महुली लघुवित्तका संस्थापक सेयर बेचेर बाहिरीँदै
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी दिलिप कुमारी मंडरको नाममा रहेको १ हजार ३ सय, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआईसी एशिया बैंकको ५ हजार १८१ कित्ता गरी कूल १३ हजार ७२ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
सिद्धार्थ बैंकले सेयर बेच्दै, मूल्य कति ?
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाखभन्दा बढी सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी बिनोद कुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका ३ र ८, मोदी गाउँपालिका २, ५ र ६ का स्थानिय बासिन्दाहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ । उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौं बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् । उनीहरुबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ । रासस
२५ लाख कित्ता आइपीओ जारी गर्दै बन्दिपुर केबलकार, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजमले सर्वसाधारणको लागि सेयर बजारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यदरका २५ लाख २८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले सेयर जारी गर्न सार्वजनिक निष्काशन तथा बिक्री गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
नेपाल लाइफले काठमाडौंमा ४०० अभिकर्तालाई दियो तालिम
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द्रविन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले बताए । ‘किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा म विस्वस्त छु,’ उनले भने । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरु सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झाले प्रशिक्षण दिएका थिए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ८५ विद्यार्थी दीक्षीत हुँदै
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीहरु दीक्षित हुनेछन् । स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित हुनेछन् । स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ र पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ विद्यार्थी दीक्षित हुने उनले जानकारी दिए । दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र प्रमुख अतिथि भारतका डा वाईएस पारमर विश्विद्यालयका उपकुलपति ९भाईचान्सलर० प्रा डा राजेश्वर सिंह चण्डाल रहनेछन् । दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वोत्कृष्ठ अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एकरएक जनालाई कुलपति पदक प्रदान गरिने उनले बताए । विसं २०६९ बाट सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधी कार्यक्रममा १४ विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ विद्यार्थी अध्ययन रहेका छन् । रासस
परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानीको लागि सम्झौता
काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवद्र्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरे । दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवद्र्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदान लगायतमा सहकार्य हुनेछ । काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रबद्र्धनमा दुई संस्थाबीच सहकार्य हुनेछ,’ उनले भने । यस्तै, इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए । त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुबै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दिप शारदा, महानिर्देशक दिपकराज जोशी, इण्डियन च्याम्बर अफ कमर्सका महानिर्देशक डा। राजीव सिंहलगायत थिए ।