एलन मस्कले बदले ट्वीटरको लोगो, भँगेराको ठाउँमा कुकुर राखे
काठमाडौं । एलन मस्कले ट्वीटरको शुरुवातदेखि लोगोको रुपमा रहँदै आएको निलाे रंगको भँगेराको तस्बिर हटाएर कुकुरको तस्बिर राखेका छन् । उनले ट्वीटरका प्रयोगकर्ताहरुलाई आँफूले बाचा गरेको काम पुरा गरेको समेत प्रतिक्रिया दिएका छन् । भँगेराको तस्बिरसँग जोडिएर ट्वीटर मनपराउनेहरुले कुकुरको तस्बिरलाई कसरी लिनेछन्, त्यो प्रतिक्रिया मस्कले पर्खिरहेका छन् । उनले भँगेराको तुलनामा प्रयोगकर्ताहरुले बढी माया कुकुरलाई गर्ने ठानेर लोगोलाई सोही अनुसार परिवर्तन गरेका हुन् ।
नेपाल एसबिआई बैंकले धितोमा रहेका सवारी र घरजग्गा बेच्दै
काठमाडौं । नेपाल एसबिआई बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको शाखा कार्यालय बर्दिवास, सुर्खेत, हाकिमचोक, कुलेश्वर र महेन्द्रनगरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकको शाखा कार्यालय बर्दिवासबाट बेस्ट हेल्थ केयर प्रालिले लिएको कर्जामा जमानकर्ता रविन कुमार कर्ण, शशि कुमार लाल कर्ण, मिरा कर्ण र प्रभात कुमार कर्ण रहेका छन् । बैंकलाई धितोवापत बेस्ट हेल्थ केयरको नाममा रहेको हरिपुर ८ स्थित कित्ता नम्बर २८९ को ०–१–०–० विद्दा क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चको सामान बिक्री गर्ने भएको हो । यस्तै, सर्खेत शाखा कार्यालयबाट जय शंकर मल्टी सप्लायर्सका सञ्चालक सोभाखर जैसी र जमानकर्ता उषा भण्डारीको धितो वापत सुरक्षणमा राखिएको कर्णाली प्रदेश ०२००१ च ०४७५ नम्बरको सन् २०२१ मा बनेको टाटा सवारी बिक्री गर्ने भएको हो । यस्तै, एस.एस. जनरल अर्डर एण्ड सप्लायर्सका प्रोप्राइटर शिव प्रसाद सुवेदी र सुनिता हमाल सुवेदीले कर्जा लिएवापत राखिएको धितो बिक्री गर्ने भएको हो । ऋणी शिवप्रसाद सुवेदीको नाममा रहेको वीरेन्द्रनगर १० स्थित कित्ता नम्बर ४४८१ को ०–१–१–३ विघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, शाखा कार्यालय हाकिमचोकबाट दिक्षा कृषि तथा पशु फर्मका सञ्चालक मन बहादुर दर्जी र सीता परियार दर्जीले लिएको कर्जावापत धितोमा राखिएको भरतपुर २१ स्थित कित्ता नम्बर ४२२ को ०–३–०–० विघा क्षेत्रफल भएको जग्गा बिक्रीमा राखेको हो । यस्तै, शाखा कार्यालय कुलेश्वरबाट धनबहादुर खत्रीले लिएको कर्जा वापत बागमती प्रदेश ०१०२६ च ५५२४ नम्बरको टाटा सवारी साधन र शाखा कार्यालय महेन्द्रनगरबाट श्री एना आधुनिक कृषि फर्मका सञ्चालक आरती ऐरले लिएको कर्जा वापत भीमदत्त १० स्थित कित्ता नम्बर ३१५९ नम्बरको १८६२.४७ वर्गमिटर भएको जग्गा र जग्गामा बनेका घरहरुसमेत बिक्री गर्नेछ ।
एक सहकारीको ऋणीले ब्याज मात्रै ५३ लाख बढी तिर्नु पर्ने
काठमाडौं । शुभ किरण बचत तथा ऋण सरकारी संस्थाले ऋणीलाई कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारी संस्थाले ऋणी मैया राइलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । उनले सरकारी संस्थाको माछापोखरीबाट वि.सं. २०७६ फागुन १९ गते धितो कर्जा शिर्षक अन्र्तगत व्यवसाय संचालन गर्न १ करोड २६ लाख ७० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । उनले लिएको कर्जा चुक्ता गर्नुपर्ने अवधि वि.सं २०७८ पुस २९ गते मा समाप्त भएको सहकारीले जनाएको छ । ऋणी राइलाई पटक–पटक लिखित तथा मौखिक रुपमा समेत जानकारी गराउँदा पनि वेवास्ता गरेपछि ३५ दिनभित्र कर्जा चुक्ता गर्न सहकारीले आग्रह गरेको छ । उनले लिएको कर्जाको ब्याज रकम मात्रै ५३ लाख ३० हजार रुपैयाँ पुगेको छ । साँवा, ब्याज र हर्जाना समेत गरी उनले अब १ करोड ८० लाख रुपैयाँ तिर्नु पर्ने सहकारीले जनाएको छ । यदि ३५ दिनभित्र सम्पूर्ण हिसाब किताब चुक्ता नगरे लिलामी प्रक्रिया अघि बढाइने र सहकारी ऐन २०७४ अन्तरगत आवश्यक कारवाही गर्ने सहकारीले बताएको छ ।
साझा यातायातले २७ करोडमा ड्राइभर र सुरक्षा गार्ड राख्दै
काठमाडौं । साझा यातायातले सवारी साधन चालक तथा सरसफाइ लगायतको सेवा खरिदका लागि २ वटा कम्पनीसँग सम्झौता गरेको छ । साझाले सवारी साधन चालक (ड्राइभर), सुरक्षा तथा सरसफाइका लागि २ वटा कम्पनीलाई छनोट गरी सम्झौता गरेको हो । साझाले १०० वटा बस सञ्चालनका लागि भारि सवारी चालक, हलुका सवारी चालक परिचालक, परिचालक तथा सुरक्षा गार्ड राख्ने भएको हो । जसको लागि श्री नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सर्भिस प्रालिले जनशक्ति उपलब्ध गराउने छ । साझा र कम्पनीबीच २६ करोड ७ लाख ४४ हजार ५३३ रुपैयाँमा सम्झौता भएको हो । साथै, ६० वटा बस तथा कार्यालय परिसर, कार्यालय कोठाहरु, पार्किङ्ग क्षेत्र, ट्वाईलेट र बाथरुम सरसफाई गर्नका लागि पनि जनशक्ति राख्ने साझाले जनाएको छ । जसको लागि क्याटालिस्ट म्यानेजमेन्ट सर्भिस नेपाल प्रालिले जनशक्ति उपलब्ध गराउनेछ । कम्पनीले १ करोड २ लाख ३ हजार १९२ रुपैयाँमा सम्झौता गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२)को अनुसार संस्थाको सञ्चालक समितिको चैत १७ गते निर्णय गरेको हो ।
नबिल बैंकले ४ वटा शाखा कार्यालय सार्दै
काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले चैत २६ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ । बैंकले काठमाडौंको जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र पर्साको विरगन्ज शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकले हालको शाखा कार्यालयबाट ०.७ किलोमिटरको दुरीमा काठमाडौं महानगरपालिका ६ जोरपाटीमा स्थानान्तरण गर्ने भएको हो । लकर तथा खाता स्थानान्तरण भइ बौद्ध रामहिटी शाखाबाट सेवा सुचारु रहने बैंकले जनाएको छ । यस्तै, काठमाडौं महानगरकापालिका १३ मा रहेको शाखा कार्यालय ०.२ किलोमिटरको दूरीमा स्थानान्तरण भइ चन्द्रागिरी नगरपालिका १४ नैकापबाट सञ्चालन हुनेछ । सो शाखाको लकर तथा खाता भने कालीमाटी २ बाट सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, किर्तिपुर नगरपालिका १ ट्याङ्ग्लाफाटमा रहेको शाखा २.३ किलोमिटर दूरीमा स्थानान्तरण भइ काठमाडौं महानगरपालिका १४ बल्खु टेकासी दक्षिणकाली टियू गेट नजिकैबाट सञ्चालनमा आउनेछ । लकर तथा खाता पनि सोही ठाउँबाट सञ्चालनमा आउने बैंकले जनाएको छ । विरगन्ज महानगरपालिका ४ अलखिया रोडमा रहेको शाखा विरगन्ज ८ बाइपास २.३ किलोमिटर टाढा स्थानान्तरण भएको बैंकले बताएको छ । लकर तथा खाता पनि सोही ठाउँबाट सञ्चालनमा आउनेछ । शाखा कार्यालहरुको लकरमामा कुनै टुटफुट हुने सामान भएमा लकर सार्नु अगावै चैत २२ गतेसम्म निकाल्न बैंकले आग्रह गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८० लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात् साविकको सिद्धार्थ इन्स्योरेन्सको सूचीकरण खारेज भएको छ ।
सूर्याेदय वोमी लघुवित्तको १ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले संस्थापक डोलेन्द्र पौडेलको नाममा रहेको २७ लाख १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्ण बहादुर वि.के.को ८ हजार ५०३ कित्ता र लोखनाथ खनियाको ३९ हजार कित्ता गरी कूल ९६ हजार ६८३ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न इच्छुकले लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार आइमएई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइमएई जनरल ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।