मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : शारदादेवी भट्ट

<p>काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताएकी छिन् । उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन् । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छिन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताएकी छिन् । उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन् । उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताइन् । भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरिन् । समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन् – ‘सरकार तथा सरोकारवाला निकाय समस्याप्रति गम्भिर नहुँदा मिटरब्याजीको हौसला बुलन्द छ भने पीडित आफ्ना पीडा दबाएर बस्न बाध्य छन् । तर सरकार मौन छ । लाग्छ यो देशमा गरिब, निमुखाको पीडालाई बुझिदिने कोही छैन । समस्या समाधानको नाममा वार्ता टोली गठन मात्र गर्ने, झारो मात्र टार्ने कार्य नहोस् । एउटा ठोस निर्णयमा पुगि पीडितहरुको माग सम्बोधन गर्न सरकारसँग माग गर्दछु ।’

उनले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन् । उनले विरोध गर्नेहरुको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनि प्रश्न समेत गरिन् ।

उनले भनिन् – ‘गणतन्त्र ल्यायौँ । बोल्ने, बिरोध गर्ने अधिकार पनि पायौँ तर होइन रहेछ । यता त अहिले पनि राणा शासन र राजतन्त्रको अवशेष बाँकी नै रहेछ । केही दिन अगाडीको घटनाले त यही दर्शाउँछ । यहाँ विरोध गर्दा मुख थुनिन्छ । मुख चिथोरिन्छ । यो प्रजातन्त्रमा हरेकलाई आफ्ना कुरा भन्न र बिरोध गर्ने अधिकार छ । अधिकारको सम्मान गरौँ ।’

उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् ।

Share News