विकासन्युज

मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : शारदादेवी भट्ट

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताएकी छिन् । उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन् । उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताइन् । भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरिन् । समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरिन् । उनले भनिन् – ‘सरकार तथा सरोकारवाला निकाय समस्याप्रति गम्भिर नहुँदा मिटरब्याजीको हौसला बुलन्द छ भने पीडित आफ्ना पीडा दबाएर बस्न बाध्य छन् । तर सरकार मौन छ । लाग्छ यो देशमा गरिब, निमुखाको पीडालाई बुझिदिने कोही छैन । समस्या समाधानको नाममा वार्ता टोली गठन मात्र गर्ने, झारो मात्र टार्ने कार्य नहोस् । एउटा ठोस निर्णयमा पुगि पीडितहरुको माग सम्बोधन गर्न सरकारसँग माग गर्दछु ।’ उनले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन् । उनले विरोध गर्नेहरुको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनि प्रश्न समेत गरिन् । उनले भनिन् – ‘गणतन्त्र ल्यायौँ । बोल्ने, बिरोध गर्ने अधिकार पनि पायौँ तर होइन रहेछ । यता त अहिले पनि राणा शासन र राजतन्त्रको अवशेष बाँकी नै रहेछ । केही दिन अगाडीको घटनाले त यही दर्शाउँछ । यहाँ विरोध गर्दा मुख थुनिन्छ । मुख चिथोरिन्छ । यो प्रजातन्त्रमा हरेकलाई आफ्ना कुरा भन्न र बिरोध गर्ने अधिकार छ । अधिकारको सम्मान गरौँ ।’ उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् ।

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् । बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन् । ‘देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था छैन, देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको छ,’ उनले भने । यस्तै, उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिएका छन् ।  

कृषि विकास बैंकको संचालकमा गुरागाईं, भट्टराई र पौडेल

काठमाडौं । कृषि विकास बैंकको संचालक तीन जना निर्विरोध निर्वाचित भएको छ । बैंकको संचालकमा विनोद कमार गुरागाईं गोविन्द प्रसाद भट्टराई र संजिव पौडेल संचालक सदस्यमा निर्वाचित भएका हुन् । तीन जना मध्ये बुधबार पौडेल र गुरगाईंले पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, भट्टराई भने अस्पतालमा भर्ना भएको कारण पद तथा गोपनियताको सपथ पछि लिने बैंकले जनाएको छ ।

एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कायक्रम सम्पन्न

काठमाडौं । एनआइसी एशिया लघुवित्तले वित्तीय साक्षरता कायक्रम सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने ‘ग्लोबल मनी विक’ को एघारौ संस्करणका रुपमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले पनि चालु चैत्र महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा ‘प्लान योर मनी–प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम सम्पन्न गरेको हो । यसरी संचालन गरिएका कार्यक्रमहरुमा हजारौको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालय अन्तर्गतका उप प्रदेश तथा शाखा कार्यालयहरु मार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिबृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएका हुन । साथै सो अभियान अन्तर्गत संस्थाले वित्तीय साक्षरता सम्बन्धी सचेतना मूलक श्रव्यदृश्य सहितका अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको र्याली कार्यक्रम संचालन सम्पन्न गरेको छ । सो कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ संस्थाले यस्था कार्यक्रम संचालन गरेको हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढि मुलुकहरुमा संचालन हुदै आएको ‘ग्लोबल मनी विक’ मूलतः वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्धेश्यका साथ विश्वब्यापी रुपमा थालिएको अभियान हो र यसलाई सार्थक तुल्याउन संस्थाले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी र्याली कार्यक्रम संचालन गरेको हो । ‘साथी संगै सबल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २००,००० भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । ‘जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ’, नेता श्रेष्ठले भने । प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिनुभएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागतरुपमा निर्णय गराैं भनिएको हो’, उनले भने । बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा ( माओवादी केन्द्र)ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुई/दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक/एक मन्त्रालय लिने तय भएको छ । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि घटेर तोलाको १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । यद्यपी, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

नेपालबाट सिधा अष्ट्रेलिया उडान हुँदै, आकाशमै १५ घण्टा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल–अष्ट्रेलिया सिधा उडानको तयारी थालेको छ । दुई देशबीच सिधा उडान गर्न गत वर्ष नै नेपालले हवाई सेवा सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार उडान सुचारु गर्न मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अष्ट्रेलियाको उडड्यन प्राधिकरणलाई पत्राचार गरेको हो । अष्ट्रेलियाबाट अनुमति पाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान गर्ने मन्त्रालयले जनाएको छ । ‘निगमले गरेको प्रस्तावका आधारमा हामीले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरिसकेका छौँ, उताबाट अनुमति पाएसँगै दुई देशबीच सिधा उडान सुरु हुन्छ’, मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । उनका अनुुसार निगमसँग भएको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नी उडानको तयारी थालेको हो । निगमले सिंगापुरमा तेल भरेर सिड्नी उडान गर्ने प्रस्ताव गरेको हो । काठमाडौंबाट सिड्नी उडान गर्न १५ घण्टा लाग्ने भएकाले निगमले सिंगापुरमा तेल भरेर अष्ट्रेलिया उड्ने प्रस्ताव गरेको हो । काठमाडौंबाट सिंगापुर हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टा लाग्छ । दुई देशबीच भएको सम्झौताअनुसार दुई देशका वायुसेवा कम्पनीले सातामा ७ अर्थात् दैनिक एक उडान गर्न पाउने गरी सहमति भएको थियो । नेपाली वायुसेवा कम्पनीले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा सात उडान र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी थियो । २७४ सिट क्षमताको वाइडबडीले कोरोनोको समयमा मलेसियामा हवाई इन्धन भरेर सिड्नी चार्टर्ड उडेका गरेको थियो । निगम भन्छ : जहाज नथप्दासम्म उडान हुँदैन निगमको आग्रहमा नै मन्त्रालयले पत्राचार गरिरहँदा निगमका अधिकारीहरु भने तत्काल अष्ट्रेलिया उडान सम्भव नभएको बताउँछन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तत्काल जहाज उडान गर्न असम्भव भएको भन्दै मन्त्रालयमा पत्र पठाएका छन् । ‘हाल उडान भैरहेको गन्तव्यमा त जहाज अपुग छ, अष्ट्रेलिया उडानको तयारी थाल्नु आफैँमा मुर्खता हो,’ निगम स्रोतले भन्यो । छोटो दुरीका गन्तव्यमा समेत उडानका लागि जहाज अपुग हुँदा लामो दुरीको गन्तव्यमा उडान गर्नु भनेको निगमको उडान सेड्युल नै बिग्रानु रहेको ती अधिकारीले बताए । ‘हाल उडान भएका गन्तव्यमा जहाज कम हुँदा राम्रोसँग उडान भर्न सकिएको छैन, २५ घण्टाको बाटोमा उडान हुनु भनेको अन्य सबै गन्तव्यका उडान सबै रोक्नु हो’, स्रोतले भन्यो, ‘एक दिन जहाज बिग्रदा एक महिनाको सेड्युलमा असर पर्छ, २५ घण्टाको दुरीको उडान २ वटा जहाजले गर्नु असम्भव हो ।’ निगमका सहप्रवक्ता गणेशकुमार घिमिरे भने निगमले प्रक्रिया पूरा गरेर उडान गर्ने बताउँछन् । ‘हामीले आन्तरिक तयारी गरिरहेका छौँ, प्रक्रिया पूरा भएपछि उडान सुरु हुन्छ’, उनले भने । सीमित जहाज हुँदा उडानमा केही समस्या देखिन सक्ने आंकलन गरिएको उनले बताए । निगमले हाल चार जहाजमार्फत् दिल्ली, बैंकक, क्वालालम्पुर, बैंग्लोर, हङकङ, दोहा, नारिता, दुवइ, मुम्बई, रियादमा उडान गर्दै आएको छ। निगमसँग दुई वटा वाइडबडी र दुई वटा न्यारोवडी गरी अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज छन् । लामो दुरीका गन्तव्यकोे उडानका लागि निगमले नयाँ जहाज खरिद प्रक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक रुटमा उडानका लागि जहाज खरिद गर्न निगमले उपमहाप्रबन्धक जनक कालाखेतीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले आन्तरिक उडानका लागि ट्विनअटर र अन्तर्राष्ट्रिय उडानका लागि न्यारोवडी जहाज खरिदको लागि आवश्यक तयारी थाल्नेछ । सुरुवाती चरणमा दुईवटा न्यारेवडी र आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गर्नेछ । उक्त समितिले निगम सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनलाई आधार बनाएर सञ्चालक समितिले निर्णय गरेर मन्त्रालयमा पठाइने निगमले जनाएको छ । निगमका अनुसार अब जहाज आकाशमै २५ घण्टा उड्नेछ । काठमाडौंबाट अष्ट्रेलिया र अष्ट्रेलियाबाट नेपाल फर्कन जहाजले आकाशमा २५ घण्टा उड्नु पर्ने हुन्छ ।

आइडिया धितोमा राखेर ऋण दिन सरकारले माग्यो प्रस्ताव, तीन प्रतिशत ब्याज

काठमाडौं । सरकारले ‘आइडिया’ लाई धितोमा राखेर दिने ऋणका लागि प्रस्ताव आह्वान गरेको छ । उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै आइडिया धितो ‘स्टार्टअप उद्यम कर्जाका’ लागि परियोजना प्रस्ताव पेश गर्न २१ दिनको अबधि राख्दै सूचना आह्वान गरेको हो । विभागले उत्त सूचना जारी गरेसँगै अब तपाईं हामीमा भएको ‘आइडिया’ लाई पनि धितोमा राखेर ऋण लिन पाइने भएको हो । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र कार्यविधिको अनुुसूची (१) बमोजिम ढाँचामा परियोजना प्रस्ताव पेश गर्न सक्नेछन्’, विभागले जारी गरेको सूचनामा भनिएको छ । उक्त सूचना अनुसार अब सरकारले बिनाधितो सहुलियम ब्याजदरमा उपलब्ध गराउने कर्जा विभिन्न १४ प्रकारका उद्योगले ऋण पाउनेछन् । जसमा कृषि तथा पशुपंछी, वन पैदावर, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यमलाई सरकारले कर्जा सुविधामा समेट्ने छ । यस्तै, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरणसंग सम्बन्धित व्यवसाय स्टार्टअपको कर्जा मापदण्डमा समावेश हुनेछन् । उद्यमीले बिजनेश प्रपोजल (परियोजना प्रस्ताव) लाई नै धितोमा ७ वर्षका लागिआधार दरमा ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुनेछ ।