रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा
एजेन्सी । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ । क्रेमलिनले गत फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना तैनाथ गर्ने निर्णय गरेपछि कीभका सहयोगीहरूले रूसी तेल क्षेत्रमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा रूसको हिस्सा धराशायी भएको थियो । रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी ‘इन्डियन आयल कर्पोरेसन’का प्रमुखसँग सम्झौता गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘रोसनेफ्ट आयल कम्पनी र इन्डियन आयल कम्पनीबीच तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि गर्न र भारतमा ग्रेड विविधीकरण गर्नका लागि एक आवधिक सम्झौतामा हस्ताक्षर भएको छ ।’ रोसनेफ्टले सम्झौतामा उल्लेखित मात्रा र यसको मूल्य निर्दिष्ट गरेको छैन । रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत वर्ष मस्कोले भारतलाई तेल बिक्री २० गुणाभन्दा बढीले वृद्धि गरेको बताएका थिए। रोसनेफ्टका अनुसार दुई तेल कम्पनीका प्रतिनिधिहरूले ‘राष्ट्रिय मुद्रामा भुक्तानी गर्ने सम्भावना’ बारे पनि छलफल गरेका थिए । यसले रूसको अर्थव्यवस्थालाई डि–डलराइज गर्ने प्रयासलाई इङ्गित गर्दछ । ओपेक तेल आपूर्तिको प्रमुख उत्पादक तथा प्रमुख सहयोगी रूसले पश्चिमी प्रतिबन्धको जवाफमा यस महिना कच्चा तेलको उत्पादनमा प्रति दिन पाँच हजार ब्यारेल कटौती गरेको छ । रूसविरुद्ध पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रोसनेफ्टले यस महिनाको सुरुमा वार्षिक नाफामा भारी गिरावट आएको जनाएको छ ।
एलन मस्कद्वारा आर्टिफिसियल इन्टेलिजेन्सको विकास रोक्न माग
एजेन्सी । अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को विकास तत्कालका लागि रोक लगाउन आग्रह गरेका छन् । सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित हालसम्म एक हजारभन्दा बढीले हस्ताक्षर गरेको खुला पत्रमा उक्त आग्रह गरिएको हो । ‘ओपन एआई’ कम्पनीका अनुसार यसको पछिल्लो मोडेल च्याटजीपीटीलाई पावर गर्न प्रयोग गरिएको अघिल्लो संस्करणको तुलनामा धेरै शक्तिशाली छ । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ । ‘मानव प्रतिस्पर्धात्मक बुद्धिमत्ता भएको एआई प्रणालीले समाज र मानवताका लागि गहिरो जोखिम निम्त्याउन सक्छ’, ‘पज जाइन्ट एआई एक्सपेरिमेन्ट्स’ शीर्षकको खुला पत्रमा भनिएको छ । ‘शक्तिशाली एआई प्रणालीको विकास तब मात्र गर्नुपर्छ जब हामी विश्वस्त हुन्छौं कि यसको प्रभाव सकारात्मक हुनेछ र उनीहरूको जोखिम व्यवस्थापन गर्न सकिनेछ’, विज्ञप्तिमा भनिएको छ । मस्क ओपनएआईमा प्रारम्भिक लगानीकर्ता थिए भने यसको सर्वोच्च समितिमा वर्षौं बिताएका थिए। उनको कार कम्पनी टेस्लाले अन्य अनुप्रयोगहरूको बीचमा यसको स्वचालित–चालक प्रविधिलाई शक्ति प्रदान गर्न एआई प्रणालीहरू विकास गर्दछ । मस्कको आर्थिक सहयोगमा सञ्चालित ‘फ्युचर अफ लाइफ इन्स्टिच्युट’ले आयोजना गरेको उक्त पत्रमा प्रमुख आलोचकका साथै स्टेबिलिटी एआईका प्रमुख इमाद मोस्ताकजस्ता ओपनएआईका प्रतिस्पर्धीले हस्ताक्षर गरेका छन् । ओपनएआईका संस्थापक साम अल्टम्यानले लेखेको ब्लगबाट उद्धृत गर्दै पत्रमा भनिएको छ, ‘कुनै न कुनै समयमा भविष्यको प्रणालीलाई तालिम दिन सुरु गर्नुअघि स्वतन्त्र समीक्षा गर्नु महत्वपूर्ण हुन सक्छ ।’ उनीहरूले भनेका छन्, ‘हामी सहमत छौं । त्यो बिन्दु अहिले हो ।’ त्यसैले हामी सबै एआई ल्याबहरूलाई जीपीटी–४ भन्दा बढी शक्तिशाली एआई प्रणालीको प्रशिक्षणलाई कम्तिमा छ महिनाका लागि तत्काल रोक्न आह्वान गर्दछौं । कम्पनीहरू सहमत नभएमा सम्बन्धित देशका सरकारहरूलाई कदम चाल्न र स्थगन लागू गर्न आह्वान पत्रमा गरिएको छ । यो छ महिनाको उपयोग सुरक्षा कानुन, एआई प्रशासन प्रणालीको विकास गर्न र एआई प्रणालीहरू अधिक सटीक, सुरक्षित, ‘विश्वसनीय र वफादार’ सुनिश्चित गर्न को लागी अनुसन्धान को पुनः लक्षित गर्नको लागि प्रयोग गर्नुपर्छ । पत्रमा जीपीटी–४ ले प्रकट गरेका खतराबारे विस्तृत विवरण भने दिइएको छैन । तर उक्त पत्रमा हस्ताक्षर गर्ने न्यूयोर्क युनिभर्सिटीका ग्यारी माक्र्सलगायत अनुसन्धाताहरूले लामो समयदेखि ‘च्याटबोट’हरू व्यापक झूटा हुन् र गलत सूचनाको व्यापक प्रचारक हुनसक्ने तर्क गर्दै आएका छन् । यद्यपि, लेखक कोरी डक्टरोले एआई प्रणालीको क्षमता र खतरा दुवैलाई व्यापक रूपमा अतिरञ्जित गरिएको तर्क गर्दै एआई उद्योगलाई ‘पम्प र डम्प’ योजनासँग तुलना गरेका छन् ।
सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै
दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ र निकासी कर प्रतिकिलो रु १२ राजस्व तिर्ने गरेका छन् । ‘वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ’, उनले भने। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन् । तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए । सो वन समूहले यस वर्ष करिब दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो १२ का दरले खोटो खरिद गर्दैआएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ । वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो सङ्कलन गर्छ । खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ । ‘रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ’, उनले भने, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ ।’ त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउँछन् । सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ । ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो सङ्कलन गरिन्छ’, उनले भने। बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दैआएका छन् । रासस ।
पर्यटकको रोजाइ बन्दै पटिहानी चितवनको पटिहानी
काठमाडौं । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् । सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ विदेशी पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष विष्णुराज महतोले बताए । ‘पर्यटकको पटिहानीमा बसाई लम्ब्याउनका लागि स्थानीय तहले विभिन्न पूर्वाधार निर्माणका साथै समन्वय गर्दै आएको छ’, उनले भने, ‘निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको छ ।’ यहाँको शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । भरतपुरको मुख्य बजार क्षेत्रबाट करिब १४ किलोमिटरको यात्रापछि पटिहानी पुग्न सकिन्छ । कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि पुनः जुर्मुराएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटक पटिहानीको वातावरणमा खुसी देखिन्छन् । जर्मनीबाट आउनुभएका उलफले राप्तीमा हात्तीमा चढेर नुहाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए । उनले नेपाल प्राकृतिकरुपमा सुन्दर रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पाउनु आफूहरुको सौभाग्य भएको बताए। पटिहानी आइपुग्ने पर्यटकले चितवन राष्ट्रिक निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिङ्गे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन् । महँगा पर्यटकलाई तान्नका लागि यहाँ ठूला–ठूला सुविधा सम्पन्न होटल निर्माण गरिएको वडाध्यक्ष महतोले बताउनुभयो । पटिहानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी पर्यटकीय संरचना निर्माण गरिएका छन् । स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ । भरतपुर महानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा पर्यटकीय केन्द्र पटिहानी पुग्न सहज छ । महानगरपालिकाभित्र निर्माण गर्न लागिएकोे चक्रपथ पनि यही क्षेत्र भएर जान्छ । यहाँ खुलेका होटल र पर्यटकको आवागमनले पटिहानीमा पर्यटकीय गतिविधि बढ्दै गएको भरतपुर–२२ का दीपक पौडेल बताउँछन् । चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म एक लाख ९१ हजार आठ सय ८३ जना निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गत आवमा एक लाख ९० हजार चार सय ५८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा बढी छ । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी देख्न पाइन्छ । रासस ।
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता सञ्चालन हुने
काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ ।
नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस डिम्याट खातामा
काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा १५ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको माघ १५ गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेप्सेमा २ लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कालिका लघुवित्तको १९ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६५९.६६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ७८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, विजय लघुवित्तको २० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६५८.३३ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ७९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।