विकासन्युज

राष्ट्र बैंकले फेरी भन्यो : क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी हो

काठमाडौं । राष्ट्र बैंकले फेरीपनि क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड गैरकानुनी भएको बताएको हो । राष्ट्र बैंकले यसअघि यस विषयमा मिति २०७४/०४/२९, २०७८/०५/२४, २०७८/१०/०९ र २०७९/०४/३० मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको थियो । नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ । यस्ता‍ ‍कारोबार विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको राष्ट्र बैंक बताउँछ । राष्ट्र बैंकले यस्ता कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

राष्ट्र बैंकले जारी गर्याे क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषणा सार्वजनिक गरेको हो । विभिन्न सरोकारवाला निकायहरुबाट क्रिप्टोकरेन्सी सम्बन्धी जिज्ञासाहरु आइरहेको हुँदा विविध विषयवस्तुलाई समावेश गरिएको र हुन सक्ने जोखिमलाई विश्लेषण गरी ‘क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण’ तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्न सक्ने, विदेशी विनिमय सञ्चिति व्यवस्थापन र पर्याप्ततामा चुनौती हुन सक्ने लगायतका जोखिम समेतलाई दृष्टिगत गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । [pdf id=399699]

संकटमा गएको अर्थतन्त्र सुधारका लागि कप्तानी गर्छु : उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले संकटमा गएको अर्थतन्त्र सुधारका लागि कप्तानी गर्ने बताएका छन् । सोमबार ललितपुरमा भएको एक कार्यक्रममार्फत टीम घोषणा गर्दै उनले आर्थिक काँचली फेर्नका लागि निस्वार्थ काम गर्ने बताए । ‘म फोटो खिच्नका लागि मात्रै महासंघमा जान लागेको होइन, समस्या समाधानका लागि जान लागेको हुँ,’ उनले भने । उनले कोरोनापछि बैंकहरुले आँखा चिम्लेर लगानी गर्दा तरलताको समस्या आएको बताउँदै समस्या समाधानको लागि टेबल टक गर्नुपर्ने बताए । उनले आफु निडर स्वभावको रहेको र सरकारसँग निडर गर्ने बताए । यस्तै, उनले लाटो, बहिरो महासंघ नबनाउनका लागि आफुलाई भोट गर्न अनुरोध गरेका छन् ।

राष्ट्र बैंकले चाँदी निर्यातमा हटायो १ केजीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी निर्यात गर्दा १ किलोग्रामको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमबार एकीकृत परिपत्र २०७९ जारी गर्दै व्यवसायीले चाँदी निर्यात गर्दा १ किलोग्राम (केजी)को सीमा हटाएको हो । सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट मासिक १ किलोग्राम सम्म खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूले व्यवसायिलाई चाँदी बिक्री गर्दा व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खाता मार्फत कारोबार गर्नु पर्नेछ । साथै, बैंकले यसरी चाँदी बिक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई बिक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा बिक्री गर्ने छैन भन्नेस्वघोषणा समेत लिनुपर्नेछ । तर, निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा मासिक १ किलोग्रामको सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ । चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ६० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । तर, चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि प्रति पटक अमेरिकी डलर ६० हजारको सटही सीमा लागू नहुने बताइएको छ । सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए÷नभएको यकिन गर्नु पर्ने, वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ । चाँदी आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्यरुपमा मास्टर एयरवेय बिल समेत संलग्न हुनु पर्नेछ । हाउस एयर वेय बिल तथा बिल अफ लेडिङबाट चाँदी आयात गर्न पाइने छैन । चाँदी आयात÷बिक्री सम्बन्धी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नु पर्ने जनाएको छ ।

आन्तरिक विद्युत खपत क्षमता बढाउनु मेरो प्राथमिकता : ऊर्जा मन्त्री

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत मुलुक भित्रै खपत गर्न क्षमता वृद्धि गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए । ‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात गर्नु पर्छ,’ मन्त्री बस्नेतले भने, ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायहरुसँग आवश्यक समन्वय गरिने छ ।’ जलविद्युत तथा प्रसारणलाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्ववनमन्त्री समेत रहेका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रिय रहने बताए । उनले सार्वजनिक संस्थाहरुमध्ये प्राधिकरणले देशमा सकारात्मक मानक स्थापना गरेको समेत बताए । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री बस्नेतले स्थापित सकारात्मक मानकलाई अभिबृद्धिका लागि थप भूमिका निर्वाह गर्न जवाफदेही बन्न र नयाँ सम्भावनालाई खोज्न कर्मचारीलाई निर्देशन दिए । कार्यक्रममा ऊर्जा, स्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आन्तरिक रुपमा विद्युत खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाहरुको सुधार तथा विस्तार, रणनीतिक रुपका ठूला जलाशययुक्त जलविद्युत आयोजनाहरुको निर्माण र विद्युत सेवा विस्तारमा जोड दिइनुपर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताए । ‘देशभित्र खपत बढाउन र बढी भएको विद्युत निर्यातका लागि निर्माणाधीन विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुसहित आगामी पाँच वर्षका लागि तय गरिएका योजनाहरुको कार्यान्वयन गर्न साढे आठ खर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ, तर यसका लागि सरकारकातर्फबाट ठूलो लगानी ग्याप छ, उक्त ग्याप सरकार, प्राधिकरण र दातृ निकायहरुबाट पूर्ति गर्नु पर्ने अवस्था छ, यसका लागि सहजीकरण र समन्वय आवश्यक छ’ घिसिङले भने । उनले यस वर्षको वर्षायाममा आन्तरिक रुपमा खपत गरी बढी भएको एक हजारदेखि एक हजार दुई सय मेगावाटसम्म विद्युत् निर्यात गर्नु पर्ने अवस्था रहेको बताए । ऊर्जा क्षेत्रले अनुभवी मन्त्री पाएको उल्लेख गर्दै घिसिङले वन क्षेत्रको समस्या समाधान, शान्ति सुरक्षा प्रबन्धलगायतमा सहजीकरण हुने विश्वास व्यक्त गरे ।  

लुम्बिनी विकास बैंकको एटिएम कञ्चनपुरमा

काठमाडौं । लुम्बिनी विकास बैंकले थप नयाँ एटिएमको विस्तार गरेको छ । बैंकले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटिमको विस्तार गरेको हाे । उक्त एटिएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझाले गरेका छन् । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाबाट एटिएम सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको कम्पनीले जनाएकाे छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिमको उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा १९ वटा एटिम मार्फत सेवा प्रदान गरिरहेको छ ।

बिक्न छाडे काम्लो, बख्खु र घुम

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षांै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ । माथिल्लो खर्कमा पुग्दा सेताम्य भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै बेच्दैनन् भेडाको रौँबाट बनेका कपडा पनि बेच्छन् । भेडाको रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्न उपयोगी मान्छिनन् । आधुनिक प्रविधिसँगै विभिन्न प्रकारका कपडा भित्रिन थालेपछि स्थानीय उत्पादनले बजार पाउन छोडेको छ । कुनैबेला भेडा र रौँका कपडा बेचेर राम्रो आम्दानी गर्ने भेडापालक अहिले मासुका लागि मात्रै भेडा पाल्नुपर्ने स्थितिमा छन् । मासु गाउँमै बिक्री भए पनि ऊनका कपडा देशमा मात्रै नभएर विदेश पनि निर्यात हुने गर्दथ्यो । ऊनको कपडा बनाउन धेरै झन्झटिलो र समय पनि धेरै लाग्ने हुँदा पछिल्लो समय उत्पादनमा कमी हुन थालेको निसीखोलाका पुनराम बुढामगरले बताए । यस्ता कपडाको मुल्य अन्य कपडाभन्दा महँगो पर्ने भएकाले स्थानीयको रोजाइमा कम पर्ने गर्छ । बुढामगरले भन्छन्, ‘पहिले भेडा पालेर राम्रो कमाई हुन्थ्यो, वर्षमा एक डेढ लाखको त घुम, काम्लो नै बिक्री हुन्थ्यो । भेडा पूजाआजा र चाडपर्वमा धेरै बेच्थे, अहिले त उही भेडा मात्रै हो, त्यही पनि बुढो भइयो पहिलेको जस्तो पाँच सय/एक हजार पाल्न सकिन्न । माथि लेकलेकमा पुग्नुपर्छ, भेडाको ऊन निकाल्नु पर्छ, कपडा बुन्न धेरै समय लाग्छ ।’ स्थानीय ७३ वर्षीया तिलु घर्तीले सानैदेखि भेडापालनमा लागेको र कपडा बनाउने गरेको सुनाइन् । उतिबेला अहिलेको जस्तो ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भन्दै भेडाको ऊनबाट बनेको कपडा प्रयोग गरेको उनले सम्झिइन् । कपडा लिन बुटवल, तानसेन पुग्न समस्या हुने गथ्र्यो । ‘अहिले लेकमा पनि बाहिरबाट आएका कपडा छन्, पहिलेको जस्तो दुःख छैन, जमाना फेरियो, ऊनको कपडाले घोच्छ रे, लगाउँदैनन्, हामीहरु त्यही लगाएर हुर्कियौँ’, उनले भनिन्, ‘चप्पल सानोमा लगाएनौँ, हामी ठूलै भएपछि मात्रै लगाएका हौँ, अहिले घुम, काम्लो बुन्ने मान्छे भए, बुनेकाले बिक्री नभएको गुनासो गर्छन्, मैले सानै हुँदा बुन्न सिकेको थिए, अहिले अलिअलि त बुन्छु, पहिलेको जस्तो सकिँदैन ।’ स्थानीय पविन्द्र घर्तीमगरले नयाँपुस्ताले सीप नसिक्दा परम्परागत कपडा हराउन थालेको बताए । उनले केही वर्ष अगाडिसम्म विदेशबाट पनि बढी माग हुने गरेको सुनाउँदै अहिले घटेको बताए । ‘पहिले एक परिवारले कम्तीमा एक हजार भेडा पाल्थे । तर अहिले निकै कम भयो’, उनले भने । घर्तीले भेडापालनलाई स्थानीय सरकारले प्रवद्र्धन गर्नसके राम्रो आम्दानीको स्रोत बन्ने बताए । ऊनका कपडाले युवापुस्ताले मन नपराउँदा बजार पाउन मुस्किल परेको उनीहरुको गुनासो छ । रासस

नोट अरुबाट लिनुस्, भोट हाम्रो समूहलाई दिनुस् : दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्लानगर उपाध्यक्षतर्फका उम्मेदवार दिनेश श्रेष्ठले आफ्नो समूहलाई भोट दिन आग्रह गरेका छन् । सोमबार काठमाडौंमा उमेशलाल श्रेष्ठको टीमबाट उम्मेदवारी घोषणा गर्दै उनले निर्वाचनका क्रममा जे जस्तो प्रभाव पार्ने गतिविधि भएपनि भोट भने आफ्नो टिमलाई दिन आग्रह गरेका हुन् । ‘अहिले निर्वाचनका लागि अन्य साथीहरु उठ्नु भएको छ, उनीहरुले जे दिएपनि लिनुस् तर भोट हामीलाई हाल्नुस्,’ उनले भने । उनले व्यवसायीको काम गर्न नसकेमा राजीनामा दिने पनि बताएका छन् । ‘अहिलेका समस्या निराकरणका लागि खटिएर काम गर्छौं, यो समूहलाई विजयी गराएमा महासंघ अझ शसक्त बन्नेछ,’ उनले भने । यस्तै, उनले अर्थतन्त्र चलायमान गर्न, ब्याजदर घटाउन र कर घटाउने विषयमा लविङ गर्ने जिम्मेवारी आफ्नो टिमले लिने बताएका छन् । उनीले विभिन्न जिल्ला नगर संघहरुले संघ चलाउन नसकेको अवस्थालाई पनि समाधान गर्ने बताए ।