरु छन्, सरकारले दरबन्दी नखुलाउने र निजीमा व्यापक शोषण हुने जुन समस्या छ र न्यून पारिश्रमिकको कारणले पनि विद्यार्थीहरु पलायन हुने गरेका छन्’, डा. कार्कीले भने । विदेशमा ज्याला राम्रो भएको र करिअर पनि राम्रो हुने भएको ठानेर विद्यार्थीहरु जाने गरेको उनले बताए । डा. कार्कीका अनुसार पहिला मेडिकल अध्ययन गरेका नेपाली विद्यार्थीहरु युके, अमेरिका र अस्ट्रेलिया मात्रै जाने गरेकोमा पछिल्लो समयमा भने मालदिभ्सदेखि खाडी मुलुकहरुसम्म जाने गरेका छन् । एमबिबिएस अध्ययन नेपालको शैक्षिक क्षेत्रमध्ये महँगो बिधाको रुपमा पर्छ । तर, राज्यले वर्षेनी एमबिबिएस अध्ययनको शुरुवात गर्ने कति विद्यार्थीले अध्ययन पूरा गरे र कति बिचमा छोडे भन्ने विषयको एकीकृत तथ्यांकको विकास गरेको छैन । त्यस्तै, शुल्कमा वा छात्रवृत्तिमा एमबिबिएस उत्तिर्ण गरेका विद्यार्थीहरुको अवस्था के छ भन्ने तथ्यांक राज्यसँग छैन। छात्रवृत्तिमा अध्ययन गरेर एमबिबिएस उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सरकारले दुई वर्ष करार सेवा उपलब्ध गराउने गरेको छ । तर, त्यसपछि पनि उनीहरुको नेपालमा रोजगारीको भविष्य नभएकाले उनीहरु करार सेवाकै अवधिमा विदेशतर्फ लाग्ने गरेको डा. सञ्जिव तिवारी बताउँछन् । नेपालमा अहिले २१ वटा शैक्षिक संस्थाले एमबिबिएस पढाउने गरेकोमा सरकारले फेरि थप मेडिकल कलेज बढाउने तयारी गरेको छ । त्यसो गर्दा थप कलेजहरुले पनि चिकित्सक उत्पादन गर्न सक्नेछन् । अवसरको सिर्जना नहुने तर जनशक्ति उत्पादनको मात्रा मात्रै बढ्दै जाने हो थप एमबिबिएस अध्ययन गर्ने विद्यार्थीहरु बेरोजगार बन्ने र पलायन हुँदै जाने अवस्था देखिने सरोकारवालाको भनाइ छ ।
नेपाल क्लियरिङ्ग हाउसको संचालकमा बैंकर महेश शर्मा र जगदीश दाहाल
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को संचलाक समितिमा बैंकर महेश शर्मा ढकाल संचालक पदमा नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत(सीइओ) वाणिज्य बैंकहरुका तर्फबाट संचालकमा शर्मा नियुक्त भएका हुन् । बुधबार बसेको एनसीएचएलको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल नियुक्त गर्नेपनि निर्णय गरेको छ । यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको ३० लाख रुपैयाँ सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवँरलाइ सो रकम वराबरको चेक बुधबार हस्तान्तरण गरेका छन् । नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक संचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । कार्यकममा प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधब खतिवडा लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनलाइनबाट स्वास्थ्य सेवा दिन सुरु
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीले मोबाइल नं ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइबर, ह्वाट्स् एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने जनाइएको छ । फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृत खटिएका वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याका कारण बिरामी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको हो । बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ । आइतबार र शुक्रबार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरेको छ । सिद्धार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ रुपैयाँलाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरेको छ । नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरका हुन् । उक्त कार्यक्रममा वीरगञ्ज क्षेत्रका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायत अन्य प्रतिनिधिहरु तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बारेमा चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने कुरा पनि व्यक्त गरेका थिए । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
अहिले होल्ड गरेर राख्नुहोस्, बजारका राम्रा दिन आउँदैछन् : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएकाले कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका हुन् । उनले बुक बिल्डिङ्ग विधि २ महिनमा सक्ने गरी काम हुँदै गरेको बताए । ‘बुक बिल्डिङको विधि खुल्ने बित्तिकै नयाँ नयाँ कम्पनी ल्याउने छौं,’ उनले भने । यस्तै, उनले बजारको हितमा काम गर्दा पहिलो पाइलामै ठेस लागे पनि पछि नहट्ने र बोर्डले लगानीकर्ताको संरक्षणको नीति लिएको बताए । ‘सेयर बजारको सुधार गर्ने अझै हुटहुटी छ, त्यसैले म जहिले पनि लगानीकर्ताको पक्षमा छु,’ उनले भने । उनले लगानीकर्तालाई बजारको राम्रो दिन आउने बताउँदै हतारमा पोर्टफोलियो नबेच्न सुझाव पनि दिएका छन् । अर्थतन्त्र चापमा परेको कारण बनारमा पनि चाप देखिएकाले केही समय होल्ड गर्न उनको लगानीकर्तालाई सझाव छ । ‘अहिले सेयर होल्ड गरेर राख्नुहोस्, अहिले नै सबै पोर्टफोलियो बेच्नु हुन्न, बजारका लागि राम्रा दिन आउँदैछन्, धितोपत्र बोर्डले बजारमैत्री नीति नियमहरु ल्याउँदैछ,’ उनले भने । त्यस्तै, अध्यक्ष हमालले जतिसुकै राम्रो निति ल्याएपनी विरोध हुने गरेकोमा दुखेसो पोखेका छन् । हरेक काम लागू गर्दा अनुसन्धान गर्नुपर्ने बताउँदै उनले कोहि व्यक्ति आफुसँग बहस गर्ने भए आफु तयार भएको बताए ।
श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो
श्रीलङ्का । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँ, डिजेलमा ८० रुपैयाँ र मट्टितेलमा १० रुपैयाँ कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४० रुपैयाँ, डिजेल ३२५ रुपैयाँ र मट्टितेल २९५ रुपैयाँमा पाउने छन् । अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । रासस