विकासन्युज

जापानमा रहेका नेपालीले पनि एसईई दिन पाउने

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।’ उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुरयाउने लगायतका सबै काम सकिएको जानकारी दिए । एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए । उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए । त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पु¥याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पु¥याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ । करिब पाँच लाख परीक्षार्थी एसईई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् । यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए । तस्बिर लिन निषेध परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नु भएको छ । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानून अनुसार कारबाही हुने बताए । परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भवना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यबस्था गरेका छौँ ।’ विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो । ७८ हजार जनशक्ति एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पु¥याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ । जापानमा पनि परीक्षा केन्द्र बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ । परीक्षाको तालिका एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ । यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ः ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ । रासस

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो । साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश सेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

स्वर्णिम वाग्ले तनहुँबाट उपनिर्वाचन लड्ने तयारी, कांग्रेस त्यागेर स्वतन्त्रमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेकाे छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए । अर्थशास्त्री स्वर्णिम वाग्लेले पनि नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, शेखर कोइराला र डा.गाेविन्दराज पोखरेललाई ह्वाट्सएपमा मार्फत पत्र पठाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् । उनले ट्वीट गर्दै देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको समेत उल्लेख गरेका छन् । गत मंसिरमा भएको निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि रोकिएका वाग्ले बैशाखमा हुन लागेको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचनमा सहभागी हुन लागेका हुन । नेपाली काँग्रेस पार्टीभित्रकाे असन्तुष्टिकाे संकेत दिने गरी उनले एउटा ट्वीट भने गरेका थिए ।  उनले पछिल्लाे ट्ववीटमा लेखेका छन्-‘ए वाग्ले, तैंले चाहिं के गरिस् नि?’ त्यसकाे जवाफ पनि उनले दिएका छन् ।  चुनावी सरकारमा जम्मा ४ महिना राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्ष भएको र ३८ वटा उल्लेख्य काम गरेको विवरण पनि उनले ट्वीटरमा नै सार्वजनिक गरेका छन् । साथै, २०७२ भूकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व भएकाे  उनले बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए । उनलाई गत मंसिरमा हुने निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका थिए । ओलीसँगै उनले आफूलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताउँदै आएका थिए । ‘दुई पार्टीबाट मलाई चुनाव लड्न प्रस्ताव आएको थियो, तर आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता होइन’, उनले एक सार्वजनिक कार्यक्रममा नै भनेका थिए । काँग्रेस त्याग र रास्वपा प्रवेशकाे विषयमा वाग्लेसँग कुरा गर्न गरिएकाे प्रयास सफल भएन । उनकाे माेवाइल स्वीच अफ गरिएकाे छ । (साँझ ५ः४४ मा अपडेट गरिएकाे)

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भए भने कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् । संघको दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल निर्वाचित भएको संघले जनाएको छ । कार्यसमिति सदस्यहरुमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, बीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन् । यस्तै, संघको अन्य सदस्यहरुमा किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाशविक्रम शाह र युगेश बादे श्रेष्ठ निर्वाचित भएको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिएको छ । नेपाल र इटलीबीच व्यापारघाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने संघले जनाएको छ । संघको साधारणसभालाई गतसाता उपप्रधान तथा भौतिक पूर्वाधार र यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

बिहीबार पनि सुस्त देखियो सेयर कारोबार, दुई कम्पनीमा सर्किट

काठमाडौं । बिहीबार पनि सेयर बजारमा कारोबार सुस्त देखिएको छ । नेपाल स्टक एक्चेन्जको अनुसार बिहीबार २७ लाख २८ हजार कित्ता ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा बुधबार दुई महिना यताकै न्युन कारोबार भएको थियो । बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको थियो । यस्तै, आज नेप्से १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । सुपरमाईको सेयर मूल्यमा सकारात्मक र आदर्श लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टका सेयरधनीले ५ करोड रुपैयाँको गरेका छन् ।  

तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो । चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा एक हजार रुपैयाँ लगानी गरी कृषि पेसा सुरु गरेका उनले अहिले तीन करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरिसकेका छन् । सँगैका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगयात निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु आश्चर्यमा पर्ने गरेका छन् । अठार वर्षको उमेरदेखि नै कृषि पेसा गर्दै आएका उनले अहिले जिल्लाका नमुना किसान र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् । कार्कीले १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनी जिल्लामा मिश्रित खेती प्रणाली गर्ने पहिलो किसान हुन् । कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा मौरी र माछा पालनबाट पनि उनले मनग्गे आम्दानी गर्दै आएका छन् । ‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,’ कार्की भन्छन्, ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै आग्रह गरिएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ । एक हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक १२ लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको छ ।’ ‘तरकारी बिक्रीबाट आएको आम्दानीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाएको छु । लभ्लीहिलमा चारतले पक्की घर हालै निर्माण गरेको हुँ’, उनी भन्छन्, ‘माछा, कुखुरा र घरभाडाबाट हुने आम्दानी तथा पसलबाट हुने फाइदा मेरा आम्दानीकमा स्रोत हुन् ।’ माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ । यही माटोमा गरेको परिश्रमले यहाँसम्म ल्याइपुर्याएको हो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न यत्तिको कमाउन सक्थेँ, न आत्मसन्तुष्टि नै मिल्ने उनको भनाइ छ । खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय तेजेन्द्रबहादुर कार्की बताउँछन् । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक उनको घरसम्म पुग्ने गरेका छन् । रासस

लाभांश पारित गर्न एनआइसी एशिया लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले वैशाख १० गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश वितरण गर्नुको साथै वित्तिय विवरणहरु पारित गर्न साधारण सभा बोलाएको हो । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि वैशाख १ गते बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत ३० गतेसम्म लघुवित्तको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनुको साथै लाभांश प्राप्त गर्नेछन् ।

नयाँ वर्षमा सिजीका प्रोडक्टमा २३ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको’ उपहार योजना लिएर आएको छ । उपहार योजना अन्तर्गत यो नयाँ वर्ष, सीजी मेरिडियाको प्रडक्टहरु उपलब्ध छ । यस योजनासँगै ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३ प्रतिशतसम्मको क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु घर ल्याउन सक्नेछन् । यस याेजनामा फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनमा क्यासब्याक लगायत ५ हजार रुपैयाँ र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत ४ हजार रुपैयाँ बराबरको जडान निःशुल्क रहेको छ । ‘६५ र ७५’ एन्ड्रोइड टिभिमा ७५९० रुपैयाँ बराबरको सीजी २.१ स्पीकर उपहार रहेको छ । सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा ९२० रुपैयाँ बराबरको २ केजीको एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २५०० रुपैयाँ बराबरको ६ केजीको एरियल म्याटिक उपहार रहेको छ । साथै, डबल डोर रेफ्रिजरेटरमा १२६० रुपैयाँ बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २८ सय रुपैयाँ बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँ बराबरको सीजी मेरिडिया भ्याकुम उपहार रहेको छ । यो योजना चैत्र १३ देखि सुरु हुनेछ ।