सेयर बजारमा बुधबार २ महिना यताकै कम कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई महिना यताकै कम कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो । यसअघि दैनिक एक अर्बभन्दा माथि कारोबार हुँदै आएको नेप्सेमा बुधबार भने कारोबार कम भएको हो । नेप्सेमा दुई महिना अघि मंसिर २८ गते ७२ करोठ ७८ लाख ७७ हजारको कारोबार भएको थियो । यस्तै, आज नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र कालिन्चोक दर्शन रहेको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको सेयरधनीले ३ करोड ५६ लाखको गरेका छन् ।
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिका अनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोे एघारौं संस्करण ग्लोबल आइएमई बैंकले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारा सहित सम्पन्न गरेको हो । ग्लोबल आइएमई बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रब्यदृष्य सामग्रीहरु पनि प्रसारण गरेको छ । यसका साथै, युवा/विद्यार्थीहरुलाई बैंकका शाखा कार्यालयहरुको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाँउमा आयोजना गरिएको छ । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । तसर्थ बैंकले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरु संचालन गरी बैंकिङ्ग शिक्षाको प्रचारप्रसार गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
नगरपालिकाको सहयोगमा मुसिकोटका कृषक मौरीमा आत्मनिर्भर बन्दै, लाखौं कमाउँदै
गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आवद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम आठदेखि एक सय ५०सम्म मौरीका घार छन् । मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकामा पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३७ लाख ५० हजार, तेस्रो वर्ष २५ लाख र चौथो वर्ष १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराउँदै आइएको छ । उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमरै बित्ने गर्दछ । उनको घरमा अहिले एक सय ५० मौरीका घार छन् । उनले ती घारबाट एकै याममा छ क्विन्टलसम्म मह उत्पादन गर्दै आएका छन् । चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह बिक्रीबाट जनही एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । कृषि ज्ञान केन्द्रले समय समयमा कृषकलाई मौरीपालन गर्ने तरिकाका बारेमा जानकारी गराउनाका साथै मौरीमा देखिने रोगकीराको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानाकारी दिए । मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरुको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्राङ्गारिक भएका कारण पनि बजारमो धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मालरानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् । रासस
बिदा हुँदा बालबालिका खुसी हुने र स्कुलमा खुसी नहुने अवस्थाको अन्त्य गर्दै चितवनको विद्यालय
चितवन । चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’ एक्सन बेस लर्निङमा पठनपाठन सुरु गरिएको हो । ‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिकाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरले बताए । यस सिकाइ पद्धतिलाई स्कुलेले वर्षभरि नै नियमित क्रियाकलापका रूपमा अघि बढाउने उनले जानकारी दिए । टाक्स नेपालका प्रमुख अर्जुन भट्टले विद्यार्थीहरु परम्परागत शैलीमा पढाउँदा खुसी नभएको पाएपछि रमाइलो तरिकाले पढाउने अवधारणा ल्याइएको बताए । कक्षामा विद्यार्थीलाई शारीरिक रूपमा निष्क्रिय बनाइ मानसिक रूपमा मात्र सक्रिय बनाउन खोज्नु अवैज्ञानिक सिकाइ हुने भन्दै उनले सुगा रटाइले विद्यार्थीले सिक्न नसक्ने बताए । विद्यार्थीमा उत्प्रेरणा जगाउनका लागि विद्यालयमा खेल्दै सिक्दै अवधारणा ल्याइएको प्रमुख भट्टले जानकारी दिए । विद्यालय बिदा हुँदा बालबालिका खुसी हुने तर स्कुलमा खुसी नहुने अवस्थाको अन्त्य यो शिक्षण विधिबाट मात्रै सम्भव रहेको उनको भनाइ छ । प्रमुख भट्टले बालबालिकालाई खेलसँग जोडेर पठनपाठन गराउँदा उनीहरु शारीरिक र मानसिक दुवै रूपमा बालबालिका सक्रिय हुने गरेको बताए । नर्सरीदेखि कक्षा १२ सम्म यो विधिमा अध्यापन सुरु गरिएको छ । विद्यालयले आन्तरिक मूल्याङ्कन यही क्रियाकलापबाट हुने भन्दै यसले परीक्षामा पनि विद्यार्थी अब्बल देखिएको जनाइएको छ । स्कुलका शिक्षक शिशिर तिमिल्सिनाले अतिरिक्त गतिविधिमा आधारित सिकाइ वास्तविक सिकाइ भएकाले यसमा विद्यार्थीको उत्साहजनक र सक्रिय सहभागिता रहेको बताए । उनका अनुसार अभिभावकले पनि यस सिकाइ पद्धति प्रभावकारी देखिएको बताएका छन् । न्यू होराइजनमा विद्यार्थीलाई सिकाउने तरिका राम्रो लागेको अभिभावक भेषराज काफ्लेले बताए । ‘पहिलाजस्तो बोलेर मात्रै सिकाउनु भन्दा देखाएर सिकाउँदा बच्चाहरुले छिटो सिकेको पाएँ । यो तरिकाले पढाउँदा अलि कमजोर बच्चाले पनि राम्रोसँग बुझ्छ’, उनले भने । हरेक विद्यायलले यसरी नै अध्ययन अध्यापन गराउनुपर्ने काफ्लेको भनाइ छ । उनले विद्यालयले यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिए । खेल्दै पढ्दै गर्ने शैलीले आफूहरु खुसी भएको विद्यार्थी प्रकृति कडरिया बताउँछन् । ‘देखेर भोगेर जानेका कुराहरु धेरै पछिसम्म सम्झन सकिन्छ । सिक्ने कुरामा आफूमा पनि धेरै परिवर्तन आएको पाएकी छु’, उनले भने । रासस
पशुपतिमा प्लास्टिकजन्य सामग्री नलैजान अनुरोध
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुन समेत कोषले सबैलाई आग्रह गरेको छ । रासस
एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छिन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् । उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पु¥याउन संसद्मा विधेयक गइसकेको बताइन् । ‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पु¥याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भने, ‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।’ मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिइन् । उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताइन् ।
काठमाडौं–पोखरा दैनिक ४ उडान गर्दै सौर्य एयर
काठमाडौं । आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा दैनिक चार वटा उडान गर्ने भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सौर्यले उडान संख्या बढाएको हो । आगामी चैत १९ गतेदेखि दैनिक चार उडान गर्ने सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनाल बताउँछन् । उनका अनुसार यसअघि पोखरा रुटमा दैनिक २ उडान हुँदै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८.३० बजे, ९.३५ र दिउँसो २.४० र ३.३० मा उडान गर्ने तालिका तयर भएको जानकारी उनले दिए । सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा उडान गर्दै आएको छ ।
स्मार्ट टेलिकमको लिलामी प्रक्रिया अघि बढ्यो, सरकारले गठन गर्यो समिति
काठमाडौं । बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमलाई खरिद गर्न सरकारले समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्न प्राधिकरणकै सञ्चालक समिति सदस्य गोकर्ण सिटौलाको नेतृत्वमा ५ सदस्सीय समिति गठन गरेको हो । समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र काुनन मन्त्रालयका एकरएक जना प्रतिनिधि, र प्रधिकरणकै टेक्नोलोजी विभागका निदेशक सदस्य सचिव रहने गरी समिति गठन भएको छ । उक्त समितिले प्राधिकरणले जारी गरेको पूर्वाधार नियमावली भित्र रहेर स्मार्ट टेलिकमको पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल तथा सम्पत्ति लिलाम बढाबढको माध्यमबाट बिक्री गर्न मूल्य निर्धारण गर्नेछ । लाइसेन्स जोगाउन स्मार्टले फागुन मसान्तअघि नवीकरण दस्तुर र बक्यौता भुक्तानी गरी प्राधिकरण समक्ष नवीकरणका लागि निवेदन दिनुपर्ने थियो । तर, सो प्रक्रिया अगाडि नबढाएपछि प्राधिकरणले स्मार्टको लाइसेन्स खारेज गर्ने तयारी गरेको हो । स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड रुपैयाँ र त्यसको १५ प्रतिशत जरिवाना बुझाउनु पर्ने हुन्छ । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्सको अवधि आगामी बैशाख १ गते सकिँदैछ । बक्यौता रकम भुक्तानीमा चासो नदिएपछि प्राधिकरणले पूर्वाधार नियमावली अनुसार नै समिति गठन गरेर स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेर अन्य कम्पनीलाई दिने तयारी गरेको हो । उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा प्राधिकरणले यसअघि नै मोबाइल सेवाको लाइसेन्स पाएका कम्पनीलाई नै स्मार्ट टेलिकमलाई दिनेछ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्टको लाइसेन्स खारेज गरेर अन्य कम्पनीलाई दिईने बताए । ‘अहिलेसम्म लाइसेन्स नवीकरणका लागि स्मार्ट टेलिकम आएको छैन, हामीलाई तेस्रो प्रतिस्पर्धी चाहिन्छ, हामीले यसअघि नै सम्पत्ति व्यवस्थापन नियमावली ल्याएका छौँ, त्यसपछि अन्डरटेक गर्न सक्छौँ, त्यसको भ्यालुएसन गरेर कानुन अनुसार तेस्रो कम्पनीलाई जिम्मा लगाउँछौं, कम्पनी चलाउन अनिच्छुक रहेको देखिएको छ, हामीले कानुन बमोजिम कब्जामा लिएर अध्ययन गरेर उहाँहरुलाई मर्का नपर्ने गरी अक्सनमा लान्छौं, अर्को सक्षम कम्पनीलाई जिम्मा दिन्छौं,’ अध्यक्ष खनालले भने । स्मार्टको लाइसेन्स सिजीले पाउन सक्ने मोबाइल सेवाको लाइसेन्स माग्दै आएको सिजी नेटले नै स्मार्ट टेलिकमको लाइसेन्स पाउन देखिएको छ । लामो समयदेखि मोबाइल सेवाको लाइसेन्स माग गर्दै आएको सिजी कम्युनिकेसन प्रालिलाई नै सरकारले स्मार्टको लाइसेन्स खारेज गरेर दिने तयारी गरिरहेको छ । प्राधिकरणले २०६० को कात्तिक २७ गते एसटीएम टेलिकम सञ्चार प्रालि ९हालको सिजी कम्युनिकेसन प्रालि० लाई ग्रामीण दूरसञ्चार, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा, लिमिटेड मोबिलिटी सेवा, इमेल तथा इन्टरनेट सेवा सञ्चालनका लागि लाइसेन्स दिएको थियो । १ जेठ ०६९ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले निश्चित क्षेत्रभित्र मात्र सीमित रहने ताररहित टेलिसञ्चारमा आधारित लिमिटेड मोबिलिटी सेवा, ग्रामीण दूरसञ्चार सेवा र आधारभूत दूरसञ्चार सेवा प्रदान गर्ने अनुमति पाएकाहरूमध्ये कुनै एकलाई आधारभूत टेलिकमको लाइसेन्स दिने उल्लेख गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खोसेर सो लाइसेन्स सिजी टेलिकमलाई दिने तयारी गरेको छ । प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमलाई लाइसेन्स नवीकरणका लागि आव्हान गरेपनि नवीकरण गर्ने इच्छा नदेखाएपछि सो लाइसेन्स खोसेर सिजी टेलिकमलाई दिने तयारी गरेको हो । अध्यक्ष खनालले तत्काल तेस्रो सेवा प्रदायक कम्पनीको आवश्यक रहेको बताउँदै सिजीलाई लाइसेन्स दिने तयारी भइरहेको बताए । ‘जसले गुणस्तरीय सेवा दिन्छन्, त्यसमा उपभोक्ता आकर्षित हुन्छन भन्ने मेरो बुझाइ हो, स्मार्ट टेलिकमलाई अन्डरटेक गरेर तेस्रो कम्पनीलाई मोबाइल सेवाको अनुमति दिन हामी तयार छौं,’ उनले भने ।