विकासन्युज

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८० लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात् साविकको सिद्धार्थ इन्स्योरेन्सको सूचीकरण खारेज भएको छ ।

सूर्याेदय वोमी लघुवित्तको १ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले संस्थापक डोलेन्द्र पौडेलको नाममा रहेको २७ लाख १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्ण बहादुर वि.के.को ८ हजार ५०३ कित्ता र लोखनाथ खनियाको ३९ हजार कित्ता गरी कूल ९६ हजार ६८३ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न इच्छुकले लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार आइमएई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइमएई जनरल ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

१०.७५ प्रतिशत ब्याज पाइने एनएमबि बैंकको ४ अर्बको ऋणपत्र बिक्री

काठमाडौं । एनएमबि बैंकले आज चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९÷२०९०’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख ५ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

सिटि होटलको आईपीओ बिक्री खुला, २ हजार कित्ता खरिद गर्न पाइने

काठमाडौं । सिटि होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज चैत २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता सेयरमा विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २०८० बैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

उमेशलाल समूहको स्ट्रेन्थ : दुई पूर्व अध्यक्ष र सातै प्रदेशका अध्यक्षको साथ, वस्तुगत तर्फका सदस्यको पनि टुङ्गो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् भने उनको समूहबाट जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् । उम्मेदवारी घोषणा गर्दै उनको समूहले जित सुनिश्चित भएको दावी गरेको छ । जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिएको सो समूहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले अहिले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफ्नो टीम अगाडि बढ्ने बताएका छन् । उनले आफ्नो टीमलाई ६० वटाभन्दा बढी जिल्ला संघ र ८० वटाभन्दा वस्तुगत संघले साथ दिएकोले जित सुनिश्चित नै भएको दावी गरे । उनले आर्थिक काँचुली फेर्नका लागि महासंघमा निस्वार्थ काम गर्ने बताउँदै आफु तस्वीर खिचाउनका लागि मात्र महासंघमा प्रवेश नगर्ने धारणा राखे । उनले अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल र सक्षम नेतृत्व आवश्यक भएको बताउँदै आफुले घोषणा गरेको टीम सक्षम सवल र अनुभवी भएको उनको धारणा राखे । तीन उपाध्यक्षका उम्मेदवार भन्छन् : जितेरै देखाउँछौं वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समूहमा तीन जना उपाध्यक्षले उम्मेदवारी दिएका छन् । हाल जिल्ला नगर उपाध्यक्ष रहेका दिनेश श्रेष्ठ पुनः उमेशलालकै समूहबाट जिल्ला नगरकै उम्मेदवार बनेका छन् भने वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोशिएट उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् । तीनै जना उपाध्यक्षले आफुहरुले जितेरै देखाउने दावी गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा बाल्दै जिल्ला नगरतर्फका उपाध्यक्ष श्रेष्ठले यो टिमले विजयी भएर देखाउने बताए । उनले मतदाताहरुलाई भोटको पनि अपील गरे । ‘अहिले निर्वाचनका लागि अन्य साथीहरु पनि उठ्नु भएको छ, उनीहरुले जे दिएपनि लिनुस् तर भोट हामीलाई हाल्नुस्,’ उनले भने । कार्यक्रममा उनले अर्थतन्त्र चलायमान गर्न, ब्याजदर घटाउन र कर घटाउने विषयमा लविङ गर्ने जिम्मेवारी आफ्नो टिमले लिने बताए । यस्तै, वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले पनि यो समूह अनुभवी र विभिन्न क्षेत्रमा काम गरेर क्षमता प्रदर्शन गरिसकेकोले आफ्नो समूहलाई भोट दिन आग्रह गरे । कार्यक्रममा एसोशिएटतर्फका उपाध्यक्ष भरत आचार्यले भने अझै पनि सर्वसम्मत किसिमले अगाडि बढ्न सक्ने समय भएको धारणा राखे । ‘मेरो पहिलेदेखि नै नेतृत्व सर्वसम्मत गरौं भन्ने भनाइ थियो, अहिले पनि त्यही छ, अझै समय छ, मेरो सबैलाई अनुरोध छ, मिलेर अगाडि बढौं, नेतृत्वलाई सर्वसम्मत चयन गरौं, अन्त्यमा प्रजातन्त्रिक अभ्यास त छदैछ,’ उनले भने । पूर्व अध्यक्ष र प्रदेश अध्यक्षहरुको पनि साथ उमेहलाल श्रेष्ठको समूहलाई केही पूर्व अध्यक्षहरुले पनि खुलेर साथ दिएका छन् । महासंघका अन्य पूर्व अध्यक्षहरु अहिले निर्वाचनको माहोलमा मौन रहेपनि पूर्व अध्यक्ष चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठले उनको समूहलाई खुलेर साथ दिएका छन् । उनीहरु सोमबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा पनि सहभागी भएर मतदातालाई भोट दिन अपील गरे । महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार श्रेष्ठ र पूर्व कोषाध्यक्ष निरज केसीले पनि श्रेष्ठको समूहलाई खुलेरै समर्थन गरेका छन् भने पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत साथ रहेको बुझिएको छ । साथै, महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ दिएको उम्मेदवारहरु बताउँछन् । ढकाल भने कुनै पनि समूहमा खुलेका छैनन् । उनी मौन छन् । सोमबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाल र विनोदबहादुर श्रेष्ठले सबै मतदातालाई उमेशलालको समूहलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष ढकालले महासंघको गरिमालाई कायमै राख्न उमेशलालको समूहलाई मतदान गर्न मतदातालाई आग्रह गरे । उनले आफुसँग सातै प्रदेशका अध्यक्षहरु र विभिन्न वस्तुगत संघका अध्यक्षहरुले यति मत दिने बताएको उल्लेख गर्दै उमेशलालको समूहको जित सुनिश्चित भएको दावी गरे । उनले महासंघ पार्टीको भातृ संगठन जस्तो हुन नदिन यो समूहलाई मतदान गर्न आवश्यक रहेको धारणा राखे । यस्तै, पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले सबैले उमेशलालको टीमलाई चाहेको धारणा राखे । उनले निर्वाचनमा पूर्व अध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने बताउँदै यस पटक उमेशलालको टिमले जित्ने पक्का भएको बताए । ‘महासंघको निर्वाचानमा पूर्व अध्यक्षको भूमिका महत्वपूर्ण हुन्छ, उमेशलालको योगदान महासंघमा महत्वपूर्ण छ र महासंघको गरिमा कायमै राख्न यो टीमको आवश्यकता छ,’ उनले भने । यस्तै, उमेशलाल समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अधिकांश प्रदेशका अध्यक्षहरुको पनि सहभागिता रहेको थियो । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, कर्णाली प्रदेशका पदमबहादूर शाही, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र सुदूर पश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी उमेशलालकै टीममा रहेको उनको दावी छ । वस्तुगत सदस्यहरुको पनि टुङ्गो उमेशलाल श्रेष्ठको समूहले वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुको पनि टुङ्गो लगाएको छ । उपाध्यक्षसहित १४ जना कार्यकारिणी सदस्य निर्वाचित हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार उमेशलाल समूहले १४ जनाको नाम नै टुङ्गो लगाएर सोमबार घोषणा गरेको हो । यो समूहको अर्को स्ट्रेन्थ यो पनि हो । महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार जिल्ला नगर र एसोशिएटतर्फका सदस्यहरुको टुङ्गो पनि छिट्टै लाग्नेछ ।

१० रुपैयाँले घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएकाे छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको मूल्य घटाएकाे हाे बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेकाे छ । सो निर्णयसँगै पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो ।

स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घ प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारितसँग आग्रह गरेको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज उद्योगमन्त्री रिजाललाई भेट्न गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा अहिलेको सङ्कट समाधानका लागि उद्योग मन्त्रालयले ठोस पहल गर्न पनि आग्रह गरेको हो । ‘बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरिएको छ, महासङ्घको पहलमा निर्माण भएको यो नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ, अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उद्योग मन्त्रालयको भूमिका बढाउनेबारे पनि आग्रह गरिएको छ,’ मन्त्री रिजालसँगको भेटबारे महासङ्घले प्रेस विज्ञप्तिमा भनेको छ । बजारमा तरलता अभावको समस्याका कारण माग खुम्चिँदा उद्योग व्यवसायहरु आधा भन्दा कम क्षमतामा चलिरहेकोलेबारे मन्त्री रिजाललाई जानकारी गराएको महासङ्घले जनाएको छ । त्यस्तै, अहिले आर्थिक अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र वितरणमुखी कार्यक्रममा कटौती गर्नुपर्ने सुझाव पनि महासङ्घले दिएको जनाएको छ । मन्त्री रिजालसँगको भेटमा लगानी बढाउनुपर्ने, निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने, बाह्य लगानी भित्र्याउन पहल गर्नुपर्ने, उधारो उठाउने सम्बन्धि कानून ल्याउनुपर्नेलगायतका सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव दिइएको महासङ्घले जनाएको छ । त्यस्तै, महासङ्घको भिजन पेपर ‘राष्ट्रिय आर्थिक रुपान्तरण नेट–२०३०’ कार्यान्वयनबारे मन्त्रालयसँग भएको समझदारीलाई अगाडि लैजाने विषयमा छलफल भएको पनि महासङ्घले जनाएको छ ।