विकासन्युज

एनआईसी एशिया बैंकले चलायो आफ्नै पेमेन्ट स्वीच, डिजिटल फस्ट बैंक बन्ने रणनीति

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । इलेक्ट्रोनिक फण्ड ट्रान्सफर पेमेन्ट स्वीचको लागि बैकले आवश्यक पूर्वाधार निर्माण गरी नयाँ सेवा शुरु गरेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता गराई कारोबारलाई सुरक्षित र सरल बनाउन यस स्वीचको मद्दत गर्ने बैंकले जनाएको छ । डिजिटल कारोबारमा ग्राहकको सहभागिता उल्लेख्य वृद्धि भैरहेको । आगामी दिनमा यस्तो संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको बैंकले जनाएको छ । नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पुर्‍याउन मद्दत पुग्ने हुँदा उपभोक्तहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त यस स्वीच कोषेढुंगा सावित हुने विश्वास लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीर नाथ पाण्डेले बताए ।

अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भने । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।’ बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्व बोकेको उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताए । उनले भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्वका साथ छलफल गर्नेछु ।’ लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने उनले बताए । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए । चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै उनले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो ।’ विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रुपमा काम गर्ने उनको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उहाँले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताए । फरक प्रसङ्गमा उनले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरू हुने जानकारी दिए । रङ्गशालाको समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उनले बताए । उनले भने, ‘त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण् अगाडि बढ्छ ।’ नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो । देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टीकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्नेगरी बनाउन लागिएको छ । चौध कठ्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुईतले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठतले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि रु एक अर्ब ९२ करोडमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका छन् ।

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि काँग्रेसले उम्मेदवार टुंग्यायो

काठमाडौं । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रिय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको बताए । त्यस्तै, प्रवक्ता महतले मन्त्रीपरिषद्मा भाग लिन विषयमा योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय भएको बताए ।

निजी क्षेत्रको सम्मानविना आर्थिक विकास असम्भव, निर्यातमुलक उद्योगका सहुलियत चाहिन्छ : हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्यमा महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’ देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो । ‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भैराखेका छन् भने उनीहरुले विदेशी भुमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने, ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुपको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’ यदि कुनै कारणले बैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्ने समेत उनले जानकारी दिए । कुनै समय निर्यातको मुख्य वस्तुको रुपमा रहेको नेपाली गलैचा लगायका वस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताए । ‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता बस्तु उत्पादनका लागि आवश्कय कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झण्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ ।’ सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता बस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंककाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा उनले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् । ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथिहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’ यदि आफु उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्ने महासंघ बनाउने समेत उनको प्रतिवद्धता थियो । यसैगरी देशको अर्थतन्त्र सुधार गर्न कर्मचारी तन्त्रमा इच्छाशक्ति हुनुपर्ने उनले बताए । देशमा समयसापेक्ष सरकारमा राजनीतिक नेतृत्व फेरिरहने भएपनि कर्मचारीतन्त्र भनेको स्थायी सरकार रहेको भन्दै आर्थिक एजेन्डामा कर्मचारीले विशेष ध्यान दिनुपर्ने समेत उनको भनाई थियो ।

यसरी पाउनुहोस् ३ प्रतिशत ब्याजमा २५ लाख कर्जा

काठमाडौं । सरकारले स्टार्टअप कार्यविधि बनाएर विनाधितो कर्जाको प्रक्रिया अगाडि बढाएको छ । बिहीबार उद्योग विभागले सूचना जारी गर्दै आइडिया धितो ‘स्टार्टअप उद्यम कर्जाका’ लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेसँगै यसको प्रक्रिया अगाडि बढेको हो । विभागले प्रक्रिया अगाडि बढाएसँगै अब तपाईं हामीमा भएको ‘आइडिया’ लाई पनि धितोमा राखेर ऋण लिन पाइने भएको छ । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र प्रस्ताव पेश गर्नु पर्नेछ,’ सूचनामा उल्लेख छ । कसले र कसरी पाउँछन् २५ लाख ? स्टार्टअप उद्यममा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि उद्यम वा व्यवसाय स्थापना वा संचालन भएको ७ वर्ष ननाघेका व्यवसायीहरुले प्रस्ताव पेश गर्न सक्नेछन् । चुक्ता पुँजी ५० लाख रुपैयाँभन्दा बढी भएको, उद्यमको कुल आय (आम्दानी) वार्षिक ५० लाख रुपैयाँभन्दा बढी नभएको, स्थीर पुँजी (घर जग्गाको मूल्य बाहेक) २ करोड रुपैयाँभन्दा बढी नभएको, उद्यममा पूर्णकालिन कामदारको संख्या १० जनाभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरिएकाे छ । कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवं सृजनशिल सोचको प्रयोगको कार्य, उद्यमले वार्षिक रुपमा गर्ने कूल खर्चको कम्तिमा ५ प्रतिशत अंश उत्पादन विकास, बजार विकास एंव सृजनशिल सोचको प्रयोगको कार्य, उद्यमको बौद्धिक सम्पत्तिको पेडेण्ट वा डिजाइन वा सफ्टवेयर दर्ता भएको वा पेटेण्ट वा डिजायन वा सफ्टवेयर दर्ता गर्न योग्य रहेको हुनुपर्नेछ । यी विवरणहरु विभागमा पेश गरेपछि विभागको छनोट समितिले छनोट गरेका आधारमा तपाईंले ऋण पाउने प्रक्रिया अगाडि बढ्छ । कसले पाउँदैनन् कर्जा ? विभागले सस्तो ब्याजमा कर्जा पाउने स्टार्टअपको परिभाषा पनि दिएको छ । प्रचलित कानून बमोजिम नेपालमा दर्ता नभएको, सूचना प्रविधि एवं नविनतम् सोचको प्रयोग नगरी वस्तु वा सेवा विदेशबाट आयात गर्ने कार्य, विद्यमान कम्पनी वा व्यवसायलाई टुक्राएर बनाईएको वा सहायक कम्पनी वा फर्मको रुपमा काम गर्ने उद्यमीले कर्जा पाउने छैनन् । कर्जा सूचना केन्द्रमा कालोसूचिमा परेको वा त्यस्तो व्यक्तिबाट सञ्चालन भएको, कर प्रयोजनको लागि स्थायी लेखा नम्बर नलिएको, होल्डिङ कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम मझौला वा ठूला उद्योगको वर्गिकरणमा पर्ने उद्यम र प्रचलित कानूनले प्रतिबन्ध लगाएका अन्य विषयमा रहेका उद्यम वा व्यवसायलाई सरकारले स्टार्टअप व्यवसाय नमान्ने कार्यविधिमा उल्लेख छ । स्टार्टअप उद्यमले सरकारी लगानीको वाणिज्य बैंकमार्फत ७ वर्षका लागि कर्जा पाउनेछन् । यस्तो कर्जामा सावाँ भुक्तानी तीन वर्षपछि मात्रै गर्न पाइने सुविधा छ । यस्तो कर्जा प्रवाहका लागि सरकारले चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । सुरुवाती चरणमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो । ३ प्रतिशत ब्याज स्टार्टअप उद्यमीलाई सरकारले तोकेको २५ लाख रुपैयाँ कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था छनोट गर्नेछ । जसको ब्याजदर ३ प्रतिशत हुने कार्यविधिमै उल्लेख छ । केन्द्रीय बैंकले नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको वाणिज्य बैंक मार्फत कर्जा प्रवाहका लागि सिफारिस गर्नेछ । यो भनेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक हुन् । छनोट समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय बैंकले दुई किस्तामा कर्जा प्रवाह गर्नका लागि बैंक तोक्नेछ । जसमा पहिलो किस्तामा स्वीकृत कर्जाको ५० प्रतिशत रकम वितरण गर्नु पर्ने हुन्छ ।

लोसपाका शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी सरकारमा पठाउने निर्णय गरेको छ । योसँगै भण्डारी श्रम मन्त्री बन्ने भएका छन् । आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना नेताले जानकारी दिएका छन् । सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : शारदादेवी भट्ट

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताएकी छिन् । उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन् । उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताइन् । भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरिन् । समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरिन् । उनले भनिन् – ‘सरकार तथा सरोकारवाला निकाय समस्याप्रति गम्भिर नहुँदा मिटरब्याजीको हौसला बुलन्द छ भने पीडित आफ्ना पीडा दबाएर बस्न बाध्य छन् । तर सरकार मौन छ । लाग्छ यो देशमा गरिब, निमुखाको पीडालाई बुझिदिने कोही छैन । समस्या समाधानको नाममा वार्ता टोली गठन मात्र गर्ने, झारो मात्र टार्ने कार्य नहोस् । एउटा ठोस निर्णयमा पुगि पीडितहरुको माग सम्बोधन गर्न सरकारसँग माग गर्दछु ।’ उनले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन् । उनले विरोध गर्नेहरुको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनि प्रश्न समेत गरिन् । उनले भनिन् – ‘गणतन्त्र ल्यायौँ । बोल्ने, बिरोध गर्ने अधिकार पनि पायौँ तर होइन रहेछ । यता त अहिले पनि राणा शासन र राजतन्त्रको अवशेष बाँकी नै रहेछ । केही दिन अगाडीको घटनाले त यही दर्शाउँछ । यहाँ विरोध गर्दा मुख थुनिन्छ । मुख चिथोरिन्छ । यो प्रजातन्त्रमा हरेकलाई आफ्ना कुरा भन्न र बिरोध गर्ने अधिकार छ । अधिकारको सम्मान गरौँ ।’ उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् ।

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् । बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन् । ‘देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था छैन, देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको छ,’ उनले भने । यस्तै, उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिएका छन् ।