काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी नहुन आग्रह गरेको छ । आइतबार उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा उम्मेदवार र राजनीतिक दलहरूले पालना गर्नुपर्ने निर्देशनहरु सार्वजनिक गर्दै आयोगले सो आग्रह गरेको हो ।
साथै, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित उम्मेदवारको मनोनयनपत्र पेश नगर्न आयोगले निर्देशन दिएको हो । निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर नजान आग्रह गरिएको छ ।
यस्तै, उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने, उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग नगर्न आयोगको निर्देशन छ ।
त्यसैगरी, उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने, उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी नहुन निर्देशन छ ।
आयोगका अनुसार उम्मेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन पाइने छैन । मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नदिन समेत आयोगले आग्रह गरेको छ ।
त्यसैगरी, हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी नहुन उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।